पञ्चमायाँ तमाङ
शहिदभूमि भनेर चिनिने धनकुटाको छिन्ताङ पछिल्लो समय सुन्तला खेतीको लागि उर्वरा भूमिको रुपमा स्थापित भएता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । छिन्ताङको सुन्तला मुलुकको अन्य भूभागको भन्दा अत्यन्तै रसिलो र स्वादिलो भएको कृषि विज्ञहरुको धारणा छ । यो अवस्थामा अहिले पनि नेपालको पश्चिमी क्षेत्रलाई सुन्तलाको उर्वरा भूमि भनिएको छ । जसका कारण खोकु छिन्ताङको पहिचान गुम्न गएको स्थानीयहरुको गुनासो रहेको छ ।
खास गरी सुन्तला जातको फलफूल भन्नाले बोक्रामा तेल भरिएको ग्रन्थीहरु भएको र फल भित्र केस्रा र केस्रा भित्र स–साना रसले भरिएको थैलीहरु भएको फललाई जनाउँछ । नेपालमा मुख्यतया खेती गरिने सुन्तला जात फलफूलहरुमा सुन्तला, जुनार, कागती, निबुवा, मौसम, ज्यामिर, भोगटे, विमिरो आदिलाई जनाउँछ । क्षेत्र र उत्पादनक हिसावले सुन्तला जात विश्वमा तेस्रो स्थान ओगटेको छ भने नेपालमा प्रथम स्थान ओगटेको विभिन्न तथ्यांकले देखाउँछ ।
सुन्तला फलफूललाई समष्टीगत रुपमा उपोष्ण फल भनिए पनि सुन्तलाका केही जातलाई उष्ण हावापानीमा पनि सफलताका साथ खेती गर्न सकिन्छ भने यी जातहरु १६०० मी. उचाईसम्म सजिलै खेती गर्न सकिन्छ । नेपालको मध्यवर्ती पहाडी क्षेत्रमा यस किसिमको हावापानी पाईन्छ । सुन्तला उत्पादन गर्न, विरुवा उत्पादन गर्नको लागि १००० मी. भन्दा कम हुनु हुदैन । सुन्तला उत्पादनको लागि उपयुक्त उचाई १०००–१२०० मी. मानिन्छ । सुन्तलाको लागि ५० से–४० से सम्मको तापक्रम राम्रो मानिएता पनि उच्च भूभागमा उपयुक्त तापक्रम १९० से को आसपासलाई पनि उर्वराको रुपमा लिइन्छ । वार्षिक वर्षाको हकमा ९५० मी.मी. –२००० मी.मी.उपयुक्त मानिन्छ । सूर्यको प्रकाश ८–११ घण्टा प्रति दिन राम्रो मानिन्छ । माथि उल्लेखित हावापानीलाई छिन्ताङले समेटेको कृषि विज्ञहरुको तर्क छ । जसको कारण पनि यहाँको सुन्तला अत्यन्तै स्वादिलो रहेको पाइन्छ ।
खोकुछिन्ताङको हावापानीले सुन्तला उत्पादनको लागि आफूलाई उपयुक्त भूमीका रुपमा प्रमाणित गरेको बाली विज्ञहरु बताउँछन् । जसअनुसार सुन्तला फलले बढी प्रकाश मन पराउँछ तर अलि अलि छाँया पर्ने ओसिलो ठाउँमा फलहरु रसिला र ठूला आकारका हुने गर्दछन् । हिउँदको चिसोपछि बिरुवा राम्रोसँग फुल्ने गर्दछ । फूल फुलेपछि फलहरुको विकासको निमित्त बढि तापक्रमको आवश्यकता पर्दछ तर ज्यादा गर्मी र बढि सुख्खा भएमा फूल तथा फलहरु झर्दछन् । फल पाक्ने समयमा राती ठण्डा र दिनमा गरम हुने भएमा फलहरुको रङ्ग आकर्षक पहेंलो हुने गर्दछ । दिन र रातको तापक्रम फरक बढि भएमा राम्रो मानिन्छ ।
माटोको गहिराइ १ मिटरभन्दा बढि (ढुंगा नभएको), हलुका दोमट र प्राङ्गारिक पदार्थयुक्त, पानी नजम्ने खालको माटो यस खेतीको लागि उपयुक्त मानिन्छ । माटोको रासायनिक गुण यसको अम्लियपना (पि.एच.) लेबलले जनाउँछ र (पि.एच.) ६.५ को आसपास हुनुपर्दछ ।यो पि.एच. लेबल भन्दा बढि भएमा बिरुवाले सुक्ष्म पोषक तत्वहरुको प्राप्त गर्ने शक्ति ह्रास हुन्छ र कम भएमा चुन र म्याग्नेसियम जस्ता खनिज तत्वहरु बढि घुलनशील भई बगेर जान्छ । कृषि चुनको सहायताले माटोको पि.एच.लाई बढाउन सकिन्छ । माटोमा लवण (नुनिलोपना) को मात्रा कम भएमा राम्रो मानिन्छ ।
नेपालको मध्य पहाडीभाग (समुन्द्र सतहबाट ६००–१४०० मिटरसम्म उचाइ भएको) उतरतर्फ फर्केको यातायातको सुबिधा भएको, बजारबाट नजिक, सिचाइको स्रोतबाट नजिक मोहडामा सफलतापूर्बक सुन्तलाको खेती गर्न सकिने बालीविज्ञहरुको धारणा छ ।सुन्तला खेती एक पटक लगाएपछि कैयौं वर्षसम्म बाँच्दछन् । त्यसकारण यसको लागि दिर्घकालिन योजना र लगानीको आवश्यकता पर्दछ । सानो गल्तीले पनि लामो समय सम्म र ठूलो नोक्सान पु¥याउने हुनाले बेलैमा सावधानी अपनाउनु पर्दछ भनिएता पनि खोकुछिन्ताङमा यो समस्या अहिलेसम्म नआएको स्थानीय कृषक थममाया राईको भनाई छ । उहाँका अनुसार यहाँको उत्पादन मुस्किलले इटहरीसम्म पुग्ने गरेको बताउनुहुन्छ । उचित बजार व्यवस्था र राज्यबाट उपेक्षित भएकै कारण सबै कुराहरु मिलेर पनि किसानहरुले उपयुक्त मूल्य पाउन नसकेको उहाँको गुनासो छ ।
सुन्तलाको बिरुवा सदाबहार स्वभावक हुने भएकाले सुषुप्त अवस्थामा आउने सम्भावना प्रायः हुँदैन । यिनीहरुको जरा सालभरि नै क्रियाशील रहिरहन्छ । सिंचाई सुविधा भएको ठाउँमा वैशाख देखि श्रावण सम्म रोप्न सकिने भएता पनि खोकुछिन्ताङमा जुनसुकै महिना पनि बेर्ना सार्न सकिन्छ । किनकी यहाँको माटो प्रायः सुन्तला खेतीको लागि बाह्रै महिना उपयुक्त रहने र सिंचाईको समस्या नपर्ने भएकोले पनि खोकुछिन्ताङ सुन्तला खेतीको लागि उपयुक्त मानिन्छ । त्यसैले पनि यस क्षेत्रको विकास र पहिचानका लागि स्थानीय सरकारको ध्यान केन्द्रित होस् भन्ने चाहना स्थानीय किसानको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |