प्रभातफेरी अनलाइन३३ पटक पढिएको प्रकाशित मिति: १५ घण्टा अघि (१५ घण्टा अघि)
काभ्रे / काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) आज शुक्रबार सम्पन्न भएको छ । समाराेहका प्रमुख अतिथी भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा.डा. भूपेन्द्र पाटवर्धनले काठमाडौं विश्वविद्यालय नेपालका अन्य विश्वविद्यालयका तुलनामा फरक शैक्षिक गन्तव्य भएकाे उल्लेख गर्दै विश्वविद्यालय र विद्यार्थीहरूकाे थप सफलताकाे कामना गर्नुभएको छ ।

दिक्षान्त समाराेहलाई सम्बाेधन गर्दै बिशेष अतिथी विश्वविद्यालयका सहकुलपति मन्त्री पाेखरेलले अन्य विश्वविद्यालयभन्दा काठमाडौँ विश्वविद्यालयमा आउँदा अलि बढी खुशी भएको अनुभव सुनाउनुभयाे । उहाँले आफू चार वर्ष पहिले साेही विश्वविद्यालयकाे विद्यार्थी भएकाे स्मरण सुनाउँदै अहिले जिम्मेवारी थप भएपछि सम्बाेधन गर्न पाउँदा खुशी व्यक्त गर्नुभयाे । दीक्षित विद्यार्थीकाे उज्जवल भविष्यकाे कामना गर्दै उहाँले भन्नुभयाे, ‘आजभन्दा चार वर्ष अगाडि म सन् २०२२ मा यस्तै समारोहबाट म दीक्षित भएको थिएँ । आज चार वर्षपछि जिम्मेवारीको हिसाबमा शिक्षा तथा खेलकुदमन्त्री र सहकुलपतिको रूपमा आएको छु । त्योभन्दा बढी भावनात्मक नाताले केयूको पूर्वाविद्यार्थीको हिसाबले यहाँ उभिएर बोल्न पाउँदा अझ बढी खुशी र गर्व लागेको बताउनुभयो ।
समारोह शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएकाे हाे । समारोहमा भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूपेन्द्र पाटवर्धन प्रमुख अतिथिका रूपमा सहभागी भई दीक्षान्त सम्बोधन गर्नुभएकाे थियाे ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृषिकेश वाग्लेले स्वागत मन्तव्य गर्नुभयाे भने रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।

यसपटकको दीक्षान्त समारोहमा १ हजार ५२७ जना विद्यार्थी दीक्षित भएका छन् । तीमध्ये विद्यालय अफ आर्ट्सका १६१, स्कुल अफ एजुकेसनका ११२, स्कुल अफ इन्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ म्यानेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका ३०७ जना रहेका छन् । दीक्षित हुनेमध्ये विद्यावारिधि (PhD/DM/MCh) तहका २१, MPhil/Master by Research का ९३, स्नातकोत्तर तहका २७९, PGDE तहका २ जना तथा स्नातक तहका १ हजार १३२ जना रहेका छन् ।
आज शुक्रबार दीक्षित हुने विद्यार्थीमध्ये ८०० जना (५२.३९ प्रतिशत) पुरुष र ७२७ जना (४७.६१ प्रतिशत) महिला छन् । साथै अष्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलंका, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका १७९ जना विदेशी विद्यार्थी पनि दीक्षित भएका छन्, जुन कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत हो । विश्वविद्यालयका अनुसार यो संख्या अघिल्लो दीक्षान्त समारोहको तुलनामा करिब ५० प्रतिशत बढी हो ।
यस वर्ष काठमाडौं विश्वविद्यालयको इतिहासमै पहिलो पटक Bachelor of Technology in Artificial Intelligence कार्यक्रमका २६ जना, Doctor Medicinae in Neonatology अन्तर्गत ३ जना तथा Master of Science in Medical Biochemistry and Molecular Biology अन्तर्गत ४ जना विद्यार्थीलाई उपाधि प्रदान गरिएकाे छ । दोस्रो चरणको दीक्षान्तपछि काठमाडौं विश्वविद्यालयबाट हालसम्म ५१ हजार ५६७ जना विद्यार्थी उत्तीर्ण भइसकेका छन् । तीमध्ये ६ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन्, जुन कुल उत्तीर्णको करिब १२ प्रतिशत हो ।

दीक्षान्त समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका दुई विद्यार्थीलाई स्वर्णपदक प्रदान गरियाे । उपकुलपति स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी CGPA ३.९९ प्राप्त गरी Bachelor of Engineering in Computer Engineering उत्तीर्ण गरेकी रिश्ता श्रेष्ठलाई प्रदान गरिएकाे थियाे भने महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसनअन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी CGPA ३.९७ प्राप्त गरी Master of Education in Leadership and Management उत्तीर्ण गरेकी अन्जु कुमारीलाई प्रदान गरिएकाे थियाे ।