प्रभातफेरी अनलाइन१६८ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २०, आईतबार(५ महिना अघि)
काभ्रे / हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघशुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने र पूजा गर्ने परम्परा छ, नेपाली सनातन समाजमा। एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र स्वस्थानीको माहत्म्य वाचन वा श्रवण गरिन्छ। व्रत अवधिभर चोखोनितो गरी मध्याह्नमा एक पटक मात्र भोजन गर्ने विधान पनि छ। तर विधिपूर्वक व्रत नबस्नेहरूले पनि घरघरमा बिहान वा बेलुकी स्वस्थानीको कथा भन्ने र सुन्ने गर्दछन्।
स्वस्थानी व्रतको सुरुवात हिमालयकी पुत्री पार्वतीले गरेकी थिइन् भन्ने प्रसंग स्वस्थानी व्रतकथामै आउँछ। भगवान् विष्णुले व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकी थिइन्। फलस्वरूप उनले महादेव पति पाइन्। यसैगरी गोमाले दुःख पाएको देखेर पार्वती सप्तर्षिलाई स्वस्थानीको व्रत गराइदिन गोमाको घरमा पठाएकी थिइन्।
सप्तर्षिकै सल्लाह अनुसार विधि पूर्वक स्वस्थानीको व्रत गर्नाले गोमाको दरिद्रता नाश भयो। छोरा नवराज बाबुको पत्तो लगाई घर मात्र फर्किएनन्, लावण्यदेशको राजा पनि भए। रानी हुन पाउने अहंकारले गर्दा दुखकष्ट पाएकी नवराजकी पत्नी चन्द्रावतीले पनि कपिल ब्राह्मण र अप्सराहरूको सल्लाहअनुसार स्वस्थानीको व्रत गर्दा दुःखबाट मुक्ति पाएको स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ।
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवम् कथा वाचन शुरु गरेर यी देवीदेवताको पूजा आराधना शुरु गर्दैछन् ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सय रोटी बर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।