गोपालबहादुर थापा, अध्यक्ष
मुक्तिनाथ मन्दिर निर्माण उपभोक्ता समिति
पिता लालबहादुर थापा तथा माता दीर्घकुमारी थापाको कोखबाट १९९९ पौष १५ मा जन्मनुभएका सामाजिक धरोहर गोपालबहादुर थापाको बालापन अत्यन्तै संघर्षबाट व्यतित भएको र त्यो संघर्ष किशोरावस्था हुँदै जीवनको ३०औं बसन्तसम्म बेहोरेको तितो यथार्थ पोख्न पछि पर्नुभएन । उहाँ एक नयाँ पिढिका लागि सम्पन्न धनाढ्यको पगडी गुथिसक्नुभएको व्यक्तित्व भएपनि आफ्नो अतितलाई लुकाउन चाहनुभएन । यस्ता स्पष्ट वक्ता आजको यो समाजमा बिरलै पाइन्छ । हो, उनै स्पष्ट वक्ता सामाजिक अभियान्ता थापासँग प्रभातफेरी साप्ताहिक र प्रभातफेरी अनलाइनका लागि हाम्रा सहयोगीले गर्नुभएको वार्तालापको सार पाठकसामु पस्कन प्रयास गरिएको छ । स.
० तपाईंका दिनचर्या कसरी बित्दैछन् ?
धन्यवाद ! २२/२५ वर्षपछि आमुन्नेसामुन्ने देख्न पाइयो । मैले पनि ७८ बसन्त पार गर्दै गर्दा हिजो देखि लिएको अभियानलाई आज पनि निरन्तरता दिँदै आएको छु । जसको पछिल्लो प्रयास मुक्तिनाथ धाम निर्माणमा छु । अहिलेको दिनचर्या यसरी नै बित्दैछ भनौं ।
० यो उमेरमा पनि सामाजिक सेवामा समर्पित हुनुहुन्छ । मुक्तिनाथ धामको परिकल्पनासहित युद्धस्तरमा मन्दिर निर्माणमा लाग्नुभएको रहेछ । यसको परिकल्पना कसले ग¥यो ? लागत कति हो ? कसरी जुटिरहेको छ सहयोग ? प्रष्ट पार्न सकिन्छ ?
इतिहास जितेकाको मात्रै कोर्ने संस्कार छ । राम्रो कुरा त हार्नेको पनि सम्बोधन हुनुपर्छ । जबसम्म यो संस्कारको थालन हुन्न तबसम्म हाम्रो मुलुक जहिले पनि लोभी पापीकै चंगुलमा परिरहन्छ । सवाल मुक्तिनाथ धामको उठाउनुभएको छ– उमेरको उत्तरार्धमा मन बहलाउने गन्तव्यको खोजीमा थिएँ । त्यही बिचमा म ढाँट्न सक्दिनँ प्रल्हाद केसीले प्रस्ताव गर्नुभएको हो । त्यसपछि स्थानीय भद्रभलादमीहरुको भेलाबाट मेरो नेतृत्वमा समिति बनेर काम गर्ने योजना बन्यो । सोही योजना मुताबिक काम हुँदै गएको थियो तर पछिल्लो चरणमा प्रल्हादजी अलि निष्क्रिय भएको पाएको छु, खोई ! किन हो, मैले बुझ्न सकेको छैन । आफूले रोपेको बिरुवालाई मलजल, गोडमेल गर्नुको सट्टा टाढिनुको अर्थ बुझ्न सकिनँ, छोडिदिउँ यि कुरा, त्यो आफ्नो स्थानमा छ । यसको अनुमानित प्राविधिक अनुसारको लागत डेढ करोडभन्दा माथि छ । जहाँसम्म स्रोतको सवाल छ, अधिकांश स्रोत चन्दामै निर्भर छ । त्यसमा पनौती नगरपालिकाले होस्तेमा हैंसे गरेको छ । चन्दा दाताहरु बटुल्नमा इन्जिनियर रामकुमार बस्नेतको विशेष योगदान छ । वहाँ यस समितिको सदस्य र प्राविधिक प्रमुख पनि हुनुहुन्छ । उहाँको त्यो योगदानको समिति र श्रद्धालु भक्तजनले भुल्ने छैनन् ।
० के मुक्तिनाथकै स्वरुपमा मन्दिर लगायतका भौतिक संरचना बन्छन् त ?
हामी प्रयासमा छौं, तपाईं सञ्चारकर्मीहरु, चन्दा दाताहरु, सहयोगदाताहरु ढुक्क हुनुस् । तपाईंहरुको सहयोग रह्यो भने कुनै कुराको कमी हुन दिने छैन । नयाँ पुस्ता दिलोज्यान दिएर लागिपरेको छ । सम्भावना छ भने तपाईं पनि शिलालेखमा नाम कोर्ने प्रयास गर्नुस्, यो मेरो आग्रह हो । समग्र रुपमा सबै जनहरुसँग सहयोगको अपेक्षा राख्दछु । म भगवान्मा विश्वास राख्दै आएको छु । जसका कारण सडकदेखि महलसम्मको उपयोग गर्ने अवसर मिलेको छ । यो सबै मुक्तिनाथ भगवान्कै देन हो जस्तो लाग्छ । तँ आँट, म पु¥याउँछु भनेजस्तै भएको छ । जीवनमा कहिल्यै कुभलो चिताइएन । त्यसैको कारण भलो नै भलो भएको छ । खुल्ला दिलले दान गरौं, त्यहाँ आनन्द मिल्छ । त्यसैले समितिको अध्यक्षको हैसियतले सम्पूर्ण चन्दा दाताहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै पुनः सबैमा आश्वस्त गराउन चाहन्छु, तपाईंहरुको दानको सही सदुपयोग हुनेछ । निर्धक्कसँग दान गर्नुस्, पुण्य कमाउनुस् । “जीवनमा मैले लिन जानेको छैन, दिन मात्रै जानेको छु ।” भगवान्कै कृपाले आजसम्म पुगेको पनि छ ।
० तपाईंले सहयोगको आव्हान गर्दै मानवीयता देखाउन समेत अनुरोध गर्नुभयो, के हो आशय चाहिँ खोलिदिनुहुन्छ कि ?
आज मानवता भन्ने कुन चराको नाम हो जस्तो भएको छ । नैतिकता पैसामा किन्नुपर्ने भएको छ । अझ नेताहरुमा त सामाजिक भावना भन्ने नै छैन, मात्रै पैसा अथाह सम्पत्ति आर्जनका लागि जस्तोसुकै गलत क्रियाकलापमा सरिक हुन पछि नपर्ने भएका छन् । त्यसैले पनि उहाँहरुलाई झक्झक्याउन खोजेको हुँ । नैतिकता, जिम्मेवारी, जवाफदेहिता, इमान्दारी र पारदर्शीता हराउँदै गएका छन् । यदि यस्तो भयो भने “समृद्ध मुलुक बनाउने राज्यको योजनामा पूर्णविराम लाग्नेछ” भन्ने महसुस गरेको छु । त्यसैले सामाजिक चिन्तन मेरो कर्तव्य सम्झेको छु । सामाजिक अभियानलाई सफल पार्न मेरो अभिव्यक्तिले बल पुग्नेछ भन्ने विश्वास लिएको छु । जुन हैसियतका साथ मुक्तिनाथ धामको शिलान्यास भएको छ, त्यही उर्वराका साथ समापन गरी कृति कायम गर्नेछौं भन्ने विश्वासका साथ मुक्तिनाथ धामको पहिचान दिने जर्मकोमा छौं । जसले धार्मिक पर्यटनको क्षेत्रमा अनुकरणीय भूमिका निभाउने छ भन्ने विश्वास समितिले लिएको छ ।
० यसो भनिरहँदा तपाईं बिच राजनीतिक रुपमा एउटा सक्षम नेतृत्व रहेको महसुस हुन्थ्यो तर आज तपाईंसँगको भेटमा त अर्काे आभाष पाएँ नि ! के हो यथार्थ ?
हो, सत्य त्यही हो । म त्यतिबेला सुब्बागाउँ गाउँ विकास समितिको अध्यक्ष थिएँ । साथै सामाजिक अभियान्ता पनि हुँ । मेरो अध्यक्षताको कार्यकालमा सुब्बागाउँ गाउँ विकास समितिको मुहार फेर्ने अवसर जु¥यो । त्यतिबेला प्राप्त गरेको अवसरले आज पनि शीर उठाएर हिँड्न मिलेको छ । नौ वटै वडामा विवादरहित ढंगबाट विकास निर्माणका कार्यलाई अगाडि बढाएँ र सफलता पनि प्राप्त गरें । हिजो मैले कोरेका डोबहरु नै आजको मार्गचित्र बनेका छन् । मेरो कार्यकालमा भन्नैपर्दा विवाद जन्मियो त उही सल्लेगाउँ जाने बाटो खन्ने क्रममा नगन्य रुपमा हो । त्यो पनि केहि पूर्वाग्राही इगो बोकेकाहरुको गलत सोचाइका कारण सिर्जना भएको हो । नत्र मेरो कार्यकाललाई सफल कार्यकालको रुपमा गाउँ विकास समितिले नै लिनपुग्यो । त्यसैको प्रतिफल भन्नुपर्दा आजसम्म मौलाएको छ ।
० भन्नाले, तपाईंको अध्यक्षतात्मक कार्यकालमा सुब्बागाउँ गाउँ विकास समितिले काँचुली फे¥यो भन्न खोज्नुभएको हो ?
हो भन्दा फरक पर्दैन । अरु त म भन्न सक्दिनँ, ३० वर्षे पञ्चायत व्यवस्थामा कतिले अध्यक्ष चलाए, कति मिटर बाटो खनियो हेर्न सक्छौं । किनकी पञ्चायतमा पनि मैले जनपक्ष उम्मेदवार बनेर उम्मेदवारी दिएको थिएँ । बिडम्बना ! पराजित भएँ । जब २०४६ सालको परिवर्तनपछि प्रजातान्त्रिक व्यवस्थालाई उपयोग गर्ने जमर्काे सहित कांग्रेसबाट तत्कालिन जनमोर्चाको सहयोगमा गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएँ । त्यतिबेला वार्षिक बजेट ३५ हजार आएको थियो । जति पनि विकास निर्माणका काम गरें, मेरो अगुवाईमा दालमोठ, चिउराको भरमा स्वतः स्फूर्त रुपमा गाउँवासीहरुले विकास निर्माणमा साथ दिए । गाउँवासीहरुले महिनौं महिना लगाएर बनाएका बाटाघाटा, पाटीपौवा, मठ–मन्दिर र भवन अहिले पनि प्रमाणका रुपमा छन् । तत्कालिन अवस्थामा आजको जस्तो बजेटको खोलो बग्दैन थियो । गाउँवासीहरु आफैंले ज्यालाबनी गरेर ल्याएको खर्चलाई नै विकास निर्माणमा लगाउन पुग्थे । त्यतिबेला जति पनि काम भए, सबै जनश्रमदानबाटै हुन्थ्यो । आज त ढोकाको ठेलामा लागेको धूलो पनि सरकारले सफा गरिदिनुपर्छ भन्ने जनभावना जाग्न पुगेको देख्दा विरक्त लाग्छ । त्यति मात्र होइन, आफूलाई नेता भन्न रुचाउनेहरु पनि मानवीय भावनालाई लत्याउँदै अहम्ताको आडमा आफैंलाई नेता भन्न रुचाउँछन् । यो प्रवृत्ति हामी र हाम्रा लागि असह्य सावित महसुस गर्दछु । नेता त जनताबाट अनुमोदित हुन जरुरी छ । जब जनताबाट अनुमोदित हुँदैन, तब ऊ नेता नै हुन सक्दैन । कसैको हनुमान बनेर नेता हुन खोज्नेहरुका लागि जनताले पाठ सिकाउन जरुरी छ ।
० तपाईंको भनाईमा नेता भनेको जनताद्वारा जनअनुमोदित मात्रै हो भन्न खोज्नुभएको हो ?
हो । पछिल्लो समय नेपालको राजनीतिमा झोलेहरु हाबी भएका छन् । यसले राजनीतिमा गलत संस्कारको विकास गरेको प्रत्यक्ष देख्न सकिन्छ । यसो हुनु नेपाल र नेपालीका लागि दुर्भाग्य भन्छु । मेरो राजनीतिक यात्राको अनुभव लिने हो भने म ०४० सालबाट राजनीतितर्फ नगन्य रुपमा चासो राखेको व्यक्ति हुँ तर मेरो त्यो यात्रा राजनीति नभएर सामाजिक रुपान्तरणको अभियानको रुप बनेर आयो । यसलाई राजनीतिक रंग दिन मन लागेन र चाहिनँ पनि । जसका कारण आजसम्म पनि आलोचनात्मक शब्द सुन्नुपरेको छैन । मैले यो यात्रा अवधिभर कसैलाई पनि राजनीतिक आँखाले हेरिनँ । जसका कारण नेपाल रेडक्रस सोसाइटी उपशाखा देखि गैर सरकारी संस्थाहरु सहज रुपमा मौलाउने अवसर सुब्बागाउँमा पायो । त्यसैको प्रतिफल भन्नुपर्छ, मैले चालेका प्रत्येक कदम सफल भएका छन् । किनकी मैले कहिल्यै पनि सामाजिक रुपमा राजनीतिक आँखा राखिनँ । त्यसैले बाटोघाटो, पुलपुलेसा, चौतारो, पाटीपौवा, मठमन्दिरको स्तरोन्नति र निर्माणमा सफलता चुम्न पुगेको छु । यसमा सुब्बागाउँवासी सँगसँगै भगवान्कै आशिर्वाद प्राप्त भएको मैले महसुस गरेको छु । नत्र नगन्य बजेटले गाउँकै मुहार फेर्ने सम्भावना हुन्थ्यो ? यो पञ्चायतकालमै अति संवेदनशील गाउँ पञ्चायतभित्र गनिएको गाउँ विकास समिति हो । यस गाउँ विकास समितिमा रहेर पारदर्शी ढंगबाट विवादरहित रुपमा काम गर्नसक्ने वातावरण बन्नु आफैंमा गौरवको विषय हो ।
० तपाईंले यसो भनिरहँदा पछिल्लो पटक राजनीतिमा त असफल हुन पुग्नु भयो नि होइन ?
होइन ! यो भ्रम हो । आस्थाका हिसाबले पनौती नगरपालिकाको वडा नं. ५ अहिले पनि प्रजातान्त्रिक विचार बोकेका व्यक्तिहरु अगाडि छन् । मैले अघि नै भनें मेरो हेराइ र अन्य तहतप्काको हेराइ र गराईमा आकाश पातालको फरक छ तर चुनावमा त्यस्तै तिक्दम हुन्छ । शाम, दाम, दण्डभेद सबै प्रयोग हुन्छन् । नेतृत्वले लोभीपापीले जेलेको समाज बुझ्न कठिन छ । कुनै पनि आस्था बोकेकाहरु गाईको दुधले नुहाएको पाइँदैन । त्यसैले यस किसिमका प्रतिक्रिया आउनु नौलो होइन । जुन परिणाम आयो, त्यो नै सर्वेसर्वा मान्नुहुन्न । त्यसैलाई मापन गर्ने कसीको रुपमा लिनुहुन्न । मानिसलाई असफलताले नै सफलतातर्फ प्रेरित गर्दछ । सबैभन्दा ठूलो मानिसमा चिन्तन हुनुपर्छ । विश्लेषण गर्ने क्षमता हुनुपर्छ, लगावले नै उद्देश्य चुम्न सकिन्छ । यसैमा समर्पित हुनसक्ने क्षमता राख्नेले मात्र लक्ष्यमा पुग्न सक्छ । हरेश खानु हुँदैन, निरन्तर समर्पित हुँदै गएपछि सफल भइन्छ । बहुलवादको गहना नै यहि हो ।
० अब विषय प्रसंगलाई अलि बदलौं, तपाईं त एउटा सफल उद्यमी पनि होइन र ?
हो, मेरो अतित केलाउनुहुन्छ भने एकपटक तपाईं आफैं झस्किनुहुन्छ । मैले जीवनमा कति संघर्ष गरेर आजको मिर्मिरेमा आइपुगेको छु । नापी कार्यालयमा काम गरिनँ कि मैले, स्वास्थ्य कार्यालयमा काम गरिनँ कि मैले, जिल्लाका विकट बस्तीहरुमा पुगेर मानवीय सेवा समर्पित भएको झझल्को अहिले पनि आउँछ । ति दिन सम्झिँदा भावव्हिल हुने अवस्थामा पुग्छु । त्यतातिर नजाउँ । मेरा जीवनका ३०औं बसन्त पारिवारिक व्यवस्थापनका संघर्षमा बितेको दृष्टांत यि हरफहरुले पुष्टि गर्दछ । त्यसैको प्रतिबिम्ब आज कसैको पनि एक दाना आफूमा नपरोस् बरु तड्पिएका पिडाहरुमा मलमपट्टि लगाउन खर्च गरौं भन्ने लाग्छ । त्यसपछि १० वर्ष दुग्ध व्यवसायमा लागें, तत्पश्चात् कुखुरा व्यवसायका लागि आवश्यक पर्ने दाना डिपोको रुपमा व्यवसायलाई अगाडि बढाएँ ।
विस्तारै दुग्ध व्यवसायलाई विस्तापित गर्न पुगें र आफैंले फर्म दर्ता गरेर लक्ष्मी दाना उद्योगका नाममा आजसम्म व्यवसाय अगाडि बढाइरहेको छु एकातर्फ भने अर्काेतर्फ व्यवसाय सँगसँगै सामाजिक क्षेत्रमा पनि समर्पित हुँदै आएको हुँदा गाउँ विकास समितिको अध्यक्ष सँगसँगै वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउँदै गर्दा गत स्थानीय निर्वाचनमा आफूले युवा पिढिलाई जिम्मेवारी हस्तान्तरण गर्न पुगेको हुँ तर सामाजिक कार्यमा भने आज पनि निरन्तरण रुपमा लागिपरेको छु । आजसम्म पनि वनको उपभोक्ता समितिको अध्यक्ष देखि मुक्तिनाथ मन्दिर निर्माण समितिको अध्यक्षको जिम्मेवारी बहन गर्न यो समाजले बाध्य पारेको छ । यदि मसँग सामाजिक भावना हुने थिएन भने सबै जिम्मेवारी मैसँग आएर ठोकिने थिएनन् । मेरो जीवनको ७५ प्रतिशत यात्रा सामाजिक सेवामा व्यतित हुँदै आएको महसुस गरेको छु । त्यसैले पनि आफूलाई राजनीतिकर्मी नभनीकन सामाजिक अभियान्ता भनिदिएकोमा गर्व लाग्छ ।
० तपाईंको अभिव्यक्ति अनुसार त तत्कालिन सुब्बागाउँ गाउँ विकास समितिको अंश–अंश सम्मको अभिलेख अझै जीवन्त छ जसरी प्रस्तुत हुनुभयो, के हिजोको सुब्बागाउँ र आजको पनौती नगरपालिका वडा नं. ५ का बारेमा थप केही भनिदिन उचित सम्झिनुहुन्छ ?
किन नहुनु ? म पनि पूर्व जनप्रतिनिधि भएको नाताले यति कुरा त राख्न सक्छु । आज र हिजोमा ठूलो अन्तर भेटिएको छ । हिजो मानवीय भावना बोकेका समाजमा निःस्वार्थ रुपमा केही गर्नुपर्छ भन्ने सोच भएका बौद्धिक व्यक्तित्वहरुको संसर्ग रहन्थ्यो तर आज नामधारी जनप्रतिनिधि भन्दा पनि फरक पर्दैन, जसले तत्कालिन सुब्बागाउँ पञ्चायतको स्वरुप नै परिवर्तन गरिदिएका छन् । भू–बनौट नै अपांग बनाइदिएका छन् । जसका कारण मैले माथि नै भनिसकें स्वरुप नै बदलिएको छ । छिमेकी नगरपालिकाका जनप्रतिनिधिहरुको निच सोचका कारण सुब्बागाउँ गाउँ विकास समिति थिचिँदै किचिँदै आएको छ । उहाँहरुको पेलाहा नीतिकै कारण स्रोत, साधन नहुँदाको पिडा बोकेर बाँच्न बाध्य छ सुब्बागाउँ ।
० तपाईंले जुन विषयवस्तु जोड्न खोज्नुभयो अझ प्रष्ट्याइदिनुस् न त !
अरु के हुनु बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाको पेलाहा नीतिका बारेमा भन्न खोजेको हुँ । उहाँहरुले नापी कार्यालयले गरेको रेखांकनलाई लिएर जुन दाबी गरिरहनुभएको छ, त्यो सरासर गलत हो । भौगोलिक सिमाना र नापीको सिमाना भनेका फरक–फरक पाटा हुन् । उहाँहरुको भनाई अनुसार कसैको खेतको आली, कसैको घर करेसो सिमाना हुन सक्दैन, त्यो त भाइ अंशबण्डापत्रभित्रका व्यवहारिकतालाई लिन सकिन्छ तर उहाँहरुले त्यही विषयलाई जबरजस्त पेलेर लाद्ने काम गर्नुभएको छ । मैले त्यसैलाई संकेत गर्न खोजेको हुँ ।
० तपाईंको बुझाइ अनुसार तत्कालिन सुब्बागाउँ गाउँ विकास समितिको सिमाना कहाँदेखि कहाँसम्म थियो खुलाइदिनुस् न त !
विवाद सिर्जना भएको सिमानाका बारेमा भन्नुपर्दा बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाले छोएका भूभाग नै विवादमा पारिएका छन् । हालको बनेपा नगरपालिकातर्फ हेर्ने हो भने लप्सीको गहिरो, घट्टेकुलो, रातो पुलबाट पुण्यमाता खोला हुँदै आरटिओ (क्षेत्रीय पारवहन संगठन) रोड किटानी भएको छ । त्यसभित्रको सिमाना खास त जनागाल गा.वि.स. र सुब्बागाउँ गा.वि.स. बिचको सिमानालाई लिन सकिन्छ, जुन भौगोलिक रुपमा तय भएका हुन् । अर्काेतर्फ धुलिखेल नगरपालिकाको श्रीखण्डपुर बजार पश्चिमबाट बग्ने पुण्यमाता खोला, घट्टेखोलो र आरटिओ (क्षेत्रीय पारवहन संगठन) रोड, चौकोट हुँदै रामपुर थुम्काको पानीढलो उत्तरपूर्वको भूभाग धुलिखेल नगरपालिकामा पर्छ ।
अहिले विवाद सिर्जना भएका भूभाग यि नै हुन् । बनेपालाई पटक पटक धनेश्वर पनौतीतर्फ पायक पर्दैन, त्यतै राख्नुस् यो बस्तीलाई भौगोलिक रुपमा पनि अपायक भएको छ भन्दा बनेपाको नेतृत्वले किन हो, स्वीकार्न सकेन तर भूगोलमा भने दाबी गर्नुले उसको कुत्सित् मनसाय प्रष्ट बुझिन्छ । अब त्यहाँको छिनोफानो त्यहिँका मतदाताले गर्न आवश्यक छ । बिडम्बना ! धनेश्वर क्षेत्रको सम्पूर्ण विकास निर्माणका योजनाहरु तत्कालिन सुब्बागाउँ र हालको पनौती नगरपालिकाको लगानीमा छ तर कर लगायतको रोयल्टी बनेपा नगरपालिकाले असुल्दै आएको छ । यो गलत परिपाटीका बारेमा सरोकारवाला निकाय पनि गम्भीर हुन जरुरी छ । समस्या सानो होला, तर यसले ठूलो रुप नलिएला भन्न पनि सकिन्न । त्यसैले आपसी सहमतिमा समस्यालाई समाधान गर्न नेतृत्व तयार हुन आवश्यक छ । अब धुलिखेल किन पुण्यमाता तरेर आएको छ ? खोजी गर्न जरुरी छ । पहिलो उसको स्वार्थ छलेश्वरको पानी हो ।
अर्काे उत्पादनयुक्त भूमि र आकर्षक योजनासहित निर्माण भएका भौतिक संरचना र आयोजना माथि नै उसको गिद्दे दृष्टि रहेको छ । प्रमाणका आधारमा हेर्ने हो भने धुलिखेल नगरपालिका आरटिओ रोड पश्चिम, दक्षिण आउन नै मिल्दैन तर धुलिखेलले जबरजस्त पेलेर आफ्नो नक्सामा यो भूमिलाई गाभेको छ । यो जतिको नैतिकहीन कार्य अरु के हुन सक्छ ? पनौतीको चालू नेतृत्वले नैकिनटार मुनिबाटै भूगोललाई सुम्पिदिएका छन् रे भन्ने गाइंगुईं सुनेको छु । यदि त्यस्तो हो भने किन हिजो उपमहानगरपालिका बनाउने प्रस्तावका विरुद्ध फलामे खम्बा भएर उभिन पुग्नुभो ? यो गम्भीर विषय बनेर आएको छ । मैले देखेका केही कटु यथार्थता यि नै हुन् सिमाका बारेमा । यदि यस किसिमको गतिविधिलाई नेतृत्वले प्रसय दिएको भए यो नेतृत्वको गम्भीर भुल हो भन्न चाहन्छु ।
० तपाईंले जुन कुरा उठाउनुभयो, त्यो अनुसार हालका जनप्रतिनिधिले सिमानाका विषयलाई गम्भीर ढंगबाट लिएनन् भन्ने हो ?
हो, उहाँहरुले जनताको मत लिइसकेपछि जनभावनाअनुसार काम गर्नुपर्छ । जनताको आकांक्षामा प्रश्न चिन्ह खडा गर्न दिनुहुँदैन । सिमानाका बारेमा यदि आफूलाई थाहा छैन भने अघिल्लो नेतृत्व वा तत्कालिन स्थानीय विकास मन्त्रालयमा पुगेर भएपनि प्रमाण खोज्न आवश्यक छ । बनेपा र धुलिखेलको क्रियाकलापलाई टुलुटुलु हेरेर बस्नु उहाँहरुको अकर्मण्यता हो भन्ने लाग्छ । अझै पुरानो पनौती नगरपालिका वडा नं. ३ सल्लेको सवालमा बनेपा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष लगायतको टिमले ठाडै हस्तक्षेप गरेर कागेथुम्का देखि चिहानडाँडा हुँदै सेतामाटे सम्मको भूभागमा भोगचलन गर्न समेत स्थानीयलाई रोक लगाएको भन्ने सुन्न आएको छ । हुन त बनेपा र धुलिखेलको दाबी अनुसार तत्कालिन वडा नं. ३ महेन्द्रज्योति गा.पं. ले रेखांकन गरेको हो । त्यो हिसाबमा सिंगो वडा बनेपा नगरपालिकाको अभिन्न अंग हुन जान्छ ।
०७३ पछिको स्थानीय सरकारले आफ्नो सिमानाका बारेमा अझै पनि खोज खबर गरेको भेटिँदैन । पनौती नगरको भूगोलमा बनेका भवनहरुको नक्सा पास र सम्पत्ति कर बनेपा र धुलिखेल नगरपालिकाले उठाइरहेका छन् । यहाँ त अचम्म छ, मैले काठमाडौंमा घर किनेको छु, त्यसैले त्यो पनौती नगरपालिका हुनुपर्छ भने जस्तो गरेका छन् । अब यो बारेमा उहाँहरुको बुझाइ के हो मैले बुझ्न सकिरहेको छैन । ०३०÷०३१ सालदेखिकै भोगचलन र भोगाधिकारलाई हेर्ने हो भने पनि हालको पनौती नगरपालिका वडा नं. ४ र ५ माथि छिमेकी नगरपालिकाहरुले धावा बोल्दै आएको देखिन्छ । हुँदाहुँदा परापूर्वकालदेखि भोगचलन गर्दै आएको भूभागमा जनप्रतिनिधि स्वयं उपस्थित भएर स्थानीयहरुलाई दुःख दिनु कतिको जायेज हुन्छ ?
० जाँदाजाँदै अन्तमा मैले सोध्न छुटेका तपाईंबाट केही राख्नैपर्ने महसुस गरेका केही भए सम्बोधन गरिदिनुस् ।
सबै विषय समेटिए भन्ने लाग्छ तर जति नै ओकले पनि अपूरै हुन्छ । फेरि पनि पावनधाम बन्दै गरेको अवस्थामा सम्पूर्ण श्रद्धालु भक्तजन र सहयोग दाताहरुप्रति व्यक्तिगत रुपमा म र समितिको तर्फबाट आभार व्यक्त गर्दै सहयोग गर्ने भावना अझ उच्च हुँदै आउने अपेक्षा राखेको छु । जीवनको ७८औं बसन्तमा पाइला बढिरहँदा जुन भावनाहरु पोख्ने अवसरका रुपमा सम्झिनुभयो, तपाईं र तपाईंको सञ्चारकर्मीको टिमप्रति आभार व्यक्त गर्दै सत्य, तथ्य, निष्पक्ष पत्रकारितामा दत्तचित्त भई कलम चलिरहोस्, यहि नै मेरो शुभकामना छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |