नेपाल लगायतका अर्धविकसित मुलुकहरूका महिलाहरूका स्वास्थ्य समस्याहरूका बारेमा चर्चा गर्नुपर्दा आङ्ग खस्ने वा पाठेघर झर्ने समस्या एक विशेष समस्या हो । हुनत पहिलेको तुलनामा यो समस्यामा केही कमी आएतापनि पूर्णरूपले भने यो समस्या अझै निवारण हुन सकेको देखिँदैन । पुरानो पुस्ताका बृद्धा वा प्रौढ महिलाहरूको त यो प्रमुख समस्या अन्र्तगत नै पर्छ तर अहिलेको नयाँ पिढी वा युवा अवस्थाका महिलाहरूमा समेत यो समस्या देखिनु दुःखको कुरा हो । प्रायः जसो पाठेघरको समस्या भन्ने वित्तिकै कसैलाई भन्नु हुँदैन वा लुकाएर राख्नुपर्छ, आफ्नो गोप्य अङ्ग कसैलाई देखाउनु हुँदैन भन्ने जस्ता सोचाई एवं मान्यताहरूले गर्दा यो समस्यालाई समाधान गर्न नसकिएको देखिन्छ । शिक्षित एवं शहरी क्षेत्रका महिलाहरूको तुलनामा ग्रामिण क्षेत्रमा बसोबास गर्ने तथा शिक्षाको कमी भएका महिलाहरूमा यो समस्या बढी देखिने गरेको पाइन्छ । त्यसैले आजको स्वास्थ्य चर्चामा मैले पाठेघर झर्ने समस्याबारे चर्चा गर्ने जमर्को गरेको छु ।
पाठेघर झर्ने भनेको के हो ?
महिलाको पाठेघर आफ्नो ठाउँमा रहनु पर्ने शिन्चित स्थान छाडेर योनीमार्गतर्फ झर्ने वा योनीबाट बाहिर नै आउने समस्यालाई पाठेघर झर्ने वा आङ खस्ने समस्या भनिन्छ । विशेष गरी बच्चा जन्माइसकेका जो कोही महिलाहरूलाई यो समस्या हुनसक्दछ । पाठेघर खस्ने विभिन्न अवस्थामध्ये यदि पहिलो अवस्थाको आङ खसेको समस्या हो भने पाठेघर आफ्नो ठाउँबाट केही मात्र तल झरेको हुनुपर्छ । तर महिलाहरूलाई यसको ज्ञान हुँदैन र असर पछि खासै देखिँदैन । दोस्रो अवस्थामा पाठेघर योनीमार्गसम्म नै झरेको हुन्छ र यस्तो बेलामा महिलालाई योनीभित्र केही अड्केको जस्तो अनुभव हुन्छ । तेस्रो अवस्थामा आङ खसेको छ भने पाठेघरको मुख र पाठेघर योनिबाट बाहिर आउँछ ।
पाठेघर झर्ने कारणहरू के–के हुनसक्छन्?
पाठेघर खस्ने मुख्य कारण गर्भाशयलाई बाँधेर राख्ने नशा तथा मांशपेशीहरू कमजोर भई त्यससँग जोडिएका अङ्गहरू विस्तारै तल खस्दै जानु हो तर त्यो अवस्थासम्म आइपुग्नुमा अन्य विभिन्न कारणहरू जिम्मेवार देखिन्छन् । त्यस्ता कारणहरू निम्न छन् ।
— सानो उमेरमा नै विावह भई जन्माउँनु
— बच्चा जन्माउँने बखतमा लामो व्यथा लाग्नु तथा दक्ष स्वास्थ्यकर्मी वा प्राविधिकको सहयोग प्राप्त नहुनु
— बच्चा जन्मेपछि चाँडै साल नझरेको अवस्थामा बल प्रयोग गरी साल निकाल्ने
— सुत्केरी अवस्थामा धेरै हिँड्ने, गह«ौं भारी उचाल्ने–बोक्ने गर्नाले
— गर्भवती, सुत्केरी अवस्थामा पोषिलो खाना तथा आराम गर्न नपाउँनु
— सुत्केरी अवस्थामा विभिन्न प्रकारको हिंसा हुनु जस्तै कुटपिट गरिनु, जवरजस्ती गर्भपतन गराइनु
— गर्भान्तर नगरी वर्षेनी बच्चा जन्माउँनु तथा धरैवटा बच्चाहरू जन्माउनु
— शरीरमा हर्मोनको गडबडी हुनु
— धम्रपान गर्नु वा चुरोट खाएर धुँवाको संसर्गका कारण लामो समयसम्म खोकी लागिरहनु
— सधैंजसो कब्जियत भइरहने महिलाले दिसा बस्दा सधैं बल गरेर कन्ने गर्दापनि पछि पाठेघर झर्नसक्दछ
कस्ता लक्षणहरू देखिएमा पाठेघर झरेको हुनसक्दछ ?
— टुक्रुक्क बस्दा केही अप्ठेरो हुने वा योनीको मुखमा केही आएको जस्तो लाग्न सक्दछ
— भारी बोक्दा धेरै लामो समय हिँड्दा योनीको मुखमा केही डल्लो आएजस्तो लाग्न सक्दछ तर सुतेको बेलामा त्यस्तो नहुन सक्दछ
— छिटो छिटो पिसाव लाग्दछ । खोक्दा, हाँस्दा पिसाव चुहिँन सक्दछ । पिसाव रोक्न गाह्रो हुन्छ ।
— पिसाव पोल्ने ढाड कम्बर दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने हुनसक्छ ।
— पुरै ठाउँ छोडी पाठेघर बाहिर पनि निस्कन सक्दछ
— यौनसम्पर्क राख्दा अप्ठेरो हुने, गाह्रो हुन्े हुन्छ
— बाहिर निस्केको पाठेघरमा घाउ हुने, संक्रमण हुने हिँड्न गाह्रो हुन सक्दछ
पाठेघर झरेपछि उपचार हुनसक्छ त ?
यदि पाठेघर थोरै मात्र तल सरेको छ भने त्यसलाई त्यो भन्दा तल झर्न नदिन विशेष प्रकारको व्यायाम गर्न सकिन्छ । जुन व्यायाम गर्दा पहिले पिसाव फेरेर आउँने र योनीको मासुलाई वा योनीलाई सास रोक्दै खुम्च्याउँने र श्वास छोड्दै योनीलाई खुकुलो छोड्ने व्यायाम गर्न सकिन्छ । अझ सजिलोसँग बुझ्दा पिसावलाई फेर्दै रोक्दै फर्दै गरेजस्तो गरी यो व्यायाम गर्न सकिन्छ तर पिसाव लागेको बेलामा गर्दा पिसावमा खरावी हुन सक्दछ । गर्ने तरिका मात्र पिसाव रोक्ने जस्तो गर्न सकिन्छ तर व्यायाम गर्दा पिसाव फेरिसकेपछि गर्नु राम्रो हुन्छ । यदि महिलाहरू सबैले गाह्रो नमानि बिहान १५–२० पटक दिउँसो १५–२० पटक र बेलुका १५–२० पटक यो व्यायाम गर्ने हो भने धेरैहदसम्म पाठेघरलाई आफ्नो ठाउँमा राखी पाठेघर झर्नबाट बच्न सकिन्छ । आखिर काम गर्दाको अवस्थामा पनि मिलाएर हामी यो व्यायाम गर्न सजिलै सक्छौँ ।
त्यस्तै यदि पाठेघर दोस्रो वा तेस्रो अवस्थामा झरेको छ भने रवरको चुरा जस्तो रिङ योनी मार्गमा राखेर केही हदसम्म पाठेघरलाई आफ्नो स्थानमा राख्न सकिन्छ । तर स्वास्थ्य संस्थामा गई समय समयमा कम्तिमा ३ महिनामा एकचोटी पाठेघर जाँच गरेर यो रिङलाई फेर्नुपर्ने हुन्छ ।
यदि उमेर स्वास्थ्य ठिक छ भने त तेस्रो अवस्थाको पाठेघर झरेका वा पुरै पाठेघर झरेका महिलाहरूले पाठेघरको अप्रेशन गरी उपचार गर्नु नै बढी उपयुक्त देखिन्छ । नेपाल सरकार तथा विभिन्न संघ संस्थाहरूले बेला बेलामा यस्ता अप्रेशन शिविर गरिरहेका हुन्छन् । त्यहाँबाट वा सिधै स्त्रीरोग सेवा भएका अस्पतालहरूबाट यो सेवा लिन सकिन्छ ।
पाठेघर झर्ने समस्यालाई कसरी रोक्न सकिन्छ ?
हुनत कुनै समस्या आएपछि उपचार गर्नुभन्दा त्यो समस्या आउँ्नै नदिनु राम्रो हो । त्यसैले पाठेघर झरेपछि उपचार गर्नुभन्दा यसलाई झर्न नदिनु नै उपयुक्त हुन सक्दछ । त्यसैले निम्न उपायहरू अपनाएमा हामी पाठेघरको रोगी हुनबाट बच्न सक्छौँ ।
— विवाह गर्दा कम्तिमा २० वर्ष नाघेपछि विवाह गरी बच्चा उन्माउँने ।
— महिलाहरूलाई गर्भावस्था, सुत्केरी हुँदाको समयमा र सुत्केरी अवस्थामा राम्ररी हेरचाह गर्ने पोषिलो खाना प्रसस्त आराम गर्न दिने ।
— सम्भव भएसम्म अस्पताल वा स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने् । यदि त्यसो हुन सकेन भनेपनि दक्ष प्राविधिक बाट सुत्केरी गराउँने ।
— गर्भवती अवस्थामा कम्तिमा चार पटक र सुत्केरी अवस्थामा तीन पटक स्वास्थ्य जाँच गराउँने ।
— कम्तिमा २ वर्षको फरकमा मात्रै बच्चा जन्माउँने धेरै बच्चा नजन्माउने ।
— गर्भावस्थामा र सुत्केरी अवस्थामा गह्रौं भारी नबोेक्ने, गाह्रो कामहरू नगर्ने धेरै नहिँड्ने
— घरेलु हिंसाको अन्त्य गर्ने
— लामो समयसम्म व्यथा लाग्न नदिने । सुत्केरी भएपछि साल नझरेमा बल प्रयोग गरी साल ननिकाल्ने बरु तुरुन्त अस्पताल लैजाने
— गर्भवती तथा सुत्केरी अवस्थामा धेरैबेर टुक्रुक्क नबस्ने ।
— कब्जियत हुने महिलाहरूले हरियो सागपात, रेसादार फलफुल (जस्तो : सुन्तला, फर्सी, सागपात आदि) बढी खाने चिल्लो, मसला भएको अमिलो पिरो खानाहरू नखाने, पानी प्रसस्त पिउँने गर्ने । यसो गर्दा कब्जियतबाट बच्न सकिन्छ र पाठेघर झर्दैन ।
— प्रत्यक महिलाहरूले समय–समयमा पाठेघरको तथा शारीरिक जाँच गर्ने ।
— प्रत्येक महिलाहरूले पाठेघरको व्यायाम नियमति रूपले गर्ने ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |