प्रभातफेरी अनलाइन ९६ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र ८, आईतबार (१ घण्टा अघि)
काठमाडौं / उज्यालो नेपाल पार्टीले बिज्ञप्ति जारी गर्दैं प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन पत्र बुझाएको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाइ ज्ञापनपत्रमा भनिएको छ ।
विषम ‘चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा सम्माननीयज्यूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं,’ अध्यक्ष घिसिङले भने, ‘म हारे पनि देशले जितेको छ। तपाईँको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ। यसैमा म र मेरो पाटी खुसी छ । यति महत्त्वपूर्ण इतिहासको घडीमा मैले पनि केही समय यस सरकारमा रहेर काम गर्ने अवसर पाएँ। अब संसदमा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्ने छु ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचनमा भाग लिएर यस प्रक्रियालाई सघाएको भन्दै उच्च सह्राहना गर्नु भएको छ । यस्तै यस सरकारको सफलताका लागि घिसिङले खेलेको प्रभावकारी भूमिकाको पनि प्रशंसा गर्नुभएको छ । ‘तपाईँहरु विभिन्न क्षेत्रका विज्ञहरु पार्टीमा हुनुहुँदो रहेछ’ प्रधानमन्त्री कार्कीले भन्नुभयो- ‘यस्ता क्रिम अफ द सोसाइटीले मुलुकका निम्ति संसदबाहिरै पनि अझै धेरै काम गर्न सक्छ। एउटै निर्वाचनको नतिजाबाट निरुत्साहित भइहाल्नुहुँदैन। तपाईँहरुले गर्ने काम धेरै छ। अविचलित रुपमा अगाडि बढ्नुहोस्। मेरो शुभकामना छ प्रधानमन्त्री भन्नुभयो । यसै क्रममा उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री कार्कीसमक्ष खाडी क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षा तथा गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिकीकरणको माग पनि गरेको छ।
ज्ञापन पत्रमा भनिएको छ –
मितिः २०८२ चैत ७
सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार ।
विषयः खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा तथा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा
सम्माननीय प्रधानमन्त्रीज्यू,
सर्वप्रथम, चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा सम्माननीयज्यूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं ।
सम्माननीयज्यू, हालै खाडी क्षेत्रमा भड्किएको तीव्र द्वन्द्वले गम्भीर चिन्ता उत्पन्न गरेको छ । यो संघर्षले सैन्य तथा नागरिक क्षेत्रहरूलाई व्यापक असर पार्दै जटिल रूप लिइरहेको छ । यसबाट मुलुकको अर्थतन्त्रमा वार्षिक करिब ८ खर्ब योगदान गर्ने १८ लाखभन्दा बढी नेपाली कामदारहरू प्रत्यक्ष जोखिममा परेका छन् । निर्माण, सेवा, सुरक्षा तथा तेल क्षेत्रमा कार्यरत नेपालीहरूको असुरक्षा बढ्दै गएको छ । साथै, यूएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु तथा अन्य घाइते भएका घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल सरकारले श्रम स्वीकृति स्थगन, पीडित विवरण संकलन, आपतकालीन टोली गठन तथा कूटनीतिक वार्ता जस्ता कदम चालेको स्वागतयोग्य छ । तर उद्धार प्रक्रिया ढिलो हुँदा लाखौं नेपाली थप जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ । यस सन्दर्भमा उज्यालो नेपाल पार्टी मानवताको आधारमा तत्काल निम्न कदम चाल्न जोडदार अपिल गर्दछः
१. खाडी क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षित स्थानान्तरण, उद्धार तथा राहतका लागि डिजिटल ट्र्याकिङयुक्त विस्तृत योजना सार्वजनिक गरी प्रभावकारी कार्यान्वयन गरियोस् ।
२. दूतावास र कन्सुलेटहरूलाई २४÷७ हटलाइन, स्वास्थ्य सेवा, आश्रय केन्द्र तथा वास्तविक समय सूचना प्रणालीमार्फत पूर्ण रूपमा सक्रिय बनाइयोस् ।
३. संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय श्रम संगठन तथा सम्बन्धित राष्ट्रहरूसँग समन्वय गरी नेपाली नागरिकहरूको जीवनरक्षा तथा क्षेत्रीय शान्तिका लागि उच्चस्तरीय कूटनीतिक पहल गरियोस् ।
४. प्रभावित नेपालीहरूलाई आर्थिक अनुदान, भर्चुअल मनोसामाजिक परामर्श तथा परिवारसँग नियमित सम्पर्कको व्यवस्था गरियोस् ।
५. स्वदेश फर्कन चाहनेहरूका लागि विशेष उडान तथा स्थलमार्गबाट तत्काल उद्धार सुरु गरी उनीहरूको पुनस्र्थापनाका लागि राष्ट्रिय रोजगारी पोर्टल सञ्चालन गरियोस् ।
यसै गरी, जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन नेपाल सरकारसमक्ष बुझाइसकेको अवस्थामा पनि हालसम्म सार्वजनिक नगरिनु गम्भीर चिन्ताको विषय बनेको छ । उक्त प्रतिवेदन सार्वजनिक नहुँदा नागरिक तहमा अन्योल, शंका, असन्तोष तथा राज्यप्रतिको अविश्वास बढिरहेको छ ।
यस्ता प्रकृतिका प्रतिवेदन सार्वजनिक हुनु लोकतान्त्रिक शासन, पारदर्शिता र जवाफदेहिताको आधारभूत आवश्यकता हो । पीडित पक्ष, घाइते, मृतकका परिवार तथा सम्बन्धित नागरिकहरूले सत्य र न्यायको अपेक्षा गरिरहेका बेला प्रतिवेदन गोप्य राखिनु उपयुक्त मान्न सकिँदैन । सत्य सार्वजनिक गरेर मात्र न्याय, सुधार र सामाजिक विश्वासको मार्ग प्रशस्त हुन्छ भन्ने हाम्रो ठहर छ ।
यस सम्बन्धमा उज्यालो नेपाल पार्टी नेपाल सरकारसमक्ष निम्न माग गर्दछः
१. गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् ।
२. प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भए त्यसबारे स्पष्ट आधिकारिक जानकारी तथा समयसीमा सार्वजनिक गरियोस् ।
३. प्रतिवेदनका निष्कर्ष र सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी तथा कानूनसम्मत कारबाही प्रक्रिया अघि बढाइयोस् ।
४. पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई न्याय, सत्य र परिपूरणको अनुभूति हुनेगरी आवश्यक निर्णय गरियोस् ।
५. भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्र, भीड व्यवस्थापन, आदेश प्रणाली तथा मानव अधिकार संरक्षणसम्बन्धी स्पष्ट सुधारात्मक योजना सार्वजनिक गरियोस् ।
मानवीय संकटमा सहयोग गर्नु सरकारको राष्ट्रिय दायित्व हो । भनी झक्झकाउने कार्य गरेको समेत खुल्लासा बिज्ञप्तिले गरेको उज्यालो नेपाल पाटिद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |