केही कामहरूमा माधुर्य हुन्छ । त्यस्ता कर्महरू स्वयं मधुर हुन्छन् र मधुकर्महरूले नै मुलुकलाई मधुरताबाट मुग्ध बनाइदिन्छन् । त्यसरी मधुकर्मबाट मधुरता छर्नेहरूमध्ये मधुकुमार वज्राचार्य पनि एकजना हुनुहुन्छ । म अहिले उहाँलाई सम्झँदै उहाँसमेतको सामाजिक संस्था ‘सहयोग र सरोकार’ का विषयमा केही लेख्न खोजिरहेको छु ।
हिमाल, पहाड र तराई सँगसँगै रहेको अनि प्रकृतिको वरदानका रूपमा वन, नदी, झरना, ताल आदिले सजिएको पृष्ठभूमिमा छ नेपाल । यहाँका विभिन्न उचाइमा थरिथरिका खाद्यान्नबाली, तरकारी, फलफूल आदि लगाइन्छन् र पशुपालनलगायतका विभिन्न पेसाहरू गरिन्छन् । यसरी नै यहाँका नेपालीहरू आफ्नो जीवन चलाउँदै आएका छन् ।
प्राकृतिक हिसाबले नेपाल निकै धनी छ । तर यहाँ बस्ने नेपालीहरू भने आफूलाई धनी र समर्थवान् बनाउन सकिरहेका छैनन् । यहाँ बाटोघाटोको कमी छ, पिउने पानीको प्रबन्ध छैन, चर्पी र ढलसमेत छैन, जताततै फोहोर गर्ने बानी पनि छ । भएका रूखबिरुवा नासिनाले वातावरणमा पनि नराम्रो असर पर्न थालेको छ । पहिलेका बूढापाका पुरुष र महिलाले स्कुलहरू नहुँदा पढ्न पाएका थिएनन् । अहिलेका केटाकेटीहरूले पढ्न पाएका त छन्, तर यहाँ रोजगारी नभएकाले कामको खोजीमा बिदेसिने क्रम जारी छ । ग्रामीण भेगका अलि पढेलेखेका युवायुवतीहरू कुनै सीपविना नै विदेशमा भौँतारिइरहेका छन् । कैयौँले त्यहाँ दुःख झेल्नुपरेको कुरा पत्रपत्रिकाहरूले दर्साइरहेकै छन् ।
गाउँघरमा स्वास्थ्यसम्बन्धी उपचारको राम्रो प्रबन्ध हुन पाएको छैन । परम्परागत हिसाबले मात्रै खेती र पशुपालन गरिएको छ । भएका वनजङ्गल नाश हुनु, पानीका स्रोतहरू सुक्नु तथा बाटोघाटोको कमीले गर्दा आउन–जान सहज नहुनु आदि कारणले गाउँमा आवश्यक खाद्यान्न र अन्य सामग्री पु¥याउन कठिन छ । गाउँमा उत्पादन भएका अन्न, फलफूल, अन्य वस्तुहरूले राम्रो मोल पाइरहेका पनि छैनन् । त्यसैले गाउँले जनता ठूलो कठिनाइ भोगिरहेका छन् ।
अर्को कुरो, ‘आफूले पढ्न पाइएन, यता केही छैन, काम गर्ने मलोमेसो नै भएन, रोजगारीसम्म पनि भएन, के गरूँ’ भनेर भौँतारिएका थुप्रै जनताहरू गाउँमा अलमलिएर बसेका छन् । आफ्ना हातखुट्टा बलिया भए पनि उनीहरू काम गर्ने ज्ञान, सीप र तालिमको अभावमा आफूलाई हीनभावनाले ग्रस्त बनेका छन् र केही गर्न नसक्ने बनेका छन् । आफूसँग भएको काम गर्ने शक्ति र आफ्नै वरपरको अवसरलाई देख्न नसक्ने तर अरूले गरेका राम्रा कामको चासो र रिसचाहिँ गर्ने प्रवृत्तिले गर्दा समाज नराम्रोसँग थला परेको छ ।
आफूले आफैँलाई हेपिएको ठान्ने, केही काम गर्न नसक्ने सोच्ने अनि गरिबीको कारणले गर्दा आफूसँग भएको शक्ति, सामथ्र्य र सिर्जनाशक्ति सबै बिर्सेर परनिर्भरतामा आश्रित हुन खोज्ने प्रवृत्ति पनि प्रशस्तै छ । यस प्रवृत्तिले गाउँसहर सबैलाई नराम्ररी गाँज्न थालेको छ र स्थिति पहिलेको भन्दा झन् नराम्रो हुँदै गइरहेको भान हुन थालेको छ ।
यस्तो दुर्दशापूर्ण अवस्थामा केही व्यक्तिहरूलाई एकै थलोमा राख्तै जागरुक बनाएर उनीहरूमा अथाह शक्ति छ र उनीहरू बसेको ठाउँमा प्रशस्त अवसर रहेको छ भन्ने जानकारी दिनु ठूलो कुरो हो । त्यस्तो जानकारी दिने क्रममा नै २०६२ सालमा ‘सहयोग र सरोकार’ भन्ने संस्था खुल्यो र यस संस्थाले मानवीय धारणा बोकेर नयाँ दिशाबोध दिई जीवनमा नयाँ सक्रियताको सञ्चार गर्न खोज्यो । असचेत मानिसहरूको मस्तिष्कमा त्यससंस्थाले ‘मानिस आफ्नो मालिक आफैँ हो र आफूले अरूसँग मिलेर आफूसँग भएको ज्ञान र सीपबाट यहाँ भएका स्रोत र साधनको प्रचुर मात्रामा उपयोग र उपभोग गर्नुपर्छ, आफूसँग भएका ज्ञानगुनका कुरा अरूसँग साटासाट गर्नुपर्छ र नजानेका–नबुझेका कुराहरू सिकी अघि बढ्नुपर्छ’ भन्ने चेतना दिन थाल्यो । यसबाट नयाँ शक्ति, नयाँ भावना र नयाँ धारणाको सञ्चरण भई थोरै समयमा नै थुप्रै ठाउँका महिला, युवा र वृद्धवृद्धाको संलग्नतामा मानिसहरू आफूलाई परिवर्तन गराउँदै गए र आफ्नो गाउँठाउँमा नयाँ कामहरू गर्न समर्थवान् बन्दै गए ।
यस संस्थाले अनौपचारिक प्रौढकक्षा सञ्चालन ग¥यो, कृषि, पशुपालन, प्राथमिक उपचार आदिका लागि धेरैजनालाई तालिम दियो र राम्रा कार्यकर्ताहरू तयार पा¥यो, उनीहरूमार्फत स्वास्थ्य, शिक्षा, स्वास्थ्यजाँच, चर्पीनिर्माण, सरसफाइ, सुधारिएको धूवाँरहित चुलोको निर्माण आदि कार्यक्रमहरू चलायो । ती कामहरूबाट गाउँमा निकै चहलपहल र सुधारका कामहरू भएको पाउन थालिएको छ ।
तालिमका अवसरमा हुने गरेका कृषि, स्वास्थ्य, पशुपालन आदिसम्बन्धी प्रदर्शनी, मेला, लोकगीत, दोहोरी गीत, कविता, हाजिरीजवाफ आदि कार्यक्रमबाट थप जानकारी हुने, तालिम रुचिकर लाग्ने र रमाइलो हुने त छँदैछ । बेलाबेलामा हुने किसानहरूको अध्ययन–भ्रमण, भेटघाट र सहजकर्ताको सहयोगबाट त कार्यक्रमले झन् राम्रो गति लिएको देखिएको छ ।
‘सहयोग र सरोकार’ विस्तार भएको म देखिरहेको छु । २३ वटा जिल्लामा कृषि कार्यक्रम, २० वटा जिल्लामा प्रौढशिक्षा, तरकारीखेतीका लागि १४ पटक तालिम, कहिलेकाहीँ कृषि र पशुसम्बन्धी कार्यक्रमको संयुक्त आयोजना, पिउने पानीको नमुना लिई खानयोग्य भए–नभएको हेर्ने काम, ४ वटा जिल्लाका १२२ घरमा सुधारिएको चुलो, २३ जना असहाय, अनाथ तथा त्यागिएका बालबालिकाहरूलाई पढ्न, खान, खेल्न, मनोरञ्जन गर्न र बस्न ‘ज्योतिनिवास बालगृह’ को सञ्चालन, यी सबै क्रियाकलापहरू म देखिरहेको छु । बालगृहका बालबालिकाले संरक्षण र पढ्ने वातावरण पाएको पनि मैले देखेकै छु । कृषि, पशुपालन र तरकारीखेतीसँगै मैनबत्ती बनाई बेच्ने कामले किसानहरूलाई आर्थिक लाभ भएको समेत मैले सुनेको छु ।
‘सहयोग र सरोकार’ ले अरू संस्थाहरूले गर्नेभन्दा फरक तरिकाले प्रभावकारी रूपमा काम गर्दै आएको छ । कामलाई बढी व्यावहारिक बनाउनु, सचेतना फिँजाउनु र किसानहरूको समस्या देशकै समस्या हो भन्ने कुरा बुझाउँदै र त्यसमा सरोकार पनि राख्तै विशेष सहयोग पु¥याउनु यस संस्थाको गुनिलो काम हो ।
यस्तो मधुमय काममा सुरुदेखि नै अगुवाका रूपमा लागिपर्ने मधुकुमार वज्राचार्य धन्यवादका पात्र हुनुहुन्छ । उहाँको नेतृत्व र सक्रियतामा थोरै समयमा नै सम्पन्न भएका राम्रा कामहरूले किसानहरूलाई प्रोत्साहन दिएको छ र प्रत्यक्ष लाभ पनि पुगेको छ ।
‘सहयोग र सरोकार’ मा म ५–६ पटक पुगिसकेको र त्यहाँको कामबाट प्रभावित भएको हुनाले नै मैले यति कुरा यहाँ लेख्न सकेको हुँ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |