बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाद्वारा स्वास्थ्यमन्त्री किरण थापाको सम्मानमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वडाध्यक्ष हुँदादेखि आफू आज जुन स्थानसम्म (स्वास्थ्य मन्त्री) पुगेको छु, त्यसको पछाडि रेडक्रसको उल्लेखनीय भूमिका रहेको छ । किनकी उपशाखा हुँदै जिल्ला सभापतिसम्मको जिम्मेवारी सम्हाल्दै आजसम्म पनि आफूलाई रेडक्रसकर्मी भन्दा गर्व लाग्छ भन्दै जीवन्त रेडक्रसको क्षेत्रमा समर्पित रहने प्रतिबद्धता समेत मन्त्री थापाले सम्बोधनका क्रममा व्यक्त गर्नुभएको छ । रेडक्रसको इतिहासलाई मानवीय हिसाबमा कसैले प्रश्न उठाउन सक्ने अवस्था नभएको समेत बताउनुभएको छ ।
बिहीबार बनेपामा आयोजित कार्यक्रममा मन्त्री थापाले नेपाल रेडक्रस सोसाइटी पीडितको दुःखमा सधैं साथमा रहेको र आगामी दिनमा पनि सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्री थापाले गत असोज १० देखि १२ गतेसम्मको बाढीपहिरोले पीडितहरुसम्म हातेमालो गर्न स्वयं घटनास्थलमा खटेको स्मरण गर्नुहुँदै पिडित नागरिकहरुका प्रदेशले छिट्टै राहत र पुनर्निर्माणका काम शुरु गर्ने जानकारी सोही कार्यक्रममा दिनुभएको छ । मन्त्री थापाले भौतिक मन्त्रालयसँग समन्वय गरेर विपदबाट धेरै क्षति भएका जिल्लामा खानेपानी, कृषि लगायतका क्षेत्रमा काम शुरु भइसकेको स्मरण गराउनुभएको छ ।
सम्बोधनकै क्रममा मन्त्री थापाले रेडक्रसकर्मीहरु निर्वाचनबाट चुनिएर आएका भए पनि अब भने सबैको साझा रहेकाले सबैका समस्यालाई मध्यनजर गर्दै काम गर्नुपर्नेमा जोड दिँदै काम गर्दा केही समस्या आए प्रदेशसँग समन्वय गर्न सल्लाह दिनुभएको छ । कार्यक्रममा रेडक्रस काभ्रेका सभापति देवेन्द्र भैलले नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले हालसम्म गरेका मानवीय सेवाका गतिविधिका बारेमा मन्त्री थापालाई जानकारी गराउँदै आफू नेतृत्वमा आएपछि रेडक्रसको सिद्धान्त अनुरुप कसैलाई पनि भेदभाव नगरि काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर दिइरहने बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले आयोजना गरेको स्वागत कार्यक्रममा रेडक्रस कार्यसमितिका पदाधिकारी, पूर्व सभापतिहरु, मन्त्री र सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन रेडक्रस काभ्रेका मन्त्री राजु सिग्देलले गर्नुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |