
प्रदिप सापकोटा, सह–सचिव
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा
प्रदीप सापकोटा काभ्रेली माटोका एउटा बहुआयामिक ब्यक्तित्व ।उनको जन्म वि.सं.२०३३ मा पनौतीको रयालेमा पिता केशव प्रसाद सापकोटा तथा माता इन्दिरा सापकोटाको कोखमा भएको थियो । सानैदेखि सामाजिक क्षेत्रमा सक्रिय उनी १० कक्षामा पढ्दै गर्दा ज्ञानबिकास पुस्तकालय,रयालेको संस्थापक मध्ये एक थिए । साहित्यमा सानैदेखि रुची राख्ने उनी पछि श्री इन्द्रेणी युवा क्लव रयालेको संस्थापक अध्यक्ष बनेर शिक्षा,साहित्य लगायतका क्षेत्रमा निरन्तर क्रियाशिल रहे । नेपाल रेडक्रससँग विद्यालयस्तरिय जुरेसदेखि आवद्ध उनी रयाले उपशाखा सदस्य,सचिव हुँदै सभापति पनि बने । हाल उनी नेरेसो काभ्रे शाखाको उपसचिव छन् । यति मात्र होइन उनी सहकारी अभियानमा पनि लामै समयदेखि क्रियाशिल छन् । रयालेको फुलचोकी बचत तथा ऋण सहकारी संस्थाको सदस्य,सचिव हुँदै अध्यक्ष भैसकेका उनी राजनीतिमा पनि चासो राख्छन् । नेकपा एमालेको तत्कालिन रयालेको२०६६सालमा गाँउ कमिटि अध्यक्ष बनि सफल कार्यकाल सम्पन्न गरेका उनी पार्टीको क्षेत्रिय कमिटीमा निर्वाचित भई सचिवालय सदस्य समेत भैसकेका छन । उनको पेशा कानून ब्यवसाय हो करिव टेढ दसकदेखि पर्यटन ब्यवसायमा समेत संलग्न छन् । हाल उनी महानन्द बाँगमय प्रतिष्ठान काभ्रेका महासचिव छन् भने पनौती नगरपालिकाको कानूनी सल्लाहकार पनि । केहि समय अघि उनको यात्राका इन्द्रेणी रंग नामक नियात्रा प्रकाशित भयो । उनी कविता,मुक्तक,नियात्रा,लघुकथामा कलम चलाँउछन् । अरुको कृतिको समिक्षा पनि उनको लेखनीको अर्काे पाटो हो । प्रस्तुत छ प्रदीप सापकोटासँग साहित्य, राजनीति र रेडक्रस लगायतका विषयमा गरिएको छोटो कुराकानीको सार पाठकसामु पस्केका छौं । स.
० आजकल के गर्दै हुनुहुन्छ ?
पनौती नगरपालिकामा छु । रेडक्रस जिल्ला शाखातिर पनि केही समय ब्यतित गर्छु ।
० के लेख्दै हुनुहुन्छ ?
खास केही लेखिरहेको छैन् । एउटा मुक्तक संग्रह निकाल्ने तयारीमा छु । फुटकर कविता लेख्छु । केही यात्रा स्मरणहरु पनि लेख्दैछु । साहित्यिक कृतिहरुको समिक्षा पनि गर्दैछु बस ।
० लेखनीको प्रेरणा कहाँ र कोबाट पाउनु भो ?
मेरो घरको माहोल नै त्यस्तै थियो ।हजुरबा पहिलो प्रेरणाको श्रोत हो भने बुबा दोस्रो ।
० तपाईले त दुई बीस कटेपछि मात्र पहिलो कृति सार्वजनिक गर्नुभो त ?
हो नि । फुटकर कविता र नियात्रा त छापिएकै थिए । म खासमा सानैदेखि लेख्थे ।कैयन पत्रिकामा पठाएको थिए आफ्ना कविताहरु । तर स्तरीय नभएर हो वा पहँुच नपुगेर हो कुन्नी एकदम थोरै मात्र छापिए ।फेरी छाप्नैपर्छ भन्ने मान्यता पनि थिएन । तर पछि मेरो आफ्नै भाई साहित्यकार विजय सापकोटा र साहित्यकार छविरमण सिलवालको अब चाँहि कृति निकाल्नै पर्छ भन्ने कुराले गर्दा यो यात्राका इन्द्रेणी रंग निस्किएको हो ।
० यात्रा गर्न सजिलो कि नियात्रा लेख्न ?
उसो त यात्रा गर्न सबैकुराको तारतम्यता मिलाउनुपर्छ ।आर्थिक कुरा पनि आँउछ पहिले । समय ब्यवस्थापन गर्नुपर्छ । तर पनि यात्रा गरेजति सजिलो नियात्रा लेख्न पक्कै हुँदैन् । नियात्रामा कल्पनाशिलता भन्दा तथ्यपरक कुरा आउनुपर्छ गाह्रो छ राम्रो नियात्रा लेख्न ।
० तपाईको यो कृतिको सामाजिक संजालमा चर्चा धेरै छ । अनि पत्रपत्रिकामा पनि चर्चा छ । के छ त्यस्तो त्यसमा ?
चर्चा त छ छैन् थाहा छैन मलाई । तर म लेख्दा इमान्दार भएर पोखिन्छु । कोरा विवरण मात्र नियात्रा होइन । निजात्मक अनुभूति झल्कनुपर्छ ।राम्रो नियात्रा गतिशिल हुनुपर्छ । सूचनात्मक र तथ्यमा रहेर लेखिनुपर्छ ।सरल हुनुपर्छ क्लिष्ट हुनुहुँदैन नियात्रा । यस हिसाबले मेरा नियात्राहरु लेखिएका छन् । कुनैपनि विषयले छोएपछि मात्र म लेख्न थाल्छु ।
० कहाँ कहाँको समेटिएका छन् यो कृतिमा नियात्राहरु ?
स्वदेशका तीन तथा भारत, थाइल्याण्ड, मलेशिया र सिंगापूरका ११ नियात्रा यसमा परेका छन् ।
० लेखनमा तपाईलाई कस्तो घट्ना वा परिस्थितिले प्रेरित गर्छ ?
सानै कुरा भए पनि जसले मेरो मन छुन्छन् । मानविय भाव र संवेदनाहरु तथा नयाँ स्थानको भ्रमण ।
० तपाईं किन लेख्नुहुन्छ ?
आत्मसन्तुष्टीको लागि लेख्छु ।
० साहित्यिक पत्रिकाहरु र अनलाइनमा पनि साहित्यलाई स्थान दिने बाढी नै आएको छ नि ?
हो । लेखक, साहित्यकारहरुको निम्ति यो असाध्यै राम्रो कुरा हो ।तर विडम्बना एकाध पत्रपत्रिका बाहेक अन्यत्र सिण्डिकेट देख्छु म । हामी जस्ताका रचना स्तरीय भएपनि स्थान पाउन मुस्किल छ यो ।
० विषय बदलौं । तपाई विभिन्न सामाजिक, साहित्यिक र राजनीतिक क्षेत्रहरुमा पनि आवद्ध हुनुहुन्छ । यी क्षेत्रमा कसरी आउनु भयो ? पहिलेका कुरा केहि स्मरणमा छ भने बताइदिनुस ।
म सामान्य परिवारको मान्छे । वरपरका अन्याय र अत्याचारका घट्नाहरु बाल्यकालमा धेरै देखेको छु मैले ।नजिकबाट नियालेको छु । यस्ता घट्नाहरुले मलाई आम मान्छेको चेतनास्तर उठाउनुपर्छ यसको लागि केही गर्नुपर्छ भन्ने लाग्यो ।यसैले दौतरीहरुसँग सहकार्य गर्दै हामीले रयालेमा पुस्तकालय खोल्यौं । बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई प्रमुख अतिथि बनाएर पुस्तकायलय उद्घाटन गरिएको थियो ।अग्रजहरुको साथ सहयोग भयो ।पुस्तक र पत्रपत्रिकाहरु अध्ययन गर्ने बानीको बिकास गराँयौं । पछि युवाक्लबको आवश्यकता महसुस गरेर स्थापना ग¥यौं । सिमित श्रोत र साधनमा बाबजुद युबाहरुको वौद्धिक ब्यक्तित्व,खेलकुद लगायतका क्षेत्रमा काम ग¥यौं । विभिन्न साहित्यिक गतिविधिहरु ग¥यौं ।मलाई अहिले पनि सम्झना छ । २०६२ सालमा विहावरमै पहिलो पटक ११० औ मोती जयन्तीमा गजल कार्यशाला गोष्ठी गरेका थियौं । हामीले विभिन्न नाटकहरु लेखेर जनतालाई सचेत गराउन आफैंले अभिनय गरेर प्रदर्शन पनि ग¥यौं । विभिन्न पर्व र उत्सवहरुमा सृजनशिल गतिविधि ग¥यौं ।ति दिनहरु सम्झँदा मन आल्हादित हुन्छ ।राजनीतिमा चाही अग्रजहरुको सम्पर्कले लागियो । कम्युनिष्ट पार्टीमा नै किन लागेको भन्ने प्रश्न आउला । २०४६ सालको जनआन्दोलन ताका म आठ कक्षामा पढ्थें । आन्दोलन चलिरहेको थियो । कुनै एक विहान उठ्दा मेरो घर अगाडीको बरपिपलको रुखमा हसिंया हठौडा अंकित ठूला झण्डाहरु फहरिरहेका थिए । स्थानीय पंचायतमा काम गरेको कोइ आएर मेरो हजुरबालाई त्यो झण्डा झिकिदिन अनुरोध गर्दा मेरो हजुरबाले ठाडै इन्कार गर्नुभएको थियो । कौतुहलता धेरै भयो यो झण्डा के रे छ भनेर । पछि हजुरबालाई सोध्दा गरिवको पक्षमा लाग्नेले बोक्ने झण्डा हो भनेपछि मलाई कम्युनिष्ट राम्रो हुँदोरहेछ भन्ने लाग्यो ।
स्कुलबाट आँउदा हेडसर राम प्रसाद अधिकारीले गाँउ पंचायतको बोर्ड झिकेर फाल्न सिकाउनु भएको थियो । म र अर्का दुई जना दाइ मिलेर हामीले रयाले आदर्श गाँउ पंचायत लेखेको बोर्ड झिकेर नजिकको खोलामा फालेका थियौं त्यो बापत मैलै एक जना काकाको चड्कन खाएको थिए । पछि लाग्दै बुझ्दै जाँदा अनेरास्ववियुको प्रा.क.मा बसियो ।अनि लगाव कम्युनिष्ट पार्टीमा भयो ।
० तपाई किन राजनीतिमा पछि पर्नु भो ?आफु पछि परियो भन्ने लाग्दैन तपाईलाई ?
म सामान्य परिवारको मान्छे । जहाँ पुगें जहाँ जिम्मा पाएँ मेरो आफ्नै क्षमता र लगनशिलताले पाँए । यसो भन्दैमा स्थानीय अग्रज दाईहरुको कुनै भूमिका छैन् भन्ने होइन । उहाँहरुको साथ र सहयोगले म अगाडी बढेको हुँ । तर पछिल्लो चरणमा कम्यूनिष्ट पार्टीहरुमा देखिएको चरम गुटवादी प्रवृतिमा लिप्त देखिए । एकाधलाई छोड्दा गणेश प्रवृत्ति हाबी भएको छ । नेतृत्वको वरिपरि घुम्ने,चाकडी चाप्लुसी भजाउनेहरुले जिम्मेवारी पाउने अवस्था बढेको छ । तर म काममा विश्वास गर्ने मान्छे परें । त्यहि भएर होला । चाकरी गरिएन । तर म सन्तुष्ट छु । म पछि परेको जस्तो देखिए पनि त्यस्तो होइन । समयले मुल्याँकन निश्चय नै गर्ला ।
० वर्तमान राजनीतिक अवस्थाको विश्लेषण कसरी गर्नुहुन्छ ?
मुलुक विषम परिस्थितिमा छ । राजनीतिक अवस्था उस्तै तरल देख्छु म ।नेपालको संवेदनशिल भूराजनीतिक अवस्थाले राजनीतिक अस्थिरता ल्याएको मेरो ठम्याई छ । विभिन्न राजनीतिक दलभित्रको आन्तरिक सत्ता स्वार्थले पनि देशको राजनीतिलाई बिषाक्त पारेको छ । तपाईले शेक्सपियरको हेमलेट या जुलियस सिजर पढ्नुस,अथवा हाम्रा चाणक्यको अर्थशास्त्र हेर्नुस राजनीतिमा विभिन्न अदृष्य ब्यक्ति वा शक्तिले कसरी हस्तक्षेप गरेका छन् भन्ने भेट्टाउनु हुन्छ । यस्तै छ नेपाली राजनीति । ठूला नेताहरुले यो कुराको हेक्का नराख्नाले यो परिस्थितिको निर्माण भएको हो भन्ने मलाई लाग्छ ।अझै म्याकेभेलीको प्रिन्स पढ्नुस त तपाईलाई बर्तमान नेपाली राजनीतिको मुल तत्वबोध हुन्छ ।नेकपा एमाले भित्रको अन्तरकलह,काग्रेस भित्रको विवाद,राजपाको विवाद र समग्र बर्तमान राजनीतिक परिघट्ना मूलुकको निम्ति चिन्ताको विषय हो ।यस्ता कुराले जनताको जीवन र दैनिकीलाई गंभिर तर नकारात्मक प्रभाव पार्छ । यस्तो कुरामा नेताहरुले चिन्तन गर्नु जरुरी छ ।
० तपाई बैचारिक कुरा गर्न रुचाउने मान्छे । एमालेको विवाद के हो भन्ने लाग्छ ? वैचारिक हो वा शक्ति केन्द्रित ?
सैद्धान्तिक भावभूमी नमिलेका दुई पार्टी माओवादी र एमालेको एकिकरण अस्वाभाविक मलाई सुरुमै लागेको हो । तर एकिकृत कम्युनिष्ट पार्टी बन्ने कुरामा सबकुरा छोडेर चुपचाप बसियो ।हाम्रो महाभारतमा धृतराष्टले भीमलाई मैत्रीपूर्ण अंकमाल गर्ने नाममा भीमको जीवन सकाउने धृतराष्टको चरित्र जस्तै बुझें मैले त । अदालतको निर्णयले बदर भएपछि केही एमालेका नेताहरुमा धैर्य गर्न नसक्ने अधैर्यबादी सोच नै एमालेको विवादको मूल कुरा हो भन्ने मलाई लाग्छ ।शक्ति स्वार्थ विवादको प्रधान कुरा हो । कहाँ बैचारिक विवाद हुनु । कुनै पनि निर्वाचन आवधिक हुन्छ त्यसमा भाग लिएर पराजित भएपछि पराजित भएकै पद मलाई लेउ भन्ने कुरा कदापी राम्रो होइन ।यो संस्कार कुनै मानेमा लोकताँत्रिक पनि छैन् ।अनि अर्काेतिर हठबादी सोचले पनि विवादमा मलजल गरेको चाहिं पक्कै हो ।शक्ति स्वार्थको लुछाचुडीले पार्टी भत्किन्छ ।कम्यूनिष्ट आन्दोलन कमजोर हुन्छ ।आदरणिय नेताहरुमा यो चेत फिर्नु जरुरी छ ।
० तपाई पनौती नगरपालिकाको कानूनी सल्लाहकार पनि हुनुहुन्छ ? तपाईसँग नगर प्रमुखले के कति सल्लाह लिनुहुन्छ ?
यो कुनै प्रश्न नै होइन । नगरपालिकाका हरेक कानूनी प्रश्नसंग जोडिएका कुराहरुमा नगर प्रमुख मात्र नभएर उपप्रमुख, जननिर्वाचित वडा अध्यक्षहरु लगायत अग्रज कर्मचारी र विभागिय साथीहरु सबैले सल्लाह र राय माग्नु भएकै छ । फेरी म त पनौती नगरबासी पनि हुँ । मेरो दायित्व एउटा सचेत नागरिकको नाताले अझै बढी छ । म नगरमा त्यहि ढंगले क्रियाशिल छु ।
० काभ्रे रेडक्रसको बर्तमान तदर्थ समितिको उपसचिव पनि हुनुहुन्छ । रेडक्रसको बर्तमान अवस्थाको बारेमा जानकारी दिनुस न ।
काभ्रे रेडक्रस केन्द्र जस्तै जटिल मोडमा उभिएको बेला गत बैशाख १२ गते केन्द्रको निर्णयले हामी जिल्ला शाखामा मनोनयन भएर आएपछि हामीले बैठक बसी ब्लड बैकको सुधार गर्ने पहिलो निर्णय ग¥यौं र कार्यान्वयनमा लगिरहेका छौं । अनि काभ्रे रेडक्रसको बर्तमान अवस्थाको बारेमा श्वेतपत्र जारी गरी सार्वजनिक गरेका छौं । कोभिड १९को महामारीले आक्रान्त पारेको यो विषम अवस्थामा हामीले हाम्रा स्वयंसेबक र रेडक्रसकर्मीहरुको निम्ति उपशाखा स्तरमै पुगेर आधारभूत स्वास्थ्य सामाग्रीहरु बितरण गरेउ । विभिन्न पालिकाहरुका आइसुलेसन सेन्टर र हेल्थपोष्टहरुमा पनि स्वास्थ्य सामाग्री उपलब्ध गरायौं । यसैगरि जिल्ला स्थित सूरक्षा निकायको निम्ति पनि पिपीई सेट, माक्स, सेनिटाइजर, ग्लोब्स, डेथ बडी राख्ने कभर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गरायौं । सरोकारवालाहरुसँग सुसम्बन्ध विस्तार पनि हाम्रो प्राथमिकतामा परेको कुरा हो ।
० रेडक्रसको छवि किन जनताको नजरमा राम्रो देखिएन ?
त्यस्तो पनि होइन सर । विगतमा केहि कमी कमजोरी देखिएकै हो । संस्थागत सुशासन, जवाफदेहिता र पारदर्शि हुने हिसावले काम कम भएर अलिकति सर्वसाधारणमा रेडक्रस प्रति नकारात्मक धारणा बन्न खोजेको होला । तर अहिले हामी स्वयंसेवी भावनालाई ब्यवहारमा उतार्न चाहान्छौं । हिजोका कमि कमजोरीलाई दोहो¥याउन्नौ । आएका समस्या र चूनौतीहरुको समाधान गर्न दृढताका साथ लाग्ने टिम छ हाम्रो । त्यसैले सरले भन्नुभएको जस्तो धेरै विग्रिहालेको चै छैन ।
० मानविय संकटमा लागि पर्ने संस्थामा किन राजनीति भएको ? अहिले पनि विभिन्न पार्टीका प्रतिनिधित्व गर्नेहरु जिल्ला रेडक्रसमा छन् नि हैन र !
रेडक्रस मानविय पीडा कम गर्न समर्पित संस्था हो पक्कै पनि । राजनीतिले कुन ठाँउ छोडेर छ र ।आस्था राख्न यो बहुदलिय संघिय लोकतांत्रिक मुलुकमा सबैलाइृ छुट छ ।मात्र के हो भने कहाँ कुन जिम्मामा हुँदा निष्पक्ष भूमिका गर्न ब्यक्ति सक्छ सक्दैन भन्ने कुरा महत्वपूर्ण कुरा हो । निश्चय नै म पनि कुनै दलको अगुवा कार्यकर्ता हुँ तर रेडक्रसमा हुने गतिविधिमा मैले दलको भोटो लगाएर प्रस्तुत गर्नु भएन त्यहि हो मुख्य कुरा चाहि ।हामी विभिन्न राजनीतिक विचारधारमा आस्था राख्ने भएपनि अहिलेको टिम स्पीरिटमा कुनै कमी छैन् । विवाद भएको छैन् । र विवाद हुँदैन पनि ।
० तपाई ठोकुवा गर्न सक्नुहुन्छ ?
मसँग केही आधारहरु छन् । पहिलो आधार भनेको रेडक्रस कमाउने थलो होइन यो विशुद्ध स्वयंसेवी संस्था हो । यो हामी सबै साथीहरुले बुझेका छौं । दोस्रो कुरा मानविय पीडा कम गराउन समर्पित संस्था रेडक्रसलाई विगतमा संस्थागत सुशासन कायम नभएकोले संस्थागत छवी धुमिल भएको कुराको हेक्का हामीलाई राम्रै छ । आन्तरिक सुशासनमा धेरै आरोह अबरोह बेहोर्नु परेको कुराको जानकारी पनि हामीलाई छ । तेस्रो आधार भनेको हामीमा समन्वय र तालमेलको अवस्था सौहार्दपूर्ण छ र हामी स्थायी होइनौ केही समयको लागि मात्र जिम्मेवारीमा छौं भन्ने कुराको जानकारी पनि छ ।यसैले हामी अत्यन्तै जिम्मेवार र इमान्दार भएर काम गर्नेछौं ।
० काभ्रे रेडक्रसका अबसर र चूनौती के के छन् ?
राजधानीबाट नजिक छौं । केन्द्रसँगको सम्र्पकको हिसावले पनि सजिलो छ । आफ्नै भवन बन्दैछ ।सक्षम जिल्ला नेतृत्व छ । हामीलाई सकारात्मक रुपमा सहयोग गर्ने स्थानिय पालिकाहरु हुनुहुन्छ । रेडक्रसको मूल मर्म बुझेका साथीहरु उपशाखाहरुमा नेतृत्वमा हुनुहुन्छ । यो मिसिन संचालनमा आएपछि रक्त संचार सेवा अत्यन्तै प्रभावकारी हुनेछ ।हालै हाम्रो पहलमा नेरेसो केन्द्रले रक्त संचार केन्द्रको निम्ति करिव ३५ लाख पर्ने सेन्ट्रीफ्यूज मेसीन एक थानको निम्ति टेन्डर प्रकृयामा गैसकेको छ । यति हुँदाहुँदै पनि आर्थिक रुपमा अहिले हामी गंभिर संकटमा छांै । चालु परियोजनाहरु करिब करिब फ्रेज आउटको अवस्थामा छन् । कर्मचारीहरुको तलब धान्न समेत धौ परेको छ ।यो मेसिन संचालनमा आएपछि रक्त संचार केन्द्रबाट हुने सेवामा बढोत्तरी हुनेछ । हामी अहिले भाडामा बसेका छौं । भदौदेखि आफ्नै भवनमा सर्ने तयारी गरिरहेका छौं । हामी छोटो अबधिका लागि आएका हुनाले हामी संस्थाको विकासमा जति सक्छौं इमान्दार भएर लाग्नेछौं ।
० तपाई पाठकहरुलाई केहि भन्न चाहनुहुन्छ ?
कुनै पनि श्रष्टाले आफ्नो सृजना पाठकहरुले पढिदिउन भन्ने चाहाना राख्नु अस्वभाविक नहोला । म पनि त्यस्तै आशा राख्दछु र संगै असल पाठकले लेखकको सृजनाको उचित समिक्षा गरिदिनुहोस भन्ने अपेक्षा पनि छ पाठकहरुसँग ।
० अन्त्यमा, हामीले सोध्न छुटाएको र यहाँले भन्नै पर्ने कुरा कुनै छ कि ?
म नेपाली साहित्यलाई माया गर्ने पाठकहरुलाई मेरा सृजना पढेर पृष्ठपोषण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । तपाई र तपाईको यो लोकप्रिय पत्रिकाले मेरो साहित्य, राजनीति, आवद्ध संघसंस्था सहित मेरो जीवनमा वहुपाटाहरुको बारेमा स्थान दिनुभो यसको लागि प्रभातफेरी परिवार प्रति अनुगृहित छु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |