पञ्चमायाँ तामाङ
विशेष गरी दक्षिण एशियाली मुलुकमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश लगायतका भूभागमा उपयुक्त नगदे बालीका रुपमा लिने खुर्सानीलाई आजभोलि किसानको जीवनस्तर उकास्ने बलियो माध्यम बनेको छ । यो भूगोलभित्रका प्रत्येक नागरिकहरुको चुलोमा खुर्सानी अनिवार्य बनिसकेको छ । जसको कारण खुर्सानीलाई हरियोमा काँचै खान, सुकाएर धुलो, मसला र अचारको लागि प्रयोग गरिन्छ । यसमा विशेषगरी भिटामिन ‘ए’ र ‘सी’ प्रशस्त मात्रामा पाइने कृषि विज्ञहरुले बताएका छन् । नेपालको भूगोलमा जुनसुकै मौसममा पनि खेती गर्न सकिने खुर्सानी बालीले पछिल्लो समय राम्रो बजार पाएको छ । आजको बजार मूल्य हेर्ने हो भने ४ सय रुपैयाँ किलोमा किनबेच भएको पाइन्छ । अध्ययन अनुसार न्यानो हावापानी, सुख्खा र गर्मी मौसम उपयुक्त हुन्छ । तापक्रम ३८ डिग्री सेन्टिग्रेड भन्दा माथि र आद्रता कम भएमा फल र फूल कम लाग्छ भनिन्छ तर नेपाली किसानले त्यस किसिमको अध्ययन गरेको पाइँदैन । आफ्नो अनुकूलतामा जुनसुकै समयमा पनि खेती गर्ने गरेको भेटिन्छ । विशेष गरी फाल्गुनदेखि जेठसम्म यसको खेती उपयुक्त हुने किसानहरुको भनाइ छ ।
जेटिएहरुको भनाइअनुसार खुर्सानी खेती गर्नका लागि विभिन्न जातजाति सँगसँगै मल बिउबिजनलाई तपसिल अनुसार गर्नु गराउनु भनिएको छ । जस्तैः उन्नत जातको रूपमा पूसा ज्वाला, सूर्यमुखी, यात्सुफुसा, चन्द्रमुखी, जी–४ आदि वर्णशङ्कर जातको रूपमा एनएस १७०१, एनएस १७११, कर्मा ७५७, कर्मा ७७७ आदि रहेका छन् । पिएच मान ६ देखि ६.५ र पानीको राम्रो निकास भएको दोमट माटो उपयुक्त हुन्छ । गोबर वा कम्पोष्ट मल राखेर जमीनलाई तीन देखि चार पटक खनजोत गरी झारपात हटाइ समथर बनाउने । बिरुवा रोप्नको लागि ६० से.मी. को फरकमा ड्याङहरू बनाउने । उन्नत ः प्रति रोपनी ३० ग्राम, वर्णशङ्कर ः प्रति रोपनी १० ग्राम, बेर्ना भएप्रति रोपनी २,०००–२,५०० बोट खुर्सानी तयार हुन्छ ।
रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र बालीको जातमा भर पर्छ । ड्याङमा हारको दूरी ६० से.मी. र बोटदेखि बोटको दूरी ४५ से.मी. मा रोप्ने । करिब ३० देखि ३५ दिनको बेर्ना जाडोयाममा ५–६ पाते र वर्षायाममा ७–८ पाते होचो बेर्ना सार्ने । बेर्ना सारेको ३–४ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना पुनः सार्ने । खुर्सानी बालीमा झारपात हटाएर माटो खुकुलो बनाइ राख्न २–३ पटक गोडमेल गरी उकेरा लगाउने । आवश्यकता अनुसार ३ देखि ४ पटक ड्याङको आधाभाग भिज्ने गरी सिंचाई गर्ने, युरिया मल दिएपछि र गोडमेल पछि सिंचाई गर्ने, बिरुवाको फेदमा पानी जम्न नदिने र सकेसम्म जैविक मललाई पहिलो प्राथमिकतामा राख्न सकियो भने उपयुक्त हुने कृषि विज्ञहरु बताउँछन् ।
खुर्सानी बालीमा मुख्यतयाः ओइलाउने र मोज्याक भाइरस रोग लाग्छ । ओइलाउने रोग लागेमा पुरै विरुवा ओइलाएर मर्दछ । मोज्याक भाइरस लागेका पातहरू गुज्मुजिन्छन् र बिरुवा पहेंलो हुँदै जान्छ । मोज्याक भाइरस लागेका बिरुवाहरू उखेलेर जलाउने । ओइलाउने रोगबाट बचाउनको लागि बाली चक्र अपनाउने तर भेडे खुर्सानी, भण्टा, गोलभेडा, आलु जस्ता सोलानेसी परिवारका बिरुवाहरू भने बाली चक्रमा प्रयोग गर्नु हुँदैन । जात अनुसार बेर्ना रोपेको करिब तीन महिनाबाट सुरु गरी आठ महिनासम्म खुर्सानी टिप्न सकिन्छ । भेट्नुमा काठ पसेको हरियो चम्किलो खुर्सानी टिप्ने । जात र व्यवस्थापन अनुसार प्रति रोपनी ५००–८०० के.जी. उत्पादन हुनसक्ने विज्ञहरुले जनाएका छन् । विरुवामा छापो लगाउनुको साथै नियमित गोडमेल गर्न सके खुर्सानीबाट राम्रो उत्पादन लिन सकिने किसानहरुको भनाइ छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |