प्रभातफेरी अनलाइन९४ पटक पढिएको | श्रावण ३, २०८३ | आईतबार
काठमाडौं, मुटुका दुईवटा महत्वपूर्ण धमनी एकैसाथ बन्द भई गम्भीर हर्ट अट्याक भएका ५५ वर्षीय पदमबहादुर तामाङको नेपाल मेडिकल कलेजमा समयमै गरिएको एन्जियोग्राफी तथा एन्जियोप्लास्टीमार्फत सफल उपचार गरिएको छ। चिकित्सकका अनुसार बिरामी अहिले खतरामुक्त अवस्थामा छन्।
कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदी निवासी तामाङलाई असार २४ गते बिहान अचानक तीव्र छाती दुख्ने, रिंगटा लाग्ने र अत्यधिक असहज महसुस भएपछि परिवारले सुरुमा सामान्य समस्या ठानेका थिए। स्थानीय झाँक्रीसमेत देखाइए पनि अवस्था बिग्रँदै गएपछि उनलाई एम्बुलेन्समार्फत नेपाल मेडिकल कलेजको इमरजेन्सी विभागमा ल्याइएको थियो।
अस्पताल पुगेलगत्तै गरिएको ईसीजी र रक्त परीक्षणबाट गम्भीर हर्ट अट्याक भएको पुष्टि भएपछि चिकित्सकहरूले उनलाई तत्काल क्याथल्याबमा लगेका थिए।
नेपाल मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्यराज पाठक नेतृत्वको कार्डियाक टोलीले एन्जियोग्राफी गर्दा मुटुका दुईवटा प्रमुख धमनी पूर्ण रूपमा बन्द भएको पत्ता लगाएको थियो। त्यसपछि तत्काल एन्जियोप्लास्टी गरी स्टेन्टमार्फत दुवै नसा सफलतापूर्वक खोलिएको अस्पतालले जनाएको छ।
डा. पाठकका अनुसार बिरामी अस्पताल आइपुग्दा अवस्था निकै गम्भीर थियो। समयमै परीक्षण र उपचारका कारण मुटुमा पुनः रक्तसञ्चार सुचारु गर्न सफल भएको उनले बताए।
उनले बिरामी लामो समयदेखि मधुमेहबाट पीडित भए पनि नियमित औषधि सेवन नगरेकाले जोखिम बढेको उल्लेख गरे। उनका अनुसार उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, धुम्रपान, मद्यपान तथा शारीरिक निष्क्रियता हर्ट अट्याकका प्रमुख जोखिम कारक हुन्। छाती दुख्ने, सास फेर्न गाह्रो हुने, अत्यधिक पसिना आउने वा रिंगटा लाग्ने जस्ता लक्षण देखिए तत्काल विशेषज्ञ सेवा उपलब्ध हुने अस्पताल पुग्न उनले आग्रह गरे।
उपचारपछि स्वास्थ्य लाभ गरिरहेका पदमबहादुर तामाङले घर नजिकै सुविधा सम्पन्न अस्पताल र मुटुरोग विशेषज्ञ उपलब्ध भएकै कारण आफ्नो ज्यान जोगिएको बताए। उनले समयमै उपचार पाएकामा नेपाल मेडिकल कलेज तथा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरे।
डा. पाठकका अनुसार नेपाल मेडिकल कलेजमा क्याथल्याब सेवा सञ्चालनमा आएपछि काठमाडौंको उत्तरपूर्वी क्षेत्र तथा आसपासका जिल्लाका मुटुरोगीलाई ठूलो राहत पुगेको छ। पछिल्ला केही महिनामा विशेषगरी हर्ट अट्याकका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको जानकारी दिँदै उनले समयमै उपचार पाए अधिकांश बिरामीको ज्यान बचाउन सकिने बताए।