रचना मोक्तान “यात्री”
काभ्रे जिल्लाको गोकुलेमा हारबोरिङ गरेर बसेको दुई दिन भईसकेको थियो । गोकुले प्रकृतिले सिँगारिएको एक सुन्दर भूमि । चारैतिर अग्ला–अग्ला पहाडहरुले घेरिएको उपत्यका जस्तो फराकिलो बारीमा कोदोको बाला लहलहाइरहेको थियो । खेतमा पँहेलपूर धानका बालाहरु झुलिरहेको थियो । मनमोहक दृष्यले लठ्ठै पारेको थियो । मगर र तामाङ जातिको संयुक्त बस्ती । बस्तीको बीचमा सरकारी विद्यालय गोकुले मा. वि. । खेतको आली नै आली अलिकति तल हिडेँपछि पानी ट्याङ्की । लहरै जोडिएको पानीको धारा । स–सानो खोल्सी हुँदै कलकल बगेको पानी । खोल्सीको दायाँबायाँ हरियो खोलिसाग थियोे । पार्टी संगठनमा रहँदा कहिलेकाहीँ त्यही खोलीसाग टिपेर तरकारी खाएको थिएँ । म यहि मनोरम वातावरणमा मुग्ध हुँदै माओको संकलित रचना भाग २ मा आँखा डुलाउँदै थिएँ । कमान्डर स्मृतिले भनिन् “लु लु तयार हुनु रोलकालमा बोलाई सक्यो ।”
कम्ब्याट ड्रेसमा सजिएका राता योद्धाहरु रोलकलमा खडा भईसकेका थिए । हामी पनि हतार हतार सामेल हुन पुग्यौँ । रोलकल विद्यालयको फराकिलो प्रांगणमा हुँदै थियो ।
“टोलीले गोडा फाट्ला –गोडा फाट
टोली सतर्कमा आउँला –सतर्क
टोलीले काउन्ट गर्ला – काउन्ट शुरु”
कमान्डरको कासन आयो !
छाती तनक्क तन्काएर एक, दुई, तीन, चार, पाँच एवं रीतले दुई सय पचास सम्म संझेँ । त्यसपछि आवाज मधुरो हुँदै गयो। अन्तिममा जम्मा संख्या ४४५ जना भयो । कमान्डरको साथमा हाते माइक थियो। फौजी योजनाको ब्रिफिङ र सम्पूर्ण टोली मुभ हुने दिशाबारे जानकारी दिन थाले ।
“कमरेडहरू हामी एउटा यस्तो मिसनमा जाँदैछौँ जुन मिसनबाट हामीले हाम्रो पार्टीको योजनालाई सजिलै पूरा गर्न सक्नेछौँ । हामी मृत्युलाई जितेका राता मान्छेहरू हौं । जसको एक गर्जनले नेपालको सामन्ती फाँसीवादी राज्य व्यवस्था मात्र नभइ विश्व हल्लिरहेको छ । राज्यसत्ता हारको मानसिकतामा पुगेर देशी तथा विदेशी दलालहरूसँग हार गुहार मागिरहेको छ । त्यसैले कमरेडहरू हामी अन्तिम युद्ध लड्नको लागि जाँदैछौँ । हामी पलपल मरेर बाँच्ने कायर मृत्यु हैन एकैपटक साहसिक मृत्यु रोजेर हजारौँ जनताको मुक्तिको लागि मरेर बाँच्ने लाल योद्धा बन्नु पर्छ। व्यवस्था फेर्ने र देश बदल्ने जिम्मा हाम्रो काँधमा आएको छ । हामी कहाँ? कता? लड्न जाँदैछौँ भन्ने कुरा तपाईंहरूको एसाल्ट कमान्डरहरूलाई जानकारी भईसकेको छ । हामी हाम्रो जिम्मेवारीमा कोही पनि चुक्ने छैनौँ । यस्तै यस्तै गर्विलो मोर्चाबन्दी आदेशात्मक भनाई राखे ।”
“ईन्फेन्ट्रीमा १३औँ बटालियन, क्रमश… १४औँ, र रिअरमा १५औँ बटालियन हुनेछ ।” कमान्डरले मार्चिङ्को कासन यसरी दिए ।
फेरि कासन आयो !
“टोलीले गोडा फाट्ला –गोडा फाट
टोली सतर्कमा आउँला –सतर्क
गोडा फाट
टोली मुभ ।”
दिनलाई अँध्यारोको साम्राज्यले छोप्नै लागेको बेला कमिलाको ताँती झैँ जनमुक्ति सेनाको बेथान समृति ब्रिगेडको फर्मेशन अघि बढ्यो । पैतालाहरूले गोकुले र धापडाँडा छोडेर ओरालो लाग्यो । ओरालो बाटो, सालघारी छिचोलेपछि चाबुखोला आइपुग्यो ।
चाबुखोलाको तिरैतिर ढुङ्गे बगरमा हिँडिरहँदा पछाडि फर्किएर हेर्दा त आम्मा …. आम्मा मा …. जुनकिरीको जस्तो धिपधिप टर्च लाइटको उज्यालोमा लस्कर कति लामो कति ! कोही बोलेको आवाजआएको छैन। एकोहोरो ग¥याप… ग¥याप पाइला चाल्दाको पदचाप मात्र । कुनै संगीतको मीठो धून जस्तै सुनिरहूँ झैं लाग्ने । चिसो मौसमलाई पनि हिँडाइको तातोले भूलिरहेको थियो। बाटो कहिले बगरै बगर त कहिले जङ्घार तर्नुपर्ने खालको थियो । चिसो पानी सम्झिदै शरीरमा काँडा उम्रियो। जुत्ता, मोजा खोल्ने र लगाउने समय थिएन । ठाउँ ठाउँमा ढुङ्गाको वा काठको फड्के थियो । ढुङ्गा होला भनेर टेकेको त छ्याप्लक्क पानी घुँडासम्म आयो । चुर्लुम्मै भिजियो ।
आच्छु ! मुखबाट यही शब्द निस्कियो । म भन्दा अगाडि हिँडिरहेकी सरस्वती र पछाडि हिँडिरहेकी उर्मिलाले एकै चोटी – ‘ला ! यो त पानीमा पो प¥यो । ढुङ्गामा फड्को मार्न सकेनछ विचरी ! “साथीले यति भनेपछि बल्ल थाहा पाएँ मैले त फड्को मार्ने ढुङ्गा नै भेटेनछु । हिँडाइसँगै पानीको छाप्लाङ छुप्लुङ पानीको आवाज आईरह्यो । त्यत्तिकैमा फर्मेशन टक्क रोकियो । बिस्तारै पछाडिको फर्मेशन पनि रोकिदै गयो आँपटारबाट कोखाजोर खोला मिसियो। कोखाजोर सिन्धुली र काभ्रेको सिमानामा बग्दै थियो । एकोहोरो खोलाको सुसाइ, तर्नुपर्ने जंघार कहिले घुँडासम्म त कहिले कम्मरसम्म पानी आउँथ्यो । चिसोपानीले जुत्ताभित्र खुट्टा करकरि खाइरहेको थियो । जङ्घार तर्दा खुट्टामा ठोक्किन आउने माछाहरुले काउकुती लगाईरहन्थ्यो ।
बल्लतल्ल सिक्रे दोभानमा पुग्यौँ । छोटो झुलुङ्गे पुल त¥यौं । उक्त पुल बाग्मती नदी तर्नको लागि बनाएको थियो । हामी त्यही दोभानमा एकछिन आराम ग¥यौं । स– सना छाप्रोहरुमा चलाएको खाजा घर । म त्यहाँ पहिला पनि पुगेको थिएँ । माछाको लागि निकै नाम चलेको ठाउँ थियो । कमरेड धरिना र मैले पहिला दुई चार चोटी माछा पनि खाएका थियौँ । म एक्लै पुग्दा चाहिँ सानी फुच्ची केटीको लागि भनेर होटलवालाहरुले माछाको पैसा लिंदैन थिए । एकछिन सुस्ताएपछि फेरि हिँड्नु प¥यो । तेर्सो बाटो कुलै कुलो । त्यो कुलोको डिल यति सानो थियो कि डिलमा हिँड्न सक्ने कुरै थिएन । सबै जना पानीमै हिँड्न थाले । पाइलाहरू बिस्तारै मकवानपुरको भूमिमा टेक्दै थियो । करिब १५÷२० मिनेटको हिँडाइपछि भोर्लेनी बजार पुग्यौं । ठिक्कको सानो बजार, सडकको दायाँबायाँ लस्करै घर, हेर्दा पनि चिटिक्कको। शनिबार र मंगलबार हाट लाग्थ्यो। म पनि पहिला हाट लागेको बेला पुगेको थिएँ । बिजुली बत्तीले सडक नै झलमल्ल उज्यालो । “आजको रात हामी यहि बिताउँछौँ” स्मृतिले भनिन् । दिउँसै जाने साथीहरुले जसोतसो सुत्ने ठाउँ बनाएका रहेछन् । आ–आफ्नो तोकिएको सेल्टरमा बस्यौं ।
यतिकै त म निदाउन नसक्ने मान्छे। चिसो आधा भिजेको शरीर के निदाउन सक्थेँ र ! आफ्नो कपडा फेर्दै स्मृतिले मलाई पनि कपडा फेर्न लगाईन् । दुबै जना मान्द्रोमा पल्टियौँ । मलाई मात्र हैन स्मृति दिदीलाई पनि निद परेनछ क्यारे ।
“ओइ! संरचना !”
“हजुर”
“कता आक्रमण गर्दैछौं भन्ने थाहा छ ?”
“अहँ ! कसरी थाहा पाउनु ? अनि तपाईँलाई चाहिँ थाहा छ त ?”
“थाहा छ ।”
म आश्चर्य चकित परें । “हँ…. कता हो र ?”
“यही आसपसमा हुनुपर्छ क्या अन्त कहाँ हुनु” खित्का छोडेर हाँसिन् । मेरो हाँसो पनि उनकै हाँसोमा मिसियो। सायद आवाज अलि ठूलो आएछ क्यारे अर्को कुनामा निदाइरहेको क. अन्दाज बिँउझियो । झिँजो मान्दै “ह्या.. यी दुई जना सँगै भयो भने सधैँ यस्तै गर्छन् । गफ पनि कति आको हो । एक निन्द्र पुगेर बिउँझिदा पनि नसकिने गुनगुन गरेको छ गरेको छ उफ् ! सुत के सुत ।” ऊ कोल्टे फेरेर सुत्यो । अरु साथीहरू भने गहिरो निन्द्रमा थिए । म पनि जबरजस्ती निदाउन कोसिस गर्दै थिएँ । बिस्तारै हातले मेरो ढाडमा कोट्याउँदै
“संरचना !”
“हजुर !”
“तिम्रो कोहीसँग लव परेको छ ?”
“नाइ, मसँग कसले गर्छ त लब ? म सानी छुच्ची, फुच्ची छु । अनि तपाईको परेको छ त दिदी ?“ उनको बारेमा पनि बुझ्ने मौका यही हो भनेर प्रश्न तेस्र्याएँ । किन कि स्मृति दिदीको लबको कुरा अलिअलि सुनेको थिएँ ।
“हो मेरो लब परेको छ । यो कुरा हेडक्वाटरलाई पनि जानकारी पुगिसकेको छ ।”
“कोसँग हो नि दिदी ? मैले चिन्छु कि चिन्दिन ?”
“मेडिकल विभागको संजोगसँग ।”
“अनि बिहे किन नगर्नु भएको त ?”
“हरेक कार्यक्रममा बिहे गरौं भन्दा पख, पख मात्र भन्नु हुन्छ । खोइ के हो ? के हो ? हुन त आन्दोलन सफल बनाउनु पहिलो प्राथमिकता हो । बिहे त गौण पक्ष भएर पनि होला ।” उनले आफ्नो विचार राखिन् ।
“तपाईलाई बिहे गर्न पाए हुन्थ्यो जस्तो लाग्दैन त दिदी ?” मैले फेरि प्रश्न तेस्र्याएँ ।
“लाग्छ नि । यतिका वर्षसम्म प्रेम सम्बन्धमा रह्यौं । आन्दोलन झन् झन् चर्किदैछ । लडाइमा को कहाँ कति बेला ढलिन्छ थाहा छैन । एक अर्को जो पहिला ढले पनि कमसेकम सहिद परिवार भनी चिनोयोस झैँ लाग्छ । यतिकै ढल्यो भने मनमा त आफूले रोजेको मान्छे हो तर आफ्नो भन्न पाइन्न ।” यति भनेर एकछिन सुँक सुँकाइन् । म चाहिँ के बोल्ने के नबोल्ने अलमलमा परेँ ।
ओहो ! प्रेममा पर्नु भनेको त कुनै बेला दुख्नु पनि रहेछ । हैन भने स्मृति दिदी किन सुँक सुकाउँथीन् र ? प्रेममा धेरै कुरा अभिव्यक्त नगरे पनि बुझ्नु पर्दोरहेछ ।
“दिदी”
“हजुर”
“लडाइँबाट फर्के पछि बिहे गर्नुस ल ।”
“हामी दुवै जनालाई केही भएन भने गर्ने हो ।”
“केही हुन्न ।” मैले भनें ।
लडाइमा घाइते, मृत्यु, अङ्गभङ्ग सब हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि केही हुन्न भनी ढाडस दिएँ । मेरो ढाडसले उहाँको मन छोयो छोएन उनी नै जानून् । मेरो दिमागमा भने यही गीत एकोहोरो बजि रह्यो ।
तिमी झन आगो बन्नु लक्ष्य नपुग्दै म ढलेछु भने
तिमी झन चट्टान बन्नु बाजको पन्जामा म परेछु भने ।
उमेर पुगेका, प्रेममा परेका जोडीहरूलाई भने वैधानिकता दिँदै बेला बेलामा वैवाहिक समारोहको आयोजना गर्दै आएको देखेको थिएँ । स्मृति दिदीको बिहे छिट्टै होस् भन्ने मनमा लाग्यो । दुई दिदीबहिनीको आँखाको परेला झिमिक्क पनि नजोडि बिहानको ३ बज्यो। हाम्रो गुनगुनले निद बिथोलिएको क. आन्दाज फेरि झर्किन थालेपछि भने गफिने मन हुँदाहुँदै चुप बस्नु प¥यो । बिहानको ७ बजेतिर टोली मुभ हुने खबर आयो। रातभरको अनिदो आँखा मिच्दै तयार भएँ । सेल्टर छोड्दै गर्दा अबको यात्रा कता होला ? मनले मनसँग प्रश्न गरिरह्यो !
माघ ८
अगाडिको टोली नदी किनार नै ढाक्ने गरि बगेको बागमती तरेर गएको देखेँ । योद्धाहरुको अनुहार माघको जाडो र चिसो सिरेटोले लालीगुराँस झैँ रातो देखिएको थियो । खोलाको पानी घुँडा घुँडासम्म आउथ्यो त कुनै ठाँउमा घुँडा भन्दा माथि आउँथ्यो ।
खोलाको छेउमा पुगेपछि चिसोको कारण चिसो पानीमा खुट्टा डुबाउन मन लागेन । म भन्दा अगाडि पछाडिका साथीहरु धमाधम खोला तरेर जाँदै थिए । म चाहिँ नदी किनारमा उब्जिरहें । क. सृष्टि मेरो छेउमा आइपुगिन् ।
“जाउ !”
“यो जाडोमा कसरी तर्नु ?”
“म बोकूँ त ?“ जिस्काउने शैलीमा बोलिन् ।
“सक्छौ भने बोक न त ।”
“तँ फुच्चीलाई बोक्न सक्दैन भन्ठानेकी ?”
“बोकेर देखा न त ।”
पछाडि बोकीरहेको ब्याग अगाडि लगिन् । उनले आफ्नो पिठ्यूँ थापिन । म गदगद हुँदै सानी बच्ची जसरी पिठयूँमा चढेँ । मानौं उनको ज्यानमा नियमित बोक्ने ब्याग बाहेक अरू केही छैन। उनी त्यसरी नै खोला तरिन । साथीहरु मलाई जिस्काउँदै ’नाटक नै बढी भन्न थाले।’ बागमति पारी सिन्धुली जिल्ला । सालको पातलो रूखहरु, खजुरको बुट्यान रातो माटोमा धमिराको स–सानो ढिस्को भएको उकालो बाटो लाग्यौं । करिब ३० मिनेट जति हिँडेपछि चिसापानी गाउँमा पुग्यौं । दिनभरिको सेल्टर त्यहीँ रहेछ । हारबोर सेट गरेर बस्यौं । केही साथीहरू त्यहाँबाट छुट्टिए । उनीहरू कता गए थाहा भएन । बिहानको खाना त्यही खायौं । तरकारी थिएन । रातो दाल मात्र थियो । क. चेली, क. कृतिका र मैले दाल खाँदैनथ्यौं । कहिले दालमोठसँग त कहिले चाउचाउको मसलासँग भात खान्थ्यौं । मेरो झोलामा चाउचाउ र दालमोठ केही थिएन । निस्तो भात चलाइरहेको देखेपछि क. चेलीले ब्यागबाट चाउचाउ र कृतिकाले दालमोठ निकाले । त्यहीसँग तीनै जनाले खान खायौँ ।
दिनभर साथीहरूले हातहतियार चेक जाँच गरे । अपुग बमहरू बनाए । बिस्तारै दिन ढल्दै गयो। साँझ पर्दा हेडक्वाटरबाट टोली मुभ हुनुपर्ने जानकारी आयो । साँझ परेपछि बिस्तारै ओरालो बाटो झ¥यौं । खोलाको बगर, कहिले गाउँ, कहिले बजार जस्तो त कहिले कच्ची सडकमा हिँडिरह्यौँ। अर्ध समथर भू–भाग भोर्लेनी, टाँके, बगेरि, लिलाबन, ज्यामिरे हुँदै झुर्झुरे पुग्यौं । म टोलिसँग निर्धक्क पोजिसनमा बसेँ । पहिलो, दोस्रो, तेस्रो एसाल्ट र स्वयं सेवक टोली सब जना तम्तयार अवस्थामा दुश्मनको किल्लामा बारूद झैँ सल्किन, बम बनी पड्किन र मर्न, मार्न तयारी अवस्थामा रह्यौं ।
एक्कासि ड्या… म्म । ड्याम ड्याम । एकैचोटी चारैतिरबाट चट्याङ र असिना बर्सेसरि फायर ओपन भयो । मानौ वरीपरी कतै ठूलो पहिरो जाँदाको जस्तो। घमासान दोहोरो भिडन्त भयो । दुश्मनको किल्लामा चिच्याहट र रुवावासी चल्यो। सयौको संख्यामा हाताहाती भए । कुदाकुद भागदौड मच्चियो । अपर्झट लडाइँमा हुने नै यस्तै हो । हामी योजनाबद्ध लडाइमा भएको कारण दुश्मनमा जति त्रास हामीमा थिएन । केही समय हामी यसरी आक्रामक बन्यौं कि सेनाहरू आत्तालिएर जताततै गोली बर्साइरहेका थिए । अझ उनीहरु निसानामा चुकी रहे। बिस्तारै उनीहरू आक्रामक बन्न थाले। नाइट भिजन हेलिकप्टर पनि बोलायो । त्यसपछि जमिनमा हिँडिरहेका कमिला समेत देख्न सक्ने उज्यालो भयो । हाम्रो कभरहरु एक्सपोज हुँदै गयो । अवस्था प्रतिकूल बन्दै गयो। योद्धाहरू ढल्न थाले । युद्ध रक्षात्मक स्थितिमा पुग्यो ।
ऐया ! छेउमै रहेको क. सृष्टिलाई गोली लाग्यो। उनी ढलिन् । पाखुरामा गोली लागेछ । असिनासरि गोलीको वर्षा भईरहेको थियो । उनलाई तानेर पछाडि सारेँ। अनि मैले इन्सासको ट्रिगर पूरै दबाएँ । सपोर्ट फायर भएपछि स्वयंसेवक साथीहरुले उनलाई मेडिकल विभागमा पु¥याए । आकाशबाट पनि बम खसालीरह्यो । भेरीलाईट बालीरह्यो । त्यो झलमल्ल उज्यालोमा ताकि ताकि बम खसाल्यो र गोली हान्यो ।. क लिला, क. अन्दाज र क. सिमा आँखै अगाडि सदाको लागि कहिल्यै नउठ्ने गरि सुते । क. लिलालाई बमले उडायो । अन्दाज र सीमालाई गोली लाग्यो।
क. सौगात, क.रविन, क.उत्तम, र क.धिरेन घाइते भएर पछि हट्नु प¥यो । लडाइँ जित्ने सम्भावना नरहेपछि हाम्रो टोली आक्रामक बन्न सकेन । रक्षात्मक हुनुपर्ने बाध्यता भयो । चार पाँच घन्टाको लडाइँपछि टोलि रिट्रिट हुनुपर्ने निर्देशन आयो । बिस्तारै रिट्रिट हुने क्रममा थियोब। यही बेला क. गम्भीरलाई पेटमा गोली लाग्यो । एकैचोटी आन्द्र भुँडी छ्यालबल निस्किन थाल्यो। एक जना साथीले हतार हतार पछ्यौराले बेरेर पछाडि सार्दै लगे । उनी भन्दै थिए “म मर्दिन, बाँच्छु । क्रान्ति जिन्दवाद । वीर सहिद लाल सलाम ।”
करिब १०÷१५ मिनेटपछि बिस्तारै बोली बन्द हुँदै आयो । ल्याउँदा ल्याउँदै बीच बाटोमा उनले पनि प्राण त्यागे । मिरमिरे उज्यालोमा टोलि फर्केर भोर्लेनि आइपुग्यो । घाइते साथीहरूको घाउबाट रगत बग्दै थियो। सबैको अनुहार मलिन थियो । कसको कमान्डको कति जना कमरेडहरु घाइते भए कति जना सहिद भए । कसको टोलीले एसाल्ट सम्हाल्न सकेन कहाँनेर चुक्यो? यावत खालको समीक्षा हुनै बाँकी थियो । सबैभन्दा पहिला त सुरक्षित स्थानमा पुग्न र घाइतेलाई बचाउन सुरक्षा दिने जिम्मेवारी प्रमुख भएकोले सरासर आधार इलाका काभ्रेको फलामेटार तर्फ लाग्यौँ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |