नगेन्द्र अधिकारी ÷ बनेपा
विभिन्न पेशा व्यवसायमा संलग्न ९ युवाले ४ करोडको लगानीमा काभ्रे कृषि बजार मल्टिपर्पाेज प्रालि स्थापना गरेका छन् । १० रोपनी जग्गा १५ बर्षको लागि लिजमा लिएर उनीहरुले कृषि बजार सञ्चालनमा ल्याएका हुन् ।
राजकुमार बस्नेत, सरोज दुवाल, विजय श्रेष्ठ, विक्रम मानन्धर, बालकृष्ण शाही, धन शाही, नातिभाई मानन्धर, दिलबहादुर मानन्धर, शान्तराज खड्गीले संयुक्त रुपमा लगानी गरेका छन् ।
२० बर्षदेखि तरकारीको काम गरिरहेका विजय र साथीभाइले सल्लाह गरेर २०६९ असोज देखि काम शुरु गरेका थिए । १ सय १० स्टल क्षमताको बजारमा अहिले १ सय स्टल तयार भइरहेका छन् । ताजा तरकारी, माछा, मासु, गेडागुडी रेडिमेड सामान लगायतका सामान समेत राखिने प्रालिका अध्यक्ष बस्नेतले जानकरी दिए । “जिल्लामा तरकारीको व्यवस्थित बजारको आवश्यकता महशुस गरेर स्थापना गरेका हाँै । ” उनले भने ।
कृषिमा नै भविष्य देखेर यो क्षेत्रमा लगानी गरिएको सञ्चालक विजय श्रेष्ठले जानकारी दिए । “एकै ठाउँमा कृषि सम्वन्धि सबै सामान पाइयोस् भन्ने हो । ” उनले भने । श्रेष्ठका अनुसार, प्रालिले छिट्टै कृषि औजार, मल, भेटेनरी सामाग्रीहरु पनि राख्नेछ । किसानको मागकै आधारमा भण्डारण गर्ने स्थान पनि उपलव्ध गराउने उनले बताए । “किसानहरुको सामान किन्छौँ, पनि उहाँहरुले यहीँ भण्डारण पनि गर्नसक्नुहुन्छ । ” उनले भने । प्रालिले विभिन्न तरकारी उत्पादक किसान, सहकारीहरु संग पनि समन्वय गरिरहेको छ । विचौलियाको अन्त्य गर्ने उद्धेश्य रहेको जानकारी दिँदै सञ्चालक सरोज दुवालले डिजिटल नापतौल प्रयोग गर्ने भएकाले किसानहरु नठगिने दावी गरे ।
काभ्रे तरकारी उत्पादनको हिसावले अग्रणी जिल्ला मानिन्छ । राजधानीमा मागको २० प्रतिशत तरकारी काभ्रेबाट आपुर्ति हुने गरेको छ । एक तथ्यांक अनुसार काभ्रेबाट बार्षिक सवा लाख मेट्रिकटन तरकारी राजधानी भित्रिने गरेको छ ।
कृषि विकास कार्यलय काभ्रेका अनुसार, जिल्लाभर ९ हजार ५ सय ४५ हेक्टरमा तरकारीखेती गरिन्छ । जहाँ बार्षिक १ लाख ५० हजार २ सय ३८ मेट्रिकटन तरकारी उत्पादन हुन्छ । उत्पादनको १० देखि २० प्रतिशत जिल्लामै खपत हुन्छ भने बाँकी राजधानीलगायत मुलुकका विभिन्न सहरमा जाने कार्यालयले जनाएको छ ।
काभ्रेबाट पोखरा, नारायणघाटलगायतका प्रमुख सहरहरुमा पनि ठूलो परिमाणमा तरकारी जाने गरेको छ काभेरको पाँचखाल, नाला, महादेवस्थान, जैसीथोक, ज्याम्दी, कुशादेवी, ढुंर्खकलगायतमा व्यावसायिक तरकारीखेती गरिँदै आएको छ । काभ्रेमा आलु, गोलभेंडा, काउली, बन्दा, रायो, मुला, फर्सी, खुर्सानी, सिमी, भन्टालगायतका तरकारी उत्पादन हुन्छ ।
अलपत्र बन्यो तरकारी बजारको योजना
बनेपा नगरपालिकाले वडा नं ११ बुडोलमा सञ्चालन गर्न लागेको तरकारी बजारको योजना अलपत्र बनेको छ । केही संरचना बनेपनि यो प्रयोगमा आउन सकेको छैन । भौगोलिक तथा व्यापारिक रुपमा पायक नपरेका कारण नगरपालिकाले यसलाई सञ्चालनमा ल्याउन नसकेको हो ।
बनेपा नगरपालिकाले उपलव्ध गराएको जग्ग्मा सहकारी विकास तथा भवन डिभिजन कार्यलयले २ करोड ७५ लाखको लागतमा बनाएको बजार मुख्य बजारबाट टाढा र चहलपहल कम हुने स्थानमा भएकाले व्यवसायीहरु यहाँ आकर्षित हुन सकेनन् । केही संरचनामा मात्रै बन्न बाँकी रहेकोले नगरपालिकालाई अझै हस्तान्तरण गरिएको छैन । नगरपालिकाका प्रशासकीय अधिकृत यज्ञराज बैद्य यो सञ्चालन गर्ने विषयमा पटक पटक छलफल भइरहेको जानकारी दिए । “नीजीसँगको साझेदारीमा चलाउने की भन्ने छलफल भैरहेको छ, अव यो छिट्टै सञ्चालनमा आउँछ । ” उनले भने ।
नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने प्रयास भएपनि अनिच्छुक देखिएकाले त्यो पनि सम्भव भएको छैन । “सानो सामान लानुपर्यो भनेपनि १ सय रुपैँया त रिक्सा भाडा नै लाग्छ, ती व्यवसायीले भने, “नगरपालिकाले बनाउने बेलामा नै सोच्नुपथ्र्यो । ” बनेपास्थित तरकारी बजार अव्यवस्थित भएपछि नगरपालिकाले व्यवस्थित तरकारी बजार सञ्चालन गर्न लागेको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |