काभ्रे । नागरिकता विधेयकले वैधानिकता प्राप्त गरेसँगै काभ्रेमा पनि यसले प्राथमिकताका साथ आफ्नो प्रभावकारिता अगाडि बढाएको छ ।
लामो संघर्ष र बलिदानपछि संशोधन सहित आएको नागरिकता ऐनले काभ्रेमा पहिलोपटक तीन जनालाई आमाको नाममा नागरिकता प्राप्त गरेका छन् ।
नेपाली नागरिकता ऐन २०६३ पहिलो संशोधन २०७९ मा भएको व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेले बाबुको पहिचान हुन नसकेका नेपाली आमाबाट जन्मिएर नेपालमा बसोबास गरेका बनेपा नगरपालिका–५ का १९ वर्षीया रिमा कपाली उहाँकी १७ वर्षीया बहिनी टिना कपाली र जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ का सुसान श्रेष्ठलाई आमाको नामबाट वंशजको आधारमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभएको छ । नागरिकता प्राप्त गर्ने तीनै जनालाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल तथा शाखा अधिकृतहरुको उपस्थितिमा नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जानकारी दिएको छ ।
कार्यालयले सुसानलाई आमा माईली श्रेष्ठ तथा रिमा र टिनालाई आमा हिरामाया कपालीको नामबाट नागरिकता प्रदान गरेको हो । बाबुको पहिचान नभएका कारण नागरिकता लिनबाट बञ्चित भएका १६ वर्ष उमेर पुगेका नेपाली आमाका सन्तानले नयाँ नागरिकता ऐन अनुसार आमाको नामबाट नागरिकता लिन पाउने भएपछि धेरै बालबालिका खुसी भएका छन् ।
कार्यालयले यसअघि जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सुरु गरेको भएता पनि एक साताको अवधिमा कार्यालयले दुई जनालाई जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |