logo
२०८३ श्रावण २१, बिहिबार |
📰
🔍

बेथानचोकमा निःशुल्क स्वास्थ्य शिविर, २ सय स्थानीय लाभान्वित

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ श्रावण २१, बिहिबार
बेथानचोकमा निःशुल्क स्वास्थ्य शिविर, २ सय स्थानीय लाभान्वित

काभ्रे / जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर – ३ स्थित कृष्णगोपाल माद्यामिक विद्यालयमा भएको स्वास्थ्य शिविरमा २ सय स्थानीय लाभान्वित भएका आयोजकले जनाएको छ ।

ग्रेस नेपालको आयोजना, बेथानचोक गाउँपालिका – ३ नम्बर वडा कार्यालयको समन्वय, कोलाबरेशन क्युबेक नेपालको आर्थिक सहयोग र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको विशेषज्ञ सेवासहितको शिविरमा प्रयोगशाला परिक्षण, इसिजी, अल्ट्रासाउण्ड (युएसजी)का साथै औषधी पनि निःशुल्क वितरण गरिएको छ ।

जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, शल्यक्रिया तथा सर्जरी, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाँटी रोग, आँखा, दन्त रोग विशेषज्ञले परिक्षण गरेका छन् ।

शिविरबाट रोग पहिचान गरी थप उपचार आवश्यक देखिएका बिरामीले काठमाण्डौं मेडिकल कलेज (के.एम. सि) अस्पतालमा उपचार गराए ५० प्रतिशत र वडा कार्यालयले आर्थिक अवस्था कमजोर भएको सिफारिस गरेमा सतप्रतिशतसम्म छुट गर्ने व्यवस्था मिलाएको शिविरका प्राविधिक संयोजक मदन श्रेष्ठले जानकारी गराउनु भएको छ ।

पत्थरीको समस्या भएर सेवा लिन आएका स्थानीय ७३ बर्षीय खेलप्रसाद घिमिरेले गाउँमा नै विशेषज्ञ सेवा लिन पाएकोमा खुशी व्यक्त गरेका छन् । ३३ बर्षिय अस्मिता लामाले धेरै सेवा एकै ठाउँमा पाउँदा एकदमै खुसी लागेको बताउँदै आयोजक टिमलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

वडा नम्बर ३ का वडाध्यक्ष कुबेर ढकालले शिविरमा ल्याव, इसिजी, भिडियो एक्सरे, निःशुल्क औषधी जस्ता सेवा समेत पाउँदा स्थानीय थप लाभान्वित भएको भन्दै आयोजकका साथै आर्थिक तथा प्राविधिक सहयोग गर्ने संस्थाहरूलाई धन्यवाद दिनुभएको छ ।

आयोजक संस्थाका अध्यक्ष राजकुमार थापा मगरले विभिन्न कारण स्वास्थ्य सेवाबाट बन्चित रहेका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले शिविर राखेको जानकारी गराउनुभएको छ । संस्थाले यस बर्ष नै सिरहामा २ दिन र रोशी गाउँपालिका वडा नं ९ रजबासमा एक दिने शिविर सम्पन्न गरिसकेको समेत संवादका क्रममा बताउनुभएको छ ।