डा० सुरेशराज शर्मा
उपकुलपति ः काठमाडौं विश्वविद्यालय
चिकित्सापद्धतिका विषयमा वैदिक ग्रन्थहरूमा पनि प्रशस्त उल्लेख पाइन्छ । धन्वन्तरीबाट प्रारम्भ भएको चिकित्सापद्धति बिस्तारै बढ्दै गएर विश्वले चिकित्साक्षेत्रमा अहिले ठूलो फड्को मारिसकेको छ । सामान्य रोग लाग्दैमा मृत्युवरण गर्नुपर्ने स्थितिबाट डरलाग्दा मानिएका रोगहरू पनि अहिले उपचारको घेराभित्र परिसकेका छन् । नयाँ–नयाँ पद्धति र औषधिहरूको आविष्कार भइरहेको छ । अनुसन्धानबाट नयाँ–नयाँ तथ्यहरू पत्ता लागिरहेका छन् । तैपनि विश्वका अविकसित र विकासोन्मुख देशहरूमा स्वास्थ्यसेवाको स्थिति अझै राम्रो हुन सकिरहेको छैन । मानवस्वास्थ्यको सुरक्षाका लागि आवश्यक वस्तुहरू कहीँ अझै प्राप्त हुन सकिरहेका छैनन् भने कहीँ त्यस्ता वस्तुहरू नै विभिन्न कारणले हानिकारक हुँदै गएका छन् । मानव–शरीरभित्र प्रवेश गरिरहेका विजातीय पदार्थहरूका कारण जनसङ्ख्याको वृद्धिसँगै रोगहरू पनि थपिँदैछन् । विपन्नताका कारणले सामान्य रोगको उपचार गर्न नसक्नेहरूको समूह पनि छँदैछ । यातायात र सञ्चारजस्ता अत्यावश्यकीय सेवा नपुगेका ठाउँहरू प्रशस्तै छन् । त्यस्ता ठाउँहरूमा स्वास्थ्यसेवामा सहज र सस्तो पहुँच पु¥याउने चुनौती युवा चिकित्सक र नर्सहरूको काँधमा आइपरेको छ ।
नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने नेपालले पनि विगतको तुलनामा स्वास्थ्यक्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । सरकारी, सामुदायिक र निजी क्षेत्रको सक्रियतामा हाम्रो मुलुकले चिकित्साक्षेत्रमा हासिल गरेको उपलब्धिलाई कम भन्न सकिँदैन । आजभन्दा दुई दशकअघिको स्थिति हेर्दा —
बालमृत्युदर धेरै थियो ।
खोप–कार्यक्रमसमेत राम्ररी सञ्चालन भएको थिएन ।
विफर, हैजा, टाइफाइड, टीबी, मलेरिया, ब्रोन्काइटिस, जन्डिस जस्ता अचेल सामान्य मानिने रोगबाट पनि मान्छेहरूले ज्यान गुमाउनुपथ्र्यो ।
अशिक्षा, अन्धविश्वास र हेलचेक्य्राइँले गर्दा स्वास्थ्यसेवा प्रभावकारी हुन सकेको थिएन ।
बिस्तारै स्वास्थ्य–जनशक्तिको उत्पादन हुन थाल्यो र अस्पतालहरू पनि खुल्न थाले । सरकारको स्वास्थ्य विभागबाट सीमित स्थान र व्यक्तिबाट अहेव, अनमी र आयुर्वेदिक तालिम प्रारम्भ भएपछि नेपालको स्वास्थ्यशिक्षा र स्वास्थ्यसेवा क्रमशः विस्तार हुँदै गयो । विस्तारको क्रमलाई हेर्दा —
काठमाडौँमा सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेदिक अस्पताल र शान्तभवन मिसनरी अस्पताल लगायत टाढाटाढाका गाउँहरूमा पनि मिसनरी अस्पतालहरू खुले ।
काठमाडौँ उपत्यका र बाहिरका वीरगञ्ज, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज आदि ठाउँमा अस्पतालहरू खोलिए ।
काठमाडौँ उपत्यका र तराईतिर आयुर्वेदिक चिकित्सापद्धति बढ्न थाल्यो ।
सन् १९६० मा वनस्पति विभाग खुलेपछि प्रयोगशाला, जनशक्तिको तालिम, अन्वेषण र औषधिको उत्पादनले गति लिन थाल्यो ।
परम्परागत चिकित्सापद्धति पनि विस्तारित हुँदै गयो ।
भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का आदिमा झैँ नेपालमा पनि फर्मास्युटिकल कम्पनीहरू खुल्न थाले ।
ब्रिटिस फर्माकोपियाअनुसार मेडिसिनको गुणस्तर नियन्त्रण कार्य आरम्भ भयो ।
नर्सिङ र आयुर्वेदका स्कुलहरू खोलिए ।
नेपालको स्वास्थ्यक्षेत्रको विस्तार गर्न प्रारम्भमा भारत, बेलायत, चीन, रूस जस्ता देशले सघाए । स्वास्थ्य–जनशक्तिको विकासका लागि हाम्रो मुलुकले जापान, अमेरिका, जर्मनी आदि देशको सहयोग पायो । स्वास्थ्यशिक्षा र स्वास्थ्यसेवाका लागि एमबीबीएस र ब्याचलर अफ नर्सिङको पढाइ सुरु गरियो । बहुविश्वविद्यालयको अवधारणा आएर काठमाडौँ विश्वविद्यालयको स्थापना भएपछि र सरकारले निजी क्षेत्रलाई पनि मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि पहिलेको तुलनामा स्वास्थ्यसेवाले राम्रै गति समातेको देखिन्छ । पहिले २० हजारदेखि डेढ लाख जनसङ्ख्याका लागि एकजना चिकित्सक उपलब्ध रहेको स्थितिबाट अहिले २५०० जनसङ्ख्याका लागि एकजना चिकित्सकको सेवा उपलब्ध हुन थालेको छ । अहिलेको स्थितिमा —
देशमा १५ हजारजति चिकित्सक र त्यति नै सङ्ख्यामा नर्स र प्यारामेडिकोज सेवारत छन् ।
अस्पतालको सङ्ख्या, शैया र सेवा बढेको छ ।
तिनमा निजी क्षेत्रले पनि राम्रै भूमिका खेलेको छ ।
आँखा अस्पतालहरू विस्तारित भएका छन् ।
स्वास्थ्यशिक्षाको गुणस्तर हेर्न नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल र हेल्थ प्रोफेसनल काउन्सिलजस्ता प्रोफेसनल काउन्सिलहरू बनेका छन् ।
मुटुरोग, मृगौलारोग, क्यान्सर, नेत्ररोग, नसारोग, हाडजोर्नी आदि विषयका विशेषज्ञ र अस्पतालहरू थपिँदैछन् ।
चिकित्साक्षेत्रमा पोस्ट ग्राजुएटको पनि सुरुवात राम्रैसँग भएको छ ।
मुलुकमा सरकार, समुदाय र निजी, यी तीनै क्षेत्र अहिले स्वास्थ्यशिक्षा र स्वास्थ्यसेवाका क्षेत्रमा लागिपरेका छन् । त्यसैले हाम्रो मुलुकमा अहिले २० वटा मेडिकल कलेज र ४० वटा नर्सिङ कलेज खुलिसकेका छन् । सरकार, समुदाय र निजी क्षेत्रको योगदान हेर्ने हो भने —
सरकारको लगानीमा स्वास्थ्य–जनशक्तिको विकास भएको छ । चारवटा मेडिकल एकेडेमी बनेका छन् । इन्स्टिच्युट अफ मेडिसिनलाई विस्तार गरिएको छ ।
सरकारकै पहलमा बीपी कोइराला क्यान्सर अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र, नेपाल आँखा अस्पताल, ट्रमा सेन्टर, म्याटर्निटी अस्पताल आदि खुलेका छन् ।
सामुदायिक क्षेत्रबाट धुलिखेल अस्पताल, तिलगङ्गा आँखा अस्पताल, लाहान अस्पताल, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र, स्पाइनल इन्जुरी अस्पतालहरू खुलेका छन् ।
निजी क्षेत्रबाट बी एन्ड बी अस्पताल, नर्भिक अस्पताल, ओम अस्पताल, मेडिकेयर आदि खुलेका छन् ।
निजी क्षेत्रकै सक्रियतामा १४ वटा मेडिकल कलेज, १० ठाउँमा डेन्टल सर्जरी कार्यक्रम, नर्सिङ कलेज र फार्मेसी कलेज खुलेका छन् ।
सामुदायिक र निजी क्षेत्रका मेडिकल कलेजहरूमा विदेशी विद्यार्थीहरू पनि भर्ना हुन थालेका छन् । करिब १० प्रतिशत विद्यार्थीका लागि निजी क्षेत्रले छात्रवृत्ति पनि दिने गरेको छ ।
सरकारले खोलेका अस्पतालमा भन्दा सामुदायिक र निजी क्षेत्रले चलाएका अस्पतालहरूको शैयासङ्ख्या बढी पुगेको छ ।
स्वास्थ्यसेवाको विकासको गतिलाई हेरेर हामी अहिले कहाँ छौँ भनेर हेर्ने हो भने एउटा स्पष्ट चित्र हाम्रो आँखाअगाडि आउँछ । जस्तै —
पहिले नेपालीले सानो उपचार गर्न पनि सिमानापारि जानुपथ्र्यो, अहिले सिमानानेर रहेका नेपाली अस्पतालहरूमा करिब २५ देखि ३० प्रतिशतसम्म बिरामीहरू नेपालबाहिरबाट आउँछन् ।
मेडिकल कलेजहरूमा झन्डै ४५ प्रतिशतजति विदेशी विद्यार्थी भर्ना हुने गरेका छन् ।
विदेशबाट मेडिकल एक्सपर्टहरू आएका छन् ।
विदेशमा डाक्टरी पढेर नेपालमा आएका धेरैजना स्नातकहरूले नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा सफल हुन नसकेको अभिलेख छ । तर काठमाडौँ विश्वविद्यालयबाट उत्पादन भएका विदेशी विद्यार्थीले उनीहरूको मुलुकको मेडिकल काउन्सिलले लिने परीक्षामा असफल हुनु परेको कुनै अभिलेख छैन । काठमाडौँ विश्वविद्यालयको शैक्षिक गुणस्तर यसबाट स्पष्ट देख्न सकिन्छ ।
आधुनिक उपचारविधिमा हाम्रो मुलुकले छोटो अवधिमा नै यति धेरै अविश्वसनीय सफलता हासिल गरेको छ । यति हुँदाहुँदै पनि हाम्रा सामु केही चुनौतीहरू पनि छन् । जस्तै —
स्वास्थ्यसेवालाई सहरी क्षेत्रमा मात्र केन्द्रित नगरी यातायात र सञ्चारसेवाको असुविधा भएका क्षेत्र र विकट पहाडी इलाकाहरूमा पनि पु¥याउनुपरेको छ ।
विपन्न वर्गमा गुणस्तरीय स्वास्थ्यसेवा दिनुपरेको छ ।
योग्य जनशक्ति विदेश पलायन हुने क्रमलाई घटाउनुपरेको छ ।
उच्चविशेषज्ञताको विस्तार गर्नुपरेको छ ।
अन्धविश्वास र जनचेतनाको कमीलाई निर्मूल पार्नुपरेको छ ।
उपचारखर्च महँगो भएको छ । स्वास्थ्यबीमाको प्रावधान रहेका विकसित मुलुकलाई त्यसले कुनै असर नगरे पनि नेपालजस्ता विकासोन्मुख मुलुकका जनतालाई त्यसले नराम्ररी पिरोलेको छ । त्यसैले यस समस्याको समाधान गर्नुपरेको छ ।
स्वास्थ्यसेवामा बढ्दै गएको व्यापारीकरण, गुणस्तरमा गर्ने गरेको सम्झौता र अस्वस्थ राजनीतिक घुसपैठलाई न्यूनीकरण गर्दै लैजानुपरेको छ ।
निजी क्षेत्रका मेडिकल कलेजले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिएर सरकारलाई सघाए पनि सरकारले चाहिँ त्यही अनुपातमा छात्रवृत्ति दिने नगर्नु, सरकारको सिफारिसमा छात्रवृत्ति दिई पढाएका डाक्टरहरूलाई सरकारले निश्चित अवधिसम्म मात्र पनि विपन्न वर्गको सेवामा उपलब्ध गराउन नसक्नु र सरकारी अस्पतालमा भएका महँगा उपकरणहरूको दुरुपयोग वा बेवास्ता गर्नेहरूलाई दण्ड दिने अवस्था आउन नसक्नु हाम्रा लागि आश्चर्यको विषय भएको छ ।
तपाईंहरूले काठमाडौँ विश्वविद्यालय अस्पतालका रूपमा रहेको धुलिखेल अस्पताललाई राम्ररी हेर्नुभएकै छ । म यस अस्पतालका विषयमा पनि तपाईंहरूसमक्ष केही भन्न चाहन्छु । यो अस्पतालका केही विशेषताहरू छन् । जस्तै —
यो अस्पताल सरकारी अस्पताल होइन र निजी पनि होइन । यसले विशुद्ध सामुदायिक चरित्र बोकेको छ ।
यहाँ राम्रो उपचारका लागि धेरै खर्च गर्नुपर्दैन । विपन्न वर्गले पनि गुणस्तरीय सेवा पाउँछन् ।
यहाँको स्वास्थ्यसेवा मिसनरी स्वास्थ्यप्रणालीजस्तो छ ।
यसले धर्म, राजनीति, क्षेत्र, वर्ण, जाति आदिलाई नहेरी मानवतालाई मात्र हेरेर उपचार गर्छ ।
यसले मुटुरोग, ट्रमा, क्यान्सर, मृगौलाको उपचारको सुविधा विस्तार गर्न पनि सुरु गरिसकेको छ ।
यस अस्पतालका चिकित्सकहरूले प्राइभेट प्राक्टिस गर्न पाउँदैनन् ।
आवश्यक औषधि अस्पतालबाटै दिइन्छ । त्यसो गर्दा गलत औषधि पर्न पाउँदैन ।
धेरै उपकरणहरू अनुदानमा प्राप्त भएका हुनाले र मेडिकल शिक्षकहरूबाटै चिकित्सकको सेवा प्राप्त हुने भएकाले चिकित्सकका लागि अतिरिक्त शुल्क बिरामीले तिर्नुपर्दैन ।
प्राथमिक स्वास्थ्यकेन्द्रहरू खोलेको हुनाले स्थानीय तहमै प्राथमिक उपचार हुन्छ । त्यतिले उपचार नपुगे पहिले टेलिमेडिसिनका माध्यमबाट र पछि अस्पतालमै ल्याई उपचार गराइन्छ ।
बिरामीसँग कति पैसा छ भनेर हेरिँदैन, सकेसम्म राम्रो उपचार भयो कि भएन भनेर हेरिन्छ । बिरामीको आवश्यकताअनुसारको उपचार गरिन्छ ।
यस अस्पताललाई विदेशका विशेषज्ञहरूले, उपकरण उत्पादन गर्ने कम्पनीहरूले, रोटरी क्लबहरूले, स्थानीय जनसमुदायले र विदेशी मित्रहरूले सहयोग गरेका हुनाले नै यसले कम शुल्कमा गुणस्तरीय सेवा दिन सकेको हो ।
काठमाडौँ विश्वविद्यालयबाट दीक्षित हुन लाग्नुभएका सम्पूर्ण स्नातकहरूसमक्ष मेरो आग्रह छ — तपाईंहरूले दिने स्वास्थ्यसेवालाई समुदायकेन्द्रित बनाइदिनोस् । विश्वको जुनसुकै मुलुकमा गएर सेवा प्रदान गरे पनि मानवीय मूल्य–मान्यता, नैतिकता, पेसाप्रतिको इमानदारी र आफ्नो कर्तव्यलाई नभुलिदिनोस् । आर्थिक अभावकै कारण कसैलाई पनि स्वास्थ्योपचारबाट वञ्चित हुन नदिनोस् । आफ्नो पेसालाई आर्थिक लाभोन्मुख व्यवसायमुखी कम र सेवामुखी बढी बनाइदिनोस् । तपाईंहरूले पाउनुभएको ज्ञान र सीपबाट तपाईं र तपाईंहरूको परिवारले मात्र फाइदा नलिई रोगले छटपटाएर पनि आर्थिक अभावका कारणले उपचार गर्न नपाइरहेका लाखौँ–करोडौँ रोगीहरूले समेत फाइदा लिन सकून् । हामीलाई हाम्रा अग्रजहरूले ‘वसुधैव कुटुम्बकम्’ भन्ने कुरा सिकाएका छन् । विश्वको सम्पूर्ण मानव–परिवारका हामी एक अंश हौँ, विश्व–परिवारलाई अलग राखेर हाम्रो छुट्टै अस्तित्व कायम हुन सक्तैन भन्ने कुरा तपाईंहरू पनि बुझिदिनोस् ।
‘अनभ्यासे विषं विद्या अजीर्णे भोजनं विषं’ अर्थात् अभ्यास गरिएन भने विद्या पनि विषबराबर हुन्छ भनिन्छ । त्यसैले आफूले पाएको ज्ञानलाई बाँड्ने प्रयास गर्नोस्, बेच्न मात्रै नखोज्नोस् । तपाईंहरू उद्यम गर्नोस्, अथक परिश्रम गर्नोस् । स्वास्थ्यसेवा नपुगेका ठाउँमा पु¥याउन प्रयत्नशील रहनोस् । धनलाई पनि रक्षा त गर्नोस् तर धनलाई भन्दा चरित्रलाई बढी रक्षा गर्नोस् । नीतिश्लोकले भन्छ —
वृत्तं यत्नेन संरक्षेद् वित्तमेति च याति च ।
अक्षीणो वित्ततः क्षीणः वृत्ततस्तु हतो हतः ।।
यही कुरालाई विचार गरेर क्षेत्र, जाति, वर्ण, लिङ्ग, सम्प्रदाय जस्ता विभेदहरूबाट मुक्त बनी मानव–चरित्रलाई कायम राख्तै सम्पूर्ण मानव–समाजको हितका लागि तपाईंहरूले यहाँ सिक्नुभएको ज्ञान र सीपको सदुपयोग गरिदिनुभयो भने यस विश्वविद्यालयले प्राप्त गरेको महत्तम उपलब्धि त्यही हुनेछ ।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्जनः ।।
(काठमाडौं विश्वविद्यालयको अठारौं दीक्षान्त समारोह (२०६९।७।२४) मा अभिव्यक्त स्वागत–मन्तव्यको मुख्य अंश)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |