logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

ज्याम्दी गाउँमा मोटर सरर…

प्रभातफेरी अनलाइन५८१९ पटक पढिएको प्रकाशित मिति: २०७१ जेष्ठ ३०, शुक्रबार(१२ साल अघि)
Post Thumbnail

ज्ञानमणि कालोटोपी
ज्याम्दीमण्डन ÷ भौगोलिक विकटताका कारण विकासमा पछि परेको जिल्लाको उत्तरीभेगमा रहेको मण्डनभेग स्थित ज्याम्दी गाविसको माथिल्लो भेगमा पहिलो पटक यात्रीवाहक बस सेवाको शुरुवात गरिएको छ ।

अरनिको यातायात सेवा समितीद्धारा भर्खरै सञ्चालन गरिएको बस सेवा दोलालघाट हुदैं गाविसको वडा नं. १ र ४ देउरालीमा रहेको बागदेवी उच्च मावि सम्म सञ्चालन हुन थालेको छ । बस सेवा सञ्चालन सँगै गाउँमा खुशियाली मनाईएको वडा नं. ४ का स्थानियवासि नारायण पराजुलीले जानकारी दिनुभयो । गाविसको तल्लो भेगमा केहि वर्ष अगाडि देखि नै यस्तो सेवा सञ्चालन हुदै आएको भएपनि माथिल्लो भेगमा यात्रीवाहक बस सञ्चालन गर्न सकिएको थिएन । भौगोलिक अवस्थाका कारण यस अघि देउरालीमा बस चलाउन कठिनाई भएको भएपनि अहिले स्थानियहरुको सक्रियतामा बाटो निर्माण गरिएपछि यो कार्य सम्भव भएको पनि पराजुलीले बताउनुभयो ।

्    अरनिको यातायात सेवा समितीले प्रत्येक दिन एउटा बस राजधानीको पुरानो बसपार्कबाट सिधै गाउँ सम्म पुग्ने व्यवस्था मिलाएको छ । साँझ गाउँ पुग्ने बसले भोलीपल्ट गाउँबाटै यात्री लिएर फर्कने छ । समिती अन्र्तगतका ३० वटा बस प्रत्येक दिन फरक–फरक गरि त्यस गाउँ पठाइने गरिएको समितीले जनाएको छ । एउटा बसलाई १ महिना पछि मात्र त्यहाँ जाने पालो पर्ने बताईएको छ । वस सञ्चालन सँगै गाउँलेहरुले राहतको अनुभव गरेका छन् । यस अघि गाउँबाट २ घण्टा पर सम्म हिंडेर बस चढ्ने ठाउँ सम्म जानु पर्ने अवस्था रहेकोमा अव भने गाउँबाटै पाँचखाल, धुलिखेल, बनेपा लगायत राजधानी सम्म पुग्न सकिने भएपछि गाउँलेहरु मख्ख परेको देउरालीकी नविना पराजुलीले बताइन् ।

गाउँ सम्म पुग्ने बाटोलाई अझै व्यवस्थित भने बनाउन सकिएको छैन । कच्चि सडकमा हिंउद महिनामा मात्र बस चलाउन सकिने र वर्षा लागेपछि बाटो बिग्रने हुँदा त्यतिबेलाको लागि भने गाउँलेहरुलाई समस्या पर्न सक्ने बताइएको छ । सडक पक्कि बनाउन सके बाह्रै महिना गाउँ सम्म बस सञ्चालन गर्न सकिने स्थानियवासिहरुले बताउँदै आएपनि यस तर्फ सम्बन्धित निकायले ध्यान पु¥याउन सकेको छैन । यात्री बाहक बस सञ्चालन सँगै गाउँमा उत्पादित कृषिउपज र दुधलाई मालबाहक गाडीबाट बजार सम्म लैजान पनि सजिलो भएको स्थानियवासिहरुले बताएका छन् ।