नगेन्द्र अधिकारी ÷ पुरानागाउँ (अधिकारीथुम )
दाप्चाको पुरानागाउँस्थित बाल उज्जवल माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत सविना सुवाल खाली समय हुने वित्तिकै विद्यालय नजिकै बारीमा पुग्छिन् । मौसम अनुसार, उनी त्यहाँ लगाइएको गोलभेँडाको झार उखेल्ने, पानी हाल्ने, खन्ने र यसको स्याहार सुसार गर्ने गर्छिन् ।
कक्षा ८ मा नै अध्ययनरत रेशम घोरसाइने पनि खाली समयमा बारीमा नै पुगेका हुन्छन् । उनी पनि विद्यालयमा नै गरिएको गोलभेँडा खेतीको लागि समय खर्चिन्छन् । निकै मिहनेत गरेका उनी यो बर्ष ५० देखि ६० हजारको गोलभेँडा फलाउने आशा समेत गर्छन् ।
सविना र रेशम जस्ता यस विद्यालयमा अध्ययनरत ३४ विद्यार्थीले विद्यालयमा नै गोलभेँडा खेती गरिरहेका छन् । ईट्टाभट्टामा जाने विद्यार्थीलाई लक्षित कार्यक्रमकै कारण विद्यार्थी बाबुआमा सँगै अन्यत्र जाने क्रम रोकिँदै गएको छ र पढाइ नियमति भएको छ । विश्व शिक्षाको सहयोगमा शान्ती जनआदर्श सेवा केन्द्रले “नयाँ बाटो नयाँ पाइला कार्यक्रम ” अन्तर्गत विद्यालयलाई ५० हजार सहयोग गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायणभक्त श्रेष्ठले उपलव्ध गराएको जग्गामा विद्यालयले अहिले कक्षा ६ देखि ९ सम्मलाई पाठ्यक्रम नै तयार गरेर “पुर्व व्यवसायिक शिक्षा ” दिइरहेको छ । ईट्टाभट्टामा जाने परिवारका ३४ विद्यार्थी अहिले विद्यालयमा नै गोलभेँडा खेती गरिरहेका हुन् । शिक्षक भुमिमान लामा र माधवप्रसाद पौडेलले स्थानीय पाठ्यक्रम निर्माण गरेका हुन् । कक्षा ६ र ७ मा सैद्धान्तिक ज्ञान दिने गरिएको छ भने ८ र ९ ले प्रयोगात्मक गर्ने गरेका छन् ।
२०६८ साल फाल्गुनमा परियोजना शुरु हुनुभन्दा अघि सविना र रेशम पनि इट्टाभट्टामा जाने गर्दथे । कमजोर आर्थिक पृष्ठभूमिका उनीहरुको यो वाध्यता पनि थियो । आजकाल उनीहरु बाबुआमा जाँदा पनि घरमा नै बस्छन् । “पढाई पनि हुने आम्दानी पनि हुने भएकाले विद्यालयमा नै खेती गरिरहेका हौँ । ” सविनाले भनिन् । विद्यालयले आम्दानीको ९० प्रतिशत विद्यार्थीलाई र १० प्रतिशत विद्यालयलाई वाड्ने गरेको छ । यसमा विद्यार्थी र अविभावक पनि खुशी छन् ।
विद्यालयका प्रधानाध्यापक श्रेष्ठले यसले पढाइ नियमित भएको सुनाउँछन् । “कार्तिक पछि चैत सम्म जाने भएकाले उनीहरुको पढाई विग्रने गरेको थियो, अहिले यो रोकिएको छ र पढाई नियमित भएको छ । ” उनले भने ।
यसबाट अविभावक पनि सन्तुष्ट छन् । आम्दानीको लागि नै बालबच्चा सँगै लानुपर्ने बाध्यता भएका उनीहरु सिप पनि सिकिने र आम्दानी पनि हुने भएकाले अविभावक समेत राजी भएको विद्यालयका शिक्षक एवं संयोजक भुमिमान लामाले बताए । “उहाँहरु (अविभावक) पनि सकरात्मक छन्, उहाँहरुलाई पनि सिकाउने गरेका छौँ । ” उनले भने ।
संस्थाले निकृष्ट खालको बालश्रम नियन्त्रण गर्न र विद्यालय शिक्षाको पहुँच बढाउन जिल्लाको बाल उज्जवल माध्यमिक विद्यालय, मंगल जनविजय उच्च मावि, रोशी माध्यमिक विद्यालय, जनक उच्च मावि, लक्ष्मीनारायण उच्च मावि, श्रीकृष्ण उच्च माविमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम संयोजक मञ्जु मानन्धरका अनुसार, विभिन्न विद्यालयका ४ सय ८० विद्यार्थी लाभान्वित छन् । पाइलट प्रोजेक्टको रुपमा सञ्चालित यस कार्यक्रमको सफलतासँगै अन्य विद्यालयमा पनि विस्तारको योजना रहेको संस्थाका अध्यक्ष शंखवुद्ध लामाले जानकारी दिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |