काभ्रे । यति बेला पावन भुमि पाशुपातक्षेत्रमा भैइरहेको कोटिहोमका वाचकहरुमध्य देबि प्रतिभाले सबै श्रदालुहरुको मन मात्र जित्नु भएको छैन सिङ्गो बिश्वको ध्यान खिच्न सफल हुनुभएको छ ।बिश्व मै नेपालको आध्यात्मिक पहिचान दिन सफल काभ्रेली चेली चर्चाको शिखरमा छिन् ।
पशुपति क्षेत्र, वनकाली काठमाडौंमा यतिबेला पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ । मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ साउन १ गतेबाट सुरु भएको हो । कोटीहोम महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने बताइएको छ ।
यस कोटीहोममा नेपालका साथै विदेशमा समेत ख्यातीप्राप्त ५ जना कथावाचकहरुले प्रवचन दिइरहेका छन् । जसमा राधिका दाशी, पं.दीनबन्धु पोखरेल र देवी प्रतिभा पनि रहेका छन् । यी मध्ये काभ्रे जिल्लामा जन्मिएर छोटो समयमै भारतका विभिन्न प्रान्तहरुमा करिब एक दशकदेखि आध्यात्मिक प्रवचन दिइरहेकी छिन् प्रतिभा पराजुली अर्थात् देवी प्रतिभाले ।
मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० ज्वानेटारमा जन्मिएकी प्रतिभा पराजुली सानैदेखि आध्यात्मिक सोचका साथ अघि बढिन् । बुवा साधुराम पराजुली र आमा इन्दिरा पराजुलीकी माइली छोरी हुन् उनी । २३ वर्षको उमेरमै उनी अहिले यति धेरै व्यस्त छिन् की उनको कथा सुन्नका लागि समय मिलाउनै कठिन छ । अहिले उनले २०२६ सम्म आफ्नो समय तालिका मिलाइसकेकी छिन् । सामाजिक संजाल फेसबुक र युट्युवमा उनलाई पछ्याउनेहरु लाखौं छन् । भारतका हजारौं प्रवचकहरुमध्ये उनी उत्कृष्ट तीन बाचिकाहरुमा पर्छिन् ।
संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन गरेकी प्रतिभाले गीतसंगीतमा पनि निपूर्णता पाएकी छिन् । सुमधुर स्वरकी धनी प्रतिभाको अहिले एउटा राष्ट्रसेवा नामक ट्रष्ट पनि रहेको छ । पछिल्लो पुस्ता धर्म र अध्यात्मबाट अलग हुन खोजीरहेका छन् तर प्रतिभा भने सानैदेखि आफूलाई पण्डित बन्ने सोच राख्थिन् । उनका जिजुबुबा पं. दिवाकर पराजुली, हजुरबुबा पं भरतमणि पराजुली काभ्रे र सिन्धुपाल्चोकमा नाम कहलिएका पण्डित थिए । हजुरबुबाको माया त उनले पाइनन् तर पितृआर्शिवाद भने मिलेको उनको भनाइ छ । उनको परिवारमा संयोग के छ भने जिजुबुबा र हजुरबुबा पनि माइला भाइ थिए । उनका बुबा साधुराम पराजुली पनि माइला र उनी स्वयं पनि माइली छोरी हुन् ।
साधारण शिक्षा उनले बनेपाको पञ्चकुमारी बोर्डिङ स्कुलबाट लिएकी हुन् । पछि गाउँकै नवप्रतिभा बोर्डिङ स्कुलमा केही समय अध्ययन गरिन् । पढाइको शिलशिलामा काठमाडौंको बाल्मिकी विद्यापिठमा पनि केही समय अध्ययन गरिन् । तर पछिल्लो एक दशकदेखि उनी भारतको बृन्दावनमा अध्ययनकै शिलशिलामा पुगिन् र उतैबाट यसक्षेत्रमा प्रवेश गरेकी हुन् । यो अवधिमा सयौं ठाउँमा उनले प्रवचन दिइसकेकी छिन् । आगामी दिनमा पनि यसैलाई निरन्तरता दिने उनको सोच छ । कथा वाचनको शिलशिलामा सात वर्षपछि नेपाल आएकी प्रतिभालाई आफू अध्यात्म क्षेत्रमै काम गर्नको लागि जन्मिएको जस्तो लाग्छ ।
यतिबेला जहाँ जहाँ कार्यक्रम हुन्छ उनलाई पछ्याउनेहरुको अत्याधिक भीड लाग्छ । त्यसैले दर्जनभन्दा बढी सुरक्षाकर्मीले उनलाई सुरक्षा दिइरहेका हुन्छन् । सुरक्षाकर्मी, भजन मण्डलीलगायत उनको करिब ५० जनाको टिम छ । अहिले त्यही टिमका साथ प्रतिभा आफ्नो प्रतिभा प्रस्तुत गरिरहेकी छिन् ।
धर्म मानवलाई नियममा बाँध्ने एउटा सुत्र भएको उनको अनुभव छ । सेवाभावले जनजनमा धार्मिक गतिविधी प्रचार गर्न सकियोस् भनेर आफू यसक्षेत्रमा लागेको उनको भनाइ छ । भारतका हरेक कार्यक्रममा नेपालका धार्मिक गतिविधीहरुको प्रचारमा लागिरहेको बताउने प्रतिभालाई यो क्षेत्रमा लाग्न शुरुमा निकै गाह्रो भएको थियो । उनको रुचीअनुसार पढाइ दिलाउन परिवारले धेरै दुःख गर्नुपरेको थियो । बाबाआमाले आफूलाई यहाँ पुर्याउन निकै दुःख गर्नुभएको उनको अनुभव छ । ‘पत्थरले पनि मुर्तिको आकार पाउन निकै चोट खानुपर्छ, मेरो जीवनमा पनि यस्ता समस्या आए । म ती दिनहरु भुल्न सक्दिनँ ।’ उनी भन्छिन् ।
भागवत पढ्न ६ महिनामै सिकेको उनको अनुभव छ । भविष्यलाई कसैले पनि देख्न सकिँदैन, गृहस्थ जीवनमा बसेरै पनि भगवानलाई प्राप्ती गर्न सकिन्छ भन्ने मान्यता राख्ने प्रतिभा आज जे छ, भोलि जे आउँछ, स्वीकार गर्न सक्नु नै महानता भएको बताउँछिन् । ‘धर्म भनेको सत्यता, पवित्रता हो । जुन धारण गर्न सकिन्छ त्यही धर्म हो ।’ उनी भन्छिन् । प्रेमलाई पवित्रता, विवाह बन्धन र जीवन जीउने माध्यम तथा सम्बन्ध विच्छेद र आत्महत्यालाई महापाप मान्ने उनी केही वस्तु गुमाउनु परे पनि यसलाई स्वीकार गर्न सक्नु पर्ने बताउँछिन् ।
छोरी सानैदेखि अलि जिद्दी स्वभावकी थिइन ः पिता
आफ्ना छोराछोरीले प्रगति गरेको देख्दा को बाबुआमा होला र, जो खुशी नहोस् ? उनको परिवारमा पनि यस्तै भएको छ । प्रतिभाका पिता साधुराम पराजुलीका अनुसार उनी बच्चैदेखि धार्मिक स्वभावकी थिइन् । परिवारमा अलि जिद्दी स्वभाव पनि उनको थियो । तर उनको जिद्दी नराम्रो कामका लागि भने हुँदैनथ्यो । प्रतिभाले सानैमा भनेको कुरा बुबालाई अहिले पनि याद छ । उनले भनेकी थिइन् रे, ‘म एकदिन बाबाआमालाई एकापटी कुर्सिमा राखेर आफैंले श्रीमद्भागवत वाचन गरेर देखाउँछु ।’ उनको यो कुराले बुबालाई अचम्म त लाग्थ्यो तर कसरी यो पूरा होला भनेर चिन्ता पनि लाग्थ्यो । भगवानले तँ आँट म पु¥याउँछु भन्छन् रे । यस्तै भयो प्रतिभाको लागि पनि । जसले गर्दा शुरुमा केही दुःख त भयो तर अब उनको भविष्यका लागि बुबाआमाले धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन । आफैंले एउटा बाटो समाएकी छिन् , अरुलाई पनि प्रेरणा दिएकी छिन् । देशविदेशमा नाम कमाएकी छिन् ।
‘मानिसले मनभित्रैदेखि चाहेको कुरा ढिलोचाँडो पूरा हुने रहेछ ।’ साधुरामले भने, ‘हामीले उनको इच्छाविपरित अरु नै क्षेत्रमा लगाउन खोजेको भए शायद उनी आज यो ठाउँमा पुग्न सक्दैनथिन् की जस्तो लाग्छ । उनी अहिले हाम्री छोरी मात्र होइन, मण्डनदेउपुरकी छोरी, काभ्रेकी सान र देशकै एउटा नाम जस्तै प्रतिभा भएकोमा निकै खुशी छु ।’
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |