धुलिखेल । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले विश्वविद्यालयको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्घोषसहित तीन वर्ष पदावधि बाँकी छँदै पदबाट राजिनामा दिएको एक महिनापछि विश्वविद्यालयका कुलपति प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकुलपति शिक्षामन्त्री दीनानाथ शर्माको संयोजकत्वमा दमननाथ ढुङ्गाना र डा. लोकविक्रम थापा सदस्य रहेको तीन सदस्यीय समितिको सिफारिसअनुसार उपकुलपति पदमा डा. रामकण्ठ माकजू श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । यस नियुक्तिबाट विश्वविद्यालयको नेतृत्व नयाँ पुस्तामा सरेको छ ।
नवनियुक्त उपकुलपतिका लागि चारवर्षे कार्यकाल त्यति सहज भने छैन । काठमाडौँ विश्वविद्यालयसभाले दसवर्षे कार्ययोजना पारित गरिसकेको परिप्रेक्ष्यमा विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन प्राध्यापकहरूलाई विश्वस्तरका बनाउनु, विदेशका विश्वस्तरीय प्राध्यापकहरूलाई विश्वविद्यालयमा ल्याउनु, विदेशी विद्यार्थीहरूको सङ्ख्या बढाउनु, विश्वस्तरीय अनुसन्धानहरू गराउनु, भौतिक पूर्वाधारका लागि चारवर्षे कार्यकालभित्र करिब दुई अर्ब रुपियाँको आर्थिक स्रोत जुटाउनु आदिजस्ता चुनौतीहरू उहाँले बेहोर्नुपर्नेछ । उता धुलिखेल अस्पतालको गुणस्तरीय सेवालाई पनि खस्कन दिन भएको छैन । स्थानीय समुदाय, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूसितको सम्बन्ध पनि सुमधुर राख्नुपर्नेछ । हरेक राजनीतिक दलसँग समदूरीको सम्बन्ध राखेर राजनीतिक क्षेत्रबाट आउन सक्ने दबाबहरूलाई पनि थेग्न सक्नुपर्नेछ । यी चुनौतीहरूलाई सामना गर्न सके भने उनले अर्को इतिहास फेरि लेखाउन सक्नेछन् ।
डा. माकजूले आज आइतबार विश्वविद्यालयमा गई पदभार ग्रहण गर्नुहुने बुझिएको छ । उहाँलाई हाम्रो हार्दिक बधाई छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |