logo
२०८३ श्रावण २२, शुक्रबार |
📰
🔍

जनकपुरधाम यातायात कार्यालयले एक वर्षमा साढे ५७ करोड राजस्व सङ्कलन, अघिल्लो वर्षभन्दा ९.५४ करोड कम

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ श्रावण २१, बिहिबार
जनकपुरधाम यातायात कार्यालयले एक वर्षमा साढे ५७ करोड राजस्व सङ्कलन, अघिल्लो वर्षभन्दा ९.५४ करोड कम

काठमाडौँ / यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाख ३० हजार ६३६ राजस्व सङ्कलन गरेको छ।

कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायत सेवामार्फत उक्त राजस्व सङ्कलन भएको हो। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु ९ करोड ५४ लाख १३ हजार ३४४ ले कम हो। अघिल्लो वर्ष कार्यालयले रु ६६ करोड ६९ लाख ४३ हजार ९८० राजस्व सङ्कलन गरेको थियो।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन तथा आर्थिक वर्षको अन्तिम महिनामा यातायात व्यवस्था विभागले सफ्टवेयर निर्माणका क्रममा भएको ढिलाइका कारण राजस्व सङ्कलन प्रभावित भएको कार्यालयको भनाइ छ।

आर्थिक वर्ष २०८२/८३ मा कार्यालयमा २१ हजार २९४ वटा नयाँ सवारी दर्ता भएका छन्। तीमध्ये १६ हजार ९५७ मोटरसाइकल, १८७ बस/ट्रक, एक हजार ९०२ टेम्पो/विद्युतीय रिक्सा, एक हजार २२ ट्र्याक्टर र २२६ जिप/कार रहेका छन्। साथै, सो अवधिमा नयाँ तथा वर्ग थप गरी १३ हजार ३३८ जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरिएको कार्यालयले जनाएको छ।