उकाली र ओराली मा धाउनुको अर्थ छैन
चौतारीमा सुस्ताउन आउनुको अर्थ छैन ।
आमा छैनौ गाउँबेशीमा कानथापेर भाका छोप्ने
रमाउँदै पात बजाउँदै गाउनुको अर्थ छैन ।।
डिएन दाहाल
जुनि भरीमा पनि कसैको गुण तिरेर सकिन्न भने त्यो साइनो आमासँग जोडिएको हो भन्ने बुझ्नु पर्छ भन्ने मेरो बुझाइ हो । जिन्दगीमा चाहेर पनि जोड्न र छोड्न नसक्ने एउटा ममताको प्रतिमुर्तिको बयान आज गर्न मन लागेको छ ।
संसार परिवर्तनको यो युगमा सहरको शिक्षा दिन अनि दैनिक बढिरहेको शहरीकरणमा जिउन सिकाउनको लागि पहाडको भिर पहिरो छलेर खस्रु र खनियाँको सेउला छुटाएर बजार झार्नु हुने मेरी आमालार्ई कलमको माध्यमले सम्झिन कोसिस गर्नु गलत हैन जस्तो लाग्छ ।
आजको यो ब्यस्त अनि अरुको बारेमा सोच्न नभ्याउने यो ब्यस्त दुनियाँमा यदि हामी सबैको बारेमा एकपल पनि नसोची बस्न नसक्ने कोहि छ भने ती आमा हुन भन्दा म गलत हुन्न भन्ने मेरो बुझाइ हो । आमालार्ई सृष्टि भनिन्छ । जसले महिनौं गर्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलार्ई संसारभरिको पिडाको पोखरीमा डुबाएर हामीलार्ई यो सुन्दर धर्तीमा पाइला टेकाइन । त्यसै त यो साइनोको महत्व किन यति धेरै बढ्थ्यो र जिन्दगीमा ।
आमा जसले हाम्रो जिन्दगीको लागि जे जे सहिन् त्यो अरु कसैले चाहेर पनि सहन सक्ने छैन । हाम्रो जिन्दगी बचाउनको लागि हामी गर्भमा आयदेखी आफ्नो बैकुण्ठ गमन नहुन्जेलसम्म ती आमाको ममता अनि त्याग को कसैले लेखाजोखा गर्न सक्ला जस्तो लाग्दैन मलार्र्ई । शरीरमा जम्मा १ घन्टा पेटमा तीन किलोको ढक बाधेर हेर कतिबेला मिल्काउनु भन्ने हुन्छ तर आमाले त्यही बोझ ९ महिना सम्म गर्भमा राखेर अत्यन्तै कस्ट र प्रशव पिडा सहेर जन्म दिन्छिन् । सन्तान जन्मिसकेपछी त्यो चाहे गोरो जन्मियोस् चाहे कालो जन्मियोस् चाहे मोटो जन्मियोस् चाहे दुब्लो जन्मियोस् आमा मात्रै हुन जसले कहिले आफ्नो सन्तान हुर्काउनको लागी फरक व्यवहार गर्दिनन् । एकपलको लागि पनि त्यो आमाको ध्यान सन्तान भुलेर अन्त जाँदैन ।
बाल्यकालमा कतिपटक म बिरामी भएको बेलामा रात रातभर नसुतेर मलार्र्ई कुरेर दबाई खुहाउँदै आफू सुक्क सुक्क गरेर बस्नुभएको मैले भुलेको छैन सायद तपाइँको पनि भोगाइ मेरो भन्दा फरक नहोला । मेरो चोटले दुख्ने मेरी आमाको छाती मेरो सानो सानो सफलतामा पनि गर्विलो हुने गथ्र्यो पहिलो पटक दिपक काकाको विवाहमा म नाचेको देखेर आमाको मन कति रमायो त्यसको वर्णन मैले आज गर्न सक्छु जस्तो लाग्दैन जिन्दगीमा त्यसपछी बाजा बज्यो वा मादल बज्यो कि मेरी आमाले लौत छोरो एक फन्को नाचिदे भनेको झल्को आज पनि उस्तै आइरहन्छ ।
आमाको मुख हेर्नी दिन सबैले मिठाई अनि कपडा ल्याएर दिएको देखेर आफुसित किनेर ल्याउनका लागि पैसा अनि दिने सामान पनि केही नभए पछि धर्मे भुँडेको ट्याक्टरमा भागवत काका र मैले १३ वर्षको उमेरमा एक ट्रक माटो लोड गरेर त्यसबाट आएको पैसाले आमालार्ई मनपर्ने मिठाई र फुर्के धागो किनेर लगीदिएपछी मेरी आमाले पैसा कताबाट आयो भन्नू भयो मैले आफ्नो कमाइले किनेर ल्याएको भनेपछी खुशी हुनुपर्ने ठाउँमा मेरो आमा मेरो हातको ठेला हेर्दै आँसु बगाएर रुनु भएको मैले चाहेर पनिभुल्न सकेको छैन र भुल्ने पनि छैन । सायद यहि नै हो आमाको ममता ।
आज पनि मन भक्कानिएर आउँछ त्यो दिन अनि मेरी आमा सम्झँदा । मेरी आमा आधा दिनभरी मेलामा काम गरेर खाजा खानेबेला भएपछी खाजा पोको पारेर घरतिर दौडिहाल्नु हुन्थ्यो खाजा त खाएर गएको भए हुने नी भनेर कसैले भन्यो भने “मलार्र्ई यो चिउरा त खानै हुन्न छाती पोलेर मर्नु हुन्छ बरु घर गएर चिया पिएर आउँछु भन्दै घर आइपुग्नु हुन्थ्यो । आफ्नो खाजा सबै हामी सन्तानलार्ई प्रपञ्च भाग लगाएर आफू भने एक गिलास कालो चिया पिएर हतार हतार फेरि त्यही मेलामा फर्किनु हुन्थ्यो । एक गिलास कालो चियाको शक्तिमा मिहिनेत साट्न सुरु हुन्थ्यो फेरि त्यही असारे हिलोमा अनि मङ्सिरको घाममा । कसैलार्ई थाहा हुन्थेन हाम्री आमाको पेट भोकै छ भनेर । माया अपरम्पारको हुन्छ आमाको । आमाको त्यो छाती कुनै रोगले नभएर हामीप्रतिको मायाले पोलेको रहेछ भन्ने बुझ्नलार्ई पनि निकै वर्ष लाग्यो मलार्र्ई । त्यो मेलाको खाजाले हाम्रो पेट भरिदिएपछी मेरी आमाको स्नेहले भरिएको त्यो मनमा निकै आनन्द मिल्दा त्यो पोलेको छाती पनि निकै शान्त हुने यो ममतालार्ई कहिले कसैले वर्णन गरेर सकिन्न । एक सन्तानको लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन । आफ्ना जीवनका कयौं रहर, आवश्यकता र उद्धेश्यलार्ई आफैं भित्र मारेर सन्तानको मुस्कानमा खुशी रहन सक्ने कोहि छ भने त्यो आमा बाहेक अरु कोही हुनै सक्दैन । विश्वमा आफ्नो बेग्लै परिचय बनाएका विभिन्न व्यक्तिहरुले आमाको बारेमा यस्तो भनेका छन् ।
मेरी आमा नै मेरो शक्ति हुन् । – एलिसिया किज
जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन
जब एउटा बच्चा जन्मिन्छ त्यो बच्चाको जन्मसँगै आमाले पनि पुर्नजन्म लिन्छिन् । – गिल्ब्रट पार्कर
मलार्र्ई एक असल आमा देऊ, म तिमीलार्ई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट
रुनको लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अंगालो हो । – जोडी पिकल्ट
मैले मेरो जीवनमा देखेकी महिलाहरुमध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन् । – जर्ज आशिंटन
मेरो लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् । – माइकल ज्याकसन
बच्चाको पहिलो शिक्षक भनेको उसको आमा हो । – पंग लियुअन
सधैं परदेशको विषयमा लेख्ने मान्छे आज किन “आमा” पुराण लेखेछ भन्ने पनि लागेको होला पाठकलार्ई चुरो कुरो अब सुरु हुन्छ । जिन्दगीको लामो यात्रामा मलार्र्ई जन्म दिएर कर्म दिएर ठूलो मान्छे बन्नु पर्छ है छोरा भन्ने मेरी आमाको याद अहिले अझै बढी आउने गरेको छ । आमासँगै आमाको काखमा शिर राखेर रुन मन छ मलार्र्ई तर के गर्नु म अभागीको खप्परमा त्यो लेखेकै छैन यो जुनिमा ।
मेरी आमा जो मलार्र्ई असाध्य माया गर्नु हुन्थ्यो अनि म पनि आमालार्ई उत्तिकै माया गर्थे र गरिरहन्छु ।
संसारकै सबै भन्दा प्यारी मेरी आमाले आफुले यो संसार छोड्नु भन्दा केही समय अघि देखि मलार्र्ई तोड्न थाल्नु भएको थियो मलार्ई टाढा–टाढा बनाउन थाल्नु भएको थियो । मेरा हरेक राम्रा कुरा पनि नराम्रो लाग्न थालेको थियो मेरी आमालाई त्यतिबेला जबकी पहिले पहिले मैले केही नराम्रो गरे पनि अलि राम्रो भएन अब यो बाटो जानू भनेर मलार्ई सम्झाउनु हुन्थ्यो । मलार्ई के थाहा कि मेरी आमा मलार्ई छोडेर धेरै टाढा जाँदै गर्दा मलार्ई पछि गाह्रो नहोस् भनेर पहिले देखि नै सम्बन्ध तोड्दै हुनुहुन्थ्यो भनेर । मेरो पारिवारिक वातावरण बुझ्ने सबैलाई थाहा छ कि हामी आमा छोरा कस्ता थियौँ अनि हाम्रो समन्ध कस्तो थियो भनेर । मेरो जिन्दगीको जन्मदाता मेरो पहिलो गुरुआमा अनि सबैभन्दा नजिकको साथी मेरो आमाले मेरो लागि अनि मैले आमाको खुसीको लागि के के गरेको थिएँ । त्यो कसरी बयान गर्न सकिएला र तर त्यो प्रेम त्यति बेला तोडियो जति बेला आमालार्ई तोड्नु थियो मलार्ई छोडेर निकै टाढा जानू थियो नफर्कने यात्रामा निक्लिनु अघि माया तोड्छन् भन्ने सुनेको हो सत्य त्यतिबेला हो रैछ भन्ने लाग्यो जतिबेला आमाले छोडेर जानुभयो । मलार्ई सधैं लाग्थ्यो आमाले किन यस्तो गर्नुभएको होला भनेर तर कहिले सोध्ने शक्ति भएन एकदिन त ठिक भैहाल्छ नि आखिर आफ्नै आमा त हुन् भनेर ।
त्यस्तैमा एकदिन खबर आयो आमा बिरामी भएर गंगालाल हस्पिटलमा लगिँदैछ भनेर । मन निकै बेचैन भयो तर पनि गर्न केही सकिनँ किनकी त्यतिबेला म आफ्नो कामको सिलसिलामा मलेसियामा थिएँ अनि मेरी आमा नेपालमा । मैले आमासँग बिरामी अवस्थामा होस् वा अप्रेसन पछि होसमा आएपछी कुरा गरेकै हो । म नेपाल फर्केर आउँछु है आमा भनेको पनि हो तर मलार्ई ठिक भईसक्यो चिन्ता नगर बल्ल अलिकति पाइला टेकेर थिरले काम गरिरहेको छस् आफ्नो ख्याल गरेर राम्रोसंग काम गर भन्नुभयो आखिर तँ आएर मेरो उपचार हुने हैन अब मलार्ई ठिक भैसक्यो चिन्ता गर्नु पर्दैन भनेको झल्को अझै कानमा गुन्जिरहेको छ । सोचेँ ठिकै हो आखिर अब आमालाई ठिक भैरहेको छ भने मैले मेरो फोकस काममा गर्नु पर्छ भन्ने लाग्यो ।
थोरै समय अलिक सुस्ताएपछि सोचेँ जिन्दगीमा मैले मेरी आमाको अन्जानमै भए पनि के कुरामा चित्त दुखाएछु त खै जे होस म नेपाल गएपछि सुरुमा आमासँग माफी माग्नेछु । गल्ती नै नभए पनि आफ्नी आमासँग माफी मागेर म सानो हुने हैन क्यारे भनेर सोच्दै बसेको मलार्र्ई के थाहा थियो र बिहान म ठिक छु छोरा भनेकी मेरी प्यारी आमा त्यही साँझ स्वर्गीय भएको खबर मैले मलेसियामै सुन्नु पर्छ भनेर । त्यसपछि के–के भयो त्यो खै के भनम् त्यो जिन्दगीभरिको पिडा कसैले पनि भोग्नु नपरोस् । आफू परदेशमा हुनेहरुलाई घर देशमा कोहि बिरामी भएको खबरले समेत कति विक्षिप्त बनाउँछ भने मेरो त ममताको प्रतिमुर्ति मेरी आमाले मलार्ई छोडेर जानुभयो भनेर सुन्नुपर्दा अनि कार्यक्षेत्रको सबै प्रोसेस सकेर मलेसियाबाट नेपाल पुग्नको लागि लागेको ४८ घण्टा समय मेरो लागि कति कष्टकर भयो त्यो मैले बताएर बताउन अनि पाठकले बुझेर बुझ्न सक्नु हुन्न जस्तो लाग्छ । यो त सब मनैदेखि महसुस गर्ने कुरा हो झैँ लाग्छ मलार्ई त्यसैले म त भन्छु आमाको ममताको छहारी गुमेका म र म जस्ता सन्तानलार्ई हेरेर आफ्नो शिरमा रहेको आमाको आशीर्वाद र ममतालाई कायम राख्नुहोस् हैन भने आमाको काखमा शिर अड्याएर रुने हाँस्ने चाहना अधुरै होला तपाईंको पनि मेरो जस्तै ।
एकदिन कसैले फेसबुकमा स्टाटस हालेको रैछ बाबु आमालार्ई छोराले हैन छोरीले पाल्न थालेको दिनदेखी नेपालमा वृद्ध आश्रम बन्द हुन्छन् मैले जवाफमा लेखिदिएँ जहिले बुहारीले सासुससुरालार्ई आमा बुबा सम्झिन्छन् अनि सासू ससुराले बुहारीलार्ई आफ्नै छोरी सम्झन्छन् त्यो दिन नेपालमा कुनै वृद्धअवस्था भएका आमा बुबालार्ई जिन्दगी बोझ लाग्ने छैन वृद्धाश्रम त परको कुरा हो । त्यसैले आज मैले लेखेका शब्द लहरीलार्ई ती सबै आमाहरुप्रति समर्पित गर्दै एवं सम्मान व्यक्त गर्दै आमाको न्यानो आशिर्वादको लागि प्रार्थना गर्दछु । कुनै पनि छोराछोरीले आफु विदेशमा भएको बेला टुहुरो बन्न नपरोस् । जिन्दगी हो कसलाई के थाहा भोलि यो दिन आउला नआउला त्यसैले आज यी सबै शब्द स्वर्गीय मेरी आमाप्रति समर्पित गर्न चाहन्छु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |