logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

पहिलो चरणमा त्रिहत्तर प्रतिशत मत खस्यो

प्रभातफेरी अनलाइन५८६७ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ७, आईतबार(९ साल अघि)
पहिलो चरणमा त्रिहत्तर प्रतिशत मत खस्यो

पहिलो चरणमा भएको वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका २८१ गाउँपालिका र नगरपालिकाको निर्वाचन केही स्थानहरुमा छिटपुट घटना घटे पनि निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको जानकारी दिए ।दुई स्थान मनाङको नार्फु गाउँपालिका र डोल्पाको से–फोक्सुन्डो गाउँपालिकाका सबै पदहरु निर्विरोध निर्वाचित भए । मतदानमा युवापुस्तादेखि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहिनसम्मले उत्सुकतापूर्वकसहभागिता जनाई आफ्नो मत प्रदान गरेका थिए ।अब हुने दोस्रो चरणको जेठ ३१ गते हुने निर्वाचन पनि शान्तिपूर्वक हुने विश्वास लिएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पत्रकार सम्मेलनमा बताएका हुन् । पहिलो चरणको निर्वाचनमा दोलखाको मेलुङमा प्रहरीको गोलीबाट एक व्यक्तिको मृत्यु र केही घाइते भएकोमा प्रमुख आयुक्तले दुःख व्यक्त गरेका थिए ।
काभ्रे, रामेछाप, हुम्ला, सिन्धुपाल्चोक र कालीकोटमा कतिपय मतदान केन्द्रमा पनि केहीबेर झडप र तनाव सिर्जना भएको थियो । ६ हजार ६ सय ४२ मतदान केन्द्रमध्ये ३ स्थानको मतदान स्थगत भएको थियो । नमोबुद्ध नगरको ४ नं. केन्द्र र कालीकोट कालिका गाउँपालिकाको बालाचौर विद्यालय मतदान केन्द्रको मतदान भने विवादमा परेको थियो ।
पहिलो चरणमा ४ महानगरपालिका, १३उपमहानगरपालिका, ९२ नगरपालिका र १८९ गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ र प्रदेश नं. १, २, ५ र ७ का बाँकी ४ सय ६१ गाउँपालिका र नगरपालिकाको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको छ । मतपत्र ठूलो र मतदान शिक्षा प्रभावकारी नभएकाले निर्वाचन आयोगले कमजोरी स्विकारेको छ । पछिल्लो एक दशकमा दुईवटा संविधानसभा निर्वाचनमा करिब यही अनुपातमा मत खसेको थियो भने २०६४ सालको संविधान सभा निर्वाचनमा ६१.७० प्रतिशत र २०७० सालको संविधान सभा निर्वाचनमा ७८.३४ प्रतिशत मत खसेको थियो । वैदेशिक रोजगारमा ठूलो संख्यामा मतदाता गएका छन् भने गाउँमा नबसी शहरी क्षेत्र र अन्यत्र बसोबास गरेका कारण केही प्रतिशत मतदाताको भने सहभागीतामा कमि भएको हो|