logo
२०८३ अषाढ ८, सोमबार |
📰
🔍

डिशहोम डिजिटललाई ओटीटी प्रसारण इजाजत, डिगो ओटीटीको विश्वव्यापी स्ट्रिमिङ अधिकार सुदृढ

प्रभातफेरी अनलाइन४ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ८, सोमबार(३ घण्टा अघि)
डिशहोम डिजिटललाई ओटीटी प्रसारण इजाजत, डिगो ओटीटीको विश्वव्यापी स्ट्रिमिङ अधिकार सुदृढ

काठमाडौं, डिशहोम डिजिटल प्रालिले नेपाल सरकारअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागबाट ओटीटी (ओभर-द-टप) प्रसारण सेवाका लागि आवश्यक इजाजत प्राप्त गरेको जनाएको छ। कम्पनीका अनुसार उक्त इजाजतले नेपालको कानुनी तथा नियामकीय व्यवस्था अनुरूप आधिकारिक रूपमा ओटीटी सेवा सञ्चालन गरिरहेको अवस्थालाई थप मजबुत बनाएको छ।

कम्पनीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार प्राप्त गर्नु नेपाली डिजिटल मनोरञ्जन उद्योगका लागि महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। यसले डिशहोम डिजिटललाई अन्तर्राष्ट्रिय डिजिटल सामग्री वितरण क्षेत्रमा विश्वसनीय र सक्षम संस्थाका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

डिशहोमअन्तर्गत सञ्चालित डिगो ओटीटीले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र तथा बाल सामग्रीलगायत विविध डिजिटल सामग्री सदस्यतामा आधारित सेवामार्फत उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार यी सामग्री सुरक्षित, सहज र आधिकारिक माध्यमबाट दर्शकमाझ पुर्‍याइँदै आएका छन्।

डिशहोम डिजिटलले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव, आधिकारिक सामग्री र अन्तर्राष्ट्रिय साझेदारीमार्फत दर्शकलाई विश्वस्तरीय मनोरञ्जन सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। साथै, डिगो ओटीटीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा विकास गर्दै लैजाने लक्ष्य रहेको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीका अनुसार विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजिटल सामग्री वितरण गर्ने क्षमता, विश्वसनीयता र दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गरेको छ। यसले नेपाली ओटीटी प्लेटफर्मलाई विश्वव्यापी डिजिटल मनोरञ्जन बजारसँग जोड्ने आधारसमेत तयार गरेको कम्पनीको दाबी छ।