गोपाल पराजुली
(चर्चित कवि/कथाकार)
जीवन भनेको समय हो र योसित सँगसँगै हिँड्नु हो । समय कुनै सिटमा बस्न चाहँदैन । मोटरकै सिटमा छ भने पनि कहीँ गइरहन चाहन्छ । जीवन कुनै कुर्सीको सिटमा राख्नेहरु पनिकुनै कार्य गरुन्जेल मात्र बस्छन्, उनीहरुले कुनै अगाडिकै सिट ओगटेर बसेका भएपनि । आफूलाई कोही प्रदर्शन गर्न पनि चाहन्छन् र यसका लागि आफूलाई कहिलेकाहीँ मञ्चमा पनि राख्छन् । तर उनीहरु कस्तो अभिनय गर्छन् हेर्नेहरु हेरिसकेपछि आफ्नो यात्रा जारी रहेको घोषणा गर्छन् । मृत्यु पनि जीवनको अन्तिमविन्दु होइन भन्नेहरु जीवनलाई जुन समय दिन्छन् त्यो अन्तिम समयसम्म पनि नटुङ्गिएको घोषणा गर्छन् । गतिमा जीवन राख्नेहरु आफ्नो छायालाई पनि गतिमा राख्न चाहन्छन् । जीवनलाई बाफ ठान्नेहरु, पानीको फोका ठान्नेहरु र कर्कलाको पानी ठान्नेहरुले आफ्नो छाया जहाँ विसर्जन गरे पनि जीवनलाई कमान्ड गर्नेहरु साँचो अर्थमा जीवनलाई समयमा राखेर अतीत, वर्तमान र भविष्यबाट पनिआफू मुक्तभएको घोषणा गर्छन् । जीवनलाई दृश्यमा राखेर समयको आफू बन्धकनभएको घोषणा गर्छन् । आयुलाई उमेरको सीमामा राखेर हेर्नेहरु जीवनलाई जसरी नाप्दै रहे पनिजीवनलाई कालमुक्त छ भन्नेहरु आफ्नो छायालाई पनि दृश्यमा राख्दै संसारको सूर्योदय र सूर्यास्त हेर्छन् ।
जीवनलाई तास खेल्ने कोठामा, भट्टीपसलमा, क्लबमा र जति धेरै आरामदायी रातमा राखेर बिताए पनि जीवनलाई स्पर्श गर्ने, समयलाई छुनेहरु आफूलाई कुनै आरामदायी हल्लाहरुको बीचमा राखेर हराउँदैनन् । जीवन जीवितहरुको विचार भएको हुनाले यो विचारमा बस्न योग्यहुनेहरु विचार लिएर हिँड्छन् । जीवन सिर्जनाको एउटा सन्देश भएको पनि हुनाले यो सन्देशमा बस्न सन्देश हुनेहरु जीवनमा मात्र बस्छन् । जुन समयको क्रूरतासँग सङ्घर्ष गर्नुपरे पनि घडी, मिनेट र पलाको गतिसँग बस्छन् र जीवनका सबै सपना, कल्पना र कार्यको साक्षात्कार गर्न आफूले सञ्चालन गरिरहेको समयको दृश्य देखाइरहन्छन् । गतिशील जीवन हुनेहरु आफूलाई मध्यरातमा पनि ब्यूँझाउँछन् र जीवन रात, निद्रा र आराम गर्ने ठाउँ होइन भन्छन् । आफूलाई जीवनमा नियुक्त गर्नेहरु अरुको सेवामा आफूलाई दाखिला गर्छन् र जहाँ गर्छन् त्यहाँपुगेर आनन्दको अनुभूति लिन्छन् । यो अनुभूति लिन र यो नै अनुभूति अरुलाई दिन इच्छुक उम्मेदवारहरु समाजमा देखिन्छन्; जहिले देखिएपनि, जतिन्जेल देखिएपनि, जसरी देखिएपनि । के कुरा पक्का हो भने उनीहरु कर्मठ गतिविधि लिएर देखिन्छन् । उनीहरुको चरित्र कर्म हो, कर्तव्य हो र यीदुवैको गतिशील दृश्य हो । कुनै सृजनशील कार्यमा आफ्नो सोच, विचार र धर्म राख्नेहरु कर्मठ जीवनमा प्रवेश गर्दा उद्देश्यका साथ गर्छन् । निर्णयका साथ गर्छन् । नैतिकतालाई व्यापारमा नराखेर आफ्नो निर्णयलाई कुनै शब्दको कठोर व्याकरणमा नराखेर आफ्नो कार्य सम्पादन गर्छन् ।
संसार भन्नु क्रियाशील मानिसहरुको रुचि र हेराइको नतिजा हो । समाजलाई तिनै क्रियाशील मानिसहरुले मात्र गतिशील बनाइराखेका हुन्छन् । कार्यमा आफ्नो स्वभाव, झुकाऊ रुचि र शक्ति राख्नेहरुले वरण गरेको जीवन संसार हो । कर्ममा साहित्य राखेर समयसँग हिँडिरहने, चलायमान भइरहने, गतिशील भइरहने, नथाक्ने, आरामको खोजी नगर्ने यस समयका रोसी पुत्रको मुखमुद्रा हेर्न र त्यो मुद्राको स्पष्ट आकृति मेरो स्मृतिबाट शब्दमा राख्न शब्द खोजिरहँदा नपाएर जीवन र समय हेरिरहेको म एउटा शब्द उच्चारण गर्न समर्थ भएको छु – मोहन दुवाल ।
कोटेश्वर, काठमाडौ
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |