प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
काठमाडौं / गोकर्णेश्वर नगरपालिकाका नागरिकले नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अब १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। नगरवासीलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको हो।
बिहीबार आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार नेपाल सरकारबाट उपलब्ध स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक तथा औषधि उपचार कोषलगायतका सरकारी स्वास्थ्य सुविधा पूर्ण रूपमा उपयोग गरेपछि मात्र नगरपालिकाको सुविधा लागू हुनेछ। नगरपालिकाले उपचार खर्चको ८५ प्रतिशत व्यहोर्नेछ भने नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत थप १५ प्रतिशत छुट दिनेछ।
गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास भएका र नगरपालिकाको सिफारिस लिएर आएका नागरिकले १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन्। सेवा लिन नागरिकता तथा मतदाता परिचयपत्रबाट पहिचान खुलाउनुपर्नेछ।
उपचारका क्रममा आवश्यक औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ। रगत आवश्यक परेमा नगरपालिकाले प्रतिपिन्ट १ हजार १५० रुपैयाँसम्म प्रयोगशाला परीक्षण शुल्क शोधभर्ना गर्ने व्यवस्था गरिएको छ।
सम्झौताअन्तर्गत नगरवासीलाई अस्पतालमा निःशुल्क ओपीडी दर्ता तथा विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। प्रयोगशाला परीक्षण, जनरल बेड, एक्स–रे, यूएसजी, ईसीजी, इन्डोस्कोपी/कोलोनोस्कोपी, फिजियोथेरापी, डायग्नोस्टिक प्रोसेडर, दन्त सेवा, क्याथ ल्याब तथा इम्प्लान्टबाहेकका शल्यक्रियामा छुटको व्यवस्था गरिएको छ।
सम्झौता कार्यक्रममा नगर प्रमुख दीपक रिसालले आर्थिक अभावका कारण नगरवासी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले विभिन्न अस्पतालसँग सहकार्य गरिरहेको बताए। उनले गोकर्णेश्वरका नागरिकका लागि १ लाख रुपैयाँसम्मको उपचार खर्च नगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए।
नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले गोकर्णेश्वर नगरपालिकाले अघि सारेको स्वास्थ्यसम्बन्धी योजना अन्य स्थानीय तहका लागि समेत उदाहरणीय रहेको बताए। कलेजका पूर्वअध्यक्ष डा. भोला रिजालले आर्थिक रूपमा कमजोर नागरिकलाई उपचारमा ठूलो राहत पुग्ने बताए।
नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले कलेजले विगत तीन–चार वर्षदेखि गोकर्णेश्वर नगरपालिकासँग सहकार्य गर्दै आएको बताइन्। यस वर्ष सम्झौता गर्न केही ढिलाइ भए पनि नगरवासीलाई १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउने व्यवस्था महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।
नगर उपप्रमुख सान्नानी लामाले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरव भएको बताउँदै नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन कलेजले खेलेको भूमिकाको प्रशंसा गरिन्।
नगरपालिका र मेडिकल कलेजबीचको सहकार्यले आर्थिक रूपमा कमजोर नगरवासीको स्वास्थ्य उपचारमा पहुँच बढ्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ।