कुनै पनि निर्जिव वस्तु आफैंमा पूर्ण आकृति हुदैन । त्यसमा विभिन्न सिप सिकेका व्यक्तिहरुको श्रम, सिप र समय खर्च भएपछि त्यसले पूर्णता पाउँछ । कुनै एउटा काठको टुक्रा भित्र सिकर्मिले झ्याल–ढोका र विभिन्न जनावर तथा देवीदेवताको आकृति देख्छ । ढुङ्गा त्यसै सडकमा फालिएको हुन्छ ।
एउटा मुर्तिकारले त्यसमा राम्रो मुर्ति र शालिक देख्छ । फलामको टुक्रामा लोहार ( फलामको काम गर्ने व्यक्ति ) ले हतियार, इञ्जिन, वा दैनिक आवश्यकिय सामानको चित्र देखेको हुन्छ ।
त्यस्तै सुनार ( सुनचाँदीको काम गर्ने ) ले सुनचाँदीको टुक्रामा विभिन्न आकृतिका महङ्गा गरगहना देख्छ । यहि देखाईले गर्दा नै ऊ भविष्यमा सफल बन्न सक्छ ।
नुवाकोट जिल्ला ओखरपौवा–६ का मानबहादुर लामाले बाँसका जरा र सल्लाका फलहरुमा विभिन्न आकृतिका मुर्तिहरु र उपहार सामाग्रिको स्रोत देखे, केहि वर्ष अगाडि । त्यतिखेरै देखि तिनीहरुमा उनले आफ्नो श्रम, सिप र समय खर्चिंदै गए । जसले बनायो उनलाई एक सफल हस्तकला व्यवसायी ।
उनकै प्रयासले बन्यो त्यहाँ म्हित्ङप हस्तकला उद्योग र आफूलाई त्यसका प्रोप्राइटर । पूख्र्यौली पेशा भए पनि अहिले सम्म त्यहाँ हस्तकला उद्योग खुलेको थिएन । लामाले यसलाई एउटा उद्योगको रुप दिए , २ वर्ष अगाडि । अहिले यसमा रोजगारी दिएका छन् , पाँच जना स्थानियलाई । ‘सिप सिकाउँदै रोजगारी दिदैं छु ।’ उनी भन्छन्–“ बाँसका सामानहरु दैनिक आवश्यकताका सामान भएकाले जो कसैलाई पनि आवश्यक पर्छ । तैपनि अहिले सस्ता प्लाष्टिकका भाडाहरु प्रति मानिसको आर्कषण वढ्दै गएको छ , बाँसका सामानहरु ओझेलमा छन् ।” आफूले केहि तालिम लिएर यस तर्फ लागेकाले काम गर्न भने सजिलो भएको उनको भनाई छ ।
गाउँ–घर तिर त्यतिकै खेर जाने गरेको बाँसबाट मानबहादुरले डोका, डाला , नाङ्ला, थुन्से, टोकरीहरु , खेलौनाहरु , भकारी तथा चाल्नुहरु बनाउनुका साथै सल्लाका फलहरुका आर्कषक उपहार सामाग्रि , फूल र पुतलीहरु बनाउँदै आएका छन् ।
त्यस्तै बाँसकै जराबाट बाघको आकृति बनाएका छन् । यसले त्यहाँ स्वदेशि तथा विदेशि दुवै खाले पर्यटकहरुलाई अवलोकन गर्ने वातावरण मिलेको उनको भनाई छ । यस्ता सामानहरु बनाउन सके बजारको अभाव नभएको मानबहादुर बताउँछन् ।
उनले अहिले यी सामानहरुलाई स्थानिय बजारका अतिरिक्त राजधानी सम्म पठाउने गरेका छन् । उद्योगले ठूलो रुप लिन सके देशका अन्य भेगमा पनि बाँसका सामानहरु पठाउने उनको योजना छ ।
अहिले सम्म उनलाई हस्तकलाको उद्योग संचालन गर्न कुनै पनि वितिय संस्थाले सहयोग नगरेको मानबहादुरले गुनासो गरे । नेपालका ७२ जिल्लामा बाँस पाइन्छ । सदुपयोग गर्न नसकेर त्यतिकै खेर गईरहेको बाँसको महत्व बुझेर सरकारले यसमा संलग्नहरुलाई आर्थिक , सिप सम्बन्धि र बजारको लागि सहयोग गर्ने हो भने नेपाली हस्तकलाको भविष्य राम्रो भएको लामाले बताए ।
नेपालमा मानबहादुर जस्ता करिव दश हजार जति व्यवसायीहरु छन् । जसले दैनिकजसो थुप्रै थरिका बाँसका आकृतिहरु बनाउँदै गरेका छन् । ती व्यवसायीहरुले गर्ने हस्तकलाको कामलाई २ भागमा विभाजन गरिएको छ । कपडाबाट बनाइने अन्र्तगत ढाका र यसबाट बनाइने सामानहरु पर्दछन् । ढाकाबाट झोला, टोपी , पुतली तथा अन्य यस्तै सामान बनाउनेहरु संलग्न छन् । त्यस्तै बाँस र काठबाट डालो, डोको, नाङ्लो , ढक्की ,विभिन्न जनावरका आकृति र पुरातत्व सँग सम्बन्धित अन्य सामान बनाउनेहरु पर्ने गरेको नेपाल हस्तकला महासंघकी जीना शाक्यले जानकारी दिनुभयो । अहिले महासंघबाट सदस्यता लिएर काम गर्नेहरु करिव १ हजार भन्दा वढि छन् । यो संख्या वर्षेनी वढ्ने गरेको महासंघले जानकारी दिएको छ । उनीहरुले उत्पादन गरेका हस्तकलाका सामानहरु देशका विभिन्न प्रमुख शहरका अतिरिक्त विश्वका जापान, चीन , भारत लगायत ५० भन्दा वढि देशहरुमा निर्यात् हुने गरेको छ । वर्षेनी महासंघले राजधानीमा हस्तकला प्रदशनी पनि गर्ने गरेको छ । गएको वर्षको चैत महिनामा राजधानीको भृकुटीमण्डपमा महासंघले हस्तकला प्रर्दशनीको आयोजना गरेको थियो । यसमा करिव १ सय वटा स्टलहरु रहेको र ५० लाख भन्दा वढि रुपयाँ बरावरको कारोवार भएको महासंघले जानकारी गरायो ।
हस्तकला व्यवसायका लागि चाहिने कच्चा पद्धार्थको सहजताले गर्दा समग्रमा नेपालमा हस्तकलाको भविष्य राम्रो रहेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । पछिल्ला दिनहरुमा यसमा मानिसहरुको आर्कषण बढे पनि नेपालको अस्थिर राजनितिक अवस्थाले हस्तकला व्यवसायलाई पनि असर पारेको छ । राजनितिक अवस्थामा सुधार हुने हो र अहिलेका यूवा वर्गले पनि यसमा चासो राख्ने हो भने नेपालको थुप्रै जनशक्तिलाई यसले रोजगारी दिन सक्ने बताइएको छ । अन्य व्यवसायको जस्तै हस्तकला व्यवसायको पनि महत्व बुझ्न सके नेपालको जनशक्ति कामकै लागि विदेशिनु नपर्ने सम्बद्ध व्यवसायीहरुको भनाई छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |