महिला शिक्षकहरुको अवस्था र समस्या के के छन् ?
अहिले पहिलेको जस्तो अवस्या छैन । महिला शिक्षकहरु प्रतिको दृष्टिकोण फरक भैसकेको छ । नगण्य रुपमा कतै कतै अझै पनि महिलाहरु उच्च पदमा पुग्न खोजेको संकूचित विचार वोकेकाले रुचाउँदैन तर समग्रमा हेर्दा हौसला, सल्लाह र सुझाव पाएमा अगाडि बढ्न सक्छन् । समस्याको विषयमा विद्यालय समय विद्यालयमा विताउन सफल भएता पनि घरायसी समस्याले अतिरिक्त समय दिन अझै पनि समस्या छ ।
समाधान गर्न महिला शिक्षक समाजसँग के कस्ता योजनाहरु छन् ?
काभ्रे शाखा महिला शिक्षक समाज २०७७।०२।३१ गते गठन भएको हो । यस समाजले महिलाहरुको शिप विकास तथा अभिवृद्वि गराउने खालको तालिम संचालन गर्ने, विद्यालयमा छात्राहरुको पहुँच वढाउने, महिला शिक्षकहरुलाई सक्रिय बनाउने कार्यक्रम प्रस्तुत गर्ने योजना छ । महिलाहरुको सहभागिता बढाउने ।
विद्यालयको समग्र अवस्था कस्तो छ ?
विद्यालयको अवस्था सम्वन्धमा पहिले भन्दा सुधारात्मक छ । यो मैले राम्रो भन्दा पनि अध्ययन गर्ने विद्यार्थी, अभिभावक, वि.व्य.स पदाधिकारीहरु, शि.अ.सं पदाधिकारीहरु, शिक्षकहरु, शिक्षा शाखा तथा सरोकारवालाहरुले सहजै अनुमान लगाउन सक्ने कुरा हो । अझै विद्यार्थीको उपलब्घी बढाउन सके र अभिभावकलाई चित्त बुझाउन सके अझै राम्रो गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा विद्यालय बालबालिका, शिक्षक र अभिभावकमैत्री छ ।
शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के के छन् ?
विद्यालय, पढाउनेभन्दा पनि सिकाउने थलोका रुपमा परिमार्जन गरी कक्षा सञ्चालनमा जोड दिइएको छ । शैक्षिक सत्रको सुरुमा वार्षिक शैक्षणिक तथा कार्ययोजना निर्माण, शिक्षण सुधारयोजना निर्माणका कार्य गरिँदै आएको छ । यसरी शैक्षिक सुधारका लागि विघालयमा
भएका प्रयासहरु बुँदागत रुपमा प्रस्तुत गरेको छु ः–
० मासिक रुपमा शिक्षक स्टाफ बैठक र समस्या माथि छलफल, समाधानका उपाय तथा प्रयास ।
० अभिभावक भेला
० कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था
० मासिक, त्रैमासिक परीक्षाको व्यवस्था नतिजा प्रकाशन गर्दा अभिभावक सहित पृष्ठपोषण । परिक्षा प्रणली र नतिजा प्रकाशनमा सुधार ।
० अवलोकन अध्ययन भ्रमण
० खाली कक्षा व्यवस्थापन
० अनुशासन
० ड्रपआउट न्यूनिकरण गर्न अभिभावकसँग भेटघाट तथा टेलिफोन सम्पर्कबाट सल्लाह तथा सुझाव ।
० अतिरिक्त क्रयाकलापको व्यवस्था ।
० विद्यार्थीको गृहकार्य चेक गर्न डायरी
० शिक्षकहरुलाई पाठयोजना र विधार्यीको विवरण राख्न मिल्ने डायरीको व्यवस्था ।
कक्षाकोठालाई बालमैत्री र सिकाइमैत्री बनाउन विद्यालयमा के प्रयास भएको छ ?
कक्षाकोठालाई बाल मैत्री र सिकाई मैत्री बनाउन विद्यालयमा भएका प्रयासहरु यसप्रकार छन् (समुह विभाजन गरेर अध्यापन गराउने । आवश्यकता अनुसार इन्टरनेटको माध्यमबाट समय समयमा अध्यापन गराउने, खाली पिरियड व्यवस्थापनका लागि शिक्षकहरूवाट र जान्ने विद्यार्थीहरुबाट पनि पालैपालो कक्षा शिक्षण गर्ने । वादविवाद, वक्तृत्वकला, हाजिरी जवाफ, खेलकुदको व्यवस्था भएको । विद्यार्थीको लागि स्वच्छ खानेपानी, कक्षाकोठा तथा बसाईको व्यवस्थापनमा ध्यान दिएका छौँ । विद्यालयका बालबालिकाहरुलाई सामाजिक व्यवहार, अनुशासन र नैतिक शिक्षाजस्ता कुरा सिकाउन जोड दिइएको छ । पुस्तकालय, प्रयोगशाला, साना बालबालिकाहरुका लागि आकर्षक खेल सामग्रीको व्यवस्था गरिएको छ ।
बालअधिकारको पूर्ण पालना गर्दै शून्य दण्डको प्रावधान कार्यान्वयनमा छ । शिक्षकको नियमितता, कमजोर विद्यार्थीहरुलाई पृष्ठपोषण, संपूर्ण विद्यार्थी स्वास्थ्य विमा, निःशुल्क उपचारात्मक कक्षामा तीव्रता दिइएको छ । हाम्रो विद्यालयमा भर्ना भएपछि विद्यालय छाड्ने दर ज्यादै न्यून बनाइएको छ । बेला बेलामा विषयवस्तु तथा पाठअनुसार स्थलगत अध्ययन–अवलोकन भ्रमण कार्यक्रमहरु गरिन्छ भने विद्यार्थीहरुलाई विद्यालयप्रति आकर्षण बढाइ सिक्न उत्प्रेरणा जगाउन नाचगान, परामर्श र रमाइला अतिरिक्त क्रियाकलापहरु पर्याप्त गर्ने गरिएको छ।
सिकाइको अवस्था के छ ?
प्रयोगात्मक समुह विभाजन तथा खेल विधिबाट अध्यापन गराउँदा प्रभाबकारी र छिट्टै बुझ्न सक्ने हुन्छन् । सिकाइ उपलब्धि सन्तोषजक छ । कक्षा १–९ सम्मका कुनै पनि विद्यार्थीहरुले कक्षा दोहोर्याउन नपर्ने वातावरण बनाइएको छ । विषय शिक्षकहरुबाट शैक्षिक उपलब्धिस्तर वृद्धिको लक्ष्य निर्धारण गर्ने गरिएको छ । हाम्रो विद्यालयको पहिलाकोभन्दा एस.ई.ई. परीक्षाका शैक्षिक उपलब्धि उत्साहवद्धक छ । यहाँबाट माध्यमिक शिक्षा उत्तीर्ण विद्यार्थीहरुले आफ्नो जिविकोपार्जन सानदारसँग गरिरहेका छन् । हाम्रा विद्यार्थीहरु देशका लागि आवश्यक सबै क्षेत्रको जनशक्तिका रुपमा रही कार्य क्षेत्रमा लागि परिरहेका छन् ।यहि विद्यालयवाट उत्पादन भएका शिक्षकहरू पनि यहाँ कर्यरत हुनु हुन्छ ।
निम्न, सिमान्तकृत, जनजातिका छोराछोरी अन्य विद्यालयको तुलनामा यहाँ बढी नै छन् । यी सबै सिकाइस्तरको ज्वलन्त उदाहरण हुन् । यदि सिकाइ दयनीय हुँदो हो, यहाँ यतिका विद्यार्थी हुने कल्पना पनि गर्न सकिने थिएन ।
सामुदायिक विद्यालयको अवस्था देशभर खस्किँदै गइरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
सामुदायिक विद्यालयहरुको स्तर खस्किँदै गइरहेको छ जस्तो लाग्दैन मलाई । अहिलेको समयमा उस्कदै छ । यो त सामूदायिक विद्यालय प्रतिको नकारात्मक दृष्टि राख्ने शिक्षा प्रशासक, शिक्षाविद् र राजनैतिक नेतृत्वमा रहेका समूहको हेराई मात्रै हो । यद्यपि यदाकदा नबिग्रेको भने पनि होइन । सबै सामूदायिक विद्यालय राम्रा छन् भन्न खोजिएको पनि होइन । समाजका पढेलेखेका व्यक्तिहरुको अविश्वासका कारणले हामीलाई भिडाइएको विल्ला र प्रोपोगाण्डा मात्रै हुन् । जहाँ सक्षम जुझारु प्रधानाध्यापक, लगनशील शिक्षक, वि.व्य.स., शि.अ.सं, त्यहाँको अवस्था राम्रो छ । सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकाका आमाबाबु काममा जानुपर्ने अवस्थाले घर रुँगेर बसी विद्यालय जान नसक्ने या साना साना नानीलाईहरूलाई विद्यालयमा अल्झाउन पठाउने, गइहाले भने पनि भोकभोकै जानुपर्ने, न गोडामा चप्पल, न जाडोमा न्यानो कपडा, न झरीबादलबाट जोगाउन झोला, न पर्याप्त कापीकलम छन् । यस्ता बालबालिका हामीले पढाउन परिरहेको छ । यस्तो विकराल अवस्थाबाट उन्मुक्तिका लागि राज्यले सोच्न सकिरहेको छैन ।
राज्यले माध्यमिक शिक्षा पूर्ण निःशुल्क भनिदिएको छ, के यो सम्भव छ ?
विद्यालयका लागि आवश्यक पूर्वाधारहरु जस्तै धारा, विजुली, फर्निचर, प्राथमिक उपचार, शैक्षिक भ्रमण, मर्मत सुधार, बंगैचा, विद्युतीय उपकरण, स्टेशनरी, परीक्षा, अतिरिक्त क्रियाकलाप, वार्षिक कार्यक्रम र पुरस्कार वितरणजस्ता कार्यक्रमका लागि विना बजेट सम्भव छ ? शिक्षा प्रशासकहरुले सोच्न पर्ला कि नपर्ला ? यो गम्भीर प्रश्न हो ! र चुनौती पनि । यद्यपि मुलुकभरका जम्मा विद्यार्थी संख्याको ७५–८० प्रतिशत विद्यार्थी सरकारी विद्यालयमा अध्ययनरत छन् । राज्यको ध्यान सामुदायिक विद्यालयको निरन्तर सुधारमा हुनुपर्ने जरुरी छ । कतै कतै यहाँ राज्यको जिम्मेवार बहन गर्ने ओहोदामा बसेका व्यक्तित्वहरुको लगानी तथा लगाव अन्य विद्यालयमा छ । जसले गर्दा सामुदायिक विद्यालय ओझेलमा परेको कुरा हत्केलाले सूर्य छोपे झैं हुन्छ । त्यसैले राष्ट्रिय बजेटको कम्तिमा २५ प्रतिशत रकम शिक्षामा विनियोजन नगरी सार्वजनिक विद्यालय सुधारको कल्पना पनि गर्न सकिन्न । फेरिपनि निम्न कारणहरुले सामुदायिक विद्यालयको अवस्था देसभरी खस्कदै गएको भन्न सकिन्छ ।
विषयगत दरवन्दीको अभाव, तल्लो तहका शिक्षकबाट माथिल्लो तहको कक्षा शिक्षण गर्नुपर्ने, कमजोर आर्थिक अवस्था भएका विद्यार्थी आउने र विद्यालयमा मात्र अध्ययनको लागि भर पर्नुपर्ने, कक्षा छोड्ने, कोर्स पुरा नहुने, प्रभावकारी शिक्षण सिकाईको कमि, नियमन निकायबाट नियमन नभएको, राजनितिकरण, विद्यालय शिक्षामा न्यून लगानी । शिक्षकको कतै कतै लापरवाही, अभिभावकको चासो नहुनु । महंगो विद्यालयमा पठाउँदा र पैसा तिर्दा अभिभावकको विश्वास हुनु ।
अभिभावकहरुले अझै पनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन नि ?
हामीलाई खासै यस्तो लाग्दैन कि अभिभावकहरुले सामुदायिक विद्यालयहरुलाई पत्याएनन् । शिक्षा प्रशासक, शिक्षाविद्, राजनीतिक व्यक्तित्व, शिक्षक कर्मचारी, सेना प्रहरी जस्ता माथिल्लो स्तरका वाटै जसले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाएका घटना विरलै छन् । हो, यो वर्गले हामीलाई विश्वास नगरेकै हो, नपत्याएकै हो । जबसम्म यो वर्गको पहुँच हाम्रा विद्यालयमा पुग्न सक्दैन तबसम्म अब्वल सामुदायिक विद्यालय कमै मात्र देखा पर्नेछन् । शिक्षकमा व्यापक वितृष्णा छ, शिक्षक उत्प्रेरित भएका छैनन्, ठूलो संख्यामा शिक्षकहरु अस्थायी तथा राहत छन्, समयानुकूल बढुवा तथा अन्य वृत्ति विकास हासिल गर्न सकिरहेका छैनन्, जसको कारण सामुदायिक विद्यालय ओझेलमा पर्न गएका हुन् । त्यसैले सरकारले सामुदायिक विद्यालयको समग्र विकास गरी सामुदायिक विद्यालयलाई आकर्षणको केन्द्रविन्दु बनाउन पहल गर्नुपर्ने देखिन्छ ।
फेरिपनि अभिभावकहरुमा सामुदायिक विद्यालयमा पत्यार नहुनुको कारण यस्तो छ( विद्यार्थीको नतिजा संतोषजनक नहुनु, विद्यालयको काममा भन्दा व्यक्तिगत कार्यमा शिक्षकहरुले चासो लिनु, राजनीतिक हस्तक्षेप, शिक्षकहरुमा समन्वयको अभाव, विद्यार्थी मा अनुशासनको कमी, अभिभावकको निगरानीमा कमी, सामुदायिक विद्यालय प्रतिको नकाराल्मक सोचको अपवाह, देखासिखि गरेर इज्जत जाला भन्ने सोचाईले सामुदायिक विद्यालयमा भर्ना नगर्नु, कतै कतै स्थायी भएका शिक्षकहरूमा कस्ले के गर्न सक्छ भन्ने अहंता इत्यादि ।
अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्दछ ।
सुधारका लागि के गर्नु पर्ला ?
सामुदायिक विद्यालयका कार्यरत शिक्षकहरुको क्षमतामा बारम्बार उठ्ने प्रश्न कतिपय कुराहरु योग्यतामा भरपर्छ भने कतिपय कुराहरु योग्यता भएर पनि क्षमता र तत्परता भएन भने सफलता हासिल गर्न सकिदैन । सामुदायिक विद्यालयमा योग्य र दक्ष शिक्षकहरु हुनुहुन्छ त्यसैलृ अहिलेको समयमा सामुदायिक विद्यालयमा सुघार हुदैछ । शिक्षा आयोगको परीक्षाबाट उतिर्ण हुनु भएर आउनु भएका र तालिम प्राप्त शिक्षकहरु हुने हुनाले दक्ष र क्षमतावानमा प्रश्न गर्ने ठाउँ छैन । उत्साह र प्रयासमा भने कमी आएको हो । यसको कारण नियन्त्रण, अनुगमन, मूल्याङ्कन र प्रोत्साहनको पाटो कमजोर हुनु हो । शिक्षकहरुको मनोबल बढाउने कार्यहरु कहीँ कतैबाट पनि भएको पाइँदैन । उत्प्रेरणाको अभाव छ, सम्मानका लागि अभिलाषी छन् । शिक्षक क्षमतावान् छन् तर उनीहरुले आफ्नो क्षमतालाई कक्षाकोठामा पुर्याउन सकिरहेका छैनन् । शिक्षण एउटा यस्तो पवित्र पेशा हो जसमा सदासर्वदा घामजून लागुन्जेलसम्म आफूले आफूलाई तिखारिरहनु पर्दछ । शिक्षक अध्ययनशील, प्रविधिमैत्री, देशकाल परिस्थिति अनुकूल बन्दै आफूले आफूलाई परिष्कृत, परिमार्जित र अपडेट गर्दै लग्नुको विकल्प छैन । उपलब्धि हासिल गर्न नसक्ने वा नचाहने शिक्षकलाई स–सम्मान सुविधासहित सेवाबाट विदाई गरिनु पर्दछ । अब शिक्षकका लागि दिइने तालिम क्षमता वृद्धि, नेतृत्व विकास र सक्षमतामा आधारित भई वैज्ञानिक ढङ्गले अध्ययन अध्यापन गर्न सक्ने सीपयुक्त हुनुपर्छ । यसरी पनि नसुध्रने शिक्षकहरुलाई लक्षित गरी नयाँ शिक्षा नीति अवलम्बन गरिनुपर्दछ । कमजोर प्रशासन, नाम मात्रको प्रधानाध्यापक, शून्य अनुगमन र प्रोत्साहन भएका कारण यस्तो भएको हो । समयमै सोच्नुपर्ने बेला आएको छ ।
तैपनि निम्न कुराहरु सुधार गर्नुपर्छ(प्रविधिमा सिपालु हुनुपर्ने, शिक्षक अपडेट हुनुपर्ने, तालिम प्राप्त हुनुपर्ने, घोकाएर भन्दा हेराएर र गराएर अध्यापन गर्न सक्ने हुनुपर्दछ । शिक्षकहरुको बेला बेलामा क्षमता परीक्षण भन्दा पनि सरोकारवालाहरुको चासो, कक्षा अवलोकन र पृष्ठपोषण प्रदान गर्न सके राम्रो हुन्छ ।
सरकारले दिने शिक्षक तालिम, पाठयक्रम, परीक्षा र मुल्याङ्कन प्रणालीमा कतिको संतुष्ट हुनुुहुन्छ ?
सरकारले दिने तालिममा राज्यको लगानी हुन्छ पैसा खर्च हुन्छ तर कक्षाकोठामा लागु हुदैन र अनुगमन पनि हुदैन । तालीम, परीक्षा प्रणाली र मूल्याङ्कन आदिका मर्म, विद्यालयको पठन पाठन पाठ्य पुस्तकमा आधारित हुन्छ । पाठ्यक्रममा उल्लेखित उद्देश्य, विषयवस्तु, शिक्षक सिकाइ क्रियाकलाय तथा मुल्याङ्कन पद्वतीलाई अवलम्वन गरेको पाइदैन । परम्परागत शैलिमा पठन पाठन हुन्छ । विद्यार्थीले हासिल गर्नुपर्ने सिकाइ उपलब्धी संग शिक्षक सिकाइको तालमेल मिल्दैन । र महत्व अनुसार जति उपलब्धी आउनुपर्थ्यो, आउन सकिरहेको छैन । अध्ययन, अध्यापनमा पाठ्यक्रम र मूल्याङ्कन एक आपसका परिपुरक हुन् । शिक्षकले पठनपाठन गराएको उपलब्धीको मापनमा विद्यमान परीक्षा प्रणाली वैज्ञानिक भएजस्तो लाग्दैन । सीप ज्ञान, व्यवहार लगायत विद्यार्थीको सर्वाङ्गीण पक्षका मूल्याङ्कन गर्ने खालको प्रणालीको विकास गर्न जरुरी छ । परीक्षा र मूल्याङ्कन प्रणाली संतोषजनक छैन । परीक्षा प्रभावकारी र मर्यादित हुनुपर्छ निरन्तर विद्यार्थी मुल्याङ्कनलाई जोड दिनु पर्ने देखिन्छ ।
यहाँ केवल प्रश्नपत्रले तोकिएको समयावधिभित्र दिइएको उत्तरले मात्र मूल्याङ्कन गरिँदा त्यति व्यवहारिक देखिदैन । शिक्षकलाई विषयगत तालीम भन्दा कक्षामा पठनपाठनका लागि ऊर्जाशील, उत्प्रेरणात्मक, क्षमता अभिवृद्धि हुनेखालका उपयुक्त प्रविधिमैत्री तालीम दिनुपर्छ ।
एउटा विद्यालय राम्रो बनाउनका लागि प्रधानाध्यापकको कस्तो भूमिका रहन्छ ?
लिडर पक्कै पनि सक्षम, लगनशील, परिश्रमी र सबैको भावना बुझ्ने हुनपर्दछ । अधिकार सम्पन्न प्रधानाध्यापकको व्यवस्थापनमा कन्जुस्याईं गरिनु हुँदैन । प्रधानाध्यापक सबैसँग घुलमिल गर्नसक्ने, वर्तमान घटनाक्रमसँग अपडेट हुने, निडर, पक्षपातरहित, दलगत स्वार्थभन्दा माथि रहेर कार्य गर्ने गराउने हुनुपर्दछ । शिक्षकहरुको मनोबल बढाउने, विद्यार्थीहरुलाई निरन्तर सुझाव दिने, अभिभावकहरुसँग गहिरो सम्बन्ध राखी उचित पृष्ठपोषण दिन सक्ने, समुदायलाई विश्वासमा लिँदै यसलाई समयानुकूल आवश्यकता अनुसार परिचालन गर्न सक्ने, निरन्तर विद्यालयको सबै पक्षको विकासमा तल्लीन हुने, दीगो आर्थिक स्रोतको पहिचान गर्ने, योजना निर्माण र कार्यान्वयन गर्ने, विद्यालय व्यवस्थापन र शि.अं.सं.सँग विना मतभेद सहकार्य गर्दै कार्य सम्पादन गर्न सक्ने व्यक्ति प्रधानाध्यापक भएमा अवश्य पनि एउटा प्रधानाध्यापकले विद्यालयलाई आशातीत राम्रो बनाउन सक्दछ । त्यसैले प्रधानाध्यापकले आफ्नो नेतृत्वमा विद्यालयलाई कसरी हाँक्ने हो, सो को सीप, व्यवहार भएको र प्रविधिसँग परिचित, कुनै लोभ लालच नभएको, अहोरात्र खटिने, आलोचनालाई ग्रहण गर्न सक्ने, विद्यार्थीको भावनामा खेलवाड नगर्ने, असल अभ्यास गर्न लागी परिरहने प्रधानाध्यापक को खाँचो छ, अहिलेलाई ।
पुण्य मा. विद्यालयमा नै विद्यार्थीहरु किन पढाउने ?
हाम्रो विद्यालय बालमैत्री र प्रविधिमैत्री विद्यालय हो । यहाँ सबै तालीम प्राप्त, सक्षम, अनुभवी शिक्षकहरुको समूह छ । यहाँ धेरै भन्दा धेरै व्यवहारीक कुरा सिकाइन्छ । विद्यार्थी तथा अभिभावकहरुको रुची र क्षमता अनुरुप विद्यालयले सहकार्य गदै आएको छ । उत्कृष्ट नतीजा सहित सुनिश्चित भविष्य र जीवनोपयोगी व्यवहारमा परिवर्तन ल्याउने गुणस्तरीय सिकाइका लागि पनि हाम्रो विद्यालय कटिबद्ध छ ।
स्वच्छ शान्त शैक्षिक मायालु वातावरण सहित योग्य, अनुभवि तथा दक्ष विषयगत शिक्षकको व्यवस्था, बालमैत्री तथा प्रविधि मैत्री वातावरणमा शिक्षण सिकाई, व्यवस्थीत परीक्षा प्रणाली र पृष्ठपोषण सहित नतिजा प्रकाशन, शारीरिक तथा मानसिक विकासको लागि अतिरिक्त तथा वाह्य क्रियाकलापको व्यवस्था, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था, खाली कक्षा व्यवस्थापन, विभिन्न पुरस्कार तथा छात्रवृत्तिको व्यवस्था, निशुल्क दिवा खाजाको व्यवस्था, शैक्षिक अध्ययन अवलोकन भ्रमणको व्यवस्था, समय समयमा अभिभावक सम्मेलन र अन्तर्क्रिरया र सुधाराल्मक पृष्ठपोषण दिने हुनाले यो विद्यालयमा पढाउँदा विद्यार्थीको सिकाइ वातावरण राम्रो हुन जान्छ र उपलब्धी संतोषजनक आउछ । सुव्यवस्थित कम्प्युटर तथा विज्ञान प्रयोगशाला र पुस्तकालय, शुद्ध खानेपानीको व्यवस्था । यी आदि कारणले पुण्य माविमा पढाउनु राम्रो हुन्छ।
तपाईं यस विद्यालयमा कहिले प्रधानाध्यापक बन्नु भयो ? तपाई प्रधानाध्यापक भएपछि के–के सुधार गर्नुभयो ?
२०५३ बैशाखमा कुशादेवि मा.वि.बाट पारस्पारिक सरुवा भएर शिक्षकको रुपमा यसै विद्यालयमा कार्यरत थिए । यश विद्यालयमा प्रधानाध्यापक भएको मिति २०७६।०१।०२ गते देखि भएको हो हाल १ वर्ष भयो ।
प्रधानाध्यापक भइसकेपछि भएका सुधारहरु ः
विहानी प्रार्थनामा नियमितता, शिक्षकहरूको विभिन्न समितिहरु गठन र कार्यान्वयनमा निरन्तरता , विद्यार्थीहरुको सदन विभाजन, परीक्षा प्रणाली र नतिजा प्रकाशनमा पृष्ठपोषणमा सुधार, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था, विद्यार्थी तथा शिक्षक पोशाकमा नियमितता, विभिन्न दाता तथा दातृसंस्थाबाट विद्यार्थीहरुलाई छात्रवृत्ति, विद्यार्थी पोशाक, शैक्षिक सामाग्री, कम्प्युटर सहयोगको व्यवस्था, अभिभावकत्व ग्रहणवाट कमजोर आर्थिक अवस्था भएकालाई शैक्षिक सामाग्री तथा विद्यार्थी पोशाकको व्यवस्था, समय समयमा अभिभावक भेला, मासिक रुपमा शिक्षक स्टाफ बैठकबाट छलफल गरि समसामयिक समस्या समाधान, शिक्षक पुरस्कारको व्यवस्था, अभिभावकसँग प्रत्यक्ष भेट र टेलिफोन सम्पर्कबाट विद्यार्थीहरू कक्षा छोड्ने प्रवृतिमा कमि, शिक्षक तथा कक्षा मनिटरवाट खाली कक्षा व्यवस्थापन, नागरिक वडा पत्र खडा गरिएको, शिक्षकहरूलाई आफ्नो शैक्षिक सामाग्री तथा समान सुरक्षित राख्न दराजको व्यवस्था, शिक्षक स्टाफ टेवल दतावाट उपलब्धता, विज्ञान प्रयोगशालाको लागि छुट्टै केठाको व्यवस्था, शिक्षक कर्मचारी को विवरण र विद्यार्थी हाजिरी विवरण सहजै सवैले देख्न सक्ने गरि राखिएको, शिक्षक, विद्यार्थी आचारसंहिता निर्माण, शिक्षक विद्यार्थीलाई डायरीको व्यवस्था, शुद्ध खाने पानीको व्यवस्था गरिएको छ ।
विद्यालय सुधारका लागि तपाईंका योजनाहरु के–के छन् ?
कक्षा शिक्षकलाई कक्षाको जिम्वेवारी बनाउने, समिति मार्फत क्रियाकलाप गराउने, शैक्षिक उपलब्धी वृद्धिका लागि सिक्ने र सिकाउने बातावरण तयार पार्ने, बाल मैत्री, प्रविधि मैत्री बनाउने (विद्यालयलाई), विद्यार्थी संख्या वृद्धि गरी विद्यार्थीहरुलाई प्रतिस्पर्धामा उतार्ने, प्रविधिमा जोड दिनका लागि तालिमको व्यवस्था गर्ने ।
विद्यार्थीका उपलब्धिमा वृृद्धि, बिद्यालय सुधार योजना अनुसार बिद्यालयलाई अझ परिस्कृत परिमार्जन गर्नका लागि वार्षिक कार्य योजना अनुरुप चल्ने, सरकारको ऐन नियम र कानुन अनुरुप विद्यालयको शैक्षिक तथा आर्थिक, प्रशासन चुस्त, दुरुस्त र पारदर्शी बनाउने । विद्यालय आकर्षक वालमैत्री, खेलकूदमैत्री विद्यालय निर्माण गर्ने । विद्यालय सुन्दर, सफा, ज्ञानआर्जन, व्यवाहारिक सिप सिक्ने, नृत्य, कला, संगित, भाषा, विज्ञान सिक्ने सिकाउने थलोको रुपमा रुपान्तरण गर्ने । प्रत्येक कक्षा कोठामा स्मार्टबोर्ड, प्रोजेक्टर, सि.सि. टिभी र बुक कर्नर जडान गरी दिगो सिकाइ गराउने तर्फ उन्मुख हुने योजना छ ।
शिष्टाचारमा जोड दिने, जीवनसँग आवश्यक सबै शिप सिकाउने थलोको रुपमा विकास गराउने योजनाहरु हामीले बनाएका छौं । सानो कक्षादेखि ठूलो कक्षासम्म विद्यार्थी संख्यामा वृद्धि गर्ने । स्थानीय विद्यार्थीहरुको पहुँच बढाउन कुनै कसर बाँकी नराख्ने । सबै कक्षाहरु प्रविधि र शैक्षिक सामग्रीमैत्री बनाउने र अत्याधुनिक तथा पूर्ण वालमैत्री बनाउने छ योजना छ । साथै प्रविधियुक्त जमानामा इन्टरनेट र स्मार्ट टिभि सहित कक्षा कोठालाई आहा‘!! भन्ने बनाउने योजना छ । सबै विद्यार्थीलाई शिक्षक, प्रधानाध्यापक, वि.व्य.स., शि.अ.स. सँग आफ्ना मनका कुरा स्पष्टसँग राख्न सक्ने, प्रश्न गर्नसक्ने बनाउने कार्यक्रम पनि छ । सामाजिक भावना, देश प्रेम, आफ्नो कला र धर्म संस्कृति तथा संस्कार सहितको शिक्षा प्रदान गर्ने, शिक्षक विद्यार्थीको व्यवहार, आमोद, प्रमोद, बोलीचाली र भाषामा सुधार ल्याउने कार्य गर्ने, असहाय, गरिब तथा निमुखा बालबालिकाहरुलाई विद्यालय भित्र्याइ पढ्न पाउनेगरि कार्य योजनाका साथ अगाडि बढ्ने लक्ष्य निर्धारण गरेका छौं ।
शिक्षा सुधार नहुनुमा सरकारको नीतिमा समस्या देख्नुहुन्छ कि नियतमा ?
सामूदायिक विद्यालयमा सुधारै नभएको भन्न मिल्दैन । जुन रुपमा हुनुपर्ने हो त्यो चाँही नभएको पक्कै हो । त्यसको प्रमुख कारण सरकारको नीति र नियत दुबैमा स्पष्टता नहुनु हो । हालको नीति पैसा हुनेले राम्रो शिक्षा पाउने र नहुनेले शिक्षा नै नपाउने जस्तो देखिन्छ । हुँदा खाने र हुने खाने बीच ठूलो खाडल शैक्षिक क्षेत्रमा पनि देखिन्छ । सरकारबाट जारी शैक्षिक नीतिहरु ज्यादै फितलो कागज र भाषणमा मात्रै सिमित देखिन्छन् । अभिभावकत्व ग्रहण गर्दैमा सार्वजनिक विद्यालय सुधार हुँदैन । शिक्षक मैत्री ऐन नियम समयमैं आउन सकिरहेको छैन ।
शिक्षामा चरम राजनीतिकरणको अन्त्य हुन सकेको छैन । संविधानले आधारभूत तह निशुल्क र अनिवार्य तथा मावि तह निशुल्क हुने भनेको छ तर व्यवहारमा देखिदैन । लगानी वर्षेनी घटिरहेको देखिन्छ । व्यवहार सार्वजनिक विद्यालयमैत्री हुनु पर्दछ । पूर्णकालीन, पूर्ण अधिकार सम्पन्न प्रधानाध्यापकको नियुक्ति र शिक्षक उत्प्रेरणामूलक कार्यक्रम ल्याउनुपर्छ । सरकारबाट जारी निर्देशिका र कार्यक्रम कार्यान्वयन पुस्तिकाबीच बेमेल छ । शिक्षा सुुधार नहुनुमा सरकारको नीति पनि केहि फेरबदल गर्नुपर्छ व्यवहारीक शिक्षामा जोड दिने खालको नीति बनाउनुपर्छ भने नियतमा बिगार्छु नै भनेर होइन अल्छी गरेर शिक्षामा सुधार हुन नसकेको हो जस्तो लाग्छ ।
हाम्रा शिक्षकहरुलाई साँच्चै गुरु बनाउन के गर्नुपर्ला ?
हाम्रा शिक्षक जे जस्तो भएतापनि एउटा प्रक्रियाबाट आएका हुँदा गुरु नै हुन् यद्यपी शिक्षकहरुले हिन्दी सिनेमा चक एण्ड डस्टर र रफ बुक कथाको अनुकरण गर्न सकेमा मात्र आदर्श गुरु बन्न सक्नेछन् । संसारका विकसित मुलुक अमेरिकामा शिक्षकलाई भिआइपी संज्ञा दिइन्छ, फ्रान्समा अदालतभित्र सहजै प्रवेश दिइन्छ, जापानमा शिक्षकलाई पक्रनुपर्यो भने सरकारको पूर्वस्वीकृति लिनुपर्छ र कोरियामा शिक्षकले सबैभन्दा बढी सुविधा उपभोग गर्छन् । त्यहाँका शिक्षकहरु सबैको गुरु बन्न सफल भएका यी प्रतिनिधिमूलक उदाहरण हुन् । शिक्षक पढाउने भन्दा सिकाउने तर्फ उम्मुख हुनु पर्दछ । व्यवहार कुशल सिपको मर्म अनुसार बच्चाहरुको उमेर, रुची र मनोभावना बुझेर आवश्यकता अनुसार प्रविधिमैत्री उपकरणको प्रयोग मार्फत सिकाइ क्रियापलाप गराउने तर्फ उत्प्रेरित हुर्नुपर्दछ । शिक्षकले आफ्नो अनुशासन, पेशागत धर्म निभाउनुपर्दछ । हाम्रा शिक्षकहरुले आफ्नो वैयक्तिक, शैक्षिक र सामाजिक गुणहरुमा विकास गरी नियमित रुपमा विद्यालय गई निर्धारित समयसम्म विद्यालयमा बसी आफूले निर्वाह गर्नुपर्ने सबै शैक्षणिक भूमिकालाई टसमस नभई निर्वाह गरेमा शिक्षक स्वतः गुरु बन्नेछ ।
सरकारको ठूलो लगानीका बाबजुद सामूदायिक विद्यालयको गुणस्तर कम देखिन्छ नि ? यसको कारण केलाई मान्नुहुन्छ ?
शिक्षा राज्यको दायित्वभित्र पर्नुपर्नेमा कूल बजेटको करिब १० प्रतिशत लगानी गरेर ठूलो भन्न मिल्दैन । विद्यालयका भौतिक, शैक्षिक, व्यवस्थापकीय र वातावरणीय पक्षमा सुधारका लागि ठूलो धनराशी चाहिन्छ । विनियोजित रकमको ठूलो हिस्सा तलबमा नै खर्चिनुपर्ने अवस्था छ ।
तलब वृद्धि हुँदा शिक्षक समेत कहिल्यै भनिँदैन । शिक्षकको मर्यादाक्रम के हो ? जति अव्बल भए पनि शिक्षकलाई विश्वास गरिँदैन, सर्वत्र शंकै शंका गरिन्छ । उच्च शिक्षा अध्यापन गर्नेहरुको नजरमा पनि स्कुले शिक्षकले पढाएनन्, गरेनन् भनिन्छ । समाजका लब्ध प्रतिष्ठित नेता, शिक्षाकर्मी, उच्च ओहदाका कर्मचारी र विद्वत् समूहका छोरा छोरी जबसम्म सार्वजनिक विद्यालयमा भित्र्याउन सकिंदैन, तबसम्म हाम्रो विद्यालय पूर्ण सुधारमा दिवास्वप्न देख्नु सरह हो । त्यसैले सार्वजनिक विद्यालयलाई विश्वास गर्ने वातावरण सरकारबाट पहल हुनुपर्यो ।
अहिले हामीले संस्थागत विद्यालयले छोडेका सोझा, निमुखा, ज्यादै कमजोर वर्ग, गरिखाने वर्गका जुनसुकै अवस्थाका विद्यार्थी पनि भर्ना गर्नुपरिरहेको अवस्था छ । सार्वजनिक विद्यालयले न प्रवेश परीक्षा, न स्तर परीक्षण, भेदभाव विना सबैलाई स्वागत गरिरहेका छौं । यिनलाई घरमा न स्वस्थकर खाना छ, न आङ्मा नाना छ । पढ भन्ने कोही छैन । विद्यालय शिक्षकले पढाएनन् भन्न सक्ने आँट गर्ने क्षमता भएका ज्यादै न्यून छन् । मात्र विद्यालयको भर । यिनै अवस्थाले हाम्रा विद्यालयको स्तर नदेखिएको हो । र पनि हाम्रा विद्यालयका बालवालिका अन्यको भन्दा चलाख छन् । व्यवहार जानेका र बुझेका छन् । हर क्षेत्रमा भिज्न र प्रतिष्पर्धामा उत्रन सकिरहेका छन् ।
कक्षाको सम्पूर्ण जिम्मेवारी कक्षा शिक्षकलाई सुम्पने व्यवस्था गर्ने, कक्षा कोठामा बिषयगत सामाग्रीहरु राख्ने व्यवस्था गर्ने, कक्षा शिक्षकले विद्यार्थीको अभिभावकसँग नियमित सम्पर्क गर्ने, शिक्षकहरुलाई कामको आधारमा पुरस्कृत र जिम्वेवारीमा हेरफेर गरिरहनुपर्ने, शिक्षकलाई अध्ययनशिल बनाउन इन्टरनेटको व्यवस्था हुनुपर्ने इत्यादी भएमा गुणस्तर वृद्धि हुन्छ।
शिक्षक तालीम कक्षा कोठामा पुगेको लाग्छ त ?
नढाटी भन्ने हो भने शिक्षकको तालीम कक्षाकोठा सम्म नपुग्नाले नै यो समस्या श्रृजना भएको छ । तालीम तालीमका लागि मात्र र टाइमपासका रुपमा लिइयो । त्यसैले समग्र कुरा गर्ने हो भने हालका दिनहरुमा शिक्षकले लिने प्रायः तालीम एउटा औपचारिता पुरा गर्ने अर्थात् बालुवाको सुन्दर आलिसान महल निर्माण गरेजस्तो मात्र देखिन्छ । सिक्ने, सिकाउने, शिक्षकले सम्पादन गर्नुपर्ने लक्ष्य निर्धारण तथा सिकाइमा अब्बल र सक्रिय शिक्षक निर्माण लक्षित तालीम भएन जस्तो लाग्छ । किनकी शिक्षकले आफूले सिकेको ज्ञान, सीप र धारणाका नविनतम प्रयोग कक्षाकोठामा पुर्याउन सक्नु पर्थ्योे, तर पुगिरहेको छैन । अबका तालीम क्षमता विकास, नेतृत्व विकास र प्रविधिमा आधारित भई शिक्षकको भूमिका र दायित्व, आचरण, लवाई, बोलाई जस्ता कुरामा केन्द्रित हुनुपर्दछ । नियमित अनुगमन मुल्याङ्कन र पृष्ठपोषण गरिनुपर्दछ । राम्रो गर्नेलाई पुरस्कृत गरिनुपर्दछ । अनि मात्र तालीमले सहि दिशा लिन सक्दछ । अन्यथा सुकेको रुखलाई हरियो चश्माले हेरे झैं हुन्छ ।
सामुदायिक विद्यालय सुधारको शुरुवात कहाँबाट गर्नुपर्ला ?
विद्यालय सुधारको शुरुवात स्थानीय तहमार्फत हुनुपर्दछ, जसका लागि लगानीमा अभिवृद्धि गर्ने, शिक्षकलाई विश्वास गर्ने, शिक्षक प्रोत्हान कार्यक्रम ल्याउने र विद्यालयमा व्यापक भौतिक तथा शैक्षिक पूर्वाधार निर्माणको प्रयास अविलम्ब थालनी गर्नुपर्दछ । सामूदायिक विद्यालय सुधारका लागि स्पष्ट शिक्षा नीति निर्माण गरी शिक्षामा लगानीको वृद्धि गरी पूर्णकालीन अधिकार सम्पन्न प्रधानाध्यापक नियुक्ति गर्ने व्यवस्था गर्नुपर्छ । सार्वजनिक विद्यालयको स्तर सुधार गरी शिक्षक, नेता, शिक्षाकर्मी, कर्मचारी, सेना, प्रहरी स्थानीय सरोकारवालाहरुका वाल बालिकाहरुलाई सार्वजनिक विद्यालयमा प्रवेश गर्ने गराउने वातावरण शृजना गर्नुपर्दछ । यसका लागि आकर्षक सुविधा सम्पन्न विद्यालय निर्माण र विषयगत क्षमतावान् शिक्षक, छोटो छरितो वि.व्य.स.को व्यवस्था गर्नुपर्दछ । शिक्षकले चाहे गर्दछन् भन्ने विद्वान शिक्षाविद्हरु पनि आफ्ना छोराछोरी सार्वजनिक विद्यालयमा भर्ना गरी खबरदारी गर्न सक्नु पर्दछ । हाल जति पनि बिद्वान शिक्षाविद् तथा शिक्षा प्रशासकले व्यक्त गरेका अभिव्यक्तिले मात्र विद्यालय सुधार हुँदैन । हाम्रा मन्त्री, सचिव, शिक्षाविद्हरुले विभिन्न मुलुक भ्रमण गरेका छन् । त्यहाका राम्रा अभ्यास थालनू गर्नुपर्यो । यसो भएमा हाम्रो विद्यालयमा विद्यार्थी भर्नामा तँछाड मछाड भई नियन्त्रण गर्न गाह्रो नहोला भन्न सकिन्न ।
सामूदायिक विद्यालयलाई कसरी प्रतिस्पर्धी बनाउन सकिएला ?
हाम्रो विद्यालय प्रतिस्पर्धी नभएको होइन, मात्र शिक्षा प्रशासकको र विद्वान शिक्षाविद्हरुको हामी प्रति हेर्ने नजर मात्र फरक हो । प्रायः अभिभावकको चाहाना संस्थागत विद्यालयतर्फ केन्द्रित छ । निःशुल्क र अनिवार्य शिक्षा भनियो तर लगानी गर्न सकिएन, जसले गर्दा गुणस्तर उच्च हुन सकेन । तमाम् अभिभावकलाई सरकारी विद्यालयप्रति आकर्षण गराई व्यापक विद्यार्थी भर्ना गराइयो भने गुणस्तर आफैं आउँछ । हाम्रो विद्यालयमा खेलकुद, साहित्य, कलाकारिता, बोली भाषा, संस्कार तथा सभ्यतामा आफ्नो आन्तरिक क्षमताअनुसार विकास गर्न सक्ने गरी शैक्षिक वातावरण बनाउनु पर्दछ । यसका लागि लगानी बढाउनु पर्दछ । विद्यालय जाँदा घरैबाट खुसी भएर आउने र विद्यालयमा रमाएर कक्षाकोठामा सिक्ने वातावरण मिलाउनु पर्दछ । विद्यार्थीको चाहाना र रुचि अनुसार प्रविधिको अत्याधिक प्रयोग गरेर शिक्षण सिकाइलाई प्रभावकारी बनाएर पनि आकर्षण गर्न सकिन्छ । अभिभावकले आफ्नो वालवालिकाको भाग्य तथा भविश्य सााुदायिक विद्यालयमैं देख्न सक्ने गरी शैक्षिक तथा भौतिक सुधार र कार्यान्वयनमा जोड दिनुपर्दछ ।
लकडाउनले शैक्षिक क्षेत्र तहस नहस भएको अवस्था छ । यो अवस्थाबाट उठ्न अब कसरी अगाडि बढ्नुपर्ला ?
लकडाउनले शैक्षिक क्षेत्र त अन्यौल नै छ । सरकारी स्तरवाट वैकल्पिक माध्यमवाट अध्यापन गराउनु भनेता पनि विना योजना गरिएको कार्यवाट सवै विद्यार्थीलाई समेट्न गार्हो छ । विस्तार शिक्षक अभिभावक र विद्यार्थीको दुरी नजिकिकरण गर्न टेलिफोन सम्पर्क, सामान्य भेटघाट गर्न जरुरी छ । Home schooling, community learning centre वाट पनि विद्यार्थी माझ सम्पर्कमा रहन सकिन्छ । शिक्षक विद्यार्थीलाई क्ष्त् मा पोख्त गराउन आवश्यक छ । यलष्लिभ अबिकक एउटा सीप सिक्ने अवसरको रूपमा लिनु पर्छ अगाडि वढ्न सकिन्छ ।
अन्तमा केही भन्न बाँकी छ कि ?
अन्तमा अन्तर्वार्ताको लागि अवसर दिनुभएकोमा प्रभातफेरी साप्ताहिक र प्रभातफेरी अनलाइनप्रति हृदयदेखि आभार तथा धन्यवाद प्रकट गर्दछु ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |