मङ्सिर ११, सोमबार, लाय्कु, बनेपा । ११ः०० बजे भनिएतापनि १२ः०० बजेमात्र कार्यक्रम सुरु भयो । लाय्कुको ठूलो चौरमा लाय्कु मञ्चमा कृष्णलाल प्रजापतिद्वारा दीप प्रज्वलन भई सुरु भएको उक्त कार्यक्रममा सर्वसाधारण जनसमूहको व्यापक उपस्थिति हुनाका साथै जिल्लाका थुप्रै सङ्घ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । सांगाका हरिगोपाल प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो – सङ्घीय सभासद प्रेम सुवाल । वाग्मती प्रदेशका सभासदहरु कञ्चनचन्द्र वादे, सुरेन्द्रकुमार गोसाईं र सृजना सैंजुका विशेष आतिथ्यता रहेको उक्त साहित्यिक कार्यक्रममा नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय अध्यक्ष तथा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल र शिक्षासेवी तथा कवि सूर्यप्रसाद लाकोजूको पनि विशेष उपस्थिति थियो ।
कार्यक्रम प्रभावशाली ढङ्गको हुनाका साथै रोचक रह्यो । भक्तपुरमा ४३ वर्षदेखि निरन्तर संचालन हुँदै आएको ‘तःमुंज्या’ को विशेष साहित्यिक र सांस्कृतिक आन्दोलनकै सिको गरेर बनेपाका नेमकिपा सम्बन्धित मित्रहरुको सकृयतामा आजको वृहत् साहित्यिक, सांस्कृतिक, भाषिक कार्यक्रम भएको हो । जनसमुदायको व्यापक सहभागिता रहेको यस कार्यक्रमको व्यवस्थापन राम्रा र कार्यक्रम प्रभावकारी रहेको अनुभूत भयो । यस खालको जनसमुदायका बीचमा भएको तःमुंज्याको यस कार्यक्रम नौलो र उदाहरणीय थियो । ‘न्हापांगु नेपालभाषा साहित्य तःमुंज्या व सांस्कृतिक ब्वज्या’ नाम दिइएको यस कार्यक्रमको उद्घोषण बनेपाका भवानी जोशी, भक्तपुरका निरन शाक्य र प्रमिला मानन्धरले गर्नुभएको थियो । आयोजकहरुमध्येबाट सत्यनारायण श्रेष्ठ, ओमप्रसाद मानन्धर, कृष्णकुमार वैद्यले मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा शिक्षासेवी तथा साहित्यकार सूर्यप्रसाद लाकोजूले नेवारहरुको रितिरिवाज र संस्कृतिबारे आफ्नो मन्तव्य राख्नुहुँदै भन्नुभयो — “नेवारहरुको पहिचान आफ्नै ढङ्गको प्रभावकारी मात्र छैनन् देशकै गौरव बढाउने खालको भएकोले सबै नेपालीले आफ्नै पहिचान सम्झिनुपर्ने धारणा राख्दै ‘नेपाल संवत्’ देशकै लागि, सबै जातजातिले गौरव गर्नुपर्ने मौलिक संवत् हो ।” भनी जोड दिनुभयो ।
उक्त कार्यक्रममा मैले पनि आफ्नो विचार राख्दै भनें — “भ्रष्ट नेताहरुको कर्तूतले राजनीतिक क्षेत्र नै धमिलो बनाइएको र सत्ताधारीहरुको मनपरी गर्ने सोच र कार्यले देश र जनताले दुःख पाएको, जनताहरु विदेशिन वाध्य बनाइएको आजको दुःखद सन्दर्भ हो । तमुंज्या मार्फत् ४३ वर्ष अघिदेखि नै भक्तपुरमा चेतना संप्रेषण गरिराखेको आन्दोलन बनेपामा आइपुगेको छ । बनेपाका लागि पनि यो आन्दोलन गौरवपूर्ण रहेको छ ।”
यसैगरी वाग्मती प्रदेशका सभासद् सृजना सैंजुले – “अन्तर्राष्ट्रिय स्थितिको विवेचना गर्दा अहिलेको सबभन्दा खतरा अमेरिकी साम्राज्यवाद नै हो । जसले युक्रेन र रुसको, इजरायल र प्यालेष्टाइनको युद्ध चकाईदिएको छ । यसको सृजनाकर्ता पनि अमेरिकी साम्राज्यवाद नै भएको ।” व्याख्या गर्नुभयो ।
सुरेन्द्रकुमार गोसाईंले – “भाषा, साहित्य, संस्कृति, कला र संगीतको विकास हुन सके देशको अनुहारमा परिवर्तन हुने, उज्यालो देखिने हुँदा यसमा सबै प्रवुद्ध वर्ग लाग्नुपर्ने देखिन्छ । देशको समग्र विकास गर्नु भनेको भाषा, संस्कृति, कला र संगीतको विकासले मात्र सम्भव हुन्छ । त्यसैले हामीले ४३ वर्ष अगाडिदेखि नै यसको उत्थानका लागि तःमुंज्याबाट सांस्कृतिक÷साहित्यिक आन्दोलन भइरहेको हो ।” भन्नुभयो ।
प्रमुख अतिथि संघीय सभासद् प्रेम सुवालले – “देशको समग्र अर्थतन्त्र डावाडोल बनाएर देशलाई कंगाल बनाउने कार्य सत्ताधारीहरुबाट भइरहेको र देशलाई आर्थिक रुपले कमजोर बनाउँदै लगेको” कुरा तथ्याङ्क सहित रुपमा स्पष्ट पार्नु भयो ।
आज दिनभर नै करिव ५ घण्टा लाय्कुचौरमा कविता, गीत, नृत्यका तरङ्गहरु जनताका पक्षमा विचार संप्रेषण भइरह्यो । प्रतियोगितात्मक कविगोष्ठी पनि भयो । बनेपाका प्रकाश ‘उज्जवल’ पहिलो भए । दोस्रो र तेस्रोमा पनौतीका ध्रुवकृष्ण ताम्राकार र भक्तपुरका सुनिता गायसी ।
कार्यक्रम सिद्धिदा अँध्यारो भइसक्यो । ५ः३० तिर सभाका अध्यक्ष हरिगोपाल प्रधानले – “काभ्रेमा तःमुंज्या सुरु भयो मात्र होइन सफलतापूर्वक सम्पन्न भयो – हामीलाई खुसी लागेको छ । सहयोग गर्ने मित्रहरु सबैलाई धन्यवाद” भन्दै सभा विसर्जन गर्नुभयो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |