डा. उपाध्यायको टोली मेरा लागि साक्षात् भगवान् बनेर आउनुभयो ः जोत्सना
काभ्रे । समय सँगसँगै भित्रिएको प्रविधिले असम्भव भन्ने कुनै काम नै बाँकी राख्दैन भन्ने उदाहरण धुलिखेल अस्पतालमा भर्खरै भएको दुर्लभ शल्यक्रियाबाट पुनर्जीवन प्राप्त गर्नुभएकी युवती जोत्सना अर्यालले सञ्चारकर्मीमाझ बताउनुभएको छ ।
आफू साढे दुई वर्षको उमेरमा लडेर च्यापुमा चोट मात्र लागेन, नाक र कानबाट रगत बगेको अवस्थामा जन्मथलो बाग्लुङबाट आमाबुबाले पोखरा पु¥याएर उपचार गरेको स्मरण गराउनुहुँदै बिरामी जोत्सनाले डा. चन्दन उपाध्यायको टोली मेरा लागि साक्षात् भगवान् बनेर आउनुभएको भनाई राख्नुभएको हो ।
जोत्सनाका पिता हेमन्द्र अर्यालका अनुसार तत्कालिन अवस्थामा उपचारमा संलग्न चिकित्सकले समस्या जटिल नभएको बताएकै कारण आफ्नी छोरीको दर्दनाक पिडा वर्षाैंसम्म खेप्न बाध्य भएको पत्रकारमाझ गुनासो पोख्नुभएको थियो ।पत्रकारमाझ पिडा पोख्दै गर्दा उपस्थित जो कोहिलाई भावविव्हल बन्न विवश पारेको त्यो कारुणिक दृश्यले पिडाको वर्णन गरिरहने अवस्था थिएन । जोत्सनाका पिता सोही विषयलाई थप्दै बताउनुहुन्छ– बाल्यावस्थामा जुन दुर्घटना हुन पुग्यो, त्यसका बारेमा हामी मात्र होइन, चिकित्सकहरुलाई समेत यथेष्ट जानकारी हुन नसक्दा छोरीको यो दुर्दशा हुन पुगेको बताउनुहुँदै मुख विस्तारै खुम्चिन मात्र पुगेन खान समेत समस्या झेल्नुप¥यो । १० वर्षको दौरानमा छोरीको मुख खुल्न समस्या हुँदै च्यापु समेत साँघुरिँदै गयो । यहाँसम्म कि अनुहारको स्वरुप नै बिग्रियो । यो असामान्य अवस्थामा पुग्यो । त्यो पिडाले भौंतारिएका हामीले काठमाडौंको बिएमबि अस्पताल ल्याएर शल्यक्रिया गरायौं । तत्काल केही सहज त भयो तर समस्याको अन्त्य हुनुको साटो झन् समस्या बल्झियो । चिकित्सकको भनाई अनुसार चलायमान हुनुपर्ने जोर्नीहरु ढलान बनिदियो । जसका कारण अनुहारमा झन् समस्या सिर्जना भयो । हाम्रो पटक–पटकको प्रयास असफल हुँदै जाँदा मुलुक बाहिर गोरखपुरसम्म पुग्यौं तर हात लाग्यो निराशा । यहि पिडाका बीच भौतारिरहेका थियौं । अकस्मात् ! पत्रिकामा छोरीकै समस्यासँग मेल खाने प्रकृतिको समाचार पढ्न पुगें, जसले आज यो खुशी मिलेको छ ।
जुन समाचारले ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन प्रा.डा. चन्दन उपाध्यायसँग जोडिदियो । यसले समाचारको महत्व कति छ भनिराख्नु परेन । जब डा. उपाध्यायसँगको भलाकुसारीपछि शल्यक्रिया गर्ने निचोडमा त पुग्यौं तर कोभिडले हाम्रा ति सपनाहरुलाई ३ वर्ष पछि धकेलिदियो । ३ वर्षपछि नै भएपनि कहिल्यै भुल्न नसकिने खुशी पाएका छौं भन्नुहुन्छ जोत्सनाका मातापिता ।
पुनर्जीवनपछि हँसिलो मुद्रामा सञ्चारकर्मीमाझ जोत्सनाको प्रतिक्रिया थियो– मेरो खुशीको सीमा छैन । जब मैले केही महसुस गर्ने अवस्थामा आइपुग्दा मेरो मुख नै खुल्न समस्या बन्दै गएको थियो । जति दिनहरु बित्दै जान्थे, त्यति मेरो मुख खोल्न जटिल बन्दै जान्थ्यो । आज मुख खोल्न सक्ने भएको छु । अब पूर्ण रुपमा घाउ निको भएपछि सबैभन्दा पहिला सिंगै मःम खाने धोको छ । मैले आफैं खान लागेदेखि धित खोलेर एक गाँस खान पाएको छैन । मेरो जस्तो समस्या कसैलाई नपरोस् । यदि कोहि मेरोजस्तो समस्यामा हुनुहुन्छ भने समस्या नलुकाउनुस्, यो कुनै जन्मजात अभिशाप होइन । आफ्नो समस्या लिएर धुलिखेल अस्पताललाई सम्झनुस् । मेरा लागि त सञ्जीवनी बन्यो भने तपाईंका लागि पनि सञ्जीवनी बनेर सेवा दिन तयार छ, धुलिखेल अस्पताल अनि ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी विभाग । यो समस्याको महत्वपूर्ण पक्षको रुपमा रहेको मेटल हामी पिडितहरुलाई अस्पतालले निःशुल्क उपलब्ध गराउनेछ । तपाईंले मात्र ! अस्पताल बसाई र शल्यक्रिया खर्च जुटाए पुग्छ भन्न पछि पर्नुहुन्न पिडित जोत्सना ।
यता सर्जरीमा संलग्न प्रा.डा. चन्दन उपाध्यायको तर्क छ– आफूले जानकारी पाएसम्म चिकित्सा क्षेत्रमा नेपालका लागि यो सर्जरी दुर्लभ नै हुनुपर्छ । आफ्नो चिकित्सा पेशामा यो नै पहिलो सर्जरी भएको भन्न पछि पर्नुहुन्न प्रा. डा. उपाध्याय । नेपालको भू–बनोट नै यस्तो जहाँ जोत्सनाका जस्ता घटनाहरु सामान्य घटनाको रुपमा बनिदिन्छन् । यो समस्या लडेर च्यापु ठोकिनु हाम्रा लागि सामान्य मानिन्छ तर त्यसले कति ठूलो समस्या निम्त्याउँछ, लेखाजोखा नै गर्न सकिन्न । यस्तो संवेदनशील विषयमा धुलिखेल अस्पतालले सफलता प्राप्त गरेको छ । यो सामान्य विषय होइन । यस्तो जटिल समस्या (लड्दा च्यापु ठोकिएर हुने मुखको गम्भीर समस्या) को पहिलो पटक हामीले सफलता प्राप्त गरेका छौं । धुलिखेल अस्पतालले प्राप्त गरेको यो सफलताले हामी चिकित्सकहरुमा उर्जा थपेको छ । शल्यक्रियामा संलग्न चारै जना चिकित्सकहरुको एउटै स्वर थियो ।
मुख खोल्न, चपाउन, बोल्नका लागि नभई नहुने कानको नजिकै (कन्चटसँग) जोडिएको दुवैतर्फको जोर्नीमा क्षति पुगेर सिर्जना हुने समस्याको समाधान पहिलो पटक धुलिखेल अस्पतालमा भएको छ । झण्डै ८ घण्टा लगाएर एक २२ वर्षीया युवतीको टेम्पोरोमन्डिबुलर जोर्नी प्रतिस्थापना शल्यक्रिया सम्पन्न भएको पत्रकारमाझ प्रा.डा. उपाध्यायले जानकारी गराउनुभएको छ । जब हामीले युवतीलाई नयाँ जीवन दिन सक्यौं, उनको मुहार फेर्न सफल भएकोमा चिकित्सा विज्ञानलाई धन्यवाद नदिइरहन सक्दैनौं । काठमाडौं कपन निवासी २२ वर्षकी जोत्सना अर्याललाई नयाँ जीवन दिन शल्यक्रियामा संलग्न सबै प्राविधिक टोली धन्यवादका पात्र हुनुहुन्छ । प्रा.डा. उपाध्यायका अनुसार निकै लामो अनुसन्धानपछि यो सफलता मिल्यो, त्यसका बारेमा हामी चिकित्सकसँग समेत सम्बोधन गर्ने कुनै शब्द छैन । जुन सेवा दिएका छौं, धुलिखेल अस्पतालको पहिलो बिरामी जोत्सनाजीले नै पाउनुभएको हो । अघि नै भनिसकें, हाम्रा लागि मात्र नभई धुलिखेल अस्पतालका लागि पनि यो नयाँ विषय हो । यो समस्या विशेषतः बाल्यावस्थामा बालबालिका लड्दा अनुहार तथा च्यापुमा चोट लागेर उक्त जोर्नीमा रगत जम्न गई त्यही जमेको रगत कडा बनी हड्डीमा परिणत भइदिँदा यो समस्या हुनपुग्छ । बाल्यकालमा लागेको चोटको असर उमेर बढ्दै जाँदा जटिलतातर्फ बढ्छ । यो अवस्थामा कति बिरामीको त मुख नै खोल्न नसक्ने अवस्थामा पु¥याउँछ । यसको मुख्य कारण भनेको उमेरसँगै शरीर बढेता पनि चोट पुगेको भागका हड्डीहरुको विकास नहुनु हो । विशेषतः च्यापु बाङ्गो बन्दै जान्छ, ठक्कर लागेर उत्पन्न भएको रगत हड्डीमा परिणत हुन्छ । जसका कारण यो समस्याले घर जमाउँछ । यो कुनै जन्मजात समस्या होइन र पुनर्जन्मको फल भन्ने भ्रम पनि होइन । यस्ता रुढीवादी चिन्तनको पछि पनि लाग्नुहुन्न । समस्याको समयमै पहिचान गरी उपचारतर्फ लागौं । हाम्रो गाउँघरमा सानो उमेरमा रुख चढ्दा वा अन्य कुनै कामको दौरानमा यस्ता घटना घट्छन् । जसका कारण हड्डी खिइनु, लड्दा जमेको रगत हड्डीमा परिणत हुनु समस्याका कारण हुन् । जसले गर्दा जोत्सनाजीको जस्तै समस्याहरु सिर्जना हुन पुग्छन् र अनुहार पूरै संक्रमक बन्न पुग्छ । कहिलेकाहिँ अस्पतालकै मुख नदेखि पिडितले अकालमा मृत्युवरण गर्न विवश भएका घटनाहरु हामीले सुन्ने गरेका छौं । यो सबैको पछाडि चेतनाको अभाव, आर्थिक अभाव नै पहिलो समस्याको रुपमा रहेको छ भने सो समस्याको बारेमा समयमै परामर्श नपाउँदा पनि अप्रिय घटनाहरु हुने गरेका छन् ।
प्रा.डा. उपाध्यायको थप कथन थियो– जुन सफलताको कुरो आएको छ, त्यो सामान्य परिवारको पहुँचभन्दा बाहिरको विषय पनि हो । हामीले जोत्सनाजीका लागि समस्याको पहिचान र निराकरणको समय हेर्ने हो भने सामान्य मान्न सकिन्न । जब समस्याको पहिचान भयो, तब आर्थिक लगायतका पक्षहरु देखा परे । त्यो हाम्रो पहुँचभित्रको विषय थिएन । यो प्रविधि नेपालको सन्दर्भमा महँगो हुनुको अलावा सम्भावना पनि नभएको कारण केही जटिलता आएका भने पक्कै होइनन् । किनकी बिरामी र अस्पतालको प्रयासले मात्र उपचार सम्भव थिएन । यसका बाबजुद पनि समस्यालाई धुलिखेल अस्पतालले अष्टे«लियाको मेलवोर्न पठायो । जुन प्रविधिको प्रयोग गरेर पठाइएको थियो, त्यहाँको चिकित्सहरुको टोलीले हाम्रो समस्यालाई सूक्ष्म र निर्मम ढंगबाट अध्ययन ग¥यो र समाधानतर्फ चासो बढायो, तब हामीमा हौसला जागेर आयो । बिडम्बना ! त्यति नै बेला कोभिड–१९ ले हाम्रो मुलुक मात्र नभई विश्वलाई नै आक्रान्त बनाइदियो र भनेको समयमा मेटल पठाउन सक्नु भएन । जुन समस्या हामीले पठाएका थियौं, त्यसका लागि मेटलसहितको चिकित्सक टोली आउने योजना थियो । कोभिडका कारण त्यो रोकियो र पछि अष्टे«लियाको मेडिकल टिममा ट्रेवर मोइलको विशेष पहलमा डा. एन्ड्रयु हेगी, डा. रिकी कुमारले नेपाल आउने कुनै विश्वासिलो पात्रका साथ लगाएर मेटल र थ्रीडीको फोटोको आदानप्रदानकै कारण आज अकल्पनीय उपलब्धी हात लागेको छ । यो बिचमा हामीले कयौं पटक भर्चुअल बैठक बस्यौं । त्यही थ्रीडी फोटोकै आधारमा आवश्यक सामग्री प्राप्त ग¥यौं । झण्डै तीन वर्ष अघि तयार भएको मेटल गत वैशाख २० मा जोत्सनाजीको अनुहारमा प्रत्यारोहण गर्न सफल भयौं । जोत्सनाजीको बंगाराबाट कन्चटमा जोडिएको जोर्नीले अब मुख खोल्ने, दाँतले चपाउने कार्यमा महत्वपूर्ण जिम्मेवारी लिनेछ भन्ने विश्वास हामीले लिएका छौं । साथै च्यापुको हड्डीमा समेत समस्या आएकोले जोर्नीको मात्र नभई च्यापुमा पनि मेटल राखेका छौं । उहाँले एकै पटक तीन वटा शल्यक्रियाको सामना गर्न पुग्नुभएको छ । यसका लागि मेलवर्न चिकित्सा टोलीसँग निरन्तर हामी भिडियो कलमा जोडिरह्यौं ।
जसले हामीलाई पहिलो पटक आफ्नै भूमिमा सफलता मात्रै मिलेको होइन, त्यो मेटल लगायतका आवश्यक सामग्रीहरु निःशुल्क पनि प्राप्त गर्न सफल भयौं । जसले गर्दा यस्ता किसिमका शल्यक्रियामा प्रयोग हुने मेटलहरु निःशुल्क प्रत्यारोहण गर्न पाउने भएका छौं । यो आत्मीयता मेलवर्न चिकित्सा टोलीले बढाइदिएको छ । अब कुनै पनि यस किसिमका बिरामीहरु मेटलबिना तड्पनुपर्ने छैन । सहज रुपमा शल्यक्रियाका लागि हामीले समय दिन सक्छौं । जसबाट सामान्यतयाः २०÷२५ लाख रुपैयाँ बराबरको सामग्रीहरु निःशुल्क उपलब्ध हुने भएको छ भन्नुहुँदै प्रा.डा. उपाध्याय थप्नुहुन्छ– धुलिखेल अस्पतालमा रहेको फेसियल फोटोग्राफहरु (पूर्व अपरेटिभ) मेसिनको पनि ठूलो भूमिका रहेको छ । जब जोत्सनाजीको समस्याको पहिचानलाई जस्ताको तस्तै उतार गरेर ठूलो साइजमा थ्रीडी मार्फत् मेलवर्न पठाउन सफल भयौं, त्यसले समयको माग अनुसार प्रविधिसँग हामीलाई हातेमालो गर्न सहज धुलिखेल अस्पतालले गराइदिएको छ । जसका कारण आज जोत्सनाजी समस्या मुक्त हुँदै हुनुहुन्छ । यो प्रविधिबाट गरिने बंगाराको जोर्नी प्रत्यारोहण विधिलाई फ्युज्ड जोइन्ट वा कडा जोड भनिन्छ । यो उपचार पद्धति महँगो साथै पिडितले कम्तीमा ६ महिना चिकित्सकको निगरानीमा रहनुपर्छ । किनकी मानव शरीरले सहजै रुपमा मेटललाई स्वीकार्न नसक्न पनि सक्छ । त्यसबाट संक्रमण हुने जस्ता समस्या पनि आउने गर्छन् । त्यसैले पनि चिकित्सकको बारम्बार सम्पर्क रहनुपर्ने बताउनुहुन्छ प्रा.डा. उपाध्याय । यो सवालमा धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय, स्कूल अफ मेडिकल साइन्स (कुम्स) को ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन विभागका प्रमुख प्रा.डा. चन्दन उपाध्याय, डा. नितेश चौरासीया, डा. सनक दुलाल र डा. ममता शाक्य त्यसैगरी शिक्षण अस्पताल महाराजगञ्जका डा. आशुतोष सिं र काठमाडौं मेडिकल कलेजका प्रा.डा. आलोक सग्तानी, अष्टे«लिया मेलवर्नमा रहेका डा. एन्ड्रेयु हेगी र डा. रिकी कुमारको महत्वपूर्ण योगदान रहेको समेत बताउनुभएको थियो । (साथै अनुभवी मेडिकल टिम लिडर टे«वर मोइल विशेष योगदानकै कारण उक्त शल्यक्रिया सफल भएको देखिन्छ ।)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |