सहकारीको यात्रामा २०औं वर्षदेखि निरन्तर प्रतिबद्ध रुपमा समर्पित व्यक्तित्व सहकारी अभियान्ता दिलिप शर्मा जंगम, जसले सहकारीसम्बन्धी समय सापेक्षित लेखहरुका सँगसँगै सहकारीमा महत्वपूर्ण भूमिका खेल्ने सहकारीको सारथी प्रकाशन गरेर चर्चामा रहेका जिल्ला सहकारी संघ लि.का सचिवसँग सहकारीसम्बन्धी समसामयिक विषयमा रहेर प्रभातफेरी साप्ताहिक र प्रभातफेरी अनलाइनका लागि गरिएको कुराकानीको सार पाठकसामु पस्किने जमर्काे गरेका छौं । सं.
दिलिप शर्मा, सचिव
जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोक
नमस्कार, अहिले के मा व्यस्त हुनुहुन्छ ?
सहकारी अभिवादन, मेरो अहिलेको व्यस्तता भनेको सहकारी अभियानमा नै हो । ब्यक्तिगत काम भन्दा बढी समय मैले जिल्ला सहकारी संघ लि.को सचिवको जिम्मेवारी प्राप्त पश्चात उक्त पद अनुसार भूमिका निर्बाह गर्दै आएको छु । हप्तामा एउटा सहकारी सम्वन्धि लेख रचनालाई आफुले बुझेको अभियानका बिषयहरु पस्कने जमर्को गर्दै आएको छु । यो काममा लगभग २ बर्ष निरन्तर प्रयारत छु । अहिले पनि जिल्ला सहकारी संघ लि. को काममा नै व्यस्त छु । कसरी संघका संस्थागत विकास गर्दै अगाडि बढाउने भन्नेमा नै दिनहरु वित्ने गरेको छ ।
जिल्ला सहकारी संघ लि को संक्षेपमा गतिविधिहरु बताइदिनुहोस न ?
जिल्ला सहकारी संघ लि. जिल्लामा जिल्लाका सबै प्रकृतिका सहकारी संस्था÷संघहरुको अभिभावकीय भूमिका निर्बाह गर्ने छाता संघको आभाष दिने काम हामीले गरेका छौं । सहकारी संस्थाहरुमा सचेतना, सहकारीहरुको प्रवद्र्धनात्मक क्षेत्र, क्षमता अभिबृद्धि, ऐन, नियमावली, कर लगायत बिषयहरुका बारेमा सुसुचित गराउने जस्ता कार्यहरु जिल्ला सहकारी संघले गर्दै आइरहेको छ । जिल्लामा रहेका १३ वटै स्थानीय तहहरुमा सहकारी समन्वय समिति गठन गर्ने अभियान, सहकारीको माशिक बुलेटिन प्रकाशन, संघमा सबै खालका सहकारी संस्थाहरुलाई आवश्यक पर्ने खातापाता लगायत स्टेशनरी बिक्रि कक्षको व्यवस्था, सहकारी स्मारिका, निश्चित समयमा नै सहकारीको बार्षिक साधारण सभा, राष्ट्रिय सहकारी महासंघ, सहकारी विभाग, बोर्ड तथा सहकारी मन्त्रालयहरुसँग नियमित सम्पर्क समन्वय गर्दै जिल्लाका ३ वटा नगरपालिका धुलिखेल, पाँचखाल र मण्डनदेउपुरमा १२ वटा सहकारीमा तरकारी तथा फलफुल संकलन केन्द्र निर्माण र विभिन्न उपकरणहरु सहयोग गर्दै सहकारी बजार विकास कार्यक्रम मार्फत कार्यक्रमहरु अगाडि बढाइरहेका छौं । साथै संघको खाली रहेको जग्गामा सहकारी भवन निर्माणका लागि मन्त्रालयसँग समन्वय गरी भवन निर्माणका लागि डि.पि.आर गर्ने, सर्भे तथा माटो परिक्षण समेत सम्पन्न गरी रु. ७ करोड बरावरको सहकारी भवन निर्माणको सम्झौता समेत सम्पन्न भैसकेको छ । भने ६ वटा सहकारी संस्थाहरुका लागि तरकारी तथा फलफुल संकलनका लागि गाडी वितरणका कामहरु समेत सम्पन्न भउका छन् ।
जिल्लामा रहेका सहकारीका लागि जिल्ला सहकारी संघ लि. को भूमिका कस्तो छ ?
जिल्ला भित्र रहेका सबै सहकारी संस्थाहरु हाम्रा मेरुदण्ड हुन । जिल्ला सहकारी संघमा आबद्ध भएका वा नभएका सबै सहकारीलाई हामीले उत्तीकै चासो देखाएका छौं । प्रारम्भिक सहकारी संस्थाहरु बलियो भएमा संघ बलियो हुन्छ भन्ने बुझाई हाम्रो छ । सहकारी संस्थाहरु अब प्रविधि मैत्री हुनुपर्दछ र नीति, विधि र प्रविधिमा आधारित भइ सञ्चालन हुनुपर्दछ भनेर संघले स्थानीय तहमा नै गएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, नीति निर्माणका लागि सहयोग गर्ने, तालिम, गोष्ठि आदि सञ्चालन गर्ने र उत्पादनमूलक कार्य सहित आय आर्जनका पक्षमा जोड दिनका लागि हाम्रो अभियान जारी राखेका छौं । विभिन्न क्षेत्रमा प्राविधिक सहयोग, सचेतनामूलक जानकारीका लागि जिल्ला सहकारी संघ लि का प्रकाशन तथा कृतिहरु प्रारम्भिक संस्थाहरु समक्ष पुर्याउने कामहरु पनि हामीले गर्दै आएका छौं भने आर्थिक अभाव हुन नदिन पनि संस्था÷संघहरुका लागि सहयोग गर्दै आएका छौं ।
साधारण सभासँगै निर्बाचन पनि हो भन्ने सुनेको छु कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
जिल्ला सहकारी संघ लि, काभ्रेको यो पौष महिनाको २७ र २८ गतेका दिन ३९ औं बार्षिक साधारणसभा सँगै निर्बाचनको कार्यक्रम पनि हुने निर्णय भइसकेको छ र सूचना समेत जारी भईसकेको छ । सहकारी ऐन २०७४ ले व्यवस्था गरेको तथा संघको विनियममा आधारित भएर ४ बर्षे कार्यकाल मंसिर महिनामा सकिन लागेकाले कार्यकाल सकिनु भन्दा पहिला नै पौष २७ र २८ गतेलाई हामीले साधारणसभा तथा निर्बाचनका कार्यक्रम सम्पन्न गर्ने निर्णय गरि संघमा आबद्ध सबै संस्था÷संघहरुमा पत्राचार गरिसकेका छौं विभिन्न पत्रपत्रिका लगायत सामाजिक सञ्जाल मार्फत पनि हामीले सूचना गरेका छौं । र उक्त साधारणसभाका लागि संघको प्रतिवेदन तयारी लगायतका कार्यहरुमा व्यस्त भएर काम गर्दै छौं ।
संघमा अबको नेतृत्व कसको रहन्छ ?
नेतृत्व कस्को रहने भन्दा पनि सहकारी अभियानलाई कसरी अगाडि बढाउने र संस्थागत पद्दतीको विकास, सुशासन, पारदर्शीता र जवाफदेहितामा जिम्मेवारीपूर्वक कसरी अगाडि बढ्ने भन्ने कुरा प्रमुख हो भन्ने लाग्छ । हामीले हाम्रो कार्यकालमा जिल्लाको सहकारी अभियानलाई एउटा उचाइमा पुर्याउने काम गर्यौं भन्ने लाग्दछ । काभ्रेका १३ वटै पालिकामा सहकारीका विविध कार्यक्रमहरु लिएर पुगेका छौं । विभिन्न खालका तालिम गोष्ठिहरुमा सहभागिता बृद्धि गरेका छौं । जिल्ला संघ काभ्रेका भएको अनुभूति समेत दिलाउन सकेकाले सहकारी अभियानमा योगदानको कदर गर्दै अभियानलाई टिकाउने, समृद्ध बनाउने टिमको नेतृत्व जसले गरेको अभियानले पनि उसैको नेतृत्वलाई स्विकार गर्दछ र प्रतिनीधिको रुपमा सहभागि हुने अभियानकर्मीहरुले पनि त्यस्तै नेर्ततवलाई साथ दिनुहुनेछ र नेतृत्व स्विकार गर्नुहुन्छ भन्ने लाग्दछ ।
अहिले जिल्ला सहकारी संघमा आबद्ध सहकारीहरु कति छन् र प्रतिनिधि कति सहभागी रहन्छन् ?
काभ्रेपलाञ्चोक जिल्लामा १४९५ वटा सहकारी संस्थाहरु छन् । जस मध्ये ५५० का हाराहारीमा हामीसँग विभिन्न संस्था÷संघहरु जोडिएका छन् । केहि संस्थाहरु एकिकरण भएका र सटिङ समेत गर्नुपर्ने भएकाले केहि दिनमा यसको निक्र्योल हामी गर्दैछौं । एक संस्था एक प्रतिनीधिको रुपमा आउने व्यवस्था भएकाले जति संस्था आबद्ध हुन्छन त्यती नै संख्यामा प्रतिनीधिहरुले सहभागिता जनाउने व्यवस्था रहेको छ ।
के जिल्ला सहकारी संघले गति लिएकै हो त ?
पक्कै पनि । जिल्ला सहकारी संघ लि. ले यो पछिल्लो समयमा निकै प्रगती गर्दै गरेको अनुभूति आम सहकारी अभियानकर्मीहरुलाई परेको हुनुपर्दछ । अझ यस्तो कुरा तपाइहरु मिडियाकर्मीहरुले अभियानसँग बुझ्ने कुरा हो भन्ने लाग्दछ । प्रगती र गतीको कुरा गर्दा हामी हाम्रो काममा निकै सन्तुष्टि छौं किनभने हामीले २०७३ साल मंसिरमा जिम्मेवारी सहित उपस्थित जनाउँदा २ करोड ५० लाख जतिको वासलात लिएर जिम्मेवारी लिएका थियौं । आज पौष १० गतेसम्मको अवधिको मात्र कुरा गर्ने हो भने हामी २१ करोड ५० लाख माथिको वासलात बनाउन सफल भएका छौं । त्यती मात्र होइन विभिन्न समन्वयकारी निकाय, स्थानीय सरकार, प्रदेश सरकारसँगको सहकार्यमा तालिम, गोष्ठि लगायतका कार्यक्रम लगायत जिल्लाको समग्र सहकारीको तथ्यांक पुस्तक प्रकाशन गर्ने र अवस्था झल्काउने, समग्र जिल्लाको सहकारीको ईतिहास झल्कने स्वर्ण बर्ष पुस्तक प्रकाशन गर्ने, सहकारी भवनको निर्माणको लागि लगभग ७ करोडको भवन निर्माणको सम्झौता सम्पन्न गर्ने जस्ता अनगिन्ति कामहरु हाम्रै पालामा सम्पन्न गरेका छौं । अझ अभियान तथा संस्थाहरुसँगको विस्वास जित्ने काममा हामीले गएको बर्ष सदस्य संस्था÷संघहरुलाई शेयरमा लगानीको हिसावले १० प्रतिशत र यो बर्ष १३ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय समेत गरि सकेका छौं । यो नै हामी सक्षम भएको उदाहरण हो । जिल्ला सहकारी संघले नितिगत रुपमा यस्तो लाभांशको व्यवस्था गरेको पहिलो नै हो । ईतिहास तपाईले हेर्न सक्नुहुन्छ ।
तपाईले भने अनुसार अभियानले सार्थकता प्राप्त गर्ने योजनाहरु के के छन् त ?
राम्रो प्रश्न गर्नुभयो । माथिका उपलब्धिहरुको बयान गर्दा गर्दै पनि सहकारी भित्र विभिन्न खालका समस्याहरु चाहिँ छन् । अहिलेको सबै भन्दा अभियानले बुझनुपर्ने र जुध्नुपर्ने चूनौतीहरु पनि त्यत्तीकै छन् । सबै अभियानमा होमिएका अभियानकर्मीहरु बीच एकता र संगठन निर्माण पहिलो शर्त हुनुपर्दछ । जसबाट सहकारीका जस्तासुकै चूनौतीहरुलाई पनि पार लगाउन सकिन्छ । सुद्दिकरण, पारदर्शीता, सुशासन, अनुगमन र नियमन जस्ता बिषयहरुलाई अभियानको रुपमा लिएर अगाडि बढ्नुपर्दछ भन्ने लाग्दछ । शहरमा भएका सहकारी र ग्रामीण क्षेत्रमा भएका सहकारीहरुलाई छुट्टा छुट्टै योजना लिएर जानुपर्दछ । सहकारी अभियान खासै ग्रामीण क्षेत्रमा पुग्न सकेको छैन । जिल्लाको तथ्यांकले हाम्रो जिल्लामा १० प्रतिशत पनि सहकारीहरु पनि ग्रामीण क्षेत्रमा पहुँच बृद्धि गर्न सकेको छैन । अभियानलाई यो एउटा ठूलो चूनौती नै हो । नीति, विधि र प्रविधिलाई आत्मसात गर्दै सक्षम नेतृत्व विकासमा हामी लाग्न सकेमा हामा अभियानले सार्थक रुपमा समृद्धि पाउनेछ ।
पछिल्लो समय सहकारीको मूल्य मान्यतालाई संघ संस्थाहरुले पछ्याएको देखिँदैन, यसबारे के भन्नुहुन्छ ?
मैले माथिनै यस बिषयमा अलिकती कुरा गरिसकें । सहकारीका मूल्य मान्यता, दर्शन र बिचारहरुलाई शेयर सदस्यहरु माझ लग्न हामीले नसकेकै हो । शेयर सदस्य भनेका संस्थाका मेरुदण्ड नै हुन । सदस्य बलिया भएमा नेतृत्व बलियो हुन्छ र संस्था सहि दिशामा अगाडि बढ्दछन् । यो बिषयमा सहकारीकर्मीहरु बीचमा घनिभूत रुपमा छलफल, बहस र पैरवी हामीले खासै जति गर्न सक्नुपथ्र्यो त्यती गर्न सकेनौं । यो कुरा स्विकार गर्नसक्नुपर्दछ । प्राय सहकारी संस्थाहरु संस्थाको वासलातलाई नै आधार बनाएर अगाडि बढीरहेका कारण सहकारीले सोचेको उपलब्धिहरु हासिल गर्न नसकेको हो । सहकारीका ७ सिद्धान्तलाई मात्र राम्रो अध्ययन गर्ने हो भने पनि धेरै कुरा स्पष्ट हुन्छ । केहि संस्थाहरुले सदस्यहरुका समृद्धिका लागि उदाहरणीय कार्य पनि गरेको देखिन्छ । यस्ता कुराहरुको अनुसरण पनि हामी अभियानकर्मीहरुले गर्नुपर्दछ ।
तपाई यो क्षेत्र (सहकारी) को विज्ञ नै हो भन्दा फरक पर्दैन तर आफ्नो ज्ञान सिपलाई कतिको उपयोग गर्ने अवसर पाउनु भएको छ ?
मलाई विज्ञको संज्ञा दिनुभयो त्यसको लागि धन्यवाद तर म विज्ञ चाहिँ होइन । म पनि सहकारी क्षेत्रमा अभियानलाई अगाडि बढाउन तपाइहरुले जस्तै कामहरु गरिरहेको छु । जिल्ला सहकारी संघ लि.मा मेरो यो ४ बर्ष अभियानलाई अगाडि बाउनका लागि निकै मिहेनत गरिरहेको जस्तो लाग्दछ । हरेका हप्ता कुनै न कुनै बिषयमा लेख रचनाहरु पस्कने गर्दैछु । मेरो समय सहकारीकै बारेमा अध्ययन गर्ने, यसको बारेमा पैरवी गर्ने मै वितिरहेको छ । छाता संघको रुपमा सचिवको रुपमा भूमिका प्राप्त भइरहँदा मैले आफुले जानेको बिषय र संघलाई नीतिगत रुपमा सुधार गर्नुपर्ने बिषयहरुलाई केहि हदसम्म राम्रै गरेजस्तो लाग्दछ । सहकारी अभियानको यस अवधिमा थोरै भए पनि सबै सामू परिचित हुन सकेको जस्तो महसुश हुन्छ । यसले पनि मलाई आनन्द लागेर आउँछ ।
उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने कोशिस त देखिदैन नी सहकारीले ?
अबको सहकारी अभियान भनेको शेयर सदस्यको समृद्धि नै हो । जुन संस्थाहरु पुरानै गतिमा चल्छन अवश्य पनि दीगो रुपमा अगाडि बढ्न सक्दैनन भन्ने लाग्दछ । पैसा किन्ने र बेच्ने शैलीमा मात्र सहकारी अगाडि बढ्दा समृद्धि प्राप्त गर्न सकिदैन । अव सहकारी संस्थाहरु शेयर सदस्यको समृद्धिका लागि प्रतिष्पर्धामा आउनु पर्दछ र शेयर सदस्यको चुलो बाल्ने काममा सहकारीले सहयोग गर्न सक्नुपर्दछ भन्ने आवाज सबैतिरबाट उठिरहेको छ । पैसाको मात्र कारोबार गर्न त अन्य बैंक तथा बित्तिय संस्थाहरु पनि छन् नी, त्यसैले सहकारी संस्थाहरु सहकारीका ७ सिद्धान्तमा आधारित भएर सदस्यहरुका हरेक आवश्यकताहरु पुरा गर्ने हैसियतमा हुनु पर्दछ । आय आर्जन, रोजगारी, राशायनिक मल, पशुपालन, दुग्ध संकलन तथा बिक्रि, मासु जन्य व्यवसाय, घरेलु तथा साना उद्योग आदिमा सहकारीले आवश्यकता र प्राथमिकतामाका आधारमा लगानी गर्दै नाफामूलक रुपमा अगाडि बढाउने योजना सहकारी संस्थाका योजनामा पर्नु पर्दछ । यसो नगर्दा शेयर सदस्यहरुको दैनिकि चलाउन समस्या पर्न गई सहकारी प्रतिको विस्वास निराशामा पैदा हुन जान्छ ।
कार्यकारी भूमिकामा रहेर संस्था चलाउने परिपाटी देखिएका छन् के यो कानून सम्मत छ ?
यसमा सहकारी ऐनले स्पष्ट ब्याख्या गरेको छ । यसको कारोबारको हिसाबले पनि ब्याख्या समेत गरेको अस्था छ । कतिपय बिषयहरु कानूनले निर्धारण गर्दछ भने कतिपय बिषयहरु सार्वजनिक पद धारणा गर्दै गर्दा आफै स्व स्फुर्त रुपमा आफै जान्नुपर्ने बिषय भित्र पर्दछन् । एकै परिवारका सदस्य एकै संस्थामा सञ्चालक, लेखा सुपरिेक्षण समितिमा बस्न नहुने कुरा पनि प्रष्ट रुपमा ऐनले नै व्यवस्था नै गरेको छ । नेतृत्वले आफु अन्य शेयर सदस्यहरुका अगाडि सम्मानित भएर बस्ने हो भन्ने स्वयं बुझ्न जरुरी हुन्छ । समाजमा आफुले अरुलाई के कुरा सिकाउँदै छु भन्ने कुरा जानेर व्यवहारिक र सम्मान जनक रुपमा रहने भन्ने बिषयमा संस्था सञ्चालन गर्दा राम्रो हुन्छ । यसरी संस्था सञ्चालन गरेका नेतृत्वहरुले सिंगो सहकारी अभियानलाई नै घाटा पुर्याइ रहेका छन् ।
चुस्त र दुरुस्त रुपमा संस्था सञ्चालन गर्न के गर्नुपर्ला ?
बिषेश गरी शहर बजारका केहि सहकारी संस्थाहरुले राम्रै रुपमा सामाजिक रुपमा कार्यहरु अगाडि बढाइ पनि राखेका छन् । जिल्लाको तथ्यांक हेर्ने हो भनेपनि ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा सहकारीको संख्या बढी नै रहेको पाइन्छ । सहकारीलाई सहकारी ऐनको अधिनमा राखेर अनुगमन र नियमनको पाटोलाई बढावा दिने हो भने सहकारी आफै चुस्त दुरुस्त रुपमा सञ्चालनमा आउँछन भन्ने मेरो विस्वास छ । शेयर सदस्य र सञ्चालक समिति बीचमा नङ र मासुको जस्तो सम्वन्ध बनाउनु सबै भन्दा राम्रो पक्ष हो । जति शेयर सदस्यले संस्था प्रतिको जिम्मेवारी बहन गर्दछन् उत्ति नै संस्था राम्रो देखिन्छ । कारोबारमा नियमितता, सहकारी प्रतिको बुझाई, सञ्चालक समिति प्रतिको विस्वास, आर्थिक पारदर्शीता, सञ्चालकको जवाफदेहिता र जिम्मेवारी, सहभागिता, समय समयमा हुने भेला तथा छलफल आदिका कारण संस्था गतिशिल बन्दछ । यसो हुनसकेमा संस्थाले निश्चित मापदण्ड पुरा गर्दछ र आफै संस्था राम्रो हुनजान्छ ।
अन्तमा अभियानलाई जानकारी गराउनुपर्ने केहि छुटेका छन की ?
सर्वप्रथम यो अवसर दिनुभएकोमा प्रभातफेरी साप्ताहिक र प्रभातफेरी अनलाइनप्रति आभार व्यक्त गर्न चाहन्छु । जसले समाज रुपान्तरण गर्नका लागि कलमको माध्यममार्फत् महत्वपूर्ण भूमिका खेलेको जगजाहेर छ । सवाल छुटेका कुरामा, शेयर सदस्यहरु सचेत भई संस्था प्रति जवाफदेहि हुनैपर्दछ । जसका लागि आफ्नो कार्यक्षेत्र भित्र रहेका सहकारी सस्थाहरुमा मात्र शेयर सदस्य बन्न अनुरोध गर्न चाहन्छु । सञ्चालक समिति भित्र रहेका विश्वासयोग्य ब्यक्तिहरु मानिस चिनेको सहकारीहरुबाट मात्र आर्थिक कारोवार गरी सहकारी संस्थामा नीति, विधिहरु के के छन र संस्था नाफा घाटामा के कस्तो रुपमा सञ्चालन भइरहेको छ भन्ने बुझेर मात्र कारेबार गर्नका लागि शेयर सदस्यहरु सचेत हुन जरुरी छ । सहकारी अभियानलाई अगाडि बढाउनका लागि हामी सबैको उत्तिकै जिम्मेवारीहरु छन् । जिल्ला सहकारी संघ मार्फत हुने हरेक क्रियाकलापहरुमा सहभागि भई सकारात्मक रुपमा सुझावहरुको समेत अपेक्षा हामीले गरेका छौं । संस्थाहरुमा आवश्यक परेका बेलामा क्षमता विकास, नीति निर्माण, कार्यविधि निर्माण, आवश्यक ऋण, लगायत समग्र सहकारिका बिषयमा सहयोग गर्नका लागि जिल्ला सहकारी संघ लि परिवार यहाँहरुको पक्षमा सदैव उभिरहन तयार रहेको प्रतिबद्धता ब्यक्त गर्दछु ।धन्यवाद जय सहकारी ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |