स्थानीयले गाविस सचिवलाई सोधे
“सचिवले पनि जग्गा अतिक्रमण गर्नुभएको हो ? ”
दाप्चा ÷ स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सहयोगमा भरोसा नेपालले खनालथोकमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय राजनैतिक दलका नेता, सरकारी कार्यलयका प्रतिनिधी र सरोकारवालाहरु सहभागी थिए । सहभागी मध्ये ४ नं वडाका स्थानीय ङेमा लामाले सोधे, “सचिव ज्यु, हजुरले पनि सार्वजनिक जग्गा अतिक्रमण गरेको गुनासो आएको छ, यसको वास्तविकता के हो ? ”
गाविस सचिव भैरवप्रसाद खनालले आफ्नो वचाउ गर्दै भने, “यो सरासर कपोलकल्पित र भ्रामक आरोप हो, मेरा बाबु बाजेले विजन दर्ता गराएको १६ रोपनी जग्गा उपभोग गर्दै आएका हौँ, यसमा कुनै सत्यता छैन । ”
स्थानीयका अनुसार, खनालथोकका स्थानीय समेत रहेका सचिव खनालले आर्मी व्यारेक नजिकको १६ रोपनी जग्गा उपभोग गर्दै आएका छन् । विजन दर्ता गरेपनि २०३४ सालमा नापी हुँदा सो जग्गा व्यक्तिको नाममा दर्ता भएको छैन ।
सार्वजनिक सुनुवाईका अधिकांश सहभागीले स्थानीय ल्यासे बन अतिक्रमण भएको भन्दै गुनासो गरेका थिए । खनालथोक ४ मा वीपी राजमार्गसगै जोडिएको उक्त बन करिव १० परिवारले उपभोग गर्दै आएका छन् । विजन दर्ता भएको करिव ४ सय हेक्टर क्षेत्र २०३४ सालको नापीमा बन बुट्यानको रुपमा दर्ता भएको छ । सोही क्षेत्र उपभोग गरिरहेका धुव्रप्रसाद खनाल कर्मचारीको फटाइको कारण आफुहरु अन्याय परेकोे गुनासो गर्छन् । “एउटै अंश पाएका दाजुभाइको जग्गा दर्ता भएको छ, हाम्रोमा सिसा कलमले बन लेखिएको छ । ” उनले भने ।
सहभागीले गाविस भित्र रहेका बन अतिक्रमण हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । अतिक्रमणको आरोप लागेका गाविस सचिव खनालले यसमा आफु कटिबद्ध भएर लाग्ने बताए । “यो यहाँको मात्रै समस्या हैन, राष्ट्रिय समस्या हो, अभियान शुरु भए सबै भन्दा अगाडी म लाग्छु । ” उनले भने ।
नेकपा एमालेकी जिल्ला सदस्य यशोदा खनालले अतिक्रमण हटाउन सबैले आट गर्नुपर्ने बताइन् । “ल्यासे मात्रै हैन, गाविस भित्रका प्राय बनमा अतिक्रमण छ, हटाउनको लागि सबै लाग्नुपर्छ । ” उनले भनिन् ।
नेपाली कांग्रेसका गाउँ सभापति श्रीकृष्ण न्यौपानेले सामुदायिक बनको संरक्षणमा लाग्नुपर्ने बताए । एकिकृत नेकपा माओवादीका प्रतिनिधी शम्भुप्रसाद खनालले वन सिमाना छुट्याउनुपर्ने बताए ।
कार्यक्रमका सहभागीले विकास निर्माणका काममा आर्थिक पारदर्शिताको माग गरेका थिए । सचिवले नागरिक वडापत्र र गुनासो पेटिका राख्ने प्रतिवद्धता व्यक्त गरे । उनले गाविसको नाममा भएका केही बेरुजु तत्काल फच्र्यौट गर्ने पहल गर्ने प्रतिवद्धता जनाए । सहभागी सरोकारवाला निकायले गाविस बजेट अनुदान तथा सञ्चालन कार्य विधी अनुसार नै बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । स्थानीयले बजेट विनियोजन प्रकृयामा केही सरोकारवालाहरुलाई कम जानकारी हुने गरेको गुनासो गरेका थिए । गाविस भित्र हुने विकास निर्माणका योजना अनुगमन गर्न समिति समेत समेत बनेको छ । नारायण कृष्ण श्रेष्ठको संयोजकत्वमा बनेको ७ सदस्यीय समितिको सदस्यहरुमा रामजी खनाल, यशोदा खनाल, खड्ग बहादुर परियार, नानीबाबु लामा, सुनिता खनाल र दिपा खनाल छन् ।
बक्समा
कार्यविधी अनुसार नै विनियोजन गर्ने प्रतिवद्धता
डराउनेपोखरी ÷ डराउनेपोखरी गाविसका राजनैतिक दल, गाविस सचिव लगायत सरोकारवालाहरुले बजेट कार्यविधी अनुसार नै रकम विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले जनगुनासोलाई सम्बोधन गर्ने, लक्षित वर्गलाई बजेट विनियोजन बारे सचेत गराउन पहल गर्ने तथा दलिय भागवण्डाको परिपाटी हटाउने प्रतिवद्धता व्यक्त गरे ।
यहाँ भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाविस सचिव केशवप्रसाद पौडेलले कार्यविधी अनुसार नै बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । उनले निर्देशिका अनुुसार सबैको समानुपातिक सहभागिता गराएको जानकारी दिए । एकिकृत नेकपा माओवादीका गाउँ कमिटी अध्यक्ष नवराज अधिकारीले सहमतिमा नै कार्यविधी अनुसार नै बजेट विनियोजन गर्ने गरेको बताए । नेपाली कांग्रेसका गाउँ सभापति रामेश्वर अधिकारीले अपर्याप्त बजेटको कारण सबैको माग सम्वोधन गर्न नसकिएको स्विकारे । एमालेका गाउँ अध्यक्ष मनोज अधिकारीले निर्देशिका अनुसार बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का गाउँ अध्यक्ष ध्रुवलाल श्रेष्ठले साना दल भन्ने व्यवहार भएको गुनासो गरे । कार्यक्रमका सहभागीले भने महिला, आदिवासी, दलित, अपाङता, बालबालिका लगायतलाई नै लक्षित वर्ग कार्यक्रमबारे थाहा नभएको गुनासो गरेका थिए । उनीहरुले वडा भेलाबाट आएका योजना भन्दा राजनैतिक दलका योजनाले प्राथमिकता पाउने गरेको गुनासो गरे ।
भरोसा नेपालले छत्रेबाँझ, खनालथोक र पुरानागाउँ गाविसमा कार्यक्रम गरिसकेको छ भने आइतवार (आज) जिविसमा कार्यक्रम गर्दैछ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |