परशु घिमिरे
मध्यकालीन संरचनासहितको तामाङ जातिलाई केन्द्रित गरेर जीवन्त संग्रहालयको अवधारणा अघि सार्ने योजनामा गाउँपालिका गम्भीर छ । यो खुला संग्रहालयमा मध्यकालीन शैलीमा निर्मित (आधुनिक प्रविधिसहित) घरहरू, धार्मिक स्थलहरू, रहनसहनको जीवन्त प्रदर्शनीलगायतका विषयहरू समेटिनु पर्छ । जीवन्त संग्रहालयका लागि तालिमसहितका वास्तविक कलाकारहरू (परिवार नै) संलग्न गराउन सके उत्कृष्ट परिणाम दिन सकिन्छ । खाना बनाउने, रक्सी पार्ने, जाँड राख्ने, अन्न कुट्ने, पिस्ने घट्टलगायतका गतिविधि सातै दिनसम्म चल्ने गरी संग्रहालयको अवधारण बनाउने योजनामा पनि छलफल भइरहेको छ । यो संग्रहालयमा तामाङको परम्परागत भोजनसहित होमस्टेका अवधारणाअनुरूप सफा र उच्च मापदण्डका कोठा (हेर्दा परम्परागत) बनाउन आवश्यक छ । डम्फु पार्कको वर्तमान क्षेत्रलाई बढाएर यो स्थानमा (झरना, ताल, मधुरो संगीतसहितको) व्यवस्था गर्न सकिन्छ । संग्रहालय परिसरमै पर्ने गरी तामाङको विगतका समृद्धि झल्काउने सबै वस्तु वा संरचना तयार गरिनुपर्छ । व्यवस्थित पशुपालनलाई पनि यस संग्रहालयले समेट्ने योजना छ । यो संग्रहालय संस्कृति र आधुनिकताबीचको प्mयुजनका रूपमा रहन आवश्यक छ । यसका लागि कीर्तिपुरको लहनाले सुरुमा कसरी काम गरेको थियो भनी अध्ययन गर्न आवश्यक छ । र, यसका साथै मगर र हायु समुदायलाई लक्षित गरेर होमस्टेका रूपमा सम्बन्धित क्षेत्रमै संग्रहालयकै अवधारणाअनुरूप कार्य गर्न आवश्यक रहेको महसुस गाउँपालिकाले गरेको छ । स्थानीय सरकारको मुख्य जिम्मेवारी भनेको आफ्नो ठाउँको कला संस्कृति बचाउनु पनि हो । तामाङ जातिको ठूलो बाहुल्य भएको गाउँपालिका हो यो । त्यसैले तामाङ कला संस्कृति जोगाउन गाउँपालिकाले गरेको प्रयासमध्ये एक हो डम्फुपार्क । वडा नम्बर ११ अन्तर्गत कालढुंगा (मंगलटार नजिक रोशी किनार) मा डम्फुपार्क निर्माणका लागि करिब ३५ रोपनी जग्गा पालिकालाई प्राप्त भएको छ । तामाङ जातिको कला संस्कृति तथा संस्कार झल्कने डम्फुपार्क अहिलेसम्म भुटानमा मात्रै बनेको छ । नेपालमा यो पहिलो हुनेछ । यसका लागि छिमेकी पालिका तिमालले पनि सहयोग गर्ने संकेत देखाएको छ । डीपीआर तयार भइसकेको छ । नेपाल आउने हरेक विदेशी पर्यटकलाई डम्फुपार्क पु¥याउन सकियो भने ठूलो उपलव्धि हुनेछ ।
ताराखसे लेक संरक्षण योजना
केन्द्र बिन्दुमा ः ताराखसे लेक
समेटिने क्षेत्रहरू ः ताराखसे लेक, हात्तीआल, सीतापाइला, मानव निर्मित ऐतिहासिक संरचना र हिमाल दृश्यावलोकन क्षेत्र ।
ताराखसे लेक क्षेत्र आफैंमा प्राकृतिक दृश्यावलोकनका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने स्थान हो । तर ताराखसे लेक नजिकैबाट लगिएको मोटरबाटो, सीतापाइला हँुदै हात्तीआललाई बीचबाट चिरेर बनाइएको विकासको विकृत नमुनालाई हाम्रो रोशी गाउँपालिकाले सच्याउन जरुरी छ । स्थानीयहरूको आस्था र विश्वास जोडिएको यो स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनु पर्छ । ताराखसे लेकसँगै जोडिएको परम्परागत पदमार्गलाई पुनस्र्थापना गर्न पनि जरुरी छ । साथै, ताराखसे लेकदेखि हात्तीआलमाथि रहेको नापी विभागले राखेको स्तम्भ र पाँच पाण्डव डाँडालाई समेत पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । ताराखसे लेक आसपासबाट देखिने हिमालय शृंखलालाई आम्दानीको स्रोत बनाउन आवश्यक छ । यहाँबाट देखिने हिमालहरू दृश्यावलोकन आफैंमा उत्कृष्ट पर्यटकीय प्याकेज हो । साथै, पहाड, तराई र हिमाल देखिने स्थानका रूपमा यो ठाउँ प्रसिद्ध छ । महाभारत जंगलमा रहेको ताराखसे लेकको विषयमा एउटा किंवदन्ती छ । कुनै समय ताराको एक टुक्रा खसेर ठूलो खाल्डो बनेको र पछि पानी पर्दा जम्मा भएको पानीले पोखरी बनेको स्थानीयहरूको भनाइ छ । महाभारत जंगलको शिरमै (करिब २८०० मिटरको उचाइ) पानीको पोखरी र संरक्षण नगरिएको अवस्थामा महादेवको मन्दिर देख्न सकिन्छ । हरेक साउने संक्रान्तिमा महादेवको मन्दिरमा मेला लाग्छ । साबिकको गोकुले, घर्तीछापलगायतका गाविसका बासिन्दाको आउजाउ गर्ने प्रमुख बाटो ताराखसे लेक, हात्तीआलमै पर्छ । कुनै बेला हात्ती आएर आहाल बसेको हुनाले यो पोखरीको नाम हात्तीआहाल रहेको किंवदन्ती छ । केही वर्षदेखि मान्छे हिँड्ने पुरानोे गोरेटो बाटोलाई मोटर चल्ने बनाइएको छ । ताराखसे लेक आसपासबाट भक्तपुरको नगरकोटबाट देखिनेलगायत अन्य अनगिन्ती हिमालहरू देख्न सकिन्छ । वडा नम्बर ३ को बेंसी शिखर हो भने महाभारतको जंगलसँग जोडिएको निगाले यो वडाको अन्तिम बस्ती हो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |