बनेपा ÷ शब्दयात्रा प्रकाशनले आकस्मिक दुर्घटना र दैवी विपत्तिमा परेका नेपाली लेखक–पत्रकारहरूलाई आर्थिक सहयोग गर्नका लागि अक्षरसेवी सहयोग कोषको स्थापना गरेको छ ।
कोषको सञ्चालन गर्न उठाइने सहयोगको रकम जम्मा पार्न तयार पारिएको बाकसको मंगलबार काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले अनावरण गरेका थिए ।
शब्दयात्रा प्रकाशनका तर्फबाट पाँच हजार रुपियाँ, सञ्चालक सदस्यहरूबाट व्यक्तिगत रूपमा एक–एक हजार रुपियाँ र अन्य सहभागीहरूबाट पनि सहयोग रकम उठाई प्रारम्भ गरिएको कोषबाट लेखक–पत्रकारहरूलाई आर्थिक सहयोग उपलब्ध गराइने र त्यसका लागि कार्यविधि बनाइएको शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए । संस्थाका सञ्चालक सुमन खड्काका अनुसार शब्दयात्रा प्रकाशनले
आर्थिक सहयोग जम्मा गर्न बनाएको बाकसमा ताल्चा लगाई त्यसको साँचो रोसी वाङ्मय प्रतिष्ठान, रेडियो एबीसी र शब्दयात्रा प्रकाशनका प्रतिनिधिको जिम्मामा दिइएको छ । तीनैजनाको संयुक्त रोहबरमा ताल्चा खोलेर मुचुल्का उठाई त्यहाँ जम्मा भएको रकम झिकिने र बैङ्कमा राखिने व्यवस्था मिलाइएको छ । कुनै लेखक या पत्रकार बिरामी परेर, दुर्घटनामा परेर, भूकम्प र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा परेर, दैवी विपत्तिमा परेर आर्थिक सङ्कट पर्दा यो कोषबाट शब्दयात्रा प्रकाशनले उचित आर्थिक सहयोग गर्नेछ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |