मोहन दुवाल
बनेपाको शिक्षाजगत्मा भरतराज श्रेष्ठ र राजेन्द्र जोशीले पनि आफ्नै खालका योगदानहरु गरेर गएका छन् । २००७ सालभन्दा अगाडि सहिद गंगालाल श्रेष्ठले समेत शिक्षामा योगदान पु¥याइएको यस क्षेत्रमा बनेपालीहरुको जागरणका लागि, चेतना संप्रेषणका लागि, शिक्षाको ज्योति फिँजाउने क्षेत्रका रुपमा ‘आजाद’ स्थापना भएको हो । यस क्षेत्रको शैक्षिक गतिविधि, जनशिक्षाको प्रारम्भ र विद्यालय खोल्ने अभियानमा लाग्नेहरुको स्मरण गर्दा थोरै व्यक्तित्वहरु मात्र स्मरण गर्न लायकका छन् । राणाकालीन अवस्थामा स्कुल खोल्नु पनि अपराध मानिन्थ्यो । त्यसताकामा नै बनेपामा महावीर स्कुलको शाखाका रुपमा ‘चण्डेश्वरी स्कुल’ को स्थापना भएको थियो । उक्त स्कुलको उद्घाटन गंगालाल श्रेष्ठबाट भएको सन्दर्भ बिर्सिनसक्नु छ । यस स्कुलका सुरुकालका शिक्षकहरुमा गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द, चिनियाँलाल मास्के, फत्तेबहादुर सिंह, इन्द्रमान बुद्धाचार्य, गणेशबहादुर दुवाल र प्रेमबहादुर राजवंशी आदि थिए (केदारनाथ प्रधान, बनेपाको ऐतिहासिक रुपरेखा, पृष्ठ ७५–७६) । कृष्ण प्रधान र हंसराज श्रेष्ठ विशेष सहयोगी थिए । उक्त स्कुलमा काठमाडौंबाट आउने शिक्षकहरु आलोपालो गरी १–१ महिना बनेपामा पढाउन आउँथे । गणेशबहादुर दुवाल बनेपाकै भएकोले उनले आफ्नै घरमा पनि पठनपाठन गराउने गथ्र्यो । यसैगरी प्रेमबहादुर राजवंशीले पनि भाइ रामबहादुर राजवंशीको सहयोगमा आफ्नै घरमा पढाएको इतिहास स्मरण गर्न लायकका छन् । राजनीतिमा विशेष सक्रिय त्यसताकाका सबैका प्रिय नेता राजदास वादेले समाज सुधारका लागि, राजनीतिक चेतना बाँड्नका लागि र शिक्षाजगत्मा सेवा पु¥याउनका लागि यिनले निकै ठूलो योगदान गरेको देखिन्छ ।
भरतराज श्रेष्ठ र राजेन्द्र जोशीहरु पाटनबाट बनेपामा २००१ सालतिर नै मावलीघरमा बस्ने गरी आएका हुन् । चेतनशील र समाजसेवा गर्ने भावना भएकोले नै त्यसताकामा नै राणाकालीन अवस्थामा बनेपाली समाजसेवी तथा शिक्षासेवीहरुसँग मिलेर यिनीहरुले पनि बनेपामा शिक्षासेवा र समाजसेवा गरेको देखिन्छ । त्यसताका स्कुल खोल्नु निकै कठीन थियो । स्कुल खोल्नु भनेको नै राजनीति गरेको सम्झिन्थ्यो । चेतना जगाउनका लागि त्यसताका शिक्षणसेवामा सक्रियता लिने अन्य बनेपालीहरुमा हरिकृष्ण श्रेष्ठ, गोविन्दलाल सि.कु., गोपालमान श्रेष्ठ, दिलहरि श्रेष्ठहरु थिए । २००४ सालतिर हंसराज श्रेष्ठको घरमा ‘चण्डेश्वरी कपडा कारखाना चर्खा प्रचारक स्कुल’ खोलेका थिए । उक्त केन्द्रमा छात्रहरुलाई तालिम दिने शिक्षकहरुमध्ये एकजना राजेन्द्र जोशीले सेवा गरेको देखिन्छ । २००४–२००५ तिर हरिकृष्ण श्रेष्ठ र गोविन्दलाल सि.कु. ले आ–आफ्ना घरमा ट्युशन कक्षाजस्तै गरेर स्कुल खोलेका थिए । यसैगरी स्वधाटोलको घरमा गणेशबहादुर दुवालले, वकुटोलमा हरिबहादुर श्रेष्ठले, वकुटोल र भोलाखाटोलमा रामकृष्ण खुप्पा श्रेष्ठले केशवराज राजोपाध्यायले र भरतराज श्रेष्ठले स–साना स्कुलकक्षा संचालन गरेका थिए । यसैगरी बनेपामा समाजसुधार र शिक्षा प्रचारमा आफूसक्दो लाग्नेहरुमा आशाकाजी वैद्य, रामदयाल वैद्य, हरिप्रसाद दुवाल, बालकृष्ण कायस्थ, नारायणभक्त कायस्थ, कान्छाभाइ वैद्य, कन्हैयालाल श्रेष्ठहरु थिए । बनेपाको त्यसताकाको पृष्ठभूमिमा शिक्षा र समाजसेवामा विशेष योगदान पु¥याउनेहरुकै सन्दर्भमा राजेन्द्र जोशी अर्थात् राजेन्द्रमाड्साहेबको स्मरण गर्न सकिन्छ । भर्खरमात्रै २०७८ माघ २२ गते शनिबारका दिन राजेन्द्रमाड्साबको दुःखद् अवसान भयो । १०० वर्ष पुग्न केही महिनामात्र बाँकी थियो उनी हामी सबैलाई छोडेर विश्राममा गए । भरतराजसर र राजेन्द्र माड्साहेब सँगसँगैजस्तो पाटनबाट बनेपामा सर्नुभएको र आफूसक्दो दुवैजनाले बनेपाको ‘आजाद’ मा सेवा पु¥याएको देखिन्छ । वि.सं. १९८० मङ्सिर १५ गते पाटन कोबहाल टोलमा पिता नरेन्द्रगोविन्द जोशी र माता चम्पादेवी जोशीको कोखबाट राजेन्द्र जोशीको जन्म भएको थियो । उनी ६ महिनाको छँदा नै पिताको अवसान भएपछि बनेपास्थित मामाबाजे हेराकाजी कायस्थकहाँ आफ्नो जीवनका क्रमहरु बिताएको देखिन्छ । पछि समाजसेवक हंसराज श्रेष्ठसँगको सङ्गतले र यिनकै घरमा नै रहेर घरेलु उद्योगमा केही समयसम्म सेवा पु¥याएको देखिन्छ । २००२ सालतिर यिनले पहिलो विवाह नालाकी नानीमैंयासँग गरे । २०१३ सालमा दोस्रो विवाह बनेपाकी राधिका श्रेष्ठसँग गरेका थिए । यिनका दुवै श्रीमतीका तर्फबाट १५ जना छोराछोरीहरु भए तापनि ११ जना छोराछोरीहरु हालसम्म पनि जीवन्त र सक्रिय छन् । छोराहरु निभराज, लभराज, शुभराज, सितुराज र रामराज हुन् भने छोरीहरुमा मिरा, हिरा, इन्दिरा, निरा र सुनिरा छन् ।
समाजसेवक तथा राजनीतिज्ञ हंसराज श्रेष्ठकै प्रेरणाले समाजसेवामा सक्रिय रहेका यिनी हंसराज श्रेष्ठ नै विशेष प्रभावित छन् । यिनले घरेलु उद्योगमा शिक्षक भएर, सामयिक ज्ञानमालाका प्रधान संचालक रहेर, भोलाखाटोलको उपप्रधानपञ्च भएर, आजाद मा.वि.को संचालक समिति र निर्माण समितिका सदस्य, शिक्षक र लेखापालमा जीवन दिएर, बनेपा प्राविमा प्रअ र संचालक समितिका सदस्य बनेर, युवक संघको अध्यक्ष भएर पनि यिनले सेवा गरेर बनेपाको उत्थानमा सहयोग गरेका छन् । बनेपामा सामाजिक जागरण ल्याउन, शैक्षिक उत्थान र जागरणमा सहयोग पु¥याउन, पानी मुहानको निःशुल्क रेखदेख गरेर, भीमसेन स्थानको भजन खलःका सदस्य भएर, बनेपाको कार्यकर्ता द्वारे भई सेवा पु¥याएर आफूलाई बनेपाका सेवकका रुपमा चिनाएका छन् । हंसराज श्रेष्ठसँग भएर बनेपा–पनौती राजमार्ग निर्माणमा पसिना खर्चेर, २०१३ सालमा आएको बाढी–पीडित जनतालाई नुन वितरण गरेर, २०१८ सालमा बनेपामा भएको आगलागीमा पीडित बनेपालीहरुका लागि सहयोग पु¥याएर, चण्डेश्वरीको पुरानो सतल निर्माण समितिका सदस्य रहेर, ‘इही’ गुठी सदस्य रहेर आफूलाई बनेपाका लागि समर्पित तुल्याएको देखिन्छ ।
औपचारिक शिक्षाकै रुपमा बनेपा भाषा पाठशाला, रामझुपडी स्कुलबाट साधारण शिक्षासम्म पाएका यिनले मनमा ऊर्जा र आत्मबललाई द¥हो बनाएर बनेपाको कुनो–कुनोमा बनेपाको सबै क्षेत्रमाजसो सेवा र समर्पण गरेको देखिन्छ । प्रेमबहादुर राजवंशी, दलानकाजी माष्टरसाहेब र हंंसराज श्रेष्ठसँगको विशेष सम्बन्धमा यिनले बनेपाको सेवा गर्ने प्रेरणा पाएका हुन् । पछि राजदास वादेसँगको सम्पर्कले यिनी बलशाली भएर बनेपाका सेवक भएको देखिन्छ । यिनको सेवा र यिनले पु¥याएको योगदानलाई सम्झेर आजाद माविले दीर्घ सेवकका रुपमा कदर गरेको देखिन्छ । यसैगरी बनेपाका अग्रज शिक्षासेवी÷शिक्षकका रुपमा प्रतिभा सम्मान प्रवन्ध गुठीले विशिष्ट प्रतिभाका रुपमा बनेपामा कदर गरेका छन् । बनेपा जेसिजले अग्रज शिक्षासेवीका रुपमा केहीदिनमात्र भयो सम्मान गरेको; उचित र अन्तिम सम्मान भएको सन्दर्भ बिर्सन बनेपालीहरुलाई गा¥हो भएको छ ।
“जीवन भनेको केही गरेर, केही निर्माण गरेर जानु हो । नराम्रो होइन राम्रो सिर्जना र निर्माण गरेर जानुपर्छ ।” सन्दर्भमा राजेन्द्रमाड्साहेब भन्ने गथ्र्यो । उनले भनेर गएझैं बनेपाको भूमिमा घरेलु उद्योगको महत्व बुझाएर, शिक्षाको ज्योति फिँजाएर, पुस्तकालय, पानीमुहान, जात्रा–गुठीलाई संरक्षण र रेखदेख गरेर निकै सम्झिनलायकका कार्यहरु गरेर यिनी गएका छन् । राणाकालीन अवस्थामा बनेपामा रहेर घरेलु उद्योगमा सक्रिय शिक्षक रहेर, आजादमा लेखापाल र शिक्षक भई आफूसक्दो बर्कत् देखाएर जीवन केही हो भनी देखाएर जान सफल व्यक्तित्वका रुपमा राजेन्द्रमाड्साहेबको स्मरण गर्न सकिन्छ ।
बनेपामा रहेर समाजको सेवा गर्दै गर्दा यिनले बनेपाको माटोमा नै राजनीतिज्ञहरु पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठका साथै इतिहासकार भुवनलाल प्रधान, तिलकबहादुर शाही र सरदार भीमबहादुर पाण्डेसँग पनि चिनजान गरेर आफूलाई बलशाली तुल्याएको देखिन्छ । त्यसैले भन्नुपर्छ – ‘बनेपाको भूमिमा राजेन्द्र जोशीले शिक्षणसेवा, समाजसेवा, संस्कृति रक्षा गर्ने अभियान र राजनीतिक जागरणमा आफ्नै ढङ्गको सेवा पु¥याएर गएको देखिन्छ । भन्न सकिन्छ – “राजेन्द्र जोशी अँध्यारो बनेपाको परिवेशमा उज्यालो बाल्न आएका एकजना उच्चारण गर्न सकिने शालीन व्यक्तित्व हुन् । व्यक्तिगत रुपमा भन्नुपर्दा मैले भन्नुपर्छ – “राजेन्द्रमाड्साहेब मेरा प्रेरणाका पनि सत्गुरु हुन् ।”
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |