प्रस्तुति ः सागर ÷ आयूषा
० हालै काभ्रे महोत्सव २०७० मा सहभागी हुन तपाइ काभ्रेको बनेपामा आउनुभयो, कस्तो अनुभव गर्नुभयो ?
काभ्रे उद्योग वाणिज्य संघले आयोजना गरेको काभ्रे महोत्सव तथा कृषि बजार २०७० मा आफू सहभागी हुन पाउँदा म आफूलाई भाग्यमानी महसुस गरेको छु । महोत्सवमा नेपालका चर्चित कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम जुन गरियो, त्यो आफैंमा गौरवपूर्ण छ । जे भएपनि काभ्रे उद्योग वाणिज्य संघले कलाकारहरुलाई सम्मान गरेर कलाकारहरुको मनोबल बढाउने काम गरेकोमा म धेरै खुशी छु ।
० महोत्सवमा राखिएका स्टलहरु मध्ये कुन कुन स्टलहरु तपाईलाई आकर्षक लाग्यो ?
धेरैजसो स्टलहरु सँधै देखिएको हो तर कृषि बजार मलाई धेरै नै आकर्षक लाग्यो । मेशिनबाट दूधको खुवा बनाउने तरिका मैले पहिलो पटक देखें । फूल तथा बिरुवाहरुको बागमानी साथै हस्तकलाका सामानहरुप्रति म बढि आकर्षित भएँ । केराको मःम पनि काभ्रे महोत्सवको थप आकर्षक स्टल हो ।
० काभ्रे महोत्सवको बारेमा के सोच्नुभएको थियो र के पाउनुभयो ?
मैले महोत्सव सानै होला भन्ने सोचेको थिएँ तर मेरो सोचाई गलत रहेछ । महोत्सव आशा गरेको भन्दा भिन्नै र धेरै प्रभावकारी पाएँ । यत्ति ठूलो महोत्सवको आयोजना गर्ने काभ्रे उद्योग वाणिज्य संघ र व्यवस्थापकलाई सलामी दिनुपर्छ ।
० महोत्सवमा राखिएको हेलिकप्टर सफारी कस्तो लाग्यो ?
हेलिकप्टर सफारी काभ्रे महोत्सवको एउटा प्रमुख आकर्षण पनि हो तर सर्वसाधारणको लागि हेलिकप्टर सफारी अलिक महङ्गो भयो । नेपाली जनताहरु प्रतिव्यक्ति चार हजार तिरेर हेलिकप्टरको सफारी गर्न सक्दैनन् ।
० काभ्रेको दर्शकहरुको कस्तो प्रतिक्रिया पाउनुभयो ?
काभ्रेको बनेपा राजधानी नजिकैको सुन्दर शहर हो । राजधानी नजिक भएकोले यहाँका दर्शकहरुमा पनि आधुनिकताले छोएको पाएँ । सबैभन्दा ठूलो कुरा काभ्रेका दर्शकहरु नेपाली फिल्मलाई धेरै मागा गर्नु हुँदो रहेछ । मैले निर्माण तथा निर्देशन गरेका सबै फिल्मका नाम तथा गीतहरु यहाँ दर्शकहरुलाई कण्ठै रहेछ, मलाई धेरै खुशी लाग्यो ।
० तपाईले निर्माण गर्नुभएको पछिल्लो चलचित्र दृष्टिकोणले राम्रो व्यापार गर्न सकेन नि किन ?
चलचित्र राम्रो बन्नु र चलचित्रको राम्रो व्यापार गर्नु दुई अलगअलग विषय हुन् । कहिलेकाहीँ राम्रो चलचित्रले पनि राम्रो व्यापार गर्न सक्दैन । दृष्टिकोण फिल्म जसजसले हेर्नुभयो, उहाँहरुले फिल्मको खुलेरै प्रशंसा गर्नुभएको छ ।
० दृष्टिकोण फिल्मले किन राम्रो व्यापार गर्न सकेन त ?
अहिले फिल्म चलाउनको लागि पुरा पब्लिसिटी हुनुपर्ने रहेछ । यहाँ पब्लिसिटी गर्नेको फिल्म नराम्रो भएपनि चल्ने रहेछ । मैले आफ्नो सोझो हिसाबले फिल्म निर्माण गरें । धेरै पब्लिसिटी गरिनँ, त्यसैले फलस्वरुप मेरो फिल्मले राम्रो व्यापार गर्न सकेन ।
० के अहिलेका फिल्महरु विज्ञापनकै भरमा चलेका हुन् त ?
निश्चय नै हो । यहाँ अरु ४० लाखमा फिल्म निर्माण गर्नुप¥यो भने २० लाखको त विज्ञापन गर्छन् तर म यस्तो गलत काम गर्न चाहन्न । मेरो दृष्टिकोण फिल्मको एउटा गीत हिट बनाइदिन्छु, मलाई पैसा दिनुस् भन्ने मिडियाकर्मी पनि भेटें तर म त्यस्तो गर्न चाहन्न ।
० हाल तपाई केमा व्यस्त हुनुहुन्छ ?
दृष्टिकोण फिल्मले नेपालमा राम्रो व्यापार गर्न सकेन म यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा चलाउने प्रक्रियामा छु ।
० कुन कुन देशमा प्रदर्शन गर्नुहुनेछ ?
सबैभन्दा पहिला नेपाल पछि सबैभन्दा बढी नेपालीप काम गर्ने छिमेकी देश भारत हो । म भारतका विभिन्न शहरहरुमा प्रदर्शन गर्नेछु । त्यसपछि अरु देशहरुमा पनि प्रदर्शनको लागि अघि बढ्नेछु ।
० विदेशमा फिल्म प्रदर्शन गर्न कत्तिको कठिनाई हुन्छ ?
यहाँका केही निर्माता तथा निर्देशकहरु विदेशमा फिल्म चलाउने भनेर जान्छन् । एउटा होटलमा बसेर एक दुई सय जना नेपाली दर्शकहरु जम्मा गरेर फिल्म देखाएर यहाँ आएर ठूला कुरा गर्छन् । विदेशमा फिल्म चलाउन सोचेजत्ति सजिलो छैन । यदि नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित तथा व्यापारिक बनाउन सरकारले नै केही व्यवस्था गर्न आवश्यक छ ।
० विदेशमा नेपाली फिल्म रिलिज गर्न भाषाको समस्या पर्छ कि पर्दैन ?
विदेशमा फिल्म रिलिज गर्नको लागि पहिलो समस्या नै भाषाको पर्छ । नेपालका सबै कलाकारहरु हिन्दी बोल्न जान्दैनन् । अंग्रेजीमा त नेपाली कलाकारहरु लगभग जिरो नै छन् । हाम्रै छिमेकी देश भारतको बलिउडका कुरा गरौं, त्यहाँका एक से एक कलाकारहरु अंग्रेजी तथा अरु भाषा बोल्नमा पर्फेक्ट छन् । कोसँग कसरी बोल्ने र कस्तो व्यवहार गर्ने हो त्यो उहाँहरुलाई सिकाइरहनु पर्दैन ।
० तपाईको अतीत केही बताइदिनोस् न !
म दार्जिलिङ्गको कालिन्पोङमा जन्मेको हुँ । सानैदेखि कलाक्षेत्रमा रुचि थियो । केही गर्न सकिन्छ कि भनेर बम्बइ गइयो । त्यहाँ धेरै दुःख र संघर्ष गरेपछि केही फिल्महरुमा सानो तीनो रोल गरियो । बम्बइका चर्चित निर्देशकहरुको पछि लागेर हिडियो र निर्देशन सम्बन्धी कुरा धेरै सिकियो । त्यसपछि बम्बइमा नै बसेर नेपाली फिल्म बाँसुरी, कुसुमेरुमाल निर्माण गरियो । यि फिल्मका सफलतापछि अन्याय, लाहुुरे, चिनो, बलिदान, दर्पणछायाँ आदि फिल्महरुको निर्देशन गरियो ।
० तपाईले निर्माण गर्नुभएको टेलिफिल्म ‘मुक्ति’ निकै चर्चित भयो । अरु टेलिफिल्म किन निर्माण नगर्नुभएको ?
राम्रो कथा भएकोले मुक्ति टेलिफिल्म निर्माण गरेको हुँ । अहिले फिल्म निर्माणमा नै व्यस्त छु । सायद, समयले साथ दियो भने पुनः टेलिफिल्म निर्माण गर्नेछु ।
० कुनै नयाँ फिल्म निर्माण गर्ने सोचाई छ कि ?
फिल्म निर्माण गर्ने सोचाइ त छ । कथा तथा पटकथा तयार भइसकेको छ तर नाम जुराइसकेको छैन । ०७१ सालभित्र फिल्म निर्माण तथा प्रदर्शन गर्ने लक्ष्य लिएको छु ।
० अहिले निर्माण भएका फिल्महरुप्रति तपाइको धारणा के छ ?
अहिले निर्माण भएका अधिकांश फिल्महरुमा छाडापन छ । सपरिवार बसेर हेर्न मिल्ने कुनै फिल्म छैनन् । १–२ वटा फिल्म राम्रा पनि बनेका छन् तर नराम्रा फिल्महरुको भीडमा राम्रा फिल्महरु ओझेलमा परेका छन् ।
० नेपाली फिल्महरुले राम्रो व्यापार गर्न नसक्नुको कारण के हो ?
अहिले नेपालमा पनि बलिउड सरह फिल्महरु निर्माण हुन थालेका छन् । वर्षको १६०–१७० वटा फिल्मलाई नेपाली फिल्महल हरुले थेग्न सक्दैनन् । यसको लागि नेपाली फिल्महरु पनि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने प्रक्रिया मिलाउनुपर्छ । अनि मात्र नेपाली फिल्महरुले आफ्नो लगानी उठाउन सक्छन् ।
० तपाइले निर्माण गर्नुभएको चलचित्र दर्पणछायाँले त नेपाली चलचित्र क्षेत्रमा नयाँ इतिहास नै बनायो नि !
निश्चय नै दर्पणछायाँ फिल्मलाई दर्शकहरुले अत्यधिक रुपमा मन पराइदिनुभयो । राजधानीका सबै हलहरुमा सबैपटक ५१ औं दिन मनायो भने राजधानी बाहिरका हलहरुमा १०० औं दिन मनाउन सफल भयो ।
० फुर्सदको क्षणमा के गर्नुहुन्छ ?
फुर्सदको समयमा पुस्तक तथा पत्रपत्रिकाहरु पढ्ने गर्छु । मलाई मनपरेको पुस्तक नारायण वाग्ेलेको पल्पसा क्याफे हो । यो पुस्तकको कथामा फिल्म निर्माण हुनसक्छ ।
० नेपाली फिल्महरु कत्तिको हेर्नुहुन्छ ?
एउटा निर्माता, निर्देशक तथा कलाकारहरुले नेपाली फिल्म हेर्नु अलि जरुरी छ । अहिले कस्ता फिल्म निर्माण भएका छन् यो बुझ्न नेपाली फिल्म हेर्छु भने अन्तर्राष्ट्रिय फिल्मको व्यापार कस्तो छ त्यो बुझ्न हिन्दी तथा अंग्रेजी फिल्म पनि हेर्नु गर्छु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |