logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

एमबीएस प्रश्नपत्र लिक प्रकरण: दोषीलाई कडा कारबाही गर्ने शिक्षामन्त्री पोखरेलको चेतावनी

प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
एमबीएस प्रश्नपत्र लिक प्रकरण: दोषीलाई कडा कारबाही गर्ने शिक्षामन्त्री पोखरेलको चेतावनी

काठमाडौं, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्।

मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र लिक प्रकरणमा संलग्न भएको आरोपमा दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए। प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त भएलगत्तै गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी निगरानी बढाइएको उनले बताए।

उनले विगतमा पनि यस्ता घटना हुने गरेको उल्लेख गर्दै यसपटक तत्काल अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको स्पष्ट पारे। सुशासनविरोधी गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनको दायरामा ल्याइने उनको भनाइ छ।

मन्त्री पोखरेलले अनुसन्धान पूरा भएपछि घटनाको वास्तविक तथ्य सार्वजनिक गरिने बताए। यसैबीच, एमबीएस प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।