logo
२०८३ मंसिर ६, आईतबार |
☰
📰
🔍
✕

ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
ब्राउन सुगरसहित दुई जना पक्राउ

सिरहा / सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिर्चैया नगरपालिका–६ स्थित मिर्चैया–कटारी सडक खण्डमा रहेको होलिडे होटल अगाडिबाट शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको प्रदेश ०१–००५ प ९१२४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–५ जयपुरका २४ वर्षीय दिलीपकुमार सिंह र सोही स्थानका २८ वर्षीय रज्जितकुमार सिंह दनुवार छन् । दिलीप मोटरसाइकल चालक थिए भने रज्जित पछाडि सवार रहेको प्रहरीले जनाएको छ ।

दुवै जनाको तलासी लिने क्रममा रज्जितले लगाएको जिन्स पाइन्टको दाहिने खल्तीबाट कालो प्लास्टिकका तीन वटा पोका फेला परेका थिए । ती पोकामा ब्राउन सुगर जस्तो देखिने पदार्थ रहेको प्रहरीले जनाएको छ । बरामद पदार्थ ४०.४१० ग्राम रहेको र उनीहरूको साथबाट इन्फिनिक्स र आइफोन कम्पनीका एक–एक थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

बरामद लागुऔषध र मोबाइलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।