— मुकुन्दप्रसाद उपाध्याय
अरनिको राजमार्गमा अवस्थित बनेपा र धुलिखेलको बीचमा पर्ने ‘काठमाडौँ विश्वविद्यालय चोक’ बाट एक किलोमिटर ठाडो उकालो उत्तर लागेपछि पुगिने पर्वतमा धुपीको जङ्गलबीच एउटा सुन्दर तपोभूमि छ । त्यहाँ ‘शैलेश्वर महादेव गोसाइँस्थान’ नामक आश्रम पनि छ । भारतबाट आएका नागाबाबा श्री रमेश गिरीजी महाराजले उत्खनन गरी निकालेको शिवलिङ्ग, अखण्ड धुनी, हनुमान मन्दिर, दत्तात्रय मन्दिर र रमेश गिरीजी महाराजको समाधि रहेको उक्त स्थानमा गिरीजीका शिष्य श्री मुक्ति शर्मा बस्नुहुन्छ । रमेश गिरीजी महाराजले समाधि लिएपछि आश्रमको संरक्षण गर्न ‘श्री शैलेश्वर महादेव सिद्धपीठ, गोसाइँस्थान, काभ्रे’ नामक संस्था दर्ता गराइएको छ । आश्रमको रेखदेख त्यहाँको महन्तका रूपमा श्री मुक्ति शर्माजी महाराजले गरिरहनुभएको छ । स्थायी जन्मघर काभ्रेतिर नै भए तापनि अमृत साइन्स कलेजमा आईएस्सी पढ्दापढ्दै वैराग्य उत्पन्न भएर घरगृहस्थी त्यागी मुक्ति शर्मा महाराज त्यसै आश्रममा आई ब्रह्मचारी जीवन व्यतीत गर्न थाल्नुभयो । गोसाइँस्थान बनेपा र धुलिखेल दुवैतिरको ‘प्रातःभ्रमण (मर्निङवाक) गन्तव्यस्थल’ भएकाले प्रातःभ्रमणमा जाँदा यदाकदा मुक्तिजी महाराजसँग मेरो साक्षात्कार हुन्छ, धार्मिक चर्चा र भलाकुसारी हुने गर्छ ।
यही क्रममा एक दिनको भेटमा उहाँसँग ‘श्रीमद्भगवद्गीता’ को प्रसङ्ग चल्यो । ‘गीता’ का विभिन्न भाष्य, टीका, नेपाली गीता, ‘कोमलगीता’ को चर्चा हुँदै गर्दा उहाँले ‘मैले पनि ‘गीता’ को नेपाली कवितानुवाद गरेको छु’ भन्नुभयो । मैले त्यो हेर्न आग्रह गर्दा उहाँले भित्र कोठाबाट तीनवटा कापीमा नीलो मसीले आफ्नै हस्ताक्षरले लेख्नुभएको ‘गीता–माली’ हेर्ने मौका पाएँ । करिब दुई घन्टा उहाँले आफ्नो कवितात्मक ‘गीता’ को वाचन गरेर सुनाउनुभयो । मैले कापी पनि हेरेँ । उहाँका अक्षर, भाव र काव्यशिल्प सबै राम्रा रहेछन् । ‘प्रतिभाहरू कुनाकन्दरामा लुकेर बसेका छन्, तिनलाई खोज्नुपर्छ, तिखार्नुपर्छ’ भन्ने कुरा सही रहेछ । चुस्स दारी पालेको, पहेँलो फेटा गुतेको, धोती–कुर्ता लगाएको सामान्य जोगीजस्तो युवक ब्रह्मचारीभित्र ठूलो प्रतिभा लुकेको रहेछ । सायद यो भोलेबाबाकै कृपा हो ।
उहाँले ‘गीता–माली’ नाम दिनुभएको कृतिका बारेमा मैले ‘शब्दयात्रा प्रकाशन’ का अध्यक्ष स्रष्टा श्री हरि मञ्जुश्रीसँग चर्चा गर्दा त्यो कृति ‘शब्दयात्रा प्रकाशन’ बाट प्रकाशन गर्ने निधो भयो र हामी दुवैजना अर्को दिन गोसाइँस्थानमा गई हाम्रो योजना उहाँलाई सुनायौँ । उहाँ प्रसन्न हुनुभयो र कापी सुम्पिनुभयो ।
यस पुस्तकमा सर्वप्रथम मङ्गलाचरणका रूपमा प्रार्थना गरिएको छ । त्यसपछि करन्यास, हृदयादिन्यास र पाठविनियोग गरी प्रथम अध्यायमा प्रवेश गरिएको छ । यो शास्त्रीय शैली बडो सुन्दर देखिन्छ ।
सनातन वैदिक धर्मदर्शन र साहित्यमा ‘श्रीमद्भगवद्गीता’ अद्भुत र महान् ग्रन्थ हो । १०८ उपनिषद्हरूको सार रहेको ‘गीता’ को ७०० श्लोक पढेर राम्ररी बुझेपछि अन्य धार्मिक पुस्तकहरू पढ्नैपर्दैन । हामी मनुष्यहरू प्राणद्वारा सञ्चालित भएकाले प्राणी कहलायौँ । त्यो प्राणलाई चैतन्य भनियो । चैतन्य भनेको वास्तवमा आत्मतàव हो, जुन सृष्टिकर्ता परब्रह्म परमात्माको अंशरूप हो । आत्मतàवको यथार्थ आध्यात्मिक विवेचना ‘गीता’ ले जति विश्वको अन्य कुनै ग्रन्थले गरेको छैन । आत्मा शुद्ध, मुक्त, बुद्ध, निर्विकार, निर्विशेष र निरञ्जन हुँदाहुँदै पनि मनुष्यको दुःखको कारण पुनर्जन्मको गोलचक्कर हो अनि पुनर्जन्मको कारण प्रकृतिनिःसृत त्रयगुण सत, रज, तम हुन् । कर्मफलका कारण नै मनुष्यले बारम्बार उँचनीच योनिहरूमा जन्म लिनुपरेको हो । मुक्तिको मार्ग भनेको आत्माको परमात्मासँगको मिलन, विलय वा साक्षात्कार हो । त्यो मिलन वा विलयका तीन मार्ग छन् — कर्मयोग, ज्ञानयोग र भक्तियोग । यसैलाई उपनिषद्ले प्रस्थानत्रय भन्दछ । यही नै ‘गीता’ को दार्शनिक पाटो हो ।
धार्मिक दृष्टिले भगवान् श्रीकृष्ण २८ औँ द्वापरयुगमा मथुरामा जन्मेर द्वारकाधीशका रूपमा द्वारकामा देहत्याग गर्ने श्रीहरिविष्णुका एक अवतार मात्र नभई श्रीकृष्ण स्वयं अद्वैत, परब्रह्म परमात्मा र अनन्तकोटि ब्रह्माण्डका नायक हुनुहुन्छ । सम्पूर्ण चैतन्ययुक्त पदार्थहरू र जडवस्तुहरूसमेत उहाँको विस्तार वा भृकुटीविलास मात्र हो । यो ‘गीता’ को आध्यात्मिक पाटो हो ।
यसै सन्दर्भमा ‘गीता’ को चर्चित पङ्क्ति अर्थात् चतुर्थ अध्यायको सातौँ–आठौँ श्लोकको मूल रूप यस्तो छ —
यदा–यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे–युगे ।।
यी पङ्क्तिलाई तुलसीदासजी महाराज अवधी भाषामा लेख्नुहुन्छ —
जब–जब होइ धरम कै हानी ।
बाढ ही असुर अधम अभिमानी ।।
तब–तब प्रभु धरि विविध सरीरा ।
हरहिं कृपानिधि सज्जन पिरा ।।
‘गीता’ को यही चर्चित श्लोकको नेपाली कवितानुवाद गर्दै मुक्तिजी महाराज लेख्नुहुन्छ —
जब–जब धर्म गलेर जान्छ ।
सुसभ्य संस्कृति ढलेर जान्छ ।।
अधर्म छोडेर यथास्थिति लिन ।
म पुग्दछु अर्जुन फेरि जन्मन ।।
पालेर साधु गरी नाश दुष्टको ।
उद्पादना गर्दछु फेरि इष्टको ।
भै धर्मसंस्थापनका निमित्तक ।
सम्भाव हुन्छु युगका युगौँतक ।।
सरल, सरस, छन्दोबद्ध शैलीमा अद्भुत कृति ‘गीता’ को अठाह«ै अध्यायलाई नेपाली भाषामा कवितानुवाद गर्ने श्री मुक्ति शर्मा महाराजलाई हार्दिक बधाई तथा नमन छ । सम्पादन गरिदिने स्रष्टा श्री हरि मञ्जुश्री र प्रकाशन गरिदिने शब्दयात्रा प्रकाशनलाई पनि धन्यवाद छ । हरे कृष्ण !
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |