प्रभातफेरी अनलाइन१४ पटक पढिएको प्रकाशित मिति: १ दिन अघि (१ दिन अघि)
बनेपा, अग्रज पत्रकार तथा सामाजिक अभियान्ता नवराज बजगाईले यस वर्ष पनि आफ्नो जन्मदिन असहाय तथा वृद्धवृद्धासँग मनाउँदै सामाजिक सेवाको निरन्तरता दिएका छन्।

काभ्रेपलाञ्चोकको धुलिखेल–१२ स्थित मानव कल्याण समाजद्वारा सञ्चालित ‘सेवा घर’मा आयोजित कार्यक्रममा बजगाईले ६० भन्दा बढी वृद्धवृद्धा तथा आश्रितलाई भोजन गराउनुका साथै खाद्यान्न, लत्ताकपडा र सरसफाइका सामग्री हस्तान्तरण गरेका हुन्।
आफ्नो असार १८ गतेको जन्मदिन तथा धर्मपत्नी तारा भट्टराईको असार २२ गते परेको जन्मदिनको अवसर पारेर उनले चामल, आटा, दाल, तेल, नुन, मसला, चिनी, चियापत्ती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, ब्रस, फिनेल, सरफ, फलफूल, बिस्कुटलगायत आवश्यक सामग्री सेवा घरलाई सहयोग गरेका थिए।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष तथा नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक एवं राम्रो सन्देश डटकमका प्रधान सम्पादक बजगाईले सेवा घर स्थापना भएदेखि नै आफूले जन्मदिन यहीं मनाउँदै सक्दो सहयोग गर्दै आएको बताए।
उनले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्ने उल्लेख गर्दै, आफूबाट प्रेरणा लिएर धेरैले जन्मदिन आश्रम, सेवा केन्द्र वा अन्य सामाजिक कार्यमार्फत मनाउन थालेकोमा खुशी व्यक्त गरे।
कार्यक्रममा धुलिखेल नगरपालिका–१२ का वडा अध्यक्ष मोहनप्रसाद लामिछानेले सहयोगी मन भएका व्यक्तिहरूको साथले सेवा घर सञ्चालन हुन सकेको उल्लेख गर्दै नगरपालिका र वडाले पनि सेवा केन्द्रका लागि जग्गा तथा भवन उपलब्ध गराएर सहयोग गरेको बताए।
सामाजिक अभियन्ता राजन अधिकारीले मानवीय सेवामा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे। कार्यक्रममा समाजसेवी बोधनाथ बजगाई, रुपेश काफ्ले तथा सञ्चारकर्मी अरविन्द्र गौतम र राज तिमल्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंका अनुसार संस्थाले देशभरका सात वटा सेवा केन्द्रमार्फत करिब ३०० असहाय तथा बेसहारा नागरिकलाई आश्रय र सेवा प्रदान गर्दै आएको छ। धुलिखेलस्थित सेवा घरमा हाल ६० जना आश्रित रहेका छन्।
करिब नौ वर्षअघि स्थापना भएको धुलिखेल शाखाले सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, आश्रय, भोजन र आवश्यक हेरचाहको व्यवस्था गर्दै आएको संस्थाले जनाएको छ।