प्रभातफेरी अनलाइन३० पटक पढिएको प्रकाशित मिति: ४ दिन अघि (४ दिन अघि)
काठमाडौँ, ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा तथा उद्धार गरिएका व्यक्तिको स्वास्थ्योपचारका लागि ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
सहयोग रकममध्ये २७ लाख रुपैयाँ बालबालिकाको शिक्षामा र १३ लाख रुपैयाँ उद्धार तथा पुनःस्थापनामा रहेका व्यक्तिको उपचारमा खर्च गरिनेछ। यससम्बन्धी त्रिपक्षीय सम्झौतामा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभाग, आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस र मानव सेवा आश्रमबीच शुक्रबार हस्ताक्षर भएको हो। कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सामाजिक समितिका संयोजक रामकुमार केसीको रोहवर रहेको थियो।
सम्झौता कार्यक्रममा कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँलाई मानवीयतामा आधारित सहर बनाउने अभियानमा निजी क्षेत्रको सहभागिताले सकारात्मक नतिजा दिन थालेको बताइन्। सामाजिक समितिका संयोजक केसीले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत निजी क्षेत्रको योगदान थप प्रभावकारी बनेको उल्लेख गरे।
आइडीपीका कन्ट्री डाइरेक्टर कविर खड्गीले पहिलो वर्षको प्रभाव मूल्याङ्कनपछि सहयोगलाई निरन्तरता दिने योजना रहेको बताए। मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले प्राप्त सहयोग निर्धारित उद्देश्यअनुसार पारदर्शी रूपमा खर्च गरिने प्रतिबद्धता जनाए।
सम्झौताअनुसार बालबालिकाको विद्यालय शुल्क, पोशाक, शैक्षिक सामग्री तथा अध्ययनमा आवश्यक अन्य सहयोगका लागि शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। साथै, उद्धार गरिएका तथा पुनःस्थापनामा रहेका व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्य उपचार, औषधि तथा दीर्घरोग व्यवस्थापनमा पनि सहयोग खर्च गरिने जनाइएको छ।
यस कार्यक्रममार्फत विपन्न, अशक्त, घरबारविहीन तथा बेसहारा व्यक्तिको शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।