logo
२०८३ श्रावण १६, शनिबार |
📰
🔍

साम्प्रदायिक तनाव रोक्न सरकारलाई राजेन्द्र महतोको आग्रह, गोलीकाण्डको छानबिन माग

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ श्रावण १५, शुक्रबार
साम्प्रदायिक तनाव रोक्न सरकारलाई राजेन्द्र महतोको आग्रह, गोलीकाण्डको छानबिन माग

काठमाडौ /  राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बढ्दै गएको साम्प्रदायिक दङ्गा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गरेका छन् ।

आज सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतोले मधेस लगायतका क्षेत्रमा फैलिएको अशान्ति रोक्न राज्यले समयमै ठोस कदम चाल्नुपर्नेमा जोड दिएका हुन् ।

भेटका क्रममा महतोले सुनसरी र सिराहा लगायतका जिल्लामा भएका पछिल्ला घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे। शान्ति सुरक्षा कायम गर्ने क्रममा सुरक्षा निकायबाट कम्मरभन्दा माथि गोली प्रहार भएको भन्दै उनले त्यसको छानबिन र दोषीमाथि कारबाहीको माग गरे।

उनले भने, ‘मान्छे मान्छेबाट डराउनुपर्ने अवस्था देश र समाजको हितमा छैन।’ उनले अगाडि थपे, ‘सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीले थप तदारुकताका साथ पहल गर्नुपर्छ।’ ‘मधेसकै जनमतका कारण वर्तमान सरकार दुई तिहाइको अवस्थामा पुगेको हो।’ उनले भने, ‘त्यसैले जनताको भावना र सङ्घीयतालाई अधिकारसम्पन्न बनाउने कुरामा सरकार गम्भीर हुनुपर्छ।’