डम्बर थामी “अनुपम”
विस्मृतिका पानाहरु पल्टाउन खोज्दैछु । वेदनाका पत्रहरु केलाउन खोज्दैछु । चराका तानाहरु र पिडाका गानाहरु पोखाउन खोज्दैछु । जीवन भनेको वेगले बत्तिने हूरी जस्तै रहेछ । हुरिका झोक्काहरु पहाडका थुम्का थुम्कामा ठोकिए जस्तै जीवनका वेगहरु पनि अजनवी पहाडका थुम्काहरुमा ठोक्किने रहेछ । कतै स्वदेशको पहाडमा त कतै विदेशको पहाडमा । एकबारको जूनिमा सामान्य जीवनयापन गर्न पनि धौ–धौ पर्ने अबस्था आउँदो रहेछ । यस्तै यस्तै भावविभोर र मर्मविभोर भावभूमिमा रहेर जीवनका केही तीतामीठा अनुभूतिहरुलाई पोखाउन लागिरहेको छु ।
जीवन एउटा पाठशाला रहेछ । हजारौं कुराहरू सिद्धान्त र व्यबहारबाट सिक्नुपर्ने । जीवन एउटा हुर्हुर्ती आगो बल्ने भट्टी रहेछ । अनगिन्ती भोगाइहरुबाट खारिनुपर्ने । जीवन र जगत बदल्न भनेर १७ वर्षकै अल्लारे उमेरमा बन्दुक बोकेर मुक्तिको लागि झन्जावात र चक्रवाततिर हुत्तिएको हिजो जस्तै लाग्छ । शरीरमा गोलीका छर्राहरु बोकेर रगत छाद्दै छाद्दै दौडिएको पनि हिजो जस्तै लाग्छ । हजारौं युद्धहरुमा ज्यानको बाजी थापेर लडेको पनि हिजो जस्तै लाग्छ । जनप्रतिरोध र जनयोद्धाहरुको संगठित बलले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि हिजो जस्तै लाग्छ । यति ठूलो परिवर्तनको पक्षमा लड्दा पनि आफ्नो जिन्दगी परिवर्तन नहुँदा सीमित मान्छेहरुको मात्र घर व्यवहार र जिन्दगी परिवर्तन हुँदा यो हृदयमा आगो बलेर आउँछ । हामीले हाम्रो मातृपार्टीसँग झोलाभरि पैसा मागेका थिएनौं । केवल काम गरी खाने ठाउँ देखाउ भनेका थियौं । यी सबै कुराहरु निकम्मा र बेकम्मा भए । उत्पादन बृगेडको योजना पनि योजनामा मात्रै सीमित भयो । यसको कार्यविधिले मूर्त रूप लिन सकेन । यी सब कुराहरुलाई छाडेर आफ्नै खुट्टामा उभिएर जिन्दगी जीउने सपनालाई साकार पार्न जसोतसो अगाडि बढ्ने कोशिश गरेको छु । यो नै जिन्दगीको एउटा महान लक्ष्य बन्न पुग्यो भन्ने लाग्छ । देशको कुरा त एकातिर छँदैछ ।
स्वदेशमै केही गरौं । एक थोपा पसिना चुहाए पनि आफ्नै देशको माटाको डल्लामा चुहाऔं भन्ने उद्वेग बोकेर केही व्यबसायिक काम गर्ने जमर्को गरें । तर केही अवसरवादीहरुले मलाई नराम्रोसँग प्रयोग गरे । केही पदलाभ र धनलाभ गरे । म त चारै कुनामा बारम्बार ठोकिरहने गोटि जस्तै बनें । सधैं अर्काको स्वार्थको लागि मात्र गोटि बन्ने कुराले साध्य भएन । नयाँ साहुको हिरासतमा परे जस्तै अनुभूति भयो । अनि बाध्य भएर फेरि एउटा पासपोर्ट बोकेर त्रिभुवन विमानस्थलबाट सयौं ज्यामी माहूरी जस्ता भर्भराउँदा यूवाहरुको लामसँगै मिसिंदै अजनवी आकाशमा उडें । आकाशमा उड्दा लाग्थ्यो देशै कतै अन्तै उडिरहेको छ । देशको स्वतन्त्रता र स्वाधीनता पनि कतै उडिरहेको छ । यस्तै कल्पना गर्दै गर्दै नीला नीला समुद्रमाथि तैरिंदै यो पराईभूमीमा पाईला टेकेको छु । यो पराईभूमिमा गगनचुम्बी महलहरु, भूमीगत ट्रेनहरु, फराकिला बाटाहरु, सुन्दर सुन्दर पाटाहरु, वातानुकुलित घरहरू, सुबिधासम्पन्न शहरहरु, कहिल्यै पूरा नहुने रहरहरु, यस्तै यस्तै छ यो पराईभूमीमा । छेउमा नीला नीला विशाल समुद्रहरु । छिचिमिरा झैं सवारी साधनहरु । लाग्छ स्वर्गको एक टुक्रा यतै कतै खसेको जस्तो । ढोका खोल्न पनि ब्अअभकक ऋबचम को प्रयोग गर्ने यो दुनियाँमा नितान्तै नौलो अनुभूति भएको छ । तर मेरो निम्ति यी सब बेकम्मा हुन् । मैले मेरो ड्युटी त्यही कारखानाको मेसिनसंगै दाँजिएर सुत्ने समय बाहेक काम गरिरहनुपर्छ । कहिले दिन हुन्छ, कहिले रात हुन्छ ! यो शहरमा छुट्ट्याउन गा¥हो छ । कोही खेतबारीमा काम गरिरहेका हुन्छन । कसैले घोडा पालन, कसैले गाई पालन, कसैले बंगुरपालन, कसैले कुखुरापालन फार्महरुमा साहुको हिरासतमा बसे जस्तै जिन्दगी बिताइरहेकाछन् । संसारै यी सीमित घेराभित्र कैद भएकाछन । जिन्दगी नजरबन्दमा परे जस्तै छ । मैले पनि यही अनुभूति गरेको छु ।
वर्ग संघर्षको उच्चतम घडीमा धूलिखेल सदरमुकाम रेक्की गर्न जाँदा उल्टै आफैं गिरफ्तार परेर हिरासतमा परेको थिएं । हिरासतको अमानवीय यातना जस्तै यहाँ साहुले यातना दिईरहन्छ । हप्कीदप्की गरिरहन्छ । सधैं उसको आम्दानी र खुशीको लागि मात्र सोचिरहनु पर्ने हुन्छ । पुलिस हिरासतमा हुंदा जहिले पनि साप भन्नुपथ्र्यो । र भात पकाउने पिपालाई पनि साप भन्नु पर्थ्यो भने यहाँ गधालाई पनि बोस भन्नु पर्ने रहेछ । दया, माया, भावना, प्रेम, नातागोता, कुलकुटुम्ब, इष्टमित्र सबै साहुका मात्रै छन । हामी त केवल नीर्जिव ढुंगा हौं । कामको समयमा कहिलेकाहीँ त बेहोस भएर ढलिने अबस्था आउँछ । केही वास्ता हुँदैन । हिरासतमा पैतालामा लठ्ठी वर्षाएपछिको जुन अवस्था हुन्छ । यहाँ काम गर्दा पनि त्यस्तै अवस्था हुन्छ । सम्झंदा पनि धिक्कार लाग्छ । हामीले पठाएको रेमिटेन्समा बुर्कुसी खेल्ने देशका नीति निर्माताहरुलाई । कहिले मुक्त होला भ्रष्टाचारको महारोगबाट देश । यस्तै यस्तै अनगिन्ती अनुभवहरु संगालीरहेको छु यो पराईभूमीमा ।
१० वर्षे जनयुद्धमा मुक्तिसंग्रामको हिरासत, साथमा दुश्मनको कालकोठरी । शान्ति प्रक्रियामा यु एन ओ को छाप लागेको बन्दुक कुर्दै क्यान्टोनमेन्टको अघोषित हिरासत । अहिले पराईभूमीमा साहुको हिरासतमा शरीरभरि युद्धका उपहार गोलीका छरै छर्रा बोकेर साहुको हिरासतमा जिन्दगी गुज्रिरहेछ । आशा छ यिनै हिरासतका संगीनमय मोडहरुबाट मेरो जिन्दगीमा बिहानीको रातो घाम झुल्कीने छ ।
यो जिन्दगी गुज्रिदैंछ हिरासतै हिरासतमा ।
तर गौरव छ है इतिहासको विरासतमा ।।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |