प्रभातफेरी अनलाइन ३१६८ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन २६, मंगलबार (४ साल अघि)
मोहन दुवाल
चौतारामा हुने एउटा साहित्यिक कार्यक्रममा सहभागी हुन आमन्त्रण भएको थियो सुरेश कसजूबाट त्यसैले २०७८ भाद्र २६ गते शनिबारका दिन चौतारामा पुग्ने भयौं । सुरेश कसजू सिन्धुपाल्चोक जिल्लाकै एकजना सक्रिय पत्रकार, साहित्यकार तथा समाजसेवीका रुपमा चिरपरिचित नाम भइसकेका छन् । साथै डम्बर रसिक भारतीले पनि आउन अनुरोध गरेको थियो । करिब २२ वर्ष भयो होला पछिल्लोपटक चौतारामा पुगेको – मलाई सम्झना छ । जीवनका कालखण्डहरुमा अनेकौं खालका सम्बन्धले बेरिएका थियौं, सिन्धुपाल्चोकसँग म । सुरुवातकालमा राजनीतिसँग गाँसिएको सम्बन्ध नै सिन्धुपाल्चोकसँगको मेरो प्रारम्भिक राजनीतिक सम्बन्ध हो । सिन्धुपाल्चोकका ५ जना मित्रहरु र काभ्रेका म लगायत ५ जना मित्रहरुको संयुक्त प्रयासबाट पहिलोचोटी राजनीतिक संगठन ‘पूर्व एक नम्बर कम्युनिष्ट पार्टी’ बनाइएको सन्दर्भ र इतिहास मनमा लिपिवद्ध छ । सिन्धुपाल्चोकका अमृत बोहरा, शंकर नेपाल, जयराम शर्मा, रमेशबहादुर श्रेष्ठ, गणेश रञ्जितहरुसँग काभ्रेका हामीहरु मोहन दुवाल, जवाहर श्रेष्ठ, केदारनाथ प्रधान, रामभक्त श्रेष्ठ र राजभाइ प्रधानहरुकै मिलेमतोमा कम्युनिष्ट पार्टी बनेको हो । धरैपटक हामीहरु सिन्धु र काभ्रेमा भेटघाट ग¥यौं र राजनीतिक कुराकानी र कर्ममा कार्यरत रह्यौं । तर पछिल्लोपल्टको भेटघाटमा राष्ट्रिय रुपमा ‘पूर्व एक नम्बर’ को नामबाट कम्युनिष्ट सिद्धान्त र कर्ममा व्याप्त हुन नसकिने ठहरबाट हामी एक अर्कामा रमेर राष्ट्रिय राजनीतिक पार्टीको चयनमा लाग्यौं । काभ्रे र सिन्धु जिल्लाका मित्रहरुको दुईटा कम्युनिष्ट पार्टी रोज्ने काम भयो । छलफलकै आधारमा सिन्धुपाल्चोकले नेकपा (माले) रोजे र यसैगरी काभ्रेका हामीहरुले नेकपा (चतुर्थ महाधिवेशन) रोज्यौं । राजनीति कर्ममा सिन्धुपाल्चोकसँग यसरी सम्बन्ध गाँसिएको घटना प्रसङ्गहरु अविस्मरणीय छन् ।
हुन त पहिलेको भूसम्बन्धमा पनि पूर्व एक नम्बर भन्नाले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको समष्टि रुप हो । पछि हामीले साहित्यिक कर्ममा पनि सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको सहकार्य खौज्यौं र अनगिन्ति महत्वपूर्ण कार्यहरु ग¥र्यौं । कृष्णप्रसाद पराजुलीद्वारा लिखित ग्रन्थ ‘पूर्व एक नम्बर’को दोस्रो संस्करण परिमार्जित रुपमा निकाल्न सहमति जनायौं । काभ्रेली साहित्य संगमका अध्यक्षका नाताले मैले उक्त ग्रन्थ प्रकाशनका लागि ५० सौँ हजार सहयोग जुटायौं । पछि सिन्धुपाल्चोकका मित्र कृष्ण सुवेदीले पनि सिन्धुपाल्चोकबाट ३० सौँ हजार सहयोग जुटाइदिएकै परिणामबाट उक्त ग्रन्थ धुमधामसाथ बनेपामा सार्वजनिक भयो । यसरी पूर्व एक नम्बरको इतिहास प्रकाशन गर्ने काम भयो । यसै कार्यबाट उत्साहित हुँदै काभ्रे र सिन्धुका साहित्यकारहरुको संयुक्त प्रयासबाट ‘सुनकोसी साहित्य प्रतिष्ठान’ गठन भयो । सुरु कालदेखि साहित्यकार कृष्णप्रसाद पराजुलीको नेतृत्वमा संचालित उक्त प्रतिष्ठानमा म सचिव रहँदै आएकोमा पराजुलीसरको देहावसान हुनुभन्दा केही वर्ष अगाडि उहाँकै इच्छा बमोजिम म अध्यक्ष भएको गर्विलो इतिहास अविस्मरणीय छ । यसरी जोडिएको हो सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पूर्व एक नम्बरको साहित्यिक इतिहास । यस प्रतिष्ठानबाट साहित्यिक गतिविधि र सिर्जनाका थुप्रै कामहरु भएका छन् । साहित्य जगत्मा पूर्व एक नम्बरको गर्बिलो इतिहासजस्तै बनेको छ – ‘सुनकोशी साहित्य प्रतिष्ठान’ ।
पछि यसै पृष्ठभूमिलाई आधार बनाएर कविवर केदारमान व्यथितको तत्परता र इच्छा बमोजिम व्यथितजीको नाम जोडेर सिन्धुपाल्चोकको एउटा साहित्यिक संस्था बनाउने काम भयो । व्यथित कविकै अनुरोधमा मलाई साक्षी स्वरुप सदस्य–सचिवमा र कथाकार परशु प्रधानलाई सदस्य बसिदिन अनुरोध गर्दै रु. १ लाख नगद हामीलाई कविज्यूबाट दिनुभएको हो । पछि सिन्धुपाल्चोकका मित्रहरु कृष्ण सुवेदी, त्रिलोचन आचार्य, पुण्यप्रसाद न्यौपाने, गम्भीरलाल श्रेष्ठ, नरेन्द्रराज पौडेल लगायत रहेर ‘व्यथित सिन्धु प्रतिभा सम्मान कोष’ को गठन भयो । यस संस्थाबाट पनि सिन्धुपाल्चोकसँग मेरो आत्मियता थपिंदै गयो ।
साहित्य क्षेमा मैले चिनेका सिन्धुपाल्चोकका मित्रहरुमा सबभन्दा पुरानो मित्र खिलबहादुर भावुक नै हो । सङ्गीत÷गायनमा प्रेमध्वज प्रधानसँग मेरो पछिसम्मको आत्मियता कायम रहिरह्यो । सिन्धुपाल्चोकका अन्य साहित्यिक मित्रहरुमा कञ्चन प्रियदर्शी, सुरेश कसजू, जीवन श्रेष्ठ, डम्बर रसिक भारती, अमित घिमिरे, चन्द्रप्रसाद न्यौपाने, साधुराम नेपाल, यदुनाथ वसन्तपुरे, पिताम्बर भण्डारी आदिसँग मेरो सम्बन्ध र मित्रता अतुलनीय रह्यो; अद्यावधि रहिरहेको छ ।
यसरी सिन्धुपाल्चोकसँग भौगोलिक, राजनीतिक, साहित्यिक, सांस्कृतिक सम्बन्ध अटुट रुपमा गाँसिंदै गएकोमा म गौरव गर्छु । वास्तवमा सिन्धुपाल्चोक आफ्नै जिल्लाजस्तो मेरो मानसपटलमा रहिरहेको छ । राजनीति, साहित्य क्षेत्रमा मात्र होइन, २०३६ सालताका भएको ‘नेराशिसं’को राष्ट्रिय आन्दोलनको क्रममा नेराशिसंको अभियानमा लाग्दा सिन्धुपाल्चोकका अग्नि सापकोटा पनि बिर्सन नसकिने मेरो आन्दोलनका आत्मिय मित्र हुन् । यसरी थुप्रै प्रसङ्ग, घटनाहरु छन् सिन्धुपाल्चोकसँग गाँसिएका मेरा स्मरणहरु । मेरो मानसपटलमा रहिरहेको सिन्धुपाल्चोकसँग २२ वर्षपछि हुन लागेको साहित्यिक भेटघाट कार्यक्रममा जाने टुङ्गो लगाइयो । काभ्रेसँग जोडिएको जिल्ला, जुन जिल्लासँग मेरो व्यक्तिगत मोह छ, जहाँबाट मेरो थुप्रैपटक सम्मान भएको छ, जहाँका राजनीतिज्ञ, साहित्यकार, सामाजिक अभियन्ताहरुसँग गाढा सम्बन्ध र माया गाँसिएको छ, आज त्यहाँ पुग्ने धुनमा चारदोबाटोमा भारद्वाज मित्रको गाडी पर्खिरहेको छु । विहान ८ः३० तिर बनेपा, चारदोबाटोमा कृष्ण सुवेदी (भारद्वाज मित्र) ले थ्याच्च आफ्नो गाडी रोकिदिए र म गाडीमा चढें । बाबा बस्नेत र जितेन्द्र रसिक दुईजना मेरा पुराना साहित्यिक मित्रहरु पनि गाडीमा रहेछन् । जितेन्द्रजीलाई मैले ठम्याउन सकिनँ, जनमत दिएपछि उहाँले पनि ३ वटा पुस्तक दिंदै सिर्जनाले चलाइराखेको जनमत साहित्यडटकम अनलाइनको मुरी मुरी प्रशंसा गर्दै मेरो तारिफ गरेपछि मैले बल्ल ठम्याउन पाएँ, जितेन्द्र रसिकलाई । जितेन्द्र रसिकसँग बाटोभरी कुरा गर्दै गयौं । साँगाचोकमा चिया पिउँदै, इर्खुमा फोटो खिँच्दै हामी चारजना ठीक १०ः०० बजे चौतारामा पुग्यौं । खाना खाने होटेल अगाडि कृष्णजीले मोटर रोक्न नपाउँदै सिन्धुपाल्चोकका मित्रहरुले हामीलाई घेर्न थाले । खाना खान होटेलभित्र छिर्दा साहित्यकारहरु डम्बर रसिक भारती र जीवन श्रेष्ठलाई भेट्यौं । अण्डरग्राउण्डमा रहेको होटेलमा मीठो दालभात अर्गानिक तरकारीसँग रमाई–रमाई खायौं । कार्यक्रममा सहभागी हुन आएका थुप्रै मित्रहरुसँग नमस्ते साटासाट ग¥यौं । खाना खाइसकेपछि पिपलडाँडामा पुग्नु थियो; करिब आधा घण्टाको मोटर बाटो होलान् भन्थ्यो । हिजोको झरीले कार जान नसकिएला भन्ने हाम्रो डर थियो; त्यस्तै भयो । कारलाई ठाउँ–ठाउँमा धक्का दिएकै कारणले कार्यक्रम स्थलमा जान सकिने सम्भावना भएन । बाटोमा रहेको एउटा कार्यालयभित्र कृष्णजीले मोटर पार्किङ गर्न लगे । हामी बिस्तारै हिँड्दै र ठाउँ–ठाउँको प्राकृतिक फोटाहरु खिँच्दै पिपलडाँडातिर लम्किंदै थियौं, हिँड्दै गर्दा बाटोमा कवि तथा राजनितिज्ञ सरल सहयात्रीले गाडी रोके र गाडीमा चढेर कार्यक्रम स्थलमा पुग्यौं ।
कार्यक्रम हुने स्थलमा पाल टाँगिएको छ । भिरालो डाँडोमुन्तिर छ कार्यक्रम स्थल । त्यसको अगाडि नै सहिद पार्क र कञ्चन प्रियदर्शीको प्रतिमा राखेको ठाउँ देखा प¥यो । फुङ्ग परेको डाँडो, पार्कभित्र आधा पारेको रुखको मुण्टो र पार्कभित्र खडा छ प्रतिमा । कञ्चन प्रियदर्शी सोझो पात्र; बाङ्गो गर्न नै नजानेका सोझो भएकैले सेनाको गोलीको सिकार भएर सहादत प्राप्त गरेका साहित्यकार, पत्रकार हुन् । पिपलडाँडाको इतिहासमा एउटा तपस्वी जन्म्यो अर्थात् त्याग–तपस्याका प्रतिमूर्ति, साहित्य, पत्रकारितामा पनि आफ्नो नाम बनाउन सफल एकजना सिन्धुपाल्चोकका राजनीतिकै मर्म बुझेका शहिद अभियन्ता । २०४९ सालदेखि चिनेका परिश्रमी लेखक÷पत्रकारलाई सुनकोसी साहित्य प्रतिष्ठानका तर्फबाट विद्वतवृत्तिसम्म दिन पाएका लेखक कञ्चन प्रियदर्शीले ‘सगरमाथा’ दैनिकमा मेरो साहित्यिक कर्ममा सम्मान प्रकट गरेर लेखेका अक्षरहरु मलाई यहाँ झल्झली आँखामा नाच्न थाल्यो । सिधा, परिश्रमी, सोझो देखिंदो अक्षरका पूजारी, सुन्दर कलम–कर्मी कञ्चनकै प्रतिमा अगाडि झलझली सम्झना मन र आँखाभरि आइदियो । रुन सकिनँ, सम्झनाले विभोर भएँ । कार्यक्रममा वक्ताहरु सबैजसोले सबैका ‘प्रियदर्शी’लाई ‘कञ्चन’ मन भएका राजनीतिज्ञ तथा साहित्यकार, पत्रकारका रुपमा स्मरण गरे । खुशी लाग्यो; कार्यक्रममा सामेल हुन पाउँदा र सिन्धुपाल्चोकसँग पुनः सम्बन्ध गाँस्दै मित्रता गाँस्न पाउँदा । रमाइलो ढङ्गले सिन्धुपाल्चोकका मन साटासाट ग¥यौं । फर्किंदा हामीहरु कुराकानी गर्दै, सिन्धुपाल्चोक मनमा राख्दै आउँदा बनेपा आइपुगेको नै याद भएन । कृष्णजीले बनेपा आइपुगेको संकेत गरे । मित्रहरुलाई नमस्ते ग¥यौं र बनेपामा ओर्लियौं ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |