सोमप्रसाद हुमागाईँ
अध्यक्ष, जिल्ला सहकारी संघ काभ्रे
कुशादेवीका सोमप्रसाद हुमागाई हालै जिल्ला सहकारी संघ काभ्रेको अध्यक्ष निर्वाचित भएका छन् । लामो समय शिक्षण पेशा अगालेका हुमागाई सामाजिक क्षेत्रमा कृयाशिल व्यक्तित्व हुन् । उनी नेपाल रेडक्रस सोसाइटी काभ्रेका पुर्वसभापति समेत हुन् । संघका आगामी कार्ययोजना, रणनीति र जिल्लाका सहकारीको अवस्थाका बारे उनीसँग गरिएको कुराकानी ः
१. ३ बर्षे कार्यकालको लागि अध्यक्ष निर्वाचित हुनुभएको छ, तपाईका कार्ययोजनाहरु के के छन् ?
यसलाई मेलै दुईवटा पाटोको रुपमा हेरेको छु । जिल्ला सहकारी संघ काभ्रेमा धेरै चुनौतीहरु छन् । यसका समाधानका उपायह पत्ता लगाएर टिमको सल्लाह अनुसार नै म अगाडी बढ्छु । यसबाट नै संघका समस्या समाधान गर्दै जाने योजना बनाएको छु । दोस्रो कुरा, यसलाई मेलै अवसरको रुपमा पनि हेरेको छु । नयाँ कार्यसमितिसँगैको सल्लाहमा त्रि –वर्षीय कार्ययोजना बनाएर अघि बढ्छौ । यो कार्यकालयमा हामी संगठन विस्तारमा लाग्छौँ । सहकारी संस्था नपुगेका गाउँमा सहकारी संंस्था खोल्न पहल गछौँ । धेरै भएका ठाउँमा एकिकरणका लागि पनि पहल हुन्छ । जिल्ला सहकारी संघको शेयर पुँजी थोरै छ, यसलाई बढाउन पनि पहल गर्छु । जिल्लामा १ हजार ३ सय हाराहारीमा सहकारी संस्था छन्, सहकारी संघमा मात्र २ सय ४८ सहकारी आवद्ध छन्, यो संख्या बढाउन पनि हामी पहल गर्छौ , अभियान नै चलाउँछौँ । बचत जम्मा गर्ने, उचित व्याजदर कायम गरेर आवद्ध साना सहकारीहरुलाई ऋण प्रवाह गर्ने काम पनि गछौँ । जिल्ला सहकारी संघमा अधुरा हिसाव कितावहरु प्नि छन्, पाउनुपर्ने र दिनुपर्ने, त्यो फच्र्यौट अहिलेको कार्यसमितिले गर्छ । संघको जुन सम्पति छ, त्यसलाई धितो राखेर संस्थागत ऋण पनि पाइन्छ, यसलाई व्यवसायिक र उत्पादनमुलक बनाउन पहल गर्छु । कर्मचारी व्यवस्थापनको समस्या छ, यसलाई विनियम बनाएर संस्थागत बनाउछौँ । संस्था हचुवाको भरमा चलेको छ, यसलाई पनि व्यवस्थित गछौँ । जिल्लामा धेरै सहकारी ंसंघ संस्था छन्, अनुगमन र मुल्याकंन नहुँदा उनीहरुले राम्रो काम गर्न सकेका छ्र्र्रैनन्, उत्कृष्ट लाई पुरस्कार र निस्कृयलाई सकृय बनाउने काम हुन्छ । अन्तर सहकारी समन्वयलाई दरिलो बनाउँछौँ । यसअघिको कार्यसमितिमा म उपाध्यक्ष थिए, सहकारीका केन्द्रिय निकायहरु, विभागसँग राम्रो समन्वय नभएको अनुभव हामीले गरेका थियौँ, समन्वय गरेर विभिन्न कार्यक्रम ल्याउन पहल गछौँ । २ सय ४८ सदस्य संख्यालाई बढाएर कम्तिमा ५ सय पु¥याउने लक्ष्य छ । एक्लैले गर्दा असफल हुने सम्भावना हुन्छ, विभिन्न समिति उपसमिति बनाएर काम अघि बढाउँछौँ । शेयर पुँजी, बचत बढाउने र त्रि –वर्षीय कार्ययोजना बनाएर अघि बढ्छौँ ।
२. राजनैतिक गठबन्धनले अध्यक्ष निर्वाचित हुनुभएको छ, सहकारी जस्तो गैरराजनैतिक क्षेत्रमा काम गर्न असहज हुँदैन ?
अघिल्लो कार्यसमिति ३ दलको भागवण्डामा बनेको हो, त्यसमा म उपाध्यक्ष थिँए । पहिला पनि काम गर्न अप्ठ्यारो भएको हैन, तर पहिलाको कार्यसमितिले काम गर्न नसकेकै हो । काम गर्न नै खोजिएन । अहिले गठबन्धन गर्नु बाध्यता थियो । अघिल्लो समितिमा एउटा राजनैतिक समुह सकृय थियो, त्यसलाई व्यालेन्स गर्न पनि राजनैतिक गठबन्धन चाहिन्थो । अहिले पनि ३ वटै राजनैतिक दल निकटको प्रतिनिधित्व छ, नियम र कानुनमा रहेर काम गर्दा कसैले असहयोग गर्न मिल्दैन, गर्नुहुँदैन, सबैलाई मिलाएर नै अघि बढ्छौँ ।
३. सहकारी दर्ताको हिसावले राजधानी पछिको दोस्रो जिल्ला काभ्रेमा त थोरै सहकारी संस्था छन् ? सदस्य संख्या बढाएर सबै सहकारीको साझा संघ बनाउन तपाई के पहल गर्नुहुन्छ ?
जिल्ला सहकारी संघ काभ्रे २०२४ सालमा दर्ता भएको हो । २०४२ सालसम्म साझा संघको रुपमा थियो । त्यो बेला यो संघ पञ्चहरुको कव्जामा थियो । त्यसपछि २०४७ सम्म ९ वटा सहकारीको कव्जामा संघ थियो, उनीहरुले अरुलाई प्रवेश गराउन चाहेनन् । त्यसपछि हामीले निरन्तर आन्दोलन गर्यौँ । १० बर्षर्का निरन्तर आन्दोलन पछि २०६२÷६३ पछि ६३ वटा सहकारी दर्ता भए । यसले निर्वाचित कार्यसमिति चुन्यो र २०६७ समा १ सय ५७ सहकारी पुगे र हालसम्म २ सय ४८ सहकारी छन् । थोरै समयमा यसलाई प्रगति नै मान्नुपर्छ । दर्ताको हिसावले सहकारी थोरै हुन् तर समग्रमा यसलाई राम्रै मान्नुपर्छ ।
४. लामो इतिहास भएको जिल्ला सहकारी संघले केन्द्रमा खासै भुमिका खेल्न नसकेको आरोप लाग्छ नी ?
६ बर्ष अघिको कार्यसमितिले एउटा देखिने काम गरेको छ । हामी कृषि विकास बैँकको ऋणमा थियौँ । संरचना भाडामा दिने निर्णय भएको हो त्यसकारण ५ बर्ष अर्को संस्थाले काम गर्यो । अघिल्लो कार्यसमितिमा म उपाध्यक्ष भएर काम गरेँ तर हामीले कार्ययोजना बनाए पनि काम गर्न सकेनौँ , काम नभएको नै यथार्थ हो । अव योजना नै बनाएर केन्द्रमा आफ्नो भुमिका देखाउने, जिल्लामा कामहरु गर्ने गछौँ ।
५. २००७ सालअघि नै काभ्रेमा भुबन्धकी कोअपरेटिभ थियो र यो नै देशको पहिलो सहकारी हो भनिन्छ । जिल्लाको इतिहाससँग जोडिएको यो विषयलाई काभ्रेका सहकारी र सहकारीकर्मीले किन वेवास्ता गरेका होलान् ?
मेरो जानकारीमा भएसम्म यो १९९० मा नै स्थापना भएको हो । राणाहरुलाई शुद्ध दुध खुवाउनको लागि त्यो सहकारी खोलिएको थियो । काभ्रेका पुर्वजहरुले त्यो पहल गरेको भए त्यो हुन सक्थ्यो, तर त्यसो हुन सकेन । २००७ साल देखि भुबन्धकी, रसिद आन्दोलन भएका हुन् । सहकारी ऐन र नियमावली २०१२ सालमा नै आएकाले चितवनको बखानपुरमा रहेको बखान सहकारी पहिलो मानिदै आएको छ । तर काभ्रेको इतिहास सँग जोडिएको विषयलाई स्थापति गराउन जिल्ला सहकारी संघ काभ्रेले पहल गर्छ । यसको लागि केन्द्र र सरकारालाई हामी घच्घच्याउँछौँ ।
६. जिल्लाको विकासमा सहकारीले के भुमिका खेलेको जस्तो लाग्छ ?
ग्रामिण भेगमा सहकारीले ठूलो भुमिका खेलेको छ । पहिला कृषि विकास लगायतका केही सरकारी बैँक मात्र थिए । यसमा पनि सबैको पहुँच थिएन, २०४८ मा सहकारी ऐन र २०४९ मा नियमावली आएपछि सहकारी संघसंस्था खुल्न थाले । १० बर्षे शसस्त्र युद्धको समयमा बैँकहरु सदरमुकाममा नै सिमित थिए, त्यो बेला मानिसहरुले सहकारी मार्फत आर्थिक कृयाकलापहरु गरेका हुन् । निस्कृय रहेको पुँजी परिचालन भएको छ, सहकारीका सदस्यले आफ्नो आर्थिक स्थितीमा सुधार ल्याएर देशको अर्थतन्त्रमा योगदान दिइरहेका छन् । विभिन्न व्यवसाय, आयमुलक कामहरु गरिरहेका छन् । गरिव र निमुखाको लागि सहकारीले ठूलो योगदान दिएको छ ।
७. सहकारी बचत र ऋणमा मात्रै सिमित भए, नाफामुखी भए, गैरउत्पादनमुलक क्षेत्रमा लगानी गरे भन्ने आरोप लाग्छ नी ?
प्रकृती र उद्धेश्य अनुसारका फरक फरक सहकारी संस्थाहरु छन् । सबै उद्धेश्य अनुसार चलेका छैनन् । कुनै निस्किृय छन्, कुनै दर्ता मात्र छन् । सहकारी मन्त्रालय, विभाग र डिभिजन कार्यलयलाई हेर्ने सरकारी दृष्ट्रिकोण फरक छ । जनशक्ति र बजेट नै कम छ । जिल्ला सहकारी संघले सबैलाई अनुगनम गर्न सक्देैन । अनुगमन कम भएका कारण सबै सहकारीले उद्धेश्य अनुसारको काम गर्न सकेका छैनन् । आफ्नो उद्धेश्य अनुसारको काम गर्न हामी आव्हान पनि गछौँ । अव जिल्ला सहकारी संघले अनुगमन र मुल्याकंन पनि गर्छ ।
८. जिल्ला सहकारी संघले आफ्ना संरचना, सम्पतिको सही सदुपयोग गर्न नसकेको गुनासो छ । संघको सम्पतिबाट आम्दानी गरेर संघलाई व्यवस्थित गर्न सकिदैन ?
संघको ५ रोपनी जग्गा छ । २ गोदाम र एक अफिस भवन पनि छ । संघको सम्पतिको सही सदुपयोग नभएको हामी पनि स्विकाछौँ । संघ कृषि विकास बैँकको ऋणमा थियो, त्यसैले हामीले बहालमा लगाएका हौँ । काभ्रे कर्जा सहकारीले ५ बर्षको लागि लिएको हो । सम्झौतामा अर्को ५ बर्ष थप्ने पनि थियो । तर ५ बर्षको लागि कुनै योजना आएन र काम पनि भएन । काम नगरे के हुने अस्पष्ट थियो । तर सम्झौताकै आधारमा अर्को ५ बर्ष थप्नुपर्ने उहाँहरुको माग थियो । ६ महिनाको भाडा अग्रिम ल्याएर संघमा बुझाउनुभएछ । त्यसपछि पुन सम्झौता भएन, बैठक पनि भएन । संस्थागत र नियमसंगत कामहरु भएका छैनन् । पहिलो सहमतिकै आधारमा काम भएका छन् । यसलाई संस्थागत र नियमसंगत बनाउन जरुरी छ ।
९. संघको सम्पति “कौडीको मुल्य” मा सिमित व्यक्ति र सहकारीले हालीमुहाली गरेको गुनासो छ, तपाईको कार्यसमितिले यसबारे केही पहल गर्छ ?
व्यक्तिले हालीमुहाली गरेको हाम्रो जानकारीमा छ्रैन । पहिलाको अस्पष्ट सम्झौताकै आधारमा ५ बर्ष थपिएको हो, निर्णय फिर्ता गराउन त सकिदैन तर ५ बर्षपछि जिल्ला सहकारी संघ आफैले आफ्ना संरचना प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने सोच बनाएको छ । त्यसको लागि यो कार्यसमितिले कार्ययोजना बनाएर अघि बढ्छ ।
१०. जिल्लामा सहकारीको अवश्था (संख्या, विषयगत संघ, कारोवार ) के छ ?
जिल्लामा हाल १३ सय प्रारम्भिक सहकारी सस्था छन् । ६ विषयगत संघ छन् । सवै एकै प्रकारका छैनन् । कोहीमा २० हजार सदस्य छन् भने कोहीमा २५ जनाले सहकारी खोलेका छन् । कोहीमा ६० करोडको कारोवार छ भने कोहीमा २५ हजार मात्रै पनि छ । यकिन तथ्याकं नभए पनि जिल्लामा १ अर्ब बरावरको शेयर पुँजी र सोही बरावरको निक्षेप भएको अनुमान गरिएको छ । ५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारी मार्फत अर्गानिक तरकारी लगायतका साना व्यवसाय समेत शुरु गरिएको अवश्था छ ।
११. सहकारी क्षेत्रको विकासको लागि तपाईको कार्यकालमा के कस्ता महत्वपुर्ण कामहरु ह्ुन्छन् ।
सहकारी शिक्षा तालिम चलाउँछु । सहकरी नभएको ठाउँमा म सहकारी खोल्न प्रेरित गर्छु । सहकारीलाई जिल्ला संघमा आवद्ध हुन प्रेरित गर्छु । मर्जरको लागि पनि पहल गर्छु । सहकारी संस्थालाई सक्षम र सुदृढ बनाउने कार्ययोजना ल्याउछौँ । सहकारी सघले गर्दै आएको दानाको व्यवसायलाई विस्तार गर्नको लागि प्रारम्भिक संघसंस्थासँग सहकार्य गर्छु ।
१२. अन्त्ययमा पत्रिका मार्फत…….
जिल्ला सहकारी संघको अधिवेशनबाट विजयी गराउन सहयोग र सल्लाह दिनुहुने सबैलाई पत्रिका मार्फत धन्यवाद दिन चाहन्छु । जिल्लामा कृयाशिल सबै १ हजार ३ सय सहकारीलाई पनि धन्यवाद दिन चाहन्छु । सबैको सल्लाह र सहमतिमा नै अघि बढने प्रतिवद्धता व्यक्त गर्दै नमुना जिल्ला सहकारी संघ बनाउने अभियानमा सहयोग गर्नुहुन आग्रह समेत गर्दछु ।
नगेन्द्र अधिकारी
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |