प्रभातफेरी अनलाइन७८० पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १६, बुधबार(१ साल अघि)
काभ्रे । लायन्स अन्तर्राष्ट्रियले नेपालका बाढी पीडितका लागि १ करोड़ ५० हजार रकम उपलब्ध गराउने भएको छ ।
लायन्स अन्तर्राष्ट्रियको आकस्मिक कोष (एलसिआईएफ) बाट बाढी, पहिरो र डुबानबाट प्रभावितलाई खाद्यान्न लगायत आपत्कालीन राहत सामग्री प्रदान गर्नका लागि उक्त रकम उपलब्ध गराउने भएको लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसिआईएफ) का एरिया लिडर लायन राजन लम्सालले बताउनुभएको छ । लायन लम्सालका अनुसार नेपालमा रहेका ५ वटा लायन्स डिष्ट्रिक्टले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्कालको लागि राहत उपलब्ध गराउन लायन्स अन्तर्राष्ट्रियमा सहयोगको लागि प्रस्ताव पेश गर्नुभएको छ । सो प्रस्ताव स्वीकृत भई एउटा डिष्ट्रिक्टलाई १५ हजार डलरका दरले रकम उपलब्ध गराउने निर्णय गरेको लायन लम्सालले बताउनुभएको छ ।
लायन्स अन्तर्राष्ट्रियमा ईमरजेन्सी ग्रान्टका लागि पेश गरिएको प्रस्ताव स्वीकृत भएपछि छोटो प्रतिक्रिया दिदै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर लायन बिनोद ढुङ्गानाले लायन्स अन्तर्राष्ट्रियमा पेश गरेको प्रस्ताव अनुसारका क्षेत्रमा पारदर्शी ढंगले पिडित परिवारलाई राहत उपलब्ध गराई सोही अनुरूपको प्रतिवेदन लायन्स अन्तर्राष्ट्रियमा पेश गरी रकम निकासाका लागि पहल गरिने बताउनुभएको छ ।
यस अघि पनि साउन महिनामा कास्की र म्याग्दीका विभिन्न ठाउँमा गएको बाढ़ी पहिरो प्रभावित परिवारका लागि लायन्स अन्तर्राष्ट्रियबाट १० हजार डलर प्राप्त भएको थियो । उक्त रकÞमको हरहिसाब फÞरफारक भईसकेको डिष्ट्रिक्ट गभर्नर लायन ढुङ्गानाले बताउनुहुँदै यस बर्ष मात्र यो समेत गरी डिष्ट्रिक्ट आई ले २५ हजार डलर रकम भित्राईसकेको जानकारी समेत दिनुभएको छ ।
असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानले २ सय २४ को मृत्यु भएको छ भने २४ बेपत्ता अझै भएका छन् । त्यस्तै १ सय ५८ जना घाइते भई विभिन्न अस्पतालमा उपचारार्थ रहेका छन् भने उच्च जोखिममा रहेका ४ हजार ३ सय ३१ जनाको राज्यको तर्फबाट उद्धार कार्य भएको सरकारी स्रोतले जनाएको छ ।