logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

गाउँमै दुध चिस्यान केन्द्र

प्रभातफेरी अनलाइन२५०७ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २३, मंगलबार(१३ साल अघि)
गाउँमै दुध चिस्यान केन्द्र

ज्ञानमणि कालोटोपी ÷ चण्डेनीमण्डन


जिल्लाको उत्तरीभेग चण्डेनीमण्डन गाविसमा दुध चिस्यान केन्द्र स्थापना भएपछि यहाँका किसानहरुलाई सजिलो भएको छ ।  आँपघारी दुग्ध उत्पादक सहकारी संस्थाको सक्रियता तथा दुग्ध विकास संस्थान, काठमाडौं दुग्ध वितरण आयोजना वालाजुको प्रत्यक्ष सहयोगमा चण्डेनीमण्डन– १ आँपघारीमा जोगिटार चिलिङ सेन्टरको स्थापना भएपछि यहाँका किसानलाई सजिलो भएको हो ।
चिलिङ सेन्टर स्थापनासंगै आसपासका ज्याम्दी र महादेवस्थान गाविस तथा छिमेकी जिल्ला सिन्धुपाल्चोकको भिमटार र भोटसिपा गाविसका आठ वटा दुग्ध उत्पादक सहकारी संस्था आवद्ध करिब ६ सय कृषकहरुलाई दुध ढुवानीमा सजिलो भएको छ । उनीहरु गाउँबाट दैनिक दुध बोकेर १५   किलोमिटर टाढा पुग्नु पर्ने बाध्यताबाट मुक्त भएका छन् ।
आयोजनाले दुध ढुवानीका लागि वालाजुबाटै ट्याङ्कर पठाइदिने गरेको छ । यसकारण कृषकहरुको दुध ढुवानी खर्च समेत बचत भएको छ । संस्थानले नै २ जना कर्मचारी पनि राखिदिएको छ ।
‘ पहिला कृषकहरुमा धेरै समस्या थियो  ’ आँपघारी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद नेपाल भन्छन्–“गर्मि महिनामा दुध विग्रने समस्या एकातिर थियो भने अर्कातिर बोकेर टाढा सम्म जानु पर्दा लागत धेरै पथ्र्यो ।” योसँगै गाउँमा पशुपालन गर्ने कृषकको संख्या पनि वढिरहेको छ । केन्द्रमा दैनिक २ हजार पाँचसय लिटर दुध संकलन हुने गरेको छ  ।
जिल्लामा पशुपालन गर्दै दुध उत्पादन गर्ने कृषकहरुको संख्या करिब २० हजार भन्दा वढि छ । जिल्लाबाट दैनिक एक लाख ५० हजार लिटर दुध राजधानीको बजारमा भित्रने गरेको छ । गाउ गाउँमा पशुविमा कार्यक्रम पनि संचालन भएपछि कृषकहरु पशुपालनमा आकर्षित भइरहेका छन् । काभ्रे दुध उत्पादनको हिसावले अग्रणी जिल्ला मानिन्छ ।

फोटो क्याप्सन ः  चण्डेनीमण्डन स्थित आँपघारीमा स्थापना गरिएको जोगिटार चिलिङ सेन्टरमा काम गर्दै कर्मचारी रामकुमार क्षेत्री ।  तस्विर ः ज्ञानमणि