मुकुन्दप्रसाद उपाध्याय
पर्वत जिल्लाको कुस्मा बजारपारि गुप्तेश्वर वेदवेदाङ्ग विद्याश्रम रहेछ । एक्काइसौँ शताब्दीमा संस्कृत पढ्ने विद्यार्थीहरूले पनि कम्प्युटरसम्बन्धी सामान्य ज्ञान र सीप आर्जन गर्नु अपरिहार्य भइसकेको स्थितिमा उक्त विद्याश्रमको अनुरोधमा काठमाडौँ विश्वविद्यालयले त्यस विद्याश्रमलाई दुई सेट पुराना कम्प्युटर उपहार दिएको थियो । अचेल ज्योतिषीहरूले समेत कम्प्युराङ्कित चिना बनाउन थालिसकेको स्थितिमा वटुकहरूले पनि सानो उमेरमै किबोर्डसँग खेल्न पाउनु तिनको अधिकारै हो ।
त्यो आश्रम मनोरम स्थानमा भएको, आश्रममा माता गायत्रीको सुन्दर मन्दिर रहेको र म पनि गायत्रीको उपासक भएको चाल पाएर त्यस विद्याश्रमका गुरुहरूले कुस्मा आउन मलाई आग्रह गरेको दुई वर्ष भइसकेको थियो । सायद शिवहरि के० सी० को समेत आग्रहलाई धेरै पर सार्न नसकी अन्ततः २०६९ सालको नयाँ वर्षमा हामी त्यहाँ जाने भयौँ । कुस्माको आश्रम, गुप्तेश्वर गुफा र बागलुङकालीको दर्शनका साथै म्याग्दीमा अवस्थित गलेश्वरधामको दर्शन गर्ने धोको पूरा गर्न म, मेरो परिवार र छोरी, डा० भोला थापा र उहाँको परिवार समा भाउजू, ऋषभ र ऋतिका तथा शिवहरि के० सी० गरी आठजना जाने टुङ्गो लाग्यो ।
धुलिखेल विश्वविद्यालयचोकका शाकाहारी टुपीधारी साधक श्रीकृष्ण कुइँकेलको गाडीमा २०६९ साल वैशाख १ गते हामी पश्चिमतिर लाग्यौँ । लामो तीर्थयात्रा भएकाले जाँदा केही ढिलो भइसकेको भए पनि भक्तपुर सहरभित्र छिरेर दत्तात्रयजी महाराजको दर्शन गरी काठमाडौँमा डा० भोला थापाहरूलाई लिँदै करिब १० बजे भन्ज्याङ काटियो । नौबिसे जुगेखोलामा हलुका चियापान गरी मुग्लिन पुग्दा–नपुग्दै गाडीमा एसिडको नराम्रो गन्ध आयो । एक्कासि वाइपर आफैँ चल्न थाल्यो, बन्द भएन । मुग्लिनमा खाना खान गाडी रोकेर हेर्दा ब्याट्री तातेर झन्डै पड्किने स्थितिमा पुगेको थाहा पाइयो । हामी खाना अर्डर गर्न थाल्यौँ । कृष्णभाइ र शिवहरिभाइचाहिँ वर्कसप खोज्न जानुभयो । मिस्त्री आयो, बनायो, सामान्य स्पेयरपार्ट बदल्नुप¥यो । धन्य मुग्लिनमा पाइयो । गाडी बिग्रँदा बच्चाहरूको मुहार मलिन देखियो फर्कनुपर्ने पो हो कि भन्ने भयले । मैले मनैमन आराध्यदेवी गायत्रीलाई स्मरण गरेँ । गाडी बन्यो । धुलिखेल बस्ने बानी परेर होला मुग्लिनतिरको बाटो साह«ै गर्मी लाग्यो ।
मुग्लिन छाड्दा ३ बजिसकेको थियो । ५ बजेतिर पोखरा पुगियो । पोखराको राम्रो वर्कसपमा गाडी एकपटक देखाएर पो जाने हो कि भन्ने सल्लाह भयो । तर नयाँ वर्ष परेकाले प्रायः कारखाना बन्द रहेछन् । चालक कृष्णभाइले ‘३–४ बोतल डिस्टिल वाटर किनेर हालौँ, केही हुन्न, जाऊँ’ भनेर हिम्मत दिलाए । त्यसै ग¥यौँ । पोखरामाथि नौडाँडाबाट फेवाताल साह«ै राम्रो देखिँदो रहेछ । फेवाताल नदेखेकी सामयीलाई फेवाताल देखाउन डा० भोला थापाले त्यही चौतारीमा केही बेर विश्राम गर्ने भन्नुभयो । साथमा लगिएको भुजिया, दालमोठ, चिउरा, खजुरी आदि खाएर झन्डै ७ः३० बजेतिर कुस्मा पुगियो । आश्रमका गुरुजीका लागि केही फलफूल किनेर आश्रममा पुग्यौँ । हामीले एक सेट कम्प्युटर लगेका थियौँ । त्यो देखेर वटुकहरू साह«ै खुसी भए । तिनको खुसी देख्ता हामी पनि आनन्दित भयौँ ।
जन्मघर खुर्कोट भएका एकजना देवकोटा थरका साधक पछि संन्यासधर्म लिएर विष्णु गिरीजी महाराजका रूपमा त्यहाँ बस्नुभएको रहेछ । उक्त वेदविद्याश्रममा त्रिपाठी थरका एकजना अर्का शिक्षक र एकजना ब्रह्मचारी बालगोपाल गिरी पनि हुनुहुँदो रहेछ । लघुकौमुदी, व्याकरण, चण्डी, अमरकोश आदि त्यहाँ पढाइ हुँदो रहेछ । निम्नमध्यमवर्गीय परिवारबाट आएका २५–३० जना वटुकहरू त्यहाँ बस्ता रहेछन् । वटुकका लागि रासनपानी पशुपतिस्थित अन्नपूर्ण भण्डारबाट सहयोग हुँदो रहेछ भने केही नगन्य सरकारी अनुदान र अन्य दानदातव्यबाट गुरुकुल चलेको रहेछ । राम्रो स्थान, सुन्दर गायत्री मन्दिर, हनुमानजीको राम्रो मूर्ति, छात्रावास भवन भए तापनि घरहरूको फिनिसिङ हेर्दा केही आर्थिक अभाव रहेको पाइन्थ्यो ।
आश्रममा महिलाहरू एउटा कोठामा र पुरुषहरू बरन्डामा डसना ओछ्याएर सुतियो । आश्रमको शुद्ध शाकाहारी, त्यसमा पनि श्रद्धामिश्रित भोजनले सुत्नासाथ निद्रा परिहाल्यो । बिहान ४ बजे वटुकहरूलाई उठाउन ‘कराग्रे वसती लक्ष्मी’ आदि श्लोकहरूको वाचनले हाम्रो पनि निद्रा खुल्यो । यथास्थान प्राणायाम, ध्यान आदि गरेर ५ बजे स्नान आदि गरेपछि जप, पाठ सिध्याई गायत्री मन्दिरको दैनिक प्रातः आरतीमा सरिक भइयो । आरतीपछि आश्रमकै स्थानीय कफीमिश्रित चिया पिएर मन्दिरभन्दा करिब १०० मिटर तल रहेको गुप्तेश्वर गुफातिर गइयो । ६ः३० बजे लोडसेडिङ हुने हुँदा गुफामा जाँदा ४–५ वटा चर्च लिएर जानुप¥यो ।
माता पार्वतीका पिता पर्वतराजको नामबाट नै पर्वत जिल्लाको नाम रहेको रहेछ । हामीले हिउँले ढाकेको हिमालय पर्वतलाई पर्वतराज मानेका थियौँ । बनारसतिर हिन्दूस्थानीहरूले ‘पर्वत कहाँ छ ?’ भन्दा सुदूरउत्तरलाई हिमालय पर्वत भन्ने गरेकाले हामीले त्यसैलाई मानिरहेका रहेछौँ । जस्तै ः सामान्य बालीचालीको भाषामा हामी भन्ने गर्छौं ‘पश्चिम हुम्ला–जुम्ला’ भनेर, जबकि हुम्ला र जुम्लाको दूरी र प्रकृतिमा धेरै नै अन्तर छ । पर्वत जिल्लाको उत्तरी भेकमा हिमाल पनि छ, नभएको होइन ।
पर्वतराजकी छोरी पार्वतीले ‘महादेव पति पाऊँ’ भनी कठोर तपस्या गरेको गुफा नै त्यही गुप्तेश्वर गुफा रहेछ । एउटा विशाल पर्वतको गर्भमा अद्भुत गुफा रहेछ, जुन भित्रै साततले रहेछ । सत्य, त्रेता र द्वापर युगमा ऋषिमुनिहरू धेरैले त्यही गुफाभित्र हजारौँ वर्ष तप गरेको हुनुपर्छ । गुफाभित्र तेत्तीसकोटि देवताहरूका आकृति, पञ्चपाण्डवका आकृति, लवकुशसहितकी सीताको आकृति, वजरङ्गबलीको आकृति आदि उल्लेख्य छन् भने मुख्य आकर्षण पार्वतीले स्थापना गर्नुभएको नन्दीको पीठमा करिब २ फिटको शिवलिङ्ग रहेछ । त्यस शिवलिङ्गमाथि चौबीसै घन्टा गुफामाथिबाट प्राकृतिक रूपले नै तपतप जलधारा आइरहने अद्भुत चमत्कार देख्ता हामी सबै भावविभोर, गदगद र नतमस्तक भयौँ । गुफा जति अद्भुत, पवित्र र ऐतिहासिक छ, त्यति मात्रामा गुफाको प्रचारप्रसार भने भएको रहेनछ । गुफाको दर्शन गरेर फर्कंदा गुफाको मूल द्वारमै भारततिरबाट आएका शिवभक्त एकजना जोगी धुनी जगाएर बस्ता रहेछन् । गुफाको दर्शन गरेर फर्कने सबै दर्शनार्थीलाई दूध हालेको चिया–कफी निःशुल्क बनाएर खुवाउने उनको दिनचर्या रहेछ । खुट्टामा घुँघरू बाँधेका झन्डै ८० वर्षका ती जोगी अझै आफ्नै हातले चिया बनाएर खुवाउँदा रहेछन् । स्थानीय केही भक्त र दाताहरूमध्ये कसैले चिनी, कसैले चियापत्ती, कसैले कफी र कसैले दूध ल्याइदिने रहेछन् । त्यसैले उनको दिनचर्या चल्दो रहेछ । हामीले यस्ता निःस्वार्थी बाबाको चिया सित्तैँ खान नहुने ठानी २–३ सय रुपियाँ उनको थालीमा भेटी राखेर विभूत लगाई फर्कियौँ ।
गुफाबाट फर्केपछि डा० भोला थापाले भन्नुभयो — ‘विश्वका धेरै गुफाहरू हेरेँ, चीनको एउटा गुफाभित्रको तलाउमा हामीलाई नौकाविहार नै गराइयो । त्यो गुफालाई छाडेर यो नै ठूलो, राम्रो र पौराणिक गुफा लाग्यो ।’ समा भाउजूलाई चाहिँ हलेसी महादेवस्थानको झझल्को आएछ ।
आश्रमका गुरुहरू भोजन गरेर जान आग्रह गर्दै हुनुहुन्थ्यो, तर बागलुङकालीको र गलेश्वरबाबाको दर्शन भोकै पेटले गर्न भनेर हामीले खाना नखाने भयौँ । मोही खाएर जान भनियो र केही बेर रोकियौँ । त्यही बेला मलाई आश्रमका गुरु विष्णु गिरीजीले विशेष आग्रह गर्दै भन्नुभयो — ‘तपाईं आध्यात्मिक लेखकसमेत हुनुभएकाले हाम्रो पूर्वीय धर्मसंस्कृतिको जगेर्ना गर्न तपाईंले पहल गर्नुपर्छ । तपाईंहरू काभ्रेमा बस्नुहुन्छ । त्यहाँ प्राविधिक विषयहरू पढाइने अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय पनि छ । तर दुःख लाग्छ त्यत्रो काभ्रेभरि संस्कृत पढाउने एउटा पाठशालासम्म छैन । नमोबुद्धमा बौद्ध धर्मदर्शन पढाइने विशाल गुम्बा छ, तर वेदपाठशाला नहुँदा साह«ै खड्केको छ । पनौती नगर सांस्कृतिक नगर पनि हो । त्यहाँ एउटा संस्कृत पाठशाला खोल्नुप¥यो ।’
मैले ‘हुन्छ, म पहल गरौँला, स्थानीय समाजसेवीहरूलाई भनौँला, शिक्षामन्त्रीज्यूसँग आग्रह गरौँला’ भनेर गुरुजीलाई आश्वस्त पार्ने काम गरेँ ।
पर्वतको आश्रममा बसेका एकजना ब्रह्मचारी युवकलाई राति मैले चिनिनछु, बिहानको उज्यालोमा पो राम्रोसँग चिनेँ । उनी एकपटक २–३ वर्षअघि शिवहरि के० सी० सँग मेरो निवास धुलिखेल पनि आएका थिए । उनी त्यस बेला भर्खर दामोदरकुण्डबाट फर्केका थिए र उनले दामोदरकुण्डबाट ल्याएको एउटा राम्रो चिल्लो शालिग्राम मलाई दिएका थिए । उनको यात्रावृत्तान्तबाट प्रभावित भएर शिवहरिजीले र मैले दामोदरकुण्ड जाने योजना बनाएका थियौँ, तर जाने भनिएको दिनभन्दा दुई–तीन दिनअघि मेरी आमाले चाल पाउनुभएछ र मलाई जान दिनुभएन । झन्डै ९० वर्षकी आमाको इच्छाविरुद्ध म जान सकिनँ, शिवहरिजीचाहिँ जानुभयो । ती ब्रह्मचारी ३०–३२ वर्षका भए पनि २०–२१ वर्षका जस्ता तेजिला थिए । उनी जिउमा एउटा धोती लगाउँथे, कम्मरमाथि सर्वाङ्ग नाङ्गै हुन्थे, खुट्टामा जुत्ता–चप्पल लगाउँदैनथे । उनी खाली खुट्टा नै दामोदरकुण्ड गएका रहेछन् । काँडाले जस्तो घोच्ने तिखा ढुङ्गैढुङ्गा भएको पाँच दिनको यात्रा (फर्किंदा पाँच दिन) गर्न उनले कसरी सकेका होलान् खै !
आश्रममा बस्ता हामीले ज्याकेट लगाएका थियौँ जाडोले, तर उनलाई नाङ्गै देख्ता मैले सोधिहालेँ — ‘होइन महाराजजी ! तपाईंलाई जाडो लाग्दैन ?’
शिवहरिजीले ‘उहाँ त पुसमाघमा पनि यस्तै हो’ भने । उनी हाँसे मात्र । मैले पुनः ‘कसरी सम्भव हुन्छ ?’ भनेर सोद्धा उनले भने — ‘हुन्छ हजुर हुन्छ । योगाभ्यास, प्राणायाम अनि त्यसभन्दा पनि मुख्य कुरो ब्रह्मचर्यमा रहँदा जाडो, गर्मी आदि सहने क्षमता पैदा हुँदो रहेछ । सकेकै छु ।’
योगाभ्यास र प्राणायाम त प्रायः सबै जोगीहरू गर्ने गर्दछन्, तर गुह्य कुराचाहिँ ब्रह्मचर्यकै शक्ति रहेछ भनेर बुझेँ ।
कुस्माबाट हिँडेको केही बेरमै बागलुङको मुखैमा बागलुङकालीको मन्दिर आइहाल्यो । जङ्गलको बीचमा अवस्थित कालीमन्दिरमा यो मेरो दोस्रो दर्शन थियो । वर्षको दोस्रो दिन भएकाले निकै भीड थियो । भीडका कारणले भित्र पसेर दर्शन गर्न सम्भव भएन, बाहिरबाटै दर्शन गरेर फर्कियौँ । बाटाको वरपीपलको देवस्थानमा जमिनसम्म गएको वरको एउटा हाँगो रहेछ । त्यो हाँगोमा पछाडि फर्केर ढाड दलेमा नसासम्बन्धी रोग नहुने जनविश्वास रहेकाले हामीले पनि त्यसै गर्दै फोटो खिच्तै गयौँ । केटाकेटी रमाए ।
बागलुङकालीको दर्शनपछि एउटा पसलमा चिया खाएर बेनीतिर लागियो । गलेश्वर आश्रमसँग सम्बन्धित डा० भोला थापाका एकजना मित्रको सहायताले मोबाइलबाटै गलेश्वरमा कुनै राम्रो होटलमा खाना बनाइदिन अर्डर गरेपछि अर्धपक्की–अर्धकच्ची बाटो हुँदै करिब ११ बजेतिर गलेश्वर पुगियो । ती मित्रले आश्रमका पुजारीहरूलाई पनि हामीहरू आउने कुरा बताउनुभएको रहेछ । ढोकामै स्वागत गर्न आइपुगिहालेछन् । पूर्वीय संस्कृतिको यो संस्कारले मन छोइहाल्छ ।
साढे तीन रोपनी क्षेत्रफलको एउटै विशाल ढुङ्गामा गलेश्वर पीठ रहेछ । त्यस ढुङ्गाको माथि गर्भगृहजस्तो बीचमा जलको करिब ८ स्क्वायर फिटको एउटा कुण्ड रहेछ । तल कालीको सतहभन्दा झन्डै २०० फिट माथि ढुङ्गाको फेदबाट करिब २० फिट माथि पानी उम्रनु र पानीमा नै एउटा वृक्ष हुनुले हामीलाई आश्चर्यचकित तुल्यायो । त्यो कुण्डमा शेषनारायणको स्थापना गरिएको रहेछ । उत्तरतिरबाट प्रवेशद्वारमै गणेशजी महाराजको दर्शन गरेर गलेश्वर मन्दिरमा गलेश्वर महादेवको सुन्दर मन्दिरमा पूजा गरियो, त्यसपछि राधाकृष्ण मन्दिरको दर्शन गरियो । ‘स्वस्थानी व्रतकथा’ का अनुसार महादेवले दक्षको यज्ञकुण्डबाट सतीदेवीलाई पीठमा राखेर आर्यावर्तको भ्रमण गर्दा जुन–जुन ठाउँमा अङ्गपतन भए, त्यहाँ–त्यहाँ शक्तिपीठ र शिवलिङ्ग स्थापना हुँदै गएर अन्त्यमा महादेव गलेश्वर पुग्नुहुँदा सतीदेवीको गला पतन भएको स्थान त्यही ढुङ्गामाथि गलेश्वर महादेव उत्पन्न हुनुभएको रहेछ । अनि पुराणपुरुष ऋषभदेवपुत्र जडभरतको तीन जन्म त्यही काली नदीको तटमा भएको रहेछ । मन्दिरमुनि कालीतटमा जडभरतले तपस्या गरेको गुफा पनि रहेछ ।
ब्रह्माजीका मानसपुत्रहरूमध्ये पुलह ऋषिको कर्मस्थान पनि त्यही गलेश्वर रहेछ । त्यही गलेश्वरधाममा आएर ऋषि पुलस्त्य (रावणका हजुरबुबा) ले समेत तपस्या गरेका रहेछन् । गलेश्वर महादेव रहेको ठूलो ढुङ्गाको बीचबीचमा स्वयम्भू शालिग्रामहरू उत्पन्न हुँदा रहेछन् । बीचबीचमा ढुङ्गा फोरेर करिब ३–४ स्क्वायर इन्चको चिल्ला–काला शालिग्रामहरू खैरो ढुङ्गाको बीचमा बडो शोभायमान देखिन्थे बादलभित्र सूर्य देखिएझैँ । यसरी शालिग्रामशिला स्वयं प्रकट भएको देखेर त्यहाँमाथि हिँड्दा पनि सङ्कोच लाग्थ्यो कतै शालिग्रामै त कुल्चिने होइन भनेर । ‘गलेश्वर पीठ ट्रस्ट’ स्थापना भएपछि मात्र मन्दिर क्षेत्रको संरक्षण र सरसफाइ हुन थालेको रहेछ । ट्रस्टको कार्यालय र मठाधीश भवन आदि विभिन्न दाताहरूको आर्थिक सहयोगमा बनेका रहेछन् । ट्रस्टले नजिकै तीर्थयात्रीलाई भोजन गराउने भण्डारा सञ्चालन गरेको रहेछ र वृद्धवृद्धाका लागि वृद्धाश्रमसमेत बनाएको रहेछ । त्यहाँ २०–२५ जना वृद्धवृद्धाहरू बसेको देखियो । गलेश्वर महादेव भएको स्थानदेखि करिब ५० मिटर उत्तर त्रिवेणी रहेछ । उताबाट आएकी कालीगण्डकीमा उत्तर–पश्चिमबाट रहुगङ्गा आएर मिसिँदी रहिछन् । जडभरतले त्यही स्थानमा राजा रहुगणलाई दिव्य–उपदेश दिएकाले होला सायद त्यस खोलाको नाम रहुगङ्गा रहन गएको । त्रिवेणीको उत्तरी तटमा गलेश्वर बाबाको आश्रम रहेछ । आश्रम सानो तर अति सुन्दर रहेछ । देवघाटको गलेश्वर आश्रममा समाधिस्थ मूर्ति भएको गलेश्वर बाबाको देवघाट जानुपूर्वको आश्रम त्यही रहेछ । त्यहाँ (गलेश्वर) बाट गएकाले उहाँको साविक नाम ईश्वरानन्दजीबाट ‘गलेश्वर बाबा’ रहन गएछ । गलेश्वर आश्रमको सुन्दर गायत्री मन्दिरको वातावरण शान्त रहेछ । गलेश्वर बाबाको कुटीभित्र उहाँको खाट, ओछ्यान, पुस्तक, दराज, अगेना, चिम्टा, त्रिशूल आदि सुरक्षित नै राखिएका रहेछन् ।
गलेश्वर बाबाले किन त्यहाँ आश्रम बनाउनुभएको रहेछ भनेर त्यहाँका पुजारीजीसँग बुझियो । भएको के रहेछ भने वि० सं० २००१ सालतिर १२–१५ जना जोगीहरू बनारसतिरबाट मुक्तिनाथ जान आएका रहेछन् । ती तीर्थयात्रीहरूको एक बास त्यही रहुगङ्गा कालीसङ्गममा भएछ । हालको आश्रम भएको रूखमुनि छाप्रोजस्तोमा उनीहरूले रात काटेछन् । भोलिपल्ट त्रिवेणी स्नान गरेर नित्यकर्मपश्चात् अगाडिको यात्रामा जान सबैजना तयार भएछन् । तर तीमध्येका एक जोगी ईश्वरानन्दजीले साथीहरूलाई ‘मलाई सन्चो भएन, म अगाडि यात्रा गर्न असमर्थ छु, बीचमा अलपत्र पर्नुभन्दा २–४ दिन यहीँ बस्छु अनि सोचौँला, तिमीहरू जाओ’ भन्नुभएछ र त्यहीँ बस्नुभएछ । उहाँ नजानुको गुह्य रहस्य अर्कै रहेछ । त्यस दिन बिहान करिब ३ः३० तिर उहाँको निद्रा खुलेछ । उठेर दिसापिसाब गरेपछि त्रिवेणीमा नुहाइहाल्छु भनेर जाँदा त्यहाँ सप्तर्षिहरू आई स्नान गरिरहेको देख्नुभएछ । अब उनीहरूसँग साक्षात्कारै गर्छु भनेर अगाडि बढ्दा उहाँ त्यहाँ पुग्न नपाउँदै सप्तर्षिहरू आकाशमार्गबाट हिँडिहालेछन् । अनि ‘सप्तर्षिहरूसमेत आएर स्नान गर्ने पवित्र तीर्थस्थल छाडेर मैले किन अन्यत्र जाने, यहीँ कुटी बनाएर बस्छु’ भन्ने अठोट गरेर उहाँ त्यहीँ बस्नुभएछ । एक ठाउँमा १२ वर्षभन्दा बढी नबस्ने ईश्वरानन्दजी महाराज त्यस आश्रममा १८ वर्ष बसी वि० सं० २०१९ सालमा मात्र कालीगण्डकी र त्रिशूलीको दोभान देवघाटधाममा जानुभएको रहेछ । पछि उहाँले देवघाटमै गलेश्वर बाबाका रूपले समाधि लिनुभएको रहेछ ।
गलेश्वर बाबाले त्यहाँ रहँदा ७०० श्लोक र १८ अध्याय भएको ‘गीता’ को मुख्य सारतàवका रूपमा १०५ श्लोकको ‘गीतासार’ लेख्नुभएको रहेछ । त्यो हस्तलिखित पाण्डुलिपि अझै आश्रममा सुरक्षित छ । पछि २०६४ साल माघमा ‘गायत्री परिवार, रहुघाट, गलेश्वर’ ले त्यसलाई प्रकाशन गरेको रहेछ । श्रीकृष्ण र अर्जुनको संवादका रूपमा संस्कृत श्लोक र नेपाली अनुवाद गरेको उक्त ‘गीतासार’ मा अक्षरब्रह्म, ॐकारतàव, आत्मतàव र परमात्मतàवको सूक्ष्म निरूपण गरिएको छ । उक्त ‘गीतासार’ को ८६ र ८७ औँ श्लोकमा भनिएको छ — “यो तीर्थ गर्नाले फल मिल्छ, यो तीर्थ गर्नाले फल मल्छ भनी जो बारम्बार फिर्दै रहन्छन्, ती आत्मारूपी तीर्थ नजान्ने एवं अज्ञानले ढाकिएका हुन्छन् । तिनको दुर्मति सामान्य बुद्धि हो भनी कहिएको छ । जस्तै तीलको गेडामा तेल रहन्छ, त्यस्तै दहीमा घिउ रहन्छ, काठमा अग्नि रहन्छ । सम्पूर्ण देहमा आत्मा व्याप्त भएर रहेको छ ।”
सायद यही कुराबाट उहाँलाई आत्मज्ञान भएछ र मुक्तिनाथको तीर्थाटन गर्नुभन्दा त्यहीँ बसेर आत्मसाक्षात्कार गर्न सकिन्छ भन्ने लागेर त्यहाँ बस्नुभएछ ।
हाम्रा लागि त्यहीँनेर थकालीको एउटा होटलमा खाना अर्डर गरिएको रहेछ । गलेश्वर धामको दर्शनपश्चात् त्यहाँ गएर साह«ै राम्रो, शुद्ध शाकाहारी खाना खाइयो ।
हामीले यात्रा गर्दा गलेश्वर जाने, माथि मुक्तिनाथसम्म हाम्रो गाडीलाई जान दिइने भए मुक्तिनाथै पनि पुग्ने भनेर हिँडेका थियौँ । अचेल रातो प्लेटका जीपहरूलाई जान दिँदा रहेछन्, त्यसैले हामीले मुक्तिनाथसम्म जाने निधो ग¥यौँ । हामीले भाडामा लिएको प्राइभेट सुमोका साहु र चालक कृष्ण भाइलाई समेत मुक्तिनाथसम्म जाने भनेर बताइएको थिएन । उनी पनि धार्मिक व्यक्ति भएकाले जान तयार भए । करिब १ बजे गलेश्वरबाट उकालो लागियो । कच्ची बाटो करिब २ घन्टा साह«ै धूलो उड्यो । त्यसपछि बाटो कच्ची नै भए पनि क्रमशः धूलो हराउँदै गयो र जाडो हुँदै गयो । बेनीको बसपार्कबाट यात्रीहरूका लागि मिनीबस र ट्राक्स जीप चल्दो रहेछ, जुन सिन्डिकेटका कारण घासासम्म जाँदो रहेछ र घासादेखि अर्को सिन्डिकेटबाट जोमसोम जानुपर्दो रहेछ । सायद म्याग्दी र मुस्ताङमा दुई छुट्टाछुट्टै समिति होलान् । कालीगण्डकीको तीरैतीर, कहिले गण्डकीलाई देब्रे र कहिले दाहिने पार्दै उक्लिनुपर्ने रहेछ । बाटो ज्यादै खराब, डरलाग्दो र जोखिमपूर्ण छ भनेर सुनिएको थियो, तर त्यस्तो अप्ठ्यारो रहेनछ, राम्रै रहेछ ।
माथिमाथि चढ्दै जाँदा तातोपानी भन्ने बजार कटेपछि प्राकृतिक सुन्दर छटाहरू दृष्टिगोचर हुन थाले । हिउँ परेका सेताम्मे पर्वतशृङ्खलाहरू देखिँदै जाँदा हामी सबै रमाउँदै गयौँ । हाम्रो टोलीमा चालक कृष्ण भाइ र मित्र शिवहरिजी यसअघि दुईपटक त्यही बाटो गएर मुक्तिनाथ गएका, शिवहरिजी त अझ दामोदरकुण्डसमेत गइसकेका पारखी भएकाले यात्राका स्थानहरूबारे उनीहरू हामीलाई बताउँथे । घासा बजार राम्रै रहेछ । त्यहाँ सिन्डिकेटका केही टाठा टाइपका मान्छेले चालकसँग सोधपुछ गरे । ‘यो निजी गाडी हो र सबैजना परिवारका सदस्यहरू हौँ’ भनेकाले नम्बर टिपेर जान दिए । घासा कट्नासाथ एक ठाउँमा अति सुन्दर र विशाल झरना देखियो । झन्डै सानो खोलाजत्रो सेतो सफा पानी करिब ३–४ सय फिटमाथिबाट सडक किनारमा झरेको दृश्य साह«ै मनमोहक थियो । हामीले गाडी रोक्यौँ । हातमुख धोयौँ । विभिन्न कोणहरूबाट फोटो खिच्ने काम भयो । करिब २० मिनेट झरनाको दृश्य पान गरेर अगाडि बढियो । त्यसपछि अर्को अति सुन्दर उपत्यका लेते देखियो । लेते यस्तो उपत्यका थियो जसको उत्तर, दक्षिण, पूर्व र पश्चिम चारैतिरका अग्ला पर्वत सेताम्मे देखिन्थे । त्यहाँबाट धवलागिरी र नीलगिरी दुवै हिमशृङ्खला दृष्टिगोचर हुन्थे ।
गलेश्वर छाड्दा ‘बाटोमा बास बस्नुपर्ला, घासा वा लेतेतिर बसिएला’ भन्ठानेका थियौँ, तर लेते काट्ता ४ः३० मात्रै बजेकाले ‘जहाँसम्म पुगिन्छ बाटो छोट्याउने, साँझ परेपछि कुनै होटलमा बस्ने, सायद मार्फातिर बसिएला’ भनेर हिँडियो । मनोरम दृश्य, गाडीभित्रको पारिवारिक वातावरण र मिठासपूर्ण वार्तालापले चालकको मन पनि प्रफुल्लित थियो । गाडीले राम्रै गतिमा डाँडा छिचोल्न थाल्यो । मार्फा पुरानो बस्ती । बाइपास सडकबाट हिँडेकाले मार्फाको दृश्यावलोकन फर्कंदाका लागि थाती राख्तै अझै अगाडि बढियो । पुरानो ट्रेकिङ मार्गका ठाउँठाउँमा बसेको बजार, बस्ती र हाल बनेको मोटरको कच्ची बाटो सँगसँगै हिँडेजस्तो लाग्यो, जसले हामीलाई सिलिगुढीबाट दार्जिलिङ जाँदा मोटरबाटो र रेलमार्गबीच लुकामारी खेल्दै खर्साङ छिचोलेजस्तो लाग्यो । मार्फापछि गत वर्ष पहिरो गएको विशाल पर्वत, जुन एक भन्ज्याङजस्तो थियो, अलि डरलाग्दो बाटो थियो । त्यसपछि उपत्यकाजस्तो भूबनोटमा कालीगडकीको विशाल बगरैबगरको बाटो झनै रमाइलो लाग्यो । वरिपरि स्याउका बोटहरू, दायाँबायाँ मोटो ढुङ्गाका खैरो पहाडबीचमा खोपाखोपाजस्ता गुफा र ओडारहरू हेर्दाहेर्दै चालक कृष्णले भने — ‘होइन, रात पर्दा त जोमसोम नै पुगिन्छ कि सर !’
बाटो राम्रो थियो, दृश्य मनमोहक थिए । बाटोमा बस्नुभन्दा जोमसोम नै पुग्न पाए हुने भन्ने सबैको मनमा रहेछ । हामी सबैको मनको भाव मुक्तिनाथले नबुझ्ने कुरै भएन । साँझपखको दृश्य, वरिपरि डाँडाहरू हिउँले सेताम्मे, छेउमा पवित्र कालीगण्डकीको कलकल ध्वनिबीचको रमाइलो । इन्द्रियसुखभन्दा अलि उच्चकोटिको सुख थियो त्यो, सायद एक किसिमको आनन्द नै ।
करिब साँझको साढे ६ः३० बजेको हुँदो हो, कृष्ण भाइले ‘उः त्यो जोमसोम बजार’ भनेर देखाउँदा हामी सबै प्रफुल्लित भयौँ जोमसोम पुग्ने भयौँ भनेर । बाटोमा बास बस्नु नपरी साँझैमा अर्थात् रात नपर्दै जोमसोम पुगिएकोमा हामी आफैँलाई केही अपत्यारिलो जस्तो लाग्यो । श्रीकृष्णका दर्शनाभिलाषी सुदामालाई गरुडजीको कृपाबारे पत्तो नपाई द्वारका पुगेकोमा आश्चर्य लागेझैँ हामीलाई पनि मुक्तिनाथको कृपा भएको अनुभूति भयो ।
‘उः जोमसोमको रनवे’ भनेर शिवहरिजीले भनेको केही बेरमा नै एयरपोर्टको गेटमा गाडी रोकेर चालक कृष्ण भाइले सोधे — ‘कहाँ बस्ने हो सर ?’
‘गाडी छेउ लगाऊ, दुईचार होटलका रूपहरू हेरौँ अनि निर्णय गरौँला’ भनेर गाडीबाट बाहिर निस्कँदा हिमाली सिरेटोबीच चिसोको अनुभूति भयो । एयरपोर्टनजिकै रहेको प्रहरी चौकीमा गई शिवहरिजीले काभ्रेको पात्लेखेत घर भएका बद्री धिताल नामका एकजना प्रहरी जवानलाई लिएर आए । ती प्रहरी जवानले होटल खोजिदिन मद्दत गरे । पूर्वजानकारीप्राप्त केही होटलमा कोठा खाली रहेनछ । अनि एयरपोर्टकै अगाडिको एउटा थकालीको होटलमा बसियो । त्यहीँ शुद्ध शाकाहारी खाना अर्डर गरी तत्काल तात्तातो कफी ल्याउन भनियो । गाडीबाट सामान झिक्ता–नझिक्तै कफी आइपुग्यो । कोठामा गई हातमुख धोएर केही आराम गर्नासाथ भोजन तयार भएको सूचना पायौँ । सुत्ने घरभन्दा डाइनिङ घर २०–३० मिटर पर थियो । खाना राम्रो थियो । खानापछि हामी सबैले चौँरीको दूध पनि एक–एक ग्लास खायौँ । कसैलाई मिठो लाग्यो त कसैले करैले सिध्याए ।
हाम्रो टाटा सुमोमा फोरह्विल थिएन । विनाफोरह्विल गाडी बिग्रियो भने बित्यास पर्छ भन्ने लाग्यो । गाडी जोमसोममै राखी लोकल जीप रिजर्भ गरेर जानु ठीक होला भन्ठानेर धिताल प्रहरी भाइलाई गाडी बुझ्न लगायौँ । उनले बुझेर आएपछि ‘रिजर्भ गर्नुपर्दैन, रुटकै जीपमा १२ जनाको भाडा तिरेर जाने अनि फर्कंदा पनि त्यसै गर्ने, रिजर्भ गर्दा वेटिङ चार्ज धेरै लिन्छन्, किन अनावश्यक खर्च गर्ने’ भने । उनको सुझाव हामीलाई राम्रै लाग्यो र त्यसै गर्ने भयौँ । ती प्रहरी भाइलाई पनि मुक्तिनाथ सँगै जान आग्रह ग¥यौँ । उनले ‘ड्युटी मिले जाउँला’ भने ।
राति करिब १० बजेतिर सुतियो । बिहान ४ बजे उठ्ने बानी । उठेर हातमुख धोई प्राणायाम, ध्यान, जप, पाठ सिध्याउँदा पौने ६ बज्यो । बाहिर महिलाहरूले ‘आहा–आहा’ भनेको सुनेँ । कोठाबाट निस्केपछि थाहा भयो सामुन्नेमा सफा सेतो नीलगिरी हिमाल देखेर सबै रमाएका रहेछन् । साँच्चै मनमोहक थियो त्यो नीलगिरी ।
प्रातःकालीन नित्यकर्म सम्पन्न गरेर नुहाउने कपडा र पूजासामग्री मात्र बोकेर मुक्तिनाथको दर्शन गर्न होटलबाट हिँडियो । मूल बाटैबाटो जीपपार्क भएतिर अलिकति करिब १ किलोमिटर हिँड्नुप¥यो । बाटोबाटै एयरपोर्टको रनवे देखिन्थ्यो, जहाँ ६ः३० बजे नै हवाइजहाज उत्रिसकेको थियो । पोखरा — जामसोम फ्लाइट प्रायः सबै बिहान मात्र हुँदो रहेछ । ९–१० बजेउप्रान्त प्रचण्ड हावा चल्ने हुँदा प्लेनको अवतरण सम्भव हुँदो रहेनछ । कालीगण्डकीपारि बसपार्क भनिने जीपपार्क रहेछ । काउन्टरमा कागबेनीसम्मको १२ सिट बराबर पैसा तिरेर तत्कालै प्रस्थान गरियो । कालीको किनारैकिनार १ घन्टाभन्दा कम समयमा कागबेनी पुगियो ।
कालीगण्डकीमा पान्डा खोला मिसिएको सङ्गमस्थान नै कागबेनी रहेछ, जहाँ प्रायः पितृहरूलाई पिण्ड–तर्पण दिने कार्य गरिन्छ । वार्षिक श्राद्धतिथि वा सोह«श्राद्धमा आफ्ना पितृहरूको श्राद्ध त्यहाँ गर्न इच्छा हुने तर स्वयं उपस्थित हुन नसक्ने तीर्थयात्रीका लागि त्यहाँका समितिले तोकिदिएको रकम (रु. ५०० भन्दा माथि स्वेच्छिक) तिरेर रजिस्टरमा पिण्ड पाउने पितृहरूको नामावली लेखाइदिएमा समितिले नै श्राद्ध गरिदिने व्यवस्थासमेत रहेछ ।
सङ्गममा गएर हातमुख धुँदा पानी सोचिएभन्दा अत्यधिक चिसो लाग्यो । पितृहरूलाई सम्झी तर्पण दिन अँजुलीमा पाँच–दस सेकेन्ड पानी राख्ता पनि हातै झर्लाजस्तो चिसो पानी थियो । मुक्तिनाथमा स्नान गर्नुपर्ने हुँदा त्यहाँ स्नान गरिएन ।
केही बेर कागबेनीमा बसेर पुनः जीपपार्कको काउन्टरमा गई मुक्तिनाथ जाने अर्को जीप (ट्राक्स) रिजर्भ गरियो र मुक्तिनाथतिर लागियो । जोमसोमबाट कागबेनी तेर्सैतेर्सो बाटो थियो भने कागबेनीबाट मुक्तिनाथचाहिँ ठाडो उकालो । लोकल ड्राइभरको हँकाइ अलि रफ नै रहेछ । ड्राइभरले क्यासेटप्लेयरमा घन्काएको नेपाली लोकगीत सुन्दै करिब डेढ घन्टामा मुक्तिनाथ पुगियो । मुक्तिनाथ बजार ठूलै रहेछ । होटल, लज र क्युरियो पसलहरूको बजार थियो । हामी ओर्लनासाथ हिउँ पर्न थाल्यो । करिब १२००० फिटको उचाइमा पुगिएको सत्यलाई दृष्टिगत गर्दै लेक नलागोस् भनेर तातो चिया खाएर मात्र मन्दिरमा जाने भयौँ । चियापसलमा पनि हुलै थियो । मैले जाडो होला भनेर गलबन्दी र ऊनीको टोपी लगेको थिएँ । नलानेहरूले न्यानो टोपीचाहिँ किन्नैप¥यो । हिउँ बाक्लै पर्न थाल्यो । शिवहरिजीले बाटोको बायाँपट्टिको ठूलो घरलाई देखाउँदै ‘यो स्वामी कमलनयनाचार्यजी महाराजको आश्रम हो’ भन्नुभयो ।
हिउँ परिरहेको फोटो खिच्नमा केटाकेटी र महिलाहरू बढी रमाएका देखिन्थे । लेकमा हिउँ परिरहेकोमा सामान्य उकालोमा पनि स्याँस्याँ हुन्थ्यो ।
जाडोले सबैको मनमा कसरी नुहाउन सकिएला भन्ने आशङ्का र हलुका त्रास थियो । बाह«ै महिना तातोपानीले नुहाउने बानी परेका हामीजस्तालाई झन् बढी भय हुने भइहाल्यो । मेरा परिवार, भोला सर र उहाँका परिवार करिब ५० मिटर पछिपछि अनि शिवहरिजी, धिताल प्रहरी भाइ र मचाहिँ अघिअघि थियौँ । महिला र केटाकेटी अलि सुस्तसुस्त हिँड्थे, अनि फोटा पनि खिच्तै गर्थे । त्यसैले हामी अघि भयौँ । मन्दिरमा पुग्नासाथ जिन्दगीको एउटा पुरानो धोको पूरा भएको अनुभूति भयो । मुक्तिनाथको जयगान र ॐकारध्वनि गर्दै मन्दिरअघिको कोठामा गइयो । कपडा फुकाल्ने कक्षमा आठ–दसजना थिए । अलिकति उकालो उक्लिएको गर्मीपना सेलाउन नपाउँदै नुहाउनुपर्छ, साथीहरूलाई कुरेर नबसौँ भन्ठानेर हत्तपत्त लुगा खोली प्रहरी भाइलाई रुङ्न राखी शिवहरिजी र म नुहाउन गयौँ । मन्दिरवरिपरिका १०८ धारामा टाउको थाप्तै दगुरेर मन्दिरअगाडिका दुई कुण्ड हुँदै पुनः कपडा फुकालेको कोठामा पुगियो । अरू साथीहरू मन्दिरमा पुगेको बेला हामीलाई कुण्डमा देखेर उनीहरू जिल्ल परे ।
मन्दिरअघिको कुण्डको पानी कति कञ्चन थियो भने पक्की कुण्डको भुइँमा चढाएका पैसाहरू स्पष्ट देखिन्थे । करिब ८ स्क्वायर फिटको कुण्डमा कम्मर–कम्मर पानीमा डुब्न मुस्किल हुने भएकाले होला सायद, वरिपरि बसेकाहरू भुइँको पैसा टिप्नुपर्ने चलन भएको बताइरहन्थे । त्यसको कुनै धार्मिक तुक र तर्क केही नभए पनि धार्मिक परम्परासँग जोडिएर पैसा टिप्न खोज्दा स्वतः डुबुल्की लाग्ने हुँदा त्यो मनोवैज्ञानिक दबाबस्वरूप बनाइएको चलनजस्तो लाग्यो ।
नुहाउँदा त्यति गाह«ो भएन, जति सोचिएको थियो । किनभने मुक्तिनाथको धारा र कुण्डको पानी कागबेनीको पानीभन्दा कम चिसो थियो । नुहाएर लुगा लगाएपछि जुत्तामोजा लगाउन खोज्दा शिवहरिजीले ‘मन्दिर दर्शन गरेपछि मात्र लगाऊँ सर’ भनेकाले लगाएको मोजा फुकाएर भुइँमा टेक्ताचाहिँ चिसो महसुस भयो ।
मुक्तिनाथको दर्शन गर्दा सपत्नी दर्शन गर्ने भनेर महिला र केटाकेटी नुहाउन्जेल कुर्दा मैले त्यही बेन्चमा बसेर साथमा लगेको गोमुख लिएर जप गर्न थालेँ । केटाकेटी हातमुख मात्र धुने भन्दै थिए, शिवहरिजीले ‘जीवनमा बिरलै आइपुग्ने यहाँ आएर पनि ननुहाउने ? नुहाउनुपर्छ, त्यति धेरै जाडो छैन’ भनेर हौस्याएपछि सबैले नुहाए । सँगै हिँडेका एक दम्पती ननुहाउने विचारले कपडा नबोकी आएका थिए । ती महिलालाई पनि नुहाउन मन लागेछ र समा भाउजूसँग ‘तपाईंको चिसो पेटिकोट एकछिन दिनुहोस् न, म पनि नुहाउँछु’ भनेर मागिन् । भाउजूले भक्तिभाव (परोपकार परमो धर्म) पूर्वक सहजै दिनुभयो । स्नान गर्न एक सय आठ धाराहरूमा पहिले भुइँमा ढुङ्गा मात्र हुँदा चिप्लिने भय हुन्थ्यो रे ! अचेल कालो रबरम्याट ओछ्याइदिनाले जोडले दगुर्दा पनि नचिप्लिने भएछ ।
पूजाआजा राम्रोसँग गरियो । पूजाका क्रममा ऋषभले मोबाइलबाट मूर्तिको फोटो खिचेकोमा पुजारिन (आनी) ले बबाल खडा गरिन् । ‘थाहा थिएन’ भन्दा पनि ‘बाहिर साइनबोर्ड किन हेरेनौ ?’ भनेर कड्किन् । पछि हामीसँगै गएका प्रहरीले त्यहाँका प्रहरीसँग कुरा गरे र खिचिएको सट डिलिट गरी बबाल शान्त पारियो । बिचरो ऋषभ केही खिन्न भयो । मन्दिरबाहिर पसलहरूमा छ्याप्छ्याप्ती मुक्तिनाथको मूर्तिका हुबहु चित्रहरू बिक्रीमा राखिएको स्थितिमा नजानेर बच्चाले खिचेको फोटोमा त्यत्रो बबाल खडा गर्ने पुजारिनलाई कति धर्म हुन्छ होला, मैले त्यो बुझ्न सकिनँ । मुक्तिनाथको पुजारिन हुने सौभाग्य पाए पनि सोचविचार र भावना तदनुसार भएन भने देवसन्निकटता फगत गङ्गानदीमा जीवनयापन गर्ने माछाको गङ्गास्नानतुल्य नै त हो ! यो कुरो खै कहिले बुझ्ने ? कसले बुझाउने ? देवता (मूर्ति) बोल्दैनन् अनि मान्छेहरू अन्तरात्माले बोलेको सुन्दै–सुन्दैनन् । यस्तै छ हाम्रो आध्यात्मिक आस्था ।
मन्दिरपरिसरमै होम आदि गर्नका लागि सत्तलजस्तो बनाइएको रहेछ । शिवहरिजी त्यहीँ पलेटी कसेर ध्यानमग्न भई जप गर्दै हुनुहुन्थ्यो । मैले त्यहाँ पनि सँगै बसेर जप गरेँ र मन्दिरको परिक्रमा गरेर अगाडि आएँ । फोटोको क्षणिक किचलोले गर्दा मूर्तिको कपडा पन्छाएर गुह्येश्वरीजस्तो कुण्ड देखाइदिन पुजारिनलाई आगह गर्ने होस नै रहेन ।
मुक्तिनाथलाई कसैले भगवान् विष्णु मानेर पूजा गर्दछन् त कसैले शिव मानेर, अनि बौद्धहरू पनि तथागत मानेर पूजा गर्दछन् । जसले जसरी माने पनि केही फरक पर्दैन । ‘एकोहम् द्वितीयो नास्ति’ । ब्रह्म वा परमात्मा एउटै छन्, दुइटा छँदै छैनन् । लौकिक भाषामा बुझ्नुपर्दा मुक्तिनाथलाई शैव, वैष्णव र बौद्धधर्मको धार्मिक त्रिवेणीधाम भनेर बुझे पनि हुन्छ । ‘मुक्तिनाथ महात्म्य’ का अनुसार मुक्तिनाथमा भगवान् विष्णु जलका रूपमा रहनुहुन्छ भने भगवान् शिव अग्नि भएर रहनुहुन्छ । त्यसैले मूल मन्दिरको ५० मिटर दक्षिण निरन्तर ज्वाला बलिरहन्छ, जसलाई भक्तहरू ज्वालामाई भनेर पूजा गर्दछन् । भौतिकवादीहरू त्यहाँ अमुक–अमुक ग्यास स्वतः प्रज्ज्वलित हुने हुँदा त्यसलाई सामान्य प्राकृतिक घटना मानेर बौद्धिक कसरतमै मस्त छन् । त्यसैले त एउटा भजन भन्छ — ‘मानो तो गङ्गा मा है, ना मानो तो बहता पानी ।’ एकाबिहानै सूर्योदय हुँदा उदाउँदो सूर्यलाई श्रद्धापूर्वक अघ्र्य दिएका बखत सूर्यलाई नारायण मानिन्छ, तर अग्निपिण्डरूपी एउटा ग्रह मानेर अघ्र्यादि नदिए पनि सूर्यले ‘मलाई किन मानेनौ ?’ भन्दैनन् । मान्छेलाई परमात्माको अंश आफूजस्तै मानेर पुजे पनि भयो अनि शत्रु मानेर घृणा, तिरस्कार, निन्दा अनि कुटपिट तथा हत्या नै गरे पनि भयो । मुण्डमुण्ड बुद्धि, कुण्डकुण्ड पानी । धर्मको कुनै सर्वमान्य ज्योमितीय फर्मुला र फ्रेम हुँदैन । मन चङ्गा भए अम्खोरामा पनि गङ्गा अटाउँछिन्, आफैँभित्र ब्रह्माण्ड अटाउँछ ।
मुक्तिनाथमा चढाइने वस्तुहरूमा फलफूल, जौ, तील, तुलसीपत्र र खादा आदि पर्दछन् । हिन्दूहरूको धार्मिक विश्वास के छ भने अष्टचिरञ्जीवीमध्येका गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामालाई श्राप (वा आशीर्वाद ?) परेका कारणले उनले २४ घन्टामा एकपटक मुक्तिनाथको दर्शन गर्न आउनैपर्छ रे ! २४ घन्टामा कुनै न कुनै रूप र भेषमा उनी आएका हुन्छन् भन्ने धार्मिक जनविश्वास अझै पनि छँदैछ । शैवसाधक सन्त–महात्माहरूको मतमा दक्षको यज्ञकुण्डबाट मृत सतीको देह बोकेर भगवान् शिव आर्यावर्तभित्र यताउता हिँड्नुभयो । भगवान् विष्णुको कृृपाले सतीको अङ्ग गल्यो र ठाउँठाउँमा अङ्गहरू पतन हुँदै जाँदा म्याग्दीको गलेश्वरमा पुगेपछि अन्तिम अङ्गका रूपमा गला पतन भयो । त्यसपछि भगवान् शिव सतीदेवीको भौतिक शरीरबाट मुक्त हुनुभएकाले त्यो क्षेत्र मुक्तिक्षेत्र हुन पुग्यो । त्यसैले गलेश्वरधाम मुक्तिक्षेत्रको मूल द्वार हुन गयो । दक्षिणी द्वार गलेश्वरको महàव सतीदेवीको गलासँग सम्बन्धित छ भने मुक्तिक्षेत्रको उत्तरी द्वार दामोदरकुण्डचाहिँ भगवान् विष्णुको गलासँग सम्बन्धित छ । कालीगण्डकीको उत्पत्ति भगवान् विष्णुको गलाको पसिनाबाट भएको हो भन्ने पौराणिक विश्वास छ । वैदिक साहित्यहरूमा कालीगण्डकीलाई गङ्गाझैँ पवित्र नदी मानिएको छ । गङ्गा गङ्गोत्रीदेखि गङ्गासागरसम्म गङ्गा नै हुन्, तापनि गङ्गोत्री, हरिद्वार, प्रयाग, बनारस, हरिहरक्षेत्र र गङ्गासागरको विशेष महàव भएझैँ कालीगण्डकी क्षेत्रमा पनि दामोदरकुण्डपछि कागबेनी, गलेश्वर, रूरूक्षेत्र, देवघाट, त्रिवेणी (भैँसालोटन) पछि हरिहरक्षेत्रको विशेष महàव रहेको पाइन्छ ।
मुक्तिनाथमा शालिग्राम पाइन्छ भन्ने सुनिएको थियो, तर शालिग्राम पाइने स्थानचाहिँ कागबेनी रहेछ । मुक्तिनाथमा बिक्रीका लागि राखिएका शालिग्रामहरू कागबेनीबाटै ल्याइँदो रहेछ । बिक्रीका लागि राखिएका शालिग्रामहरूमा प्रायः फुटाइएका टुक्राहरू बढी देखिन्थे । सुनको लोभमा सङ्कलकहरूले वा माझीहरूले फोडेर बेच्ने गर्दा रहेछन् । फोडिएकोमा चक्रको आकार देखिने हुँदा तीर्थालुहरू त्यही पनि किन्न रुचाउँदा रहेछन् ।
मुक्तिनाथको दर्शनपछि सामूहिक फोटो खिचेर मन्दिरको दोस्रो परिक्रमा गर्दा ज्वालामाईको दर्शन गरेर फर्कियौँ । मन्दिरको पछिल्तिरको डाँडोमा सिमसारजस्तो भूभाग रहेछ । त्यसैबाट १०८ धारामा चौबीसै घन्टा पानी आउँदो रहेछ ।
मुक्तिनाथको दर्शनपश्चात् मूल प्रवेशद्वारबाट पुनः मन्दिरतिर फर्केर मुक्तिनाथलाई पुनः–पुनः दर्शनका लागि बोलाइरहन आग्रह गर्दै ओरालो झरियो । जीपकाउन्टरमा गई जोमसोमसम्मका लागि जीप रिजर्भ गरेर फर्कियौँ । जोमसोमको होटलमा पहिले नै खानाको अर्डर गरिएको थियो । होटल जाने बाटोमा महिलाहरूले जोमसोमका केही चीजबीजहरू किन्ने काम गरे । वैशाखमा पनि चाउरी परेको तर खाँदा मीठो स्याउ पाइँदो रहेछ । केही त्यस्ता स्याउ अनि सुकुटी स्याउ, गेडागुडी, मुस्ताङी च्याउ आदि किनेर खाना खाएपछि करिब २ः३० बजेतिर जोमसोम छोडियो । ढिलो भएकाले बाटोमा बास बस्ने योजना थियो । मार्फा बजार पहिले बाटो नखुल्दा ट्रकिङ रुटको उल्लेख्य विश्रामस्थल थियो । मार्फा बजार घुम्ने कुरा भयो । मार्फाको सुरुमा गाडी सोझै जान भनेर हामी पैदल रुटबाट मार्फा गयौँ । सानो गल्लीमा दुईतिर ठूलाठूला घरहरू, प्रायः सबै घरमा होटल, लज र विदेशीले किन्ने सामग्रीका पसलहरू मात्र थिए । होटलहरू सफा र स्तरीय थिए । मार्फा बजारको बीचमा ठूलो र आकषक गुम्बा पनि रहेछ । त्यो बजारको छटा, रौनक र सुन्दरता हेर्दा ‘यहाँ मोटरबाटो किन बनेछ, बरू नबनेको भए हुन्थ्यो’ जस्तो हामीलाई त लाग्यो भने त्यहाँ व्यापार गरेर वर्षौंदेखि बसेका लामा र थकालीहरू त्यो कथित विकासलाई कति सराप्ता हुन् ! एयरपोर्टलाई माइनस गरिदिने हो भने जोमसोमभन्दा मार्फा नै राम्रो भन्न करै लाग्छ ।
करिब २०–२५ मिनेट लगाएर मार्फा बजार घुमेपछि पुनः जीपमा बसियो । लेते पुग्नुअघि एक ठाउँमा साह«ै राम्रो ठाउँ देखेर फोटो खिच्न गाडी रोक्यौँ । गाडीबाट त ओर्लियौँ तर अति बेगले हावा चलेको र चिसोले गर्दा फोटो सेसन गर्न नसकी हत्तपत्त सबैजना गाडीमा चढ्यौँ । काठमाडौँ विश्वविद्यालयका उपकुलपतिले हामीलाई लेतेमा पुगेपछि धवलागिरी प्राविधिक शिक्षालय हेरेर आउन निर्देशन दिनुभएको थियो । त्यसैले करिब ५ बजेतिर हामी लेतेको प्राविधिक शिक्षालय हेर्न गयौँ । लेते भन्ने ठाउँ साह«ै राम्रो, वरिपरिका डाँडामा हिउँ परेको, उपत्यका वरिपरि हेरिरहूँ जस्तो लाग्ने ठाउँ रहेछ । त्यस्तो ठाउँको शिक्षालय ठूलो कम्पाउन्डभित्र रहेछ । त्यसको मास्टरप्लान जिरी प्राविधिक शिक्षालयका प्राविधिक शिक्षालयहरूजस्तै रहेछन् । स्थानीय निर्माण–सामग्रीको अत्यधिक प्रयोग गरी बनाइएका ती शिक्षालयहरूका सुविधासम्पन्न भवनहरूमा नीला छानाहरू थिए । मूल द्वारमै एकजना शिक्षक भेट हुनुभयो । उहाँसँग चिनजान भएपछि उहाँले हामीलाई मुख्य प्रशासकीय भवनमा लगेर राख्नुभयो, पछि प्रिन्सिपल हर्कलाल श्रेष्ठ आउनुभयो । वैशाखमा पनि उहाँको कार्यकक्षमा ग्यासहिटर देखियो । ठाउँ जाडो रहेछ । उहाँले शिक्षालयबारे विस्तारमा जानकारी गराउँदै स्मारिकासमेत दिनुभयो ।
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा० सुरेशराज शर्मा एक जमानामा मुक्तिनाथको दर्शन गरेर फर्कंदा लेतेमा बास बस्नुभएछ । लेते उहाँलाई स्विटजल्र्यान्डभन्दा पनि राम्रो लागेछ । त्यस ठाउँमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच उहाँलाई आएछ र त्यो प्राविधिक शिक्षालय जन्मेको रहेछ । हामीलाई ठाउँ साह«ै राम्रो लागे पनि रातदिन बाह«ै महिना त्यहाँ बस्नुपर्दाको बिरानो र तिक्तता त्यहाँका शिक्षकहरूको मुहारमा देख्न सकिन्थ्यो । भौतिक संरचना, प्रशिक्षक र कर्मचारीको दरबन्दीको अनुपातमा विद्यार्थीसङ्ख्या नहुँदा राष्ट्रिय सम्पत्तिको अन्डर युटिलाइज भएको स्पष्टसँग देख्न सकिन्थ्यो ।
धवलागिरी प्राविधिक शिक्षालयमा चिया खाएर बिदावारी भयौँ । लेते बजारमा विकसित बजारमा जस्तै होटलघरहरू रहेछन्, एउटा सानो राम्रो अस्पताल पनि रहेछ ।
लेतेबाट हिँड्दा साँझ पर्न–पर्न लागेको थियो । बेनीभन्दा तल नेपालबन्दको प्रभावले होला सायद, त्यस दिन सवारी साधन फाट्टफुट्ट मात्र देखिन्थे । करिब सवा ७ बजेतिर तातोपानी पुगियो । गाडी छेउ लगाएर ट्रेकिङ रुटमा रहेका होटलहरू हेर्न गयौँ । प्रायः सबै होटलहरू विदेशी पर्यटकले भरिभराउ थिए । तातोपानीबाट ट्रेकिङ रुट घोडेपानी जाने हुँदा पदयात्री पर्यटक र साइकलयात्री पर्यटकहरू प्रायः तातोपानीमा बास बस्ता रहेछन् । पुरानो बजारमा उपलब्ध रुमहरू त्यति राम्रा लागेनन् । तातोपानी प्रवेश गर्नासाथ बनाइएको नयाँ होटलमा कोठा राम्रै रहेछ, त्यहीँ बसियो । खाना अर्डर गरियो । खाना हिजोअस्तिको जस्तो मीठो थिएन । तातोपानीमा दुईवटा नुहाउने तातोपानी कुण्ड बनाइएका रहेछन् । बजारस्थित पुरानो कुण्डमा विदेशी पर्यटक टन्न हुने हुँदा हामीले होटलअघि कालीपारि बनाइएको तातोपानी स्नानकुण्डमा नुहाउने भयौँ ।
भोलिपल्ट बिहान ४ बजे उठेपछि म र शिवहरिजी आफ्नो नित्य जप, ध्यान आदिबाट निवृत्त भएर तातोपानी हेर्न जाने, उपयुक्त भए नुहाउने र बाँकी साथीहरूलाई खबर गर्ने भनी हिँड्यौँ । चालक कृष्ण पनि हामीसँगै हिँडे । कालीगण्डकी तर्न डरलाग्दो फड्के (बाँसको कच्ची पुल) रहेछ । नदी तरेर भर्खर बनाएको सानो मन्दिर घुम्यौँ, अनि पहिले कालीगण्डकीमा पञ्चस्नान गरेर तातोपानीकुण्डमा गएर स्नान ग¥यौँ । माथि डाँडाको तातोपानीको मूलबाट पोलिथिन पाइपबाट पानी ल्याएर कुण्डमा भरिँदो रहेछ । करिब १४–१५ स्क्वायर फिटको करिब ४ फिट गहिरो दुइटा कुण्ड बनाइएको रहेछ एउटा पुरुषका लागि र एउटा महिलाका लागि । खोलाको पानी साह«ै चिसो थियो भने कुण्डको पानी साह«ै तातो । करिब ४०–४५ डिग्री तापमानको पानी हुँदो हो । अलिअलि वीरेनुनको गन्ध आउने पानी ज्यादै सङ्लो थियो । करिब ३० मिनेट कुण्डमा डुबेर तातोपानीको आनन्द लिइयो । स्नानबाट दुई दिनको जाडो र थकाइ सबै मेटिएजस्तो भयो । हामी नुहाएर फर्कंदा यात्राका बाँकी सदस्यहरू आउँदै हुनुहुन्थ्यो । उहाँहरूले झन्डै १ घन्टा नुहाउनुभयो ।
होटलमा कफी खाएपछि सामान गाडीको छतमा बाँधेर करिब ९ बजेतिर तातोपानीबाट हिँडियो । तीनदिने बन्द एक दिनपछि नै आयोजकहरूले फिर्ता लिएकाले त्यस दिन सवारी साधनको चाप बढी देखियो । तातोपानीबाट तल झर्दा ठाउँठाउँमा तातोपानीमा नुहाउने स्थानहरू बनाइएको देखियो । चिसो जिल्ला भएर पनि म्याग्दीमा तातोपानीको स्रोत धेरै रहेको बुझियो ।
त्रिवेणीभन्दा वर नै गाडी रोकेर गलेश्वर बाबाको आश्रम र कुटीको दर्शन र निरीक्षण गरियो । आश्रमको मुख्य आकर्षण गायत्री मन्दिर रहेछ । गलेश्वर बाबाको आश्रममा करिब २० मिनेट बिताएपछि हामी गलेश्वरधाम (मन्दिरको परिसर) गयौँ । त्यहाँ मुख्य पुजारीजी भेट हुनुभयो । सबैजना मन्दिरबाट एउटा–एउटा तामाको लोटी लिएर तल कालीगण्डकीमा गयौँ । ठाडो भ¥याङ ओर्लिएर कालीमा पुगेर हामी पुरुषहरूले स्नान ग¥यौँ र जल लिएर माथि आयौँ । गलेश्वर महादेवको मन्दिरमा हामी सबैलाई कुश दिएर सङ्कल्प गराई पूजा गराउन थाल्नुभयो पण्डितजीले । जाँदा त्यही मन्दिरको दर्शन गरेको बेलामा मैले मोबाइलमा रेकर्ड गरेको शिवताण्डवस्तोत्र बजाएँ । त्यो देखेर होला सायद, पण्डितजीले शिवताण्डवस्तोत्रको पुस्तिका लिएर वाचन गर्न लाग्नुभयो । पण्डितजीसँगसँगै मेरी धर्मपत्नी सविताले पनि शिवताण्डवस्तोत्र भट्याएको देखेर सहायक पुजारी र अरू दर्शनार्थीले उदेक मानेझैँ गरी उनलाई हेर्न थाले ।
शिवलिङ्गमा कालीगण्डकीको जल चढाएर फूल, चन्दन आदिले पूजा गरी प्रसाद ग्रहण गरियो । पण्डितजीले मलाई र भोला सरलाई बडेमानको पाँचमुखी ठूलो रुद्राक्षको खैरो माला लगाइदिनुभयो ।
मन्दिरपरिसरभित्रका अन्य मन्दिर र जलकुण्डको दर्शन गरेर थकालीको होटलमा मोबाइलबाट बिहानै अर्डर गरिएअनुसार खाना खान गयौँ । थकाली भाइले श्रद्धापूर्वक बडो राम्रोसँग स्वादिष्ट परिकारहरूसहित मीठो शाकाहारी भोजन गराए । भोजनपछि गलेश्वर ट्रस्टद्वारा सञ्चालित स्वामी रामानन्द गिरी अध्यक्ष रहेको भण्डारा र वृद्धाश्रमको अवलोकन गरेर पुजारीजीसँग बिदावारी भई फर्कियौँ ।
फर्किंदा कुस्मा र नयाँ पुलबीचको निर्माणाधीन मोदी खोला जलविद्युत आयोजनाको निरीक्षण गर्ने कार्यक्रम थियो । भोला सरले त्यहाँका परियोजना प्रमुखसँग पहिले नै कुरा गर्नुभएको थियो । एकजना पब्लिक रिलेसन अफिसर कुस्मामा हाम्रो प्रतीक्षामा थिए । उनले दुई वर्षअघि बनेको नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल देखाएर लैजाने योजना पहिले नै बनाइसकेका रहेछन् । त्यो झोलुङ्गे पुल हेरियो । डरलाग्दो गहिरो गल्छीमाथि लामो झोलुङ्गे पुल निकै चल्तीको रहेछ । पुल हेर्न भनी बाहिरका मान्छेहरू आउँदा रहेछन् । त्यस पुलले ३–४ घन्टाको बाटोलाई ६ मिनेटमा छोट्याएको रहेछ । विकास–निर्माणको नकारात्मक पक्षका रूपमा दुई वर्षयता तीनजनाले पुलबाट हामफालेर आत्महत्यासमेत गरेका रहेछन् ।
झोलुङ्गे पुल हरेर करिब आधा घन्टाको ड्राइभपछि मोदी खोला प्रोजेक्ट आयो । नेपालीहरूको पुँजीले स्वदेशी प्रविधिबाट बनाउन थालिएको १० मेगावाटको उक्त आयोजना करिब १ अर्ब रुपियाँको लागतले बन्दै रहेछ । राजमार्गको छेउमा नै पक्की बाँध बाँधेर नहरजस्तोबाट करिब डेढ किलोमिटर तलसम्म पानी ल्याई टर्बाइनमा हालेर विद्युत उत्पादन गरिने रहेछ । निर्माणकार्य करिब अन्तिम चरणमा पुगेको रहेछ । टर्बाइन क्षेत्रका चाइनिज इन्जिनियरहरू काममा व्यस्त थिए । ड्याममार्फत प्रायः पाइपबाट पानी झार्न अन्यत्रको प्रविधिभन्दा पृथक् त्यहाँ खुला पक्की कुलो बनाएर लगिएको रेहेछ । तीनवटा ठूला टर्बाइन जडान भइसकेका रहेछन् । २–३ महिनामा नै विद्युत उत्पादन गर्ने लक्ष्य रहेछ ।
टर्बाइन देखाएपछि भोला सरले केही यन्त्र–उपकरणहरूको फोटो खिच्नुभयो । त्यस प्रोजेक्टमा काठमाडौँ विश्वविद्यालयका केही पूर्वविद्यार्थीहरू संलग्न रहेछन् । भोला सरले केटाकेटीहरूलाई एउटा जलविद्युत आयोजनामा कतिथरी इन्जिनियरहरूको काम हुन्छ भनेर बताउन थाल्नुभयो । खोलाको वातावरणीय प्रभाव आदि मूल्याङ्कन, तटबन्धन, भूक्षय आदिको अध्ययनमा वातावरण इन्जिनियरहरू चाहिन्छन् । बाँध डिजाइन गर्न र बनाउन सिभिल इन्जिनियरहरू चाहिन्छन् । त्यसैले काठमाडौँ विश्वविद्यालयले बीई इन सिभिल इन्जिनियरिङ (हाइड्रोपावर) कार्यक्रम सुरु गरेको कुरा उहाँले बताउनुभयो । टर्बाइन डिजाइन र मर्मत–सम्भारका लागि मेकानिकल इन्जिनियर चाहिन्छ अनि विद्युत उत्पादन तथा प्रसारणका लागि इलेक्ट्रिकल इन्जिनियरहरू चाहिन्छन् । यसरी चारथरी इन्जिनियर र आर्किटेक्टको टिमवर्कबाट हाइड्रोपावरको निर्माण सम्भव हुन्छ, त्यसैले तिमीहरू के पढ्ने भनेर उहाँले केटाकेटीलाई उत्साहित पार्नुभयो ।
गाडीमा हामीले पनि त्यो लेक्चर सुनिरहेका थियौँ । मैले ‘साइड टक’ गर्दै शिवहरिजीलाई ‘नेपालमा चाहिँ पाँचथरी इन्जिनियरहरू संलग्न हुन्छन्’ भनिदिएँ । ‘अर्को कुन इन्जिनियर नि ?’ भनेर सोद्धा मैले भनेँ — ‘अर्को हो पोलिटिकल इन्जिनियर । उसको कामचाहिँ पहिले यहाँ परियोजना नै आउनु हुँदैन भनेर हल्ला गर्ने, जनता उचाल्ने र जनजीविकाको समस्या उठाउने हो । यस्तो कार्य पोलिटिकल इन्जिनियरहरूको हुन्छ । यसरी तर्क–कुतर्क गरी जनताको हवाला दिनुको पछाडि उक्त प्रोजेक्ट हत्याउन खोज्ने विदेशी शक्तिको पैसाले काम गरेको हुन्छ । यसरी हल्ला गर्दा पनि कथंकदाचित प्रोजेक्ट आइहाल्यो भने ती इन्जिनियरहरूको काम परियोजनाबाट चन्दा उठाउन डन परिचालन गर्ने आदि हुन्छ । यस्ता पोलिटिकल इन्जिनियरहरू नहुँदा हुन् त हाम्रो देश चाँडै अगाडि बढ्ने थियो ।’
केही बेर हाँसो भयो । राजमार्गमा परियोजनाका पब्लिक रिलेसन अफिसरलाई बिदा गरी हामी हुइँकियौँ । ४–५ किलोमिटर माथि त्यही मोदी खोलामा नै एनईएको अर्को हाइड्रोपावर बनिसकेको रहेछ । सम्भाव्यता अध्ययनअनुसार त्यो एउटा मोदी खालामा मात्रै १०–१० मेगावाटका ८ वटा हाइड्रोपावर बन्न सक्ने रहेछ ।
नयाँ पुलमा चियाचमेना गर्न रोकियौँ । नयाँ पुलबाट करिब ५ बजे हिँडेर पोखरा पुगियो । लेकसाइडको एउटा होटलमा सामानहरू राखेर फेवा लेकसाइडको बजार घुमियो । करिब ८ः३० बजेसम्म घुमेर हेर्दा पनि त्यहाँ शाकाहारी होटल देखिएन र पुनः गाडी लिएर चिप्लेढुङ्गा जाने भनेर हिँडियो । पृथ्वीचोकबाट मोडिएपछि एउटा मारवाडी भोजनालय देखियो र त्यहीँ खाना अर्डर गरी आधा घन्टा कुरेर खाना खाइयो । खाना साह«ै नराम्रो या नमीठो थियो, अनि महँगो पनि । भोक मार्न खाइयो अनि छेउको पसलमा केटाकेटीलाई आइसक्रिम खुवाएर होटलतिर लागियो । होटलमा फर्कंदा ९ः३० भइसकेको थियो ।
पौने दस बजेतिर शिवहरिजी हाम्रो रुममा आउनुभयो र भन्नुभयो — ‘काभ्रेतिरबाट बसाइँ सरेका एकजना मित्र छन् । ती खेलकुदमा संलग्न हर्ताकर्ता पनि हुन् । तिनी सरहरूसँग भेटेर परिचय गर्नका खातिर वरिपरिको कुनै एउटा रेस्टुरेन्टमा कफी खाएर १५ मिनेट भए पनि भेट्न चाहन्छु भनेर बसिरहेका छन् ।’
मलाई निद्रा लागिसकेकाले ‘भोलि भेटे हुँदैन ?’ भनी सोद्धा अलि बढी कर गरिएकाले भोला सर, म, शिवहरिजी र कृष्ण भाइ नजिकैको राम्रो रुफटप रेस्टुरेन्टमा गयौँ र उनीसँग परिचय गरेर केही बेर भलाकुसारी गरी राति १०ः३० बजेतिर होटलमा फर्कियौँ । सुनबहादुर लामा नामका ती मित्र साह«ै फरासिला र आत्मीय पनि रहेछन् । पहिलो भेटमा नै प्रभाव पार्न सके । कफी पनि निकै मीठो थियो । भोलिपल्ट महिला र केटाकेटीले गुनासो गरे उनीहरू पनि कफी खान जाने थिए, किन नभनी गएका भनेर ।
राति ११ बजे सुते पनि नियमित बानी परेकाले बिहान ४ बजे उठेर जप, तप, प्राणायाम, पाठ आदि सक्ता ६ बज्यो । प्रातःकालीन नित्यकर्ममा प्रवृत्त रहँदा मलाई अनायास काठमाडौँ फर्कंदा छाब्दीवाराहीको दर्शन गर्ने तृष्णा उत्पन्न भयो । तिथि पनि एकादशी परेकाले मैले ‘फर्कंदा दमौलीबाट अलि भित्र पर्ने छाब्दीवाराही भएर जाऊँ’ भनेर भोला सरसँग सल्लाह गरेँ । उहाँले ‘हुन्छ, जाऊँ’ भन्नुभयो । उहाँ धेरै पहिले एस० एल० सी० को जाँच दिएर छुट्टीमा छाब्दीवाराही जानुभएको रहेछ । उहाँलाई ठाउँ राम्रो लागेको रहेछ र सहजै सहमत हुनुभयो ।
बिहान ८ बजेतिर हामीले चेकआउट गरेपछि नजिकैको रेस्टुरेन्टमा कफी खाएर फेवाताल गयौँ । डुङ्गा लिएर तालवाराहीको दर्शन गर्न गयौँ र फोटो खिच्ने काम गरेर नौकाविहारको आनन्दसमेत लिई त्यहाँबाट विन्ध्यवासिनी माईको दर्शन गर्न गयौँ । प्रायः पोखरा आउने आस्तिक पर्यटकहरूले नछुटाउने प्रमख दुई स्थान नै सायद फेवाताल र विन्ध्यवासिनी मन्दिर हो । एकादशी परेकाले होला सायद, मन्दिरमा भीड थियो । करिब आधा घन्टासम्म लाममा बसेर दर्शन र पूजाआजा गरी वरिपरिका अन्य मन्दिरहरू (गणेशजी, हनुमानजी, सरस्वती, राधाकृष्ण र शिवका मन्दिरहरू) को दर्शन गरियो । माछापुच्छ्रे खुलेको रहेछ । मन्दिरपरिसरबाट राम्रो देखिँदो रहेछ । त्यहाँ पनि मन्दिरको र माछापुच्छ्रे हिमशृङ्खलाको फोटो खिचेर चिप्लेढुङ्गामा नास्ता गर्न गइयो । त्यहाँको एउटा रेस्टुरेन्टमा पुरी, तरकारी, जिलेबी आदि पेटभरि खाएर पृथ्वी राजमार्गबाट दक्षिणतर्फ मोडियौँ ।
दमौली बजार नाघेर दक्षिणतिर ग्राभेल गरेको राम्रै तर धूलाम्मे बाटो करिब ७ किलोमिटर हिँडेपछि मन्दिर आइपुग्यो । तीर्थयात्रीहरूका लागि भाडाको ट्राक्स जीप चल्दो रहेछ । व्यास नगरपालिकाको दक्षिणी पर्वतको फेदीमा सुन्दर हरियालीबीच एउटा ओडारजस्तोमा पानीको तलाउ रहेछ । तलाउको कञ्चन पानीमा प्रशस्त माछाहरू थिए । तलाउको छेउमै माछा आकृतिको छाब्दीवाराहीको मूर्ति बनाइएको रहेछ । पछि बुझ्दा थाहा भयो त्यो मूर्ति त धेरै पछि अर्थात् २०–३० वर्षअघि मात्र बनाइएको रहेछ । त्यो तलाउमा पाइने वाममाछा नै छाब्दीवाराहीका रूपमा पुजिँदो रहेछ ।
त्यहाँको साइनबोर्डमा लेखिएको मन्दिरको इतिहासका अनुसार करिब एक हजार वर्षजति पहिले स्थानीय एकजना मगरको घरमा रात परेपछि एउटी कन्या बास माग्न गइछन् । मगर बूढाले भनेछन् — ‘बाससम्म त दिन सक्छु तर खाना खान भने दिन असमर्थ छु ।’ कन्याले भनिछन् — ‘मलाई खाना चाहिँदैन ।’ अनि कन्या त्यहीँ बसिछन् । बिहान हो वा सपनामा हो, मगर बूढालाई ‘म सामान्य कन्या होइन, म त छाब्दीवाराही हुँ, म बस्ने कुण्डमा माछाका रूपमा सदैव बसिरहनेछु, तिमीले र तिमीपछि तिम्रा छोरानातिहरूले मेरो पूजाआजा गर्नु, तिम्रो कल्याण हुनेछ’ भनेर ती कन्या अन्तर्धान भइछन् । आजपर्यन्त अर्थात् १३–१४ पुस्तासम्म तिनै मगर बूढाका सन्ततिहरू छाब्दीवाराहीका पुजारी भएका रहेछन् ।
दमौलीमा निकै गर्मी भए पनि छाब्दीवाराही क्षेत्र शीतल रहेछ । स्थान हेर्दा झन्डै–झन्डै दक्षिणकाली मन्दिरको झझल्को आउँदो रहेछ । कुण्डको पश्चिममा अर्को झर्नाजस्तो रहेछ । त्यो झरेको पानीको दहमा पनि प्रशस्त माछाहरू रहेछन् । माछाबारे बुझ्दा के थाहा पाइयो भने अरू माछाहरूचाहिँ पछि भुरा छरेर हुर्काइएका रहेछन् । प्राचीनकालदेखिकै माछाहरूचाहिँ वाममाछाजस्ता रहेछन् ।
अलि ठूला र सलक्क परेका माछाहरू नै छाब्दीवाराही हुन् रे ! ती माछाचाहिँ कहिलेकाहीँ मात्र कुण्डको दक्षिणमा रहेको चट्टानमुनिबाट बाहिर कुण्डमा आउने–जाने गर्दा रहेछन् । भक्तहरू दर्शनमा आउँदा ती माछाहरू बाहिर निस्केर दर्शन दिन्छन् रे ! हामीले पनि केही बेर कु¥यौँ । त्यस्तै खालको माछा बाहिर आयो । नाचेजस्तो गरी पुच्छरले अभिवादन गरेझैँ ग¥यो र पुनः चट्टानभित्र छि¥यो । हामीहरूले पनि तिनै माछालाई छाब्दी माई मानेर भक्तिभावले दर्शन ग¥यौँ ।
त्यहाँ फोटो खिच्न मनाही गरिएको रहेछ । एकादशीमा विशेष दर्शनार्थी आउँदा रहेछन् । त्यो दिन बलि दिइँदो रहेनछ । प्रायः अष्टमी र औँसीमा परेवाको बलि दिइन्छ रे ! टाउको कुण्डमा नहाली परेवाको बाँकी जीउ कुण्डमा हालिन्छ रे ! भक्तको बलि ग्रहण गर्दा छाब्दीवाराहीरूपी माछामाताले त्यसरी दिइएको बलि सर्लक्कै निलिदिन्छिन् रे ! त्यसो गरेको चाहिँ त्यो दिन एकादशी परेकाले देख्न पाइएन । मन्दिरको अघिल्तिर अर्को एउटा नयाँ मन्दिरभित्र वाराही शिला रहेछ । करिब ३ स्क्वायर फिटको उक्त शिलालाई नियालेर हेर्दा उक्त शिलामा धेरै माछाका आकृतिहरू स्पष्टसँग देख्न सकिन्थ्यो । मन्दिरको परिसरमा असङ्ख्या परेवाहरू रहेछन् । सायद शाकाहारी देवीभक्तहरूले परेवाको बलि नदिएर मन्दिरमा परेवा छाड्ने गर्दा परेवाको सङ्ख्या बढेको होला ।
मन्दिरबाहिर दुईजना पण्डितजीहरू रहेछन् । उनीहरूको हातबाट रातो अक्षता लगाएपछि चिसो पेय पदार्थ किनी मन्दिरलाई फिर्ती प्रणाम गरेर फर्कियौँ । चालक कृष्णलगायत सबैलाई छाब्दीवाराही साह«ै रमाइलो लागेछ । भोला सरको त एउटा अनौठो संयोग परेछ । भोला सर पहिलोपटक त्यहाँ आउँदा एस० एल० सी० परीक्षा दिएर छुट्टीमा आउनुभएकोमा उहाँका छोरा ऋषभ थापा पनि एस० एल० सी० को छुट्टीमा नै छाब्दीवाराही आइपुगेछ ।
बाटोमा पर्ने घाँसीकुवा छिचोल्दा आदिकवि भानुभक्त आचार्यप्रति मनैमन श्रद्धासुमन अर्पण ग¥यौँ र अघि बढ्यौँ । मुग्लिन आइपुग्दा झन्डै २ः३० बजेको थियो । त्यहाँ रूपसी होटलमा खाना खाएर हिँडियो । गजुरी कटेपछि करिब ४५ मिनेट जाममा परियो । किन जाम भएको रहेछ भने एउटा पुलको छेउमा एउटा ट्रकको एक्सेल भाँचिएछ र एकतर्फी सवारी चल्नुपर्दा त्यत्रो जाम भएछ । जाम छिचोलेर नौबिसे पुग्दा साँझ पर्न आँटेको थियो । त्यहाँ एकछिन रोकिएर चिया खाएर उकालो लागियो । फेरि नागढुङ्गा पुग्न २ किलोमिटर बाँकी छँदै अर्को जामको सामना गर्नुप¥यो । सबैले मोबाइलबाट घरघरमा रात्रिको खानाको अर्डर त ग¥यौँ, तर जाम कहिले खुल्ने भन्ने कुराको पत्तो थिएन । यो जाममा गजुरीनेरको जस्तो अत्यास लागेन, किनकि त्यहाँ गर्मीचाहिँ थिएन ।
करिब डेढ घन्टाको जाम छिचोलेर नागढुङ्गा आइपुगियो । त्यहाँबाट बानेश्वर पुग्दा ९ः१५ भइसकेको थियो । भोला सरको परिवार त्यहाँ ओर्लनुभयो । हामी बिदा भएर धुलिखेलतिर लाग्यौँ । रात्रिको समय भएकाले बानेश्वरबाट आधा घन्टामा नै बुडोल पुगियो । त्यहाँ शिवहरि के० सी० लाई छाडेर हामी घर पुग्दा झन्डै पौने दस बजिसकेको थियो । सारथि कृष्ण भाइलाई सकुशल तीर्थयात्रा गराएकोमा धन्यवाद दिँदै छुट्टियौँ । श्रीमती र छोरी सामयी समीपलाई यात्रावृत्तान्त सुनाउँदै फोटो देखाउन थाले । मचाहिँ खाएर सुतिहालेँ मुक्तिनाथप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |