मङ्सिर ९ गते प्रज्ञा भवन, काठमाडौं । २ः०० बजे नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा ‘दायित्व वाङ्मय प्रतिष्ठान’ को सम्मान कार्यक्रम र पुस्तक÷पत्रिका विमोचन कार्यक्रममा सहभागी हुन १ः३० तिर नै पारिजातकक्ष पुगें । थुप्रै साहित्यिक मित्रहरु अमरकुमार प्रधान÷रामप्रसाद पन्त÷यादव भट्टराई÷रोचक घिमिरे÷माधव घिमिरे ‘अटल’÷डा.दयाराम श्रेष्ठ÷डा. तुलसी भट्टराई÷सूब सेन÷कृष्ण प्रधान÷ठाकुर शर्मा भण्डारी÷शार्दूल भट्टराई÷देविका तिमल्सिना÷डा. राजेन्द्रप्रसाद अधिकारी÷शेषराज सिवाकोटी÷हिरण्यकुमारी पाठक÷रश्मि रिमालहरुसँग हात मिलाइयो र कोही कसैसँग जनमतको अक्षर स्पर्श पनि वितरण गरियो । साहित्यिक क्षेत्रमा खटेर लाग्न पाएकैले साहित्यकारहरु सबैजसो चिन्छु मात्र होइन हैसियत, बर्कत्, दृष्टि–चिन्तन र स्वभावसम्म पनि अध्ययन गर्न पाएको छु । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका र विदेशमा छरपष्ट रहेका नेपालीहरुसँग पनि सम्पर्क खोजिरहनाकै कारणले, जनमतमार्फत् अक्षर फिँजाइरहेकै कारणले धेरैजसो साहित्यकारहरुसँगको परिचय मेरो मन र आँखामा कुँदिएका छन् । आज पनि त्यस्तै भयो; सबैजसो साहित्यकारहरुसँग हात मिलाउन पाएँ ।
२ः१५ तिर यादव भट्टराईले उद्घोषण सुरु गरे । हल खचाखच भरिइसकेको छ । काठमाडौंमा हुने कार्यक्रममा ‘दायित्व’ ले छुट्टै खालको आफ्नो साहित्यिक पहिचान प्रभावशाली ढङ्गले देखाउन सफल भइसकेका छन् । आजको कार्यक्रमले पनि यस्तै खालको साहित्यिक सौन्दर्य देखाउन सफल छन् । आ–आफ्नो क्षेत्रमा विशिष्टता कमाउन सफल तीनजना विशिष्ट स्रष्टाहरु दयाराम श्रेष्ठ, नारायण ढकाल र शरच्चन्द्र वस्ती पनि समयमै आइसक्नु भएको छ । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि रोचक घिमिरे, सम्मानित तीनजना स्रष्टाहरु डा. तुलसी भट्टराई, भागवत ढकाल, आज वितरण हुने पुरस्कार र सम्मानका दाताहरु चूडामणि गौतम, सरस्वती जोशी र सुनिल कोइराला, नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवाल, दायित्वका सल्लाहकार अर्जुन विरक्तिहरु मञ्चमा थिए ।
भागवत ढकालले तीनैजना स्रष्टाहरुको सङ्क्षेपमा व्यक्तित्व परिचय दिए । तीनजना स्रष्टाहरुमध्ये नारायण ढकालले आख्यानकारका रुपमा योग्य सम्झेर दायित्वले आफ्नो सम्मान गरेकोमा कृतज्ञता व्यक्त गरे । शरच्चन्द्र वस्तीले भाषा–व्याकरणको आजको स्थितिबारे विस्तृत व्याख्या गरे । दायाराम श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा भने – “पढ्नु र लेख्नु मेरो काम हो । ८१ वर्ष उमेर टेकेर पनि अक्षरसँग माया साटेर बाँच्न पाएको छु; म अक्षरसँग नजिक रहेर सुखबोध गरेको छु । पुरस्कार पाउनु भनेको मान्यताप्राप्त भएको हो । खुसी लिएर बाँचेका छौं, खुसी बोकेरै जान्छु । थाक्न जानिएन । अक्षर लेखिरहन्छु, अक्षर पढिरहन्छु ।” लेखकीय जीवनको मार्मिकता मार्मिकढङ्गले दयाराम श्रेष्ठले पोख्नुभयो – ज्यादै सुन्दर लाग्यो । मेरो आफ्नै दृष्टि बोल्नुभएजस्तो लाग्यो, अक्षरको प्रशंसा गर्नुभएकोमा विशेष धन्यवाद छ ।
उक्त साहित्यिक कार्यक्रममा साहित्यकार शङ्कर लामिछानेका छोरा सुनिल कोइरालाले ‘शङ्कर कोइराला अक्षरप्रति माया–मोह भएको व्यक्तिमात्र नभई साहित्यप्रति विशेष अनुराग भएको विशिष्ट साहित्यकार रहेको वोध भएको आफ्नो संस्मरण सुनाउनु भयो । उक्त साहित्यिक कार्यक्रममा ‘चूडामणि व्याकरण–कोष पुरस्कार’ का संस्थापक चूडामणि गौतमले भाषा–व्याकरणका क्षेत्रमा उल्लेखयोग्य सिर्जनात्मक कार्यमा लाग्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको र आफूले सकेको व्यक्तिगत प्रयासमा पनि भाषा–व्याकरणको शुद्धताका लागि समर्पित भइरहेको मर्मशील कुराहरु पोख्नुभयो । नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्षका नाताले शुभकामना मन्तव्य राख्न अनुरोध भएतापनि निकै ढिलो भएको कारणले “सम्मानित हुनुभएका तीनैजना स्रष्टाहरु विशिष्ट व्यक्तित्वहरु हुन् तपाईंहरु पुरस्कृत हुनुभएकोमा शुभकामना छ । यसैगरी जनमत र दायित्व वाङ्मय प्रतिष्ठान बीचको सम्बन्ध मैत्रीपूर्ण छ । दायित्वले निरन्तर प्रगति गर्दै गएकोमा म आफू निकै खुसी भएको र साहित्यिक क्षेत्रमा सुन्दर कार्य गर्दै आएकोमा ‘दायित्व’ लाई विशेष धन्यवाद दिन चाहन्छु ।” यसरी छोटकरीमा मात्र शुभकामना मन्तव्य दिएर विदा भएँ ।
प्रमुख अतिथि रोचक घिमिरेले सम्मानित प्रतिभाहरुको साहित्य लेखनमा भइरहेको सकृयतामा र दायित्वको साहित्यिक क्षेत्रमा भइरहेको कर्मशीलतालाई प्रशंसा गर्नुभयो । अन्त्यमा दायित्वका अध्यक्ष तथा सभाका सभापति रामप्रसाद पन्तले २०४४ सालदेखि दायित्वको नाममा ७ वटा पुरस्कारको स्थापना, वर्षमा ४÷५ पटक साहित्यिक कार्यक्रमको आयोजना, दायित्व वाङ्मयको नाममा सम्मान कार्यक्रम, कृति प्रकाशन गर्नुका साथै ‘दायित्व’ द्वैमासिक प्रकाशन गरेर राष्ट्रमा देखिने गरी उल्लेखयोग्य सक्रियता देखाइरहेको मात्र होइन ‘दायित्व भवन’ र ‘दायित्व पुस्तकालय’ को व्यवस्था र संचालन भइरहेको जानकारी दिनुभयो । करिव ४ः०० बजेसम्म कार्यक्रम भयो । दायित्वको आज भएको कार्यक्रम अत्यन्त सुन्दर लाग्यो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |