प्रभातफेरी अनलाइन४७ पटक पढिएको | २०८३ अषाढ २५, बिहिबार
काठमाडौँ , नेपाली कांग्रेसका नेता एवं पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताको विकल्प नभएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले व्यक्ति होइन, संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै ‘एक कांग्रेस, सबल कांग्रेस, सम्मान, सहकार्य र सामूहिक नेतृत्व’ नै आफ्नो प्रतिबद्धता रहेको उल्लेख गरेका छन्।
खड्काले त्याग, संवाद र एकताले मात्रै कांग्रेस बलियो बन्ने बताउँदै संवादहीनता होइन, निरन्तर संवाद आवश्यक रहेको धारणा राखेका छन्। उनले कांग्रेस विभाजनभन्दा बृहत् एकतामा जोड दिँदै आफूहरूको तर्फबाट हदैसम्मको लचकता अपनाइएको दाबी गरेका छन्।
उनका अनुसार पार्टी सभापतिले एकता नचाहे मात्र कांग्रेस विभाजनको अवस्था आउनेछ। साथै, उनले सभापतिप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “उहाँहरूको कुरामा मैले विश्वास गर्न सकिनँ। हामीसँग भेट्दा सबै ठीकठाक जस्तो देखिन्छ, तर बाहिर निस्किएपछि के–के बोल्नुहुन्छ, पत्याउनै गाह्रो हुन्छ।”