प्रभातफेरी अनलाइन ७३२९ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र १८, मंगलबार (५ साल अघि)
पञ्चमायाँ तामाङ
विशेष गरी दक्षिण एशियाली मुलुकमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश लगायतका भूभागमा उपयुक्त नगदे बालीका रुपमा लिने खुर्सानीलाई आजभोलि किसानको जीवनस्तर उकास्ने बलियो माध्यम बनेको छ । यो भूगोलभित्रका प्रत्येक नागरिकहरुको चुलोमा खुर्सानी अनिवार्य बनिसकेको छ । जसको कारण खुर्सानीलाई हरियोमा काँचै खान, सुकाएर धुलो, मसला र अचारको लागि प्रयोग गरिन्छ । यसमा विशेषगरी भिटामिन ‘ए’ र ‘सी’ प्रशस्त मात्रामा पाइने कृषि विज्ञहरुले बताएका छन् । नेपालको भूगोलमा जुनसुकै मौसममा पनि खेती गर्न सकिने खुर्सानी बालीले पछिल्लो समय राम्रो बजार पाएको छ । आजको बजार मूल्य हेर्ने हो भने ४ सय रुपैयाँ किलोमा किनबेच भएको पाइन्छ । अध्ययन अनुसार न्यानो हावापानी, सुख्खा र गर्मी मौसम उपयुक्त हुन्छ । तापक्रम ३८ डिग्री सेन्टिग्रेड भन्दा माथि र आद्रता कम भएमा फल र फूल कम लाग्छ भनिन्छ तर नेपाली किसानले त्यस किसिमको अध्ययन गरेको पाइँदैन । आफ्नो अनुकूलतामा जुनसुकै समयमा पनि खेती गर्ने गरेको भेटिन्छ । विशेष गरी फाल्गुनदेखि जेठसम्म यसको खेती उपयुक्त हुने किसानहरुको भनाइ छ ।

जेटिएहरुको भनाइअनुसार खुर्सानी खेती गर्नका लागि विभिन्न जातजाति सँगसँगै मल बिउबिजनलाई तपसिल अनुसार गर्नु गराउनु भनिएको छ । जस्तैः उन्नत जातको रूपमा पूसा ज्वाला, सूर्यमुखी, यात्सुफुसा, चन्द्रमुखी, जी–४ आदि वर्णशङ्कर जातको रूपमा एनएस १७०१, एनएस १७११, कर्मा ७५७, कर्मा ७७७ आदि रहेका छन् । पिएच मान ६ देखि ६.५ र पानीको राम्रो निकास भएको दोमट माटो उपयुक्त हुन्छ । गोबर वा कम्पोष्ट मल राखेर जमीनलाई तीन देखि चार पटक खनजोत गरी झारपात हटाइ समथर बनाउने । बिरुवा रोप्नको लागि ६० से.मी. को फरकमा ड्याङहरू बनाउने । उन्नत ः प्रति रोपनी ३० ग्राम, वर्णशङ्कर ः प्रति रोपनी १० ग्राम, बेर्ना भएप्रति रोपनी २,०००–२,५०० बोट खुर्सानी तयार हुन्छ ।
रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र बालीको जातमा भर पर्छ । ड्याङमा हारको दूरी ६० से.मी. र बोटदेखि बोटको दूरी ४५ से.मी. मा रोप्ने । करिब ३० देखि ३५ दिनको बेर्ना जाडोयाममा ५–६ पाते र वर्षायाममा ७–८ पाते होचो बेर्ना सार्ने । बेर्ना सारेको ३–४ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना पुनः सार्ने । खुर्सानी बालीमा झारपात हटाएर माटो खुकुलो बनाइ राख्न २–३ पटक गोडमेल गरी उकेरा लगाउने । आवश्यकता अनुसार ३ देखि ४ पटक ड्याङको आधाभाग भिज्ने गरी सिंचाई गर्ने, युरिया मल दिएपछि र गोडमेल पछि सिंचाई गर्ने, बिरुवाको फेदमा पानी जम्न नदिने र सकेसम्म जैविक मललाई पहिलो प्राथमिकतामा राख्न सकियो भने उपयुक्त हुने कृषि विज्ञहरु बताउँछन् ।
खुर्सानी बालीमा मुख्यतयाः ओइलाउने र मोज्याक भाइरस रोग लाग्छ । ओइलाउने रोग लागेमा पुरै विरुवा ओइलाएर मर्दछ । मोज्याक भाइरस लागेका पातहरू गुज्मुजिन्छन् र बिरुवा पहेंलो हुँदै जान्छ । मोज्याक भाइरस लागेका बिरुवाहरू उखेलेर जलाउने । ओइलाउने रोगबाट बचाउनको लागि बाली चक्र अपनाउने तर भेडे खुर्सानी, भण्टा, गोलभेडा, आलु जस्ता सोलानेसी परिवारका बिरुवाहरू भने बाली चक्रमा प्रयोग गर्नु हुँदैन । जात अनुसार बेर्ना रोपेको करिब तीन महिनाबाट सुरु गरी आठ महिनासम्म खुर्सानी टिप्न सकिन्छ । भेट्नुमा काठ पसेको हरियो चम्किलो खुर्सानी टिप्ने । जात र व्यवस्थापन अनुसार प्रति रोपनी ५००–८०० के.जी. उत्पादन हुनसक्ने विज्ञहरुले जनाएका छन् । विरुवामा छापो लगाउनुको साथै नियमित गोडमेल गर्न सके खुर्सानीबाट राम्रो उत्पादन लिन सकिने किसानहरुको भनाइ छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |